भारतद्वारा निर्मित भवन उद्घाटन

काठमाडौँ साउन १७ गते । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका भवनको आज संयुक्त रुपमा उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको बताइएको छ । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो ।

त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले यस विद्यालयको डिजाइन गर्नुभएको हो । यस विद्यालयमा एक हजार ३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास दुतावासले लिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

तपाईको प्रतिक्रिया