मधेशी–थारु एकता

अँग्रेजले जस्तै ‘फुट डालो, राज्य करो’ रणनीति नेपालका राज्य व्यवस्थाले पनि अपनाएको छ । मधेशमा रहेका मधेशी, थारु, मुस्लिमलाई अलग गरेर राज्यले सबैमाथि एकसाथ शासन गरिरहेको छ । राज्यले थारुको लागि थरुहट आयोग, मुस्लिमका लागि मुस्लिम आयोग, मधेशीका लागि मधेश आयोग बनाएर मधेशको शक्तिलाई कमजोर गरेको हो । राज्यले नै थारुहरुलाई तिमीहरु मधेशी होइनौं भनि सिकाएको हो । मुस्लिमलाई पनि तिमीहरु मधेशी होइनौं भनि सिकाएको हो ।

राज्यले सिकाएको आधारमा नै थारु र मुस्लिमले आफूहरु मधेशी नरहेको, आफूहरुको छुटट्ै अस्तित्व र पहिचान रहेको भन्दै अलग थलग बस्न थालेका छन् । अलग अलग कलस्ट अर्थात मधेशको शक्तिलाई सानो सानो समूहमा बाँडेका छन् र सबै समूहमाथि शासन गरिरहेको छ । अहिले मधेशलाई अझै कमजोर गर्नका लागि बज्जिका भन्दै केही समूहलाई मधेशबाट अलग्याउने प्रयास गरिरहेको छ । रणनीतिक ढंगबाट केही मधेशीलाई बज्जिको पहिचान दिएर मधेशमा उचालिरहेको छ । उनीहरु संगठित भइरहेका छन् । एक दिन यस्तो समय आउँछ कि उनीहरुले थारुहरुले भनेको जस्तै आफूहरु मधेशी नरहेको भन्दै अलग हुनेछ ।

२०६४ को मधेश आन्दोलनमा मधेशी, थारु र मुस्लिम एक साथ आन्दोलन गरेको थियो । समग्र मधेश एक प्रदेशको नारा दिएर एक साथ आन्दोलन गरेको थियो । तराई मधेशका २२ वटै जिल्लालाई एउटै प्रदेश बनाउनु पर्छ भनि आन्दोलन गरे । त्यो माग पुरा हुने अवस्थामा पनि पुगेको थियो । त्यो बेला मधेशको शक्ति देखिएको थियो । त्यो शक्तिबाट भयभित भएर राज्यले मधेशीलाई षड्यन्त्रपूर्वक विभाजन गर्न थाल्यो । एकचरणको मधेश आन्दोलन सकेपछि राज्यको तर्फबाट थारुलाई उचालेर मधेश आन्दोलनको विरुद्धमा आन्दोलन गर्न लगाएको थियो । त्यसको मोहरा त्यतिबेला राजकुमार लेखी बन्नु भएको थियो । हाल उहाँ एमालेमा हुनुहुन्छ ।

आखिर मधेशबाट थारुहरु अलग नै भए । विजयकुमार गच्छदार, राजकुमार लेखी, लक्ष्मण थारु, रेशम चौधरी, योगेन्द्र चौधरी, भानुराम चौधरी, रामजनम चौधरीलगायतका नेताहरु एक मधेशवादी दलमै हुनुहुन्थ्यो तर विस्तारै विस्तारै उहाँहरु मधेशको राजनीति छाडेर कोही काँग्रेसमा जानुभयो, कोही एमाले र माओवादी केन्द्रमा जानु भयो भने भने कोही आफ्नै दल खोलेर थरुहटमा केन्द्रीत हुनुभयो । यो काम त्यतिकै भएको होइन, राज्यको यसमा ठूलो लगानी रहेको छ ।

पछिल्लो उदाहरणलाई मात्र हेर्ने हो भने मधेशवादी दलहरु रेशम चौधरीको रिहाको लागि पहल गरिरहेका छन् । तर राज्यबाट नै थरुहटसँग सम्बन्धित संघ संस्थाबाट ज्ञापनपत्र दिन लगाएर त्यसका जस थारुहरुलाई दिन चाहेको छ । त्यो संस्थामा काँग्रेस, माओवादी र एमाले निकट नेताहरु हुनुहुन्छ । राज्यले रेशम चौधरीको रिहाको जस जसपा र लोसपालाई दिन चाहेको छैन । मधेशबाट थरुहटलाई अलग राख्न चाहेको छ । र त्यसमा सफल भइसकेको छ । आज मधेशी र थारु अलग अलग भएको कारण न मधेशीको माग पुरा भइरहेको छ न थारुको ।

बरु मधेशले केही प्राप्त गरेका छन् तर थारुले केही त्यो पनि गरेको अधिकारको नाममा एउटा आयोग बनाई दिएको छ । त्यसबाहेक अरु कुनै अधिकार पाएको छैन । मधेशले मधेश प्रदेश पाएको छ । मधेशी दलले मधेश सरकार गठन गर्ने पनि अवसर पाएको छ । मधेशको नाम विभिन्न कलेजहरु खुलिरहेका छन् । अर्थात मधेश राज्यको हिस्सा जस्ता भइसकेको छ । राज्यको आवश्यकता जस्तो मधेश भइसकेको छ तर थरुहट त्यसबाट चुकेको छ । आज थारु र मधेशी एकसाथ भएको भए मधेशी तीन टुक्रा हुने थिएन । थरुहट र मधेश जस्तो कमजोर अवस्थामा रहने थिएन ।

मधेशी र थारुलाई फुटाएर राज्यले शासन गरिरहेको छ । यसैलाई भनिन्छ, फुट डालो और शासनको करो । एक समय थारु र मधेशी एक साथ थिए तर अहिले एक अर्काको दुश्मन जस्तो व्यवहार गरिरहेका छन् । मधेशी दल पूर्वमा बलियो छ भने थरुहटहरु पश्चिममा बलियो हुँदै गइरहेको छ । एक समय पश्चिममा पनि मधेशी दलको राम्रै संगठन थियो तर अहिले कार्यकर्ताहरु औलामा गिन्ने अवस्था आइसकेका छन् ।

तपाईको प्रतिक्रिया