स्वार्थभित्र गठनबन्धनको (सम्पादकीय)

संघीय तथा प्रदेश चुनावको मिति घोषणा नहुँदै देशमा गठबन्धनको मौसम सुरु भएको छ । यसअघि नै पाँच दल (काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा) को गठबन्धन बनिसकेको छ ।

कम्युनिष्ट पार्टीहरु मिलेर समाजवादी केन्द्र खोल्न गइरहेका छन् । यता, एमालेले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टीलगायतसँग गठबन्धन गर्ने गृहकार्यमा लागेको छ । ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले विभिन्न दलसँग चुनावी गठबन्धन गर्नका लागि एउटा वार्ता समिति समेत बनाई सकेको छ ।

काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको एउटा संगठन छदैछ । यसकै नेतृत्वमा अहिलेको सरकार छ ।

स्थानीय चुनावपछि एमाले, लोसपा, जनमत पार्टी, जनता प्रगतिशिल पार्टीले पनि अगामी चुनावमा गठबन्धन बनाउने निर्णय गरेका छन् । यी दलहरु कुनै पनि हालतमा गठबन्धन बनाउने भनि हतारि गरिरहेका छन् । आजैको आजै गठबन्धन गरि हालौं भनि ती दलहरु हातिरहेका छन् । यता, लोसपा अलिकति अन्योलमा देखिएको छ । काँग्रेससँग गठबन्धन गर्ने कि एमालेसँग गर्ने त्यसमा लोसपा स्पष्ट हुनसकेको छैन ।

कहिले काँग्रेससँग कुरा गर्छ भने कहिले एमालेसँग । अहिलेसम्म कोसँग तालमेल गर्ने भनि स्पष्ट हुनसकेको छैन । उता, कहिले जनमतसँग कुराकानी चलाउँछ भने कहिले नागरिक उन्मुक्ति पार्टीसँग कुरा चलाउँछ ।

यही अन्योलको बीचमा लोसपाले आफ्नो गठबन्धनको यात्रा तय गर्न खोजिरहेको छ । कम्युनिष्ट पार्टीहरु समाजवादी केन्द्र बनाउन लगभग राजि भइसकेका छन् । त्यसको अन्य दस्तावेजहरु बनाउनका लागि गृहकार्य गरिरहेका छन् । सो केन्द्रमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय अभियान, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी आवद्ध हुने लगभग निश्चित छ । यो केन्द्र बनेपछि अन्य साना कम्युनिष्ट पार्टीहरुलाई पनि सहभागी गराउने योजना केन्द्रको रहेको छ ।

यो गठबन्धन कुनै देशको विकास वा समृद्धि वा जनतालाई राहत, सुशासन दिलाउनका लागि भइरहेको छैन । ती दलका नेताहरु चुनाव जित्नका लागि, आफ्नो पार्टी ठूलो बनाउनका लागि यो गठबन्धन गर्न लागेको हो । कोही नेता हार्दै हुनुहुन्छ, त्यहाँ कसरी जित्ने, कुन दलसँग तालमेल गरेपछि चुनाव जित्न सकिन्छ भनि उद्देश्यले नेताहरु हिसाब गरेर गठबन्धन गर्न लागेको हो । काँग्रेस गठबन्धनमा रहेका माआवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले छुट्टै केन्द्र बनाउनुको तत्पर्य नै सत्ता गठबन्धनमा आफ्नो शक्ति देखाउनु हो ।

त्यही शक्ति देखाएर काँग्रेससँग बार्गेनिङ गरी धेरैभन्दा धेरै सीट कसरी हत्याउन सकिन्छ त्यसका लागि समाजवादी केन्द्र बनाउन लागेको हो । सत्ताधारी गठबन्धनमा बाबुराम भट्टराई र वामदेव गौतमले ठाउँ नपाएपछि यो केन्द्रमार्फत त्यहाँ छिर्न लाग्नु भएको हो । उहाँ दुवैजनाले भर्खर भर्खर नयाँ पार्टी बनाउनु भएको हो । नयाँ पार्टीले झन एक्लै एक्लै चुनावमा गयो भने केही हासिल गर्न सकिदैन भनि समाजवादी केन्द्र बनाएर अलिकति सीट भएपनि हात पर्ने योजना यी दुई दलको रहेको छ भने प्रचण्ड र माधवकुमार नेपालको दाउ केन्द्रलाई देखाएर गठबन्धनबाट धेरैभन्दा धेरै सीट कसरी हात पर्ने हो ।

यता, एमाले सत्ताधारी गठबन्धनको घेराबन्दीमा परेको छ । सत्ता गठबन्धनले संघ तथा प्रदेशको चुनावमा बुराहाल गर्दिन्छ कि भनेर एमालेले कुनै पनि हालतमा गठबन्धन बनाएर जान चाहन्छ । त्यस्तै, जसपा, लोसपा, जनमत, जनता प्रगतिशिल पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत राष्ट्रिय पार्टी नहुने हो कि डर पनि छ ।

एक सीट पनि जित्न सकिदैन कि भनि ती दलहरुलाई भय छ ।

त्यहीं भएर आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि दलहरुले गठबन्धन बनाउन चाहेका छन् । अहिले जसरी चुनावमा यी दलहरु मिलेका छन्, मिल्न चाहेका छन् । त्यसरी देशको कुने साझा मुद्दामा मिलेको देखिएको छैन ।

संविधान संशोधन होस् वा कुनै कानुन बनाउने कुरा होस् वा कुनै देशको हितमा कुनै सामूहिक निर्णय गर्ने अवस्था होस् त्यसका लागि दलहरु मिलेका हुँदैनन् । तर चुनाव हार्ने तथा कमजोर हुने अवस्था देखेपछि हतार हतारमा गठबन्धन बनाउन खोजेका छन् ।

तपाईको प्रतिक्रिया