अध्यक्ष पदका लागि पटक पटक किन जोखिम

सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको सरिता गिरी अध्यक्ष पद नपाएको कारण नेपाल सद्भावना पार्टीबाट अलग हुनु भएको हो ।

सरिता गिरी गत साउन ७ गते रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीमा पत्रकार सम्मेलन आयोजना गरी प्रवेश गर्नु भएको थियो । तर ठिक एक महिना अर्थात भदौं ८ गते सो पार्टीबाट अलग भएको घोषणा उहाँले गर्नुभयो ।

आफ्नो फेसबुकमार्फत राजिनामा घोषणा गर्दै सरिता गिरीले भन्नु भएको थियो, ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भाव रहने छ ।’

उहाँले नेपाल सद्भावना पार्टीबाट अलग हुनका लागि नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको साहरा लिनु भएको छ । तर वास्तविकता त्यस्तो होइन । उहाँ नेपाल सद्भावना पार्टीमा प्रवेश गर्ने वित्तिकै अध्यक्ष पद खोज्नु भएको थियो । उहाँले सो पद नपाएपछि राजिनामा दिनु भएको बताइएको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले भन्नुभयो, ‘सद्भावना पार्टीमा आउनका लागि उहाँ (सरिता गिरी) ले हामीसँग वार्ता गर्दा पार्टीको केन्द्रीय सदस्यमा नै बस्ने भन्नु भएको थियो, मलाई कुनै पद चाहिदैन एउटा केन्द्रीय सदस्यको हैसियतमा पार्टीमा काम गर्न चाहन्छु भन्नु भएको थियो । तर उहाँले पार्टी प्रवेश गरेपछि बसेको पहिलो बैठकमा नै अध्यक्ष पदमा दावी गर्नुभयो ।’

उहाँले त्यसरी अध्यक्ष पद माग्दा पार्टीका नेताहरु आश्चर्यचकित हुनु भएको थियो, उहाँको सो प्रस्ताव कसैले स्विकार नगरेपछि उहाँ रिसाएर जानु भएको थियो र त्यसको केही दिनमा उहाँ आफ्नो फेसबुकको माध्यमबाट राजिनामा दिनु भएको अध्यक्ष महतोले बताउनु भयो ।

राजिनामाको बारेमा हालसम्म पार्टीमा उहाँले लिखित वा मौखिक जानकारी गराउनु भएको छैन ।

तर उहाँले अध्यक्ष पदकै लागि जोखिम लिएर स्वतन्त्रबाट प्रतिनिनिधिसभाका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँको यो बानी आजको मात्र होइन, उहाँसँग लामो समय काम गर्नुभएका तत्कालिन सद्भावना पार्टीका पुरानो नेताले भन्नुभयो, सरिता गिरी सुरुदेखि नै पार्टीमा लफडा गर्ने महिला हुनुहुन्छ, उहाँ पार्टीमा कहिले चयनले बस्नु भएन र अरुलाई पनि बस्न दिनु भएन ।

जहिले पनि विवादमा आइरहने महिला हुनुहुन्छ ।’ नेपाल सद्भावना पार्टीमा हुँदा ह्रदयश त्रिपाठीले समाजवादी पार्टी गठन गरेपछि उहाँ सोही पार्टीमा जानुभयो । पछि नेपाल सद्भावना पार्टीसँग सो पार्टीको एकता भएपछि सरिता गिरी पनि त्यही फर्किनु भयो । लामो समय केन्द्रीय सदस्य भएर त्यहाँ काम गर्नुभयो ।

नेपाल सद्भावना पार्टीको राजविराजमा महाधिवशेन हुँदा त्यहीँबाट सो पार्टी दुई टुक्रा भएको थियो । महाधिवेशनबाट नेपाल सद्भावना पार्टीको अध्यक्ष बद्री मण्डल भएपछि हृदयेश त्रिपाठीहरुले गजेन्द्रनारायण सिंहको श्रीमतीलाई अध्यक्ष राखेर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बनाउनु भएको थियो ।

सरिता गिरी पनि त्यही आनन्दी देवी समूहमा लाग्नु भयो । उहाँ त्यहाँ प्रवक्ताको भूमिकामा रहनु भयो । नेपाल सद्भावना पार्टी बन्ने बित्तिकै सत्ताको खेल शुरु भयो । आनन्दी देवी जसको पक्षमा जानु हुन्थ्यो उही मन्त्री बन्थे पार्टी उसैको कब्जामा हुन्थ्यो ।

त्रिपाठी तमलोपातिर जानुभयो । रामेश्वर राय यादव फोरमतिर । भरतविमल यादव निस्कृय बस्नुभयो । त्यतिबेला राजेन्द्र महतो, खुशीलाल मण्डल, श्यामसुन्दर गुप्ता, अनिल झा, रामनरेश राय यादव, सरिता गिरीहरुको चहलपहल थियो । वीरगञ्जमा भएको महाधिवेशनबाट त्यो पार्टी विभाजन भयो । राजेन्द्र महतो सद्भावना पार्टी गठन गरेर अलग हुनुभयो ।

र, नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को अध्यक्ष श्यामसुन्दर गुप्ता बन्नु भयो । त्यतिबेला उहाँ मन्त्री हुनुहुन्थ्यो । सरिता गिरीले गुप्तालाई साथ दिनु भएको थियो । तर पछि त्यही गुप्ताको विरुद्धमा उहाँले पार्टीमा आन्दोलन गर्न थाल्नु भयो ।

उहाँलाई त्यतिबेला साथ दिनु भएको थियो उद्योगपछि मोतीलाल दुगड । गुप्ताको व्यवहारका कारण सरिता गिरीलाई खुशीलाल मण्डलले पनि साथ दिनु भएको थियो । आनन्दी देवी र खुशीलाल मण्डल एउटै जिल्लाका भएका हुनाले आनन्दी देवीले मण्डलमाथि विश्वास गर्नु भएको थियो ।

त्यतिबेला नै आनन्दी देवीको हस्ताक्षरबाट पहिलो संविधानसभामा समानुपातिक सदस्य बन्न सरिता गिरी सफल हुनुभयो । सरिता गिरीका लागि पैसा खर्च गर्नु भएका मोती दुगड पनि समानुपातिकबाटै सभासद् हुनु भएको थियो । खुशीलाल मण्डलले पनि सरिता गिरीलाई सघाउनु भएको थियो । खुशी लाल मण्डलका कारण गिरी सभासद् बन्नु भएको थियो ।

पछि गिरीले नेपाल सद्भावना पार्टी (आनन्दी देवी) आफ्नो रहेको दावी गर्न थाल्नु भयो । खुशीलाल मण्डलले पनि आनन्दी देवी आफूसँग भएको कारण आफूसँग नेपाल सद्भावना पार्टी (आनन्दी देवी) रहेको दावी गर्नु भएको थियो । उता, श्यामसुन्दर गुप्ताको पनि आफ्नो दावी छाड्नु भएको थिएन ।

आआफ्नो दावी अनुसार सरिता गिरीले सिरहाको लहानमा, खुशीलाल मण्डल जनकपुरमा र श्यामसुन्दर गुप्ताले भैरहवामा महाधिवेशन गर्नु भएको थियो । तीनैजनाले आआफ्नो महाधिवेशन सम्पन्न गर्नुभयो । विवाद कायमै थियो ।

गुप्ताले छुट्टै पार्टी बनाउनु भयो । खुशीलाल र सरिताबीच विवाद कायमै रह्यो । पार्टीको त्यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो । लामो समयसम्म मुद्दा चल्यो । अन्ततः नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को आधिकारिकता सरिता गिरीले पाउनु भयो ।

त्यसपछि सरिता गिरी मन्त्री बन्नका लागि दौडधुपमा लाग्नुभयो । उहाँ बाबुराम भटट्राई नेतृत्वको सरकारमा श्रम मन्त्री बन्नुभयो । तर पदको दुरुपयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री भट्टराईले मन्त्री पदबाट उहाँलाई बर्खास्त गर्नु भएको थियो । उहाँमाथि भ्रष्टाचार गरेको आरोप लागेको थियो । मन्त्री पदबाट हटेपछि उहाँले पार्टी चलाउन सक्नु भएन ।

अनिल झाको संघीय सद्भावना पार्टीसँग एकीकरण गर्नुभयो । हाल लोसपाका कार्यकारिणी सदस्य रहनु भएका अनिल झा निकटका एक नेताका अनुसार अनिल झासँग पार्टी एकीकरण गर्नका लागि उहाँले १२ लाख रुपियाँ लिनु भएको थियो ।’

नेपाल सद्भावना पार्टी र पञ्जा छाप एउटा ब्राण्ड हो र त्यो ब्राण्ड लिनका लागि नै अनिल झाले गिरीलाई १२ लाख रुपियाँ दिनु भएको ती नेताले बताउनुभयो । तर अनिल झाको साथमा पनि लामो समय टिक्नु भएन । २०७१ फागुनमा अनिल झाको पार्टीसँग एकता गर्नु भएका सरिता गिरी २०७२ असोजमा सो पार्टीबाट अलग हुनु भएको थियो । त्यहाँ पनि अनिल झासँग पदकै लागि लफडा भइरहेको थियो । र कुरा नमिलेपछि उहाँले राजिनामा दिएर निस्किनु भएको थियो ।

अनिल झा नेतृत्वको तत्कालिन नेपाल सद्भावना पार्टीसहित विभिन्न ६ वटा दल मिलेर २०७४ बैशाख ७ गते राजपा नेपाल गठन गरिएको थियो । राजपा नेपाल गठन गरिएको भोलीपल्ट सरिता गिरीले एक विज्ञप्ति जारी गरी पार्टीका कार्यकर्ता तथा नेतालाई कुनै जानकारी नै नदिइकन नेपाल सद्भावना पार्टीले विभिन्न छवटा दलसँग एकता गर्नु गलत हो भनेर उहाँले नेपाल सद्भावना पार्टीलाई आफूले नै अगाडी बढाउने घोषणा गनुभएको थियो ।

नेपाल सद्भावना पार्टी ब्युत्याउनु भयो । तर त्यो धेरै दिनसम्म चलाउन उहाँले सक्नु भएन । उहाँले ६ महिना नबित्दै उहाँ उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभयो । नेपाल सद्भावना पार्टीलाई फोरममा बिलय गराएर उहाँ समानुपातिकबाट प्रतिनिधिसभाको समानुपातिकतर्फको सदस्य पनि बन्नुभयो ।

तीन वर्ष नबित्दै लिपुलेग, कालापानीको विषयमा पार्टीको निर्णय विपरित अभिव्यक्ति दिँदा उहाँ विवादमा पर्नुभयो र तत्कालिन समाजवादी पार्टीले उहाँलाई कारवाही गरेपछि २०७७ मंसिर २५ गते उहाँको सांसद पद पनि गयो । त्यसपछि उहाँ त्यहाँबाट निस्केपछि मधेश विकास फोरम गठन गर्नु भएको थियो ।

सो संस्थाको संयोजकमा सरिता गिरी आफै रहनु भयो भने लहान नगरपालिका ४ का रामप्रसाद महतोलाई अध्यक्ष बनाउनु भयो । मधेश विकास फोरमले स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताको लागि काम गर्ने भन्नु भएको थियो तर त्यो संगठन पनि लामो समय चलेन र केही दिनमै बन्द भयो ।

त्यसपछि उहाँ घरमा निस्कृय भएर बस्नुभयो । अचानक उहाँ २०७९ साउन ७ गते रामकुमार महतो नेतृत्वको नेपाल सद्भवाना पार्टीमा प्रवेश गर्नुभयो । अध्यक्षमा कुरा नमिल्दा उहाँ एक महिनामा नै उहाँ फर्किनुभयो । अहिले उहाँ आफू प्रदीप गिरीको उत्तराधिकारी हो भन्दै स्वतन्त्र उम्मेदवारको नाताले मत माग्दै हिडि रहनु भएको छ ।

तपाईको प्रतिक्रिया