भारतको नजरमा माओवादी भन्दा जसपा कडा

जनता समाजवादी पार्टी नेपाल विभाजनको डिलमा पुगिसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्किनु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले वीरगञ्जको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराई शक्ति केन्द्र (भारत) धाएको कुरा उल्लेख गर्नुभएको थियो । लोसपासँग एकता गराई दिन बाबुरामले शक्ति केन्द्रलाई आग्रह गरेको दावी उपेन्द्र यादवको थियो । वीरगञ्जको केन्द्रीय समितिको बैठकसँगै जसपा लगभग विभाजन नै भइसकेको छ । यही अवस्थामा माओवादी असार ३१ गते आफ्ना एकजना सहयोगी र छोरी गंगा दाहालका साथ दिल्ली भ्रमणमा जानुभयो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा जानु भएको हो भनिए पनि माओवादीका अध्यक्ष प्रचण्डलाई त्यहाँ प्रोटकल अनुसार सम्पूर्ण सरकारी सेवा सुविधा प्राप्त छ ।

उहाँलाई राजकीय भ्रमणमा दिइने सबै सेवा सुविधा तथा सत्कार दिइएको छ । भारतीय विदेश मन्त्रालयका सबै कर्मचारी अध्यक्ष प्रचण्डको सेवामा खटिएको छ । एउटा राजकीय भ्रमणमा दिइने सबै ‘प्रोटोकल’ को सुविधा दिइएको छ । भाजपाका कुनै पनि अंश अध्यक्ष प्रचण्डको भ्रमणमा देखिएको छैन । देखाउनका लागि भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले आगाडि पछाडी देखिन्छ त्यो पनि बेलाबेला मात्र । अध्यक्ष प्रचण्डको अगाडि पछाडी भारतका विदेश मन्त्रालयका सरकारी अधिकारीहरु मात्र देखिन्छन् । त्यसैले यो भाजपाले निमन्त्रणा गरि बोलाएको एउटा बाहाना मात्र हो, असलमा यो भारत सरकारको निमन्त्रणमा नै प्रचण्डको भ्रमण भएको हो । यदि भाजपाको निमन्त्रणामा भ्रमण भएको भए प्रचण्डको रहन, सहन, भेटघाट सबैमा राजनीति छनक देखिन्थ्यो ।

भाजपाको कार्यतालिका सबै कार्यक्रम हुन्थ्यो । भाजपको मुख्यालयमा प्रचण्डको भव्य स्वागत हुन्थ्यो । पहिलो मुलाकात जेपी नड्डासँग हुन्थ्यो । भाजपाका महासचिवदेखि अन्य पदाधिकारीहरुसँग भेटघाट हुनुको साथै आरएसएसको प्रवचन सुनाईन्थ्यो । भाजपाले अहिलेसम्म गरेको कामको वर्णण सुनाइन्थ्यो । भाजपा–माओवादी केन्द्रको सम्बन्धको बारेमा विचार गोष्ठी हुन्थ्यो । तर त्यस्ता केही देखिएन । विदेशमन्त्री एस.जयशंकरदेखि विदेश सचिव विनय मोहन क्वात्रा, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसम्मको भेटघाटले यो दुई देशको पार्टी–पार्टी बीचको भ्रमण हो भनि पत्याउन गाह्रो छ भनि नेपालमा विश्लेषण भइरहेको छ । साउन १ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने सम्भावना छ । यसअघि भाजपाकै निमन्त्रणामा काँग्रेसका नेता डा.प्रकाशशरण महतको टोली भारत भ्रमणमा गएको थियो । हो, उहाँहरुको भ्रमण भाजपाको निमन्त्रणामा भएको हो भनि प्रष्ट बुझ्न सकिन्थ्यो । तर अध्यक्ष प्रचण्डको भ्रमणलाई त्यसरी बुझ्न नसकिने कुटनीतिज्ञहरु बताउँछन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ चियनचाओले असार २६ गतदेखि चार दिने नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किसक्नु भएको छ । उहाँ चीन फर्के लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण चर्चामा आयो । हुन त अध्यक्ष प्रचण्ड स्वयंले पनि यो भ्रमण आकस्मिक होइन । पहिलादेखि भ्रमणको तयारी भइरहेको थियो भनि दावी गर्नुभएको छ । तर भारतीय दूतावासका स्रोतहरु भन्छन्, ‘यसअघि प्रचण्डको भ्रमण बारे हामीलाई कुनै जानकारी थिएन ।’ जुलाईमा माओवादी अध्यक्ष प्रचण्डको भ्रमण हुने कुराको आफूहरुलाई सुइको पनि थिएन, अचानक भ्रमणको कुरा आयो र हतार हतार त्यसको तयारीमा जुट्नु परेको ती स्रोतले बतायो । दूतावासका एक अधिकारीले भने, ‘भारत तथा भारतीय दूतावासमा थुप्रै विङ्सहरु छन्, सबै कुरा सबैलाई जानकारी हुँदैन र दिइदैन पनि यदि पहिलादेखि तयारी थियो भने कुनै नकुनै औपचारिक स्रोतबाट जानकारी आउँथ्यो तर त्यस्तो कुनै कुरा बाहिर आएको थिएन, हुनसक्छ यो डिल सिधै दिल्लीबाट भएको हो कि ।’

कम्युनिष्टहरु मिल्ने वतावरण तयार हुनै प्रचण्डलाई भारतले बोलाई हाल्यो । काँग्रेससँग माओवादीले गठबन्धन बनाएर सरकारको मुख्य साझेदार बनेपछि भारतलाई मन परेको थिएन । सो गठबन्धनबाट माओवादीलाई हटाएर एमालेलाई राख्न भारतले निकै प्रयास गरेको थियो ।

तर सीपीसीका विदेश विभाग प्रमुख लिउ नेपाल आएर फर्किनु र अध्यक्ष प्रचण्डको भारत भ्रमण हुनु यो संयोग मात्र होइन । यता, लिउले कार्यभार सम्हाल्नेबित्तिकै आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुले पनि नेपालमा चीन के चाहन्छ भनि प्रष्ट छ । नेपालमा कम्युनिष्टहरु विभाजित छन् । त्यो कुरा चिनलाई पचेको छैन । कम्युनिष्टलाई मिलाउनकै लागि उहाँ नेपाल आउनु भएको हो भनि विभिन्न सन्दर्भले पुष्टि गरेको छ । उहाँ नेपाल आएपछि सत्ताधारी दल काँग्रेसलाई पनि भेटेको छ । सरकारको नेतृत्व गरेको कारण काँग्रेसलाई भेट्नु एउटा औपचारिकता मात्र थियो । तर मुख्य उद्देश्य माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी पार्टीलाई मिलाउनु थियो ।

तीनटै दलसँग अलग अलग भेटेपनि एक हुन दवाव उहाँले दिएकै हो । संघ र प्रदेशको चुनाव आउँदैछ । त्यो चुनावसम्म यी तीन दललाई मिल्न चीनले बेजोड दवाव दिनेछ तर भारतले चाहदैन कि कम्युनिष्टहरु मिलुन् । कम्युनिष्टहरु मिल्ने वतावरण तयार हुनै प्रचण्डलाई भारतले बोलाई हाल्यो । काँग्रेससँग माओवादीले गठबन्धन बनाएर सरकारको मुख्य साझेदार बनेपछि भारतलाई मन परेको थिएन । सो गठबन्धनबाट माओवादीलाई हटाएर एमालेलाई राख्न भारतले निकै प्रयास गरेको थियो । त्यसका लागि त्यो बीचमा निकै गृहकार्य पनि भएको थियो । तर काँग्रेस र माओवादी केन्द्र नछुटिने कसम खाएपछि भारतले आफ्नो रणनीति परिवर्तन गर्यो । त्यसपछि भारतले एमालेलाई छाडेर माओवादीलाई बचाउन तिर लाग्यो ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धन कायम राख्न सक्यो भने अगामी चुनावमा पनि काँग्रेस नेतृत्वकै सरकार बन्छ भनि भारतको विश्लेषण छ । यदि कम्युनिष्टहरु मिले भने फेरि एमालेको नेतृत्वमा सरकार बन्छ र माओवादी केन्द्र मुख्य साझेदार दल बन्छ । त्यसपछि त पुनः चीनको दवदवा नेपालमा बढ्छ बुझेर नै भारतले माओवादीलाई साथ दिने निष्कर्षमा पुगेको हो र यस्तो खातिरदारी गरेको हो । भारतमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु राणा देउवासँग भेटघाट हुनु पनि त्यसैको एउटा कडी हो । प्रचण्ड र शेरबहादुर देउवाको दोस्ती लामो समयसम्म रहोस् भनि भारतले गाँठो कसेको छ ।

तर भारतले त्यहाँ जसपाका लागि कुनै ठाउँ राखेको छैन । भारत माओवादीभन्दा जसपाप्रति कडा देखिन्छ । भाजपा नेतृत्वको भारतीय सरकारले कम्युनिष्ट त्यसमा खासगरि माओवादीलाई आफ्नो प्रधान शत्रु मान्छ । माओवादीको नाम नै सुन्न चाहदैन । तर माओवादीसँग दोस्ती गर्न अहिले बाध्य भएको छ ।

तर त्यही ठाउँमा जसपालाई रुचाइएको छैन । सत्ता गठबन्धनबाट जसपालाई हटाएर लोसपालाई राख्ने तयारी भइरहेको छ । अनौपचारिक रुपमा लोसपा र काँग्रेसबीच गठबन्धन भइसकेको छ । लोसपाले काँग्रेस नेतृत्वको सरकारलाई सघाउन थालेको छ । त्यसको पछिल्लो उदाहारण उपसभामुखको निर्वाचनलाई लिन सकन्छ । बरु जसपालाई नै सत्ता गठबन्धनमा राख्ने हो भने बाबुराम समूहलाई राख्न सुझावहरु आइरहेका छन् । प्रचण्ड भारतबाट फर्केपछि बाबुराम भट्टराईका लागि पार्टी विभाजन तथा दल दर्ताका लागि सरकारको तर्फबाट बाटो खोल्ने प्रयास हुने स्रोतले दावी गरेको छ ।

-साउन १ गते प्रकाशित सहरा टाइम्सबाट सभार

तपाईको प्रतिक्रिया