यसरी पनि हुनसक्छ खाद्य संकट

नेपालले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि पशुपन्छीको नश्ल सुधारका लागि अभिायन नै चलाएर विदेशी प्रजातिको नश्ललाई भित्र्याई रहेको छ । यसरी विदेशी नश्लको आगमनले रेथानी पशुपन्छी लोप हुने आवस्था पुगेको छ । जसले भविष्यमा खाद्य संकट निम्त्याउन सकिने विभिन्न अध्ययनले देखाएको छ । अहिले दूध, मासु, अण्डाको उत्पादन वृद्धिका लािग अव्यवस्थित रुपमा विदेशी नश्लहरु भित्र्याएर यहाँका स्थानीय पशुहरुमा वर्णसंकर गराएर उन्नत जातका गाईवस्तुमा परिणत गर्ने चलन सुरु भएको छ । र, किसानले पनि व्यवसायिक रुपमा त्यसैमा ध्यान दिएका छन् । अहिले तत्कालका लागि उत्पादनमा वृद्धि गरेपनि कलान्तरमा नेपालको कृषिमा सिधै असर पर्ने राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा.बालकृष्ण जोशीले बताउनुभयो ।

अहिले सरकार तथा निजी क्षेत्रले पनि जथाभावी सिमेन (वीर्य) हरु ल्याएर यहाँका स्थानीयमा वर्णशंकर गराएर स्थानीय जातलाई विस्थापित गरिरहेको उहाँले बताउनुभयो । विदेशबाट नश्ल सुधारका नाममा ल्याउने सिमेनहरु नेपालका लागि स्थायी होइन, जुनसुकै बेला पनि त्यो हराउन सक्छ, नष्ट हुनसक्छ उहाँले भन्नुभयो, विदेशबाट नश्ल सुधारको नाममा आउने सिमेनमा स्ट्याबलिटी हुँदैन, जीनको बनोट राम्रो हुँदैन, रोग सहने क्षमता हुँदैन, जे पाए त्यही खाँदैन र नेपालको परिपेक्ष्यमा यस्तो धेरै दिनसम्म निरन्तरता दिन सकिदैन ।’

विदेशबाट ल्याउने सिमेनमा नेपालीको अधिकार हुँदैन भोली गएर केही दुर्घटना भयो भने नेपालमा संकट आउनसक्छ, खाद्य सुरक्षामा असर पार्न सक्छ, राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिक शिशिर भण्डारीले भन्नुभयो, ‘खाद्य सुरक्षाका लागि भएपनि रैथाने जातका पशुपन्छीलाई जोगाउनुपर्छ ।’ विदेशी नश्ल ल्याएर नेपालमा प्रजनन् गराउने नीति लिइँदा कतिपय रैथाने जातका पशुपन्छी लोप पनि भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा रहेको आनुवंशिक अनुसन्धान केन्द्रले जनाएको छ ।

कति छन् रैथाने जात ?
आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि संगठन (एफएओ) मा नेपालले सात प्रकारका पशुपन्छीका २५ वटा रैथाने नश्ल मात्र दर्ता गराएको छ । जसमा बाख्रको तराई, खरी, सिन्हाल, च्यांग्रा गरी चार, भैंसीको लिमे, पार्काेटे, गड्डी गरी तीन, गाईको तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी र याक गरी सातवटा, भेडाको लामपुच्छ्रे, कागे, बरुवाल र भ्याङ्लुङ गरी चार, सुँगुरको हुर्रा, बामपुड्के, च्वाँचे गरी तीन, कुखुराको साकिनी, घाँटी खुइले, प्वाखउल्टे गरी तीन र घोडाको जुम्ली घोडा एक गरी २५ वटा रैथानी नश्ल मात्र बाँकी छन् । यसमध्ये नेपालको सिरीगाई लोप भइसकेको छ ।

वैज्ञानिक भण्डारीका अनुसार रैथाने गाईमध्ये तराई र पहाडी गाईको सँख्या राम्रो छ भने अरु गाईको अवस्था नाजुक रहेको छ । त्यस्तै, भैंसीतर्फ पार्काेटेबाहेक अन्य भैंसीको संख्या एकदमै न्युन छन् । बाख्रातर्फ हालसम्म खरी जातको अवस्था राम्रो छ । बंगुरमा च्वाँचेबाहेक अरु जात लोप भइसकेका छन् । कुखुरामा साकिनीको अवस्था राम्रो छ भने अन्य जातको अवस्था चिन्ताजनक छन् । आनुवंशिक केन्द्रका वैज्ञानिकहरुले लोप भइसकेको सिरीजस्तै देखिने एउटा गाई भेटेपछि त्यसमाथि भुटानी सिरीगाईसँग तुलनात्मक अध्ययन गरिरहेको छ ।
वैज्ञानिक भण्डारीका अनुसार स्थानीय प्रजातिमा विदेशी नश्लको वीर्य प्रवेश गराएर नश्ल सुधार गर्दा वषौं लाग्छ ।

एउटा बाख्राको नश्ल सुधार गर्नका लागि तीनदेखि चार पुस्ता लाग्न सक्छ । त्यति मेहनत गरेर सुधार गरिएको नश्ल पनि भरपर्दो नहुने उहाँले बताउनुभयो ।

अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा.जोशीका अनुसार धेरै दूध वा मासु उत्पादनका लागि अहिले उन्नत नश्ल खोज्ने चलन बढेको र सरकारी नीतिले पनि रैथानेलाई संरक्षण भन्दा उन्नतलाई प्रश्रय दिएको छ । जसले स्थानीय रैथाने जात हराउँदै गइरहेका छन् । रैथाने जातको पशुपन्छीको पनि राम्रोसँग स्यहार सुसार गर्यो, खानपिनमा ध्यान दियो भने विदेशी नश्ल जतिकै उत्पादन दिने विभिन्न अध्ययनले देखाएको बताउँदै उहाँले यहाँका किसानले रैथाने जातको गाईवस्तुमाथि त्यति ध्यान दिँदैन विदेशबाट ल्याएको छ भने त्यसको स्यहार सुसारमा ध्यान दिनुको साथै खानपिन, बासस्थानमा पनि विशेष धयान दिएका कारण उत्पादनमा वृद्धि हुने गरेको छ, त्यति मेहनत रैथानेमा गरे भने त्यति नै उत्पादन दिन सक्ने बताउनुभयो ।

भण्डारीले पनि रैथाने प्रजाति पाल्ने किसानले उचित खाना र व्यवस्थापनमा ध्यान नदिएकाले उत्पादनमा कमी आएको बताउनुहुन्छ । स्थानीय प्रजातिको साकिनी कुखुराले खाना र व्यवस्थापनमा ध्यान दिंदा उन्नत नश्लकै हाराहारीमा अण्डा दिएको अनुसन्धानले देखाएको छ । नेपालका रैथाने आछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिए भने त्यसले पनि विदेशी नश्लकै हाराहारीमा पशुपन्छीको हाराहारीमा उत्पादन दिने उहाँले दावी गर्नुभयो । भण्डारी र सापकोटाका अनुसार, महामारीजन्य दुर्घटना भयो भने नेपालमा विदेशी नश्ल बाँकी नरहन सक्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखेर पनि रैथाने नश्ल जोगाउनु जरुरी रहेको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया