मुख्यमन्त्रीका दावेदारले निवेदन दिएर माग्नुभयो टिकट

काठमाडौंमा समाजिक संस्था चलाउनुको साथै वकालत गर्दै आउनु भएका दीपेन्द्र झा मधेश प्रदेशको सरकरमा प्रमुख न्यायधिवक्ता बन्नु भएको थियो ।

प्रमुख न्याधिवक्ता बन्नुअघि उहाँ तत्कालिन मधेशी जनअधिकार फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादवका कट्टर आलोचक हुनुहुन्थ्यो । उहाँले त्यो कुराको उजागार बेलाबेलामा लेख र आफ्नो भाषण गरेर गर्नुहुन्थ्यो । उहाँ तत्कालिन तमलोपा निकट हुनुहुन्थ्यो । पछि राजपा बन्दा राजेन्द्र महतोसँग हिमचिम बनाउनु भयो ।

तर जब मधेश प्रदेशमा तत्कलिन फोरमको नेतृत्वमा सरकार बन्ने भयो अनि उहाँ त्यतातिर अर्थात उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालतिर लहसिनु भयो । त्यसका लागि पहिले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो प्रभावमा पार्नुभयो ।
त्यसका लागि दीपेन्द्र झाले धुलीखेलमा आफ्ना निकटहरुसँग अवसायी छलफल राख्नु भएको थियो । स्रोतका अनुसार सो छलफलमा विजयकान्त कर्ण र तुलानारायण साह पनि हुनुहुन्थ्यो । राउत कन्भिन्स भएपछि उहाँमार्फत अध्यक्ष उपेन्द्र यादवका सम्पर्कमा जानुभयो ।

उपेन्द्र यादवलाई प्रभाव पारेर सिधै मुख्य न्यायधिवक्ता हात पार्नुभयो । न्यायधिवक्ता भएपछि उहाँलाई मुख्यमन्त्री बन्ने लालसा पनि जाग्यो । त्यसपछि उहाँले त्यसको तयारी गर्न थाल्नुभयो । मधेश सरकारबाट एउटा सांसद जस्तै वजेटहरु लगेर आफ्नो क्षेत्रमा छर्न थाल्नुभयो ।

मधेश सरकारमा उहाँको प्रभाव थियो नै । उहाँले त्यसैको फाइदा उठाउँदै आफ्नो क्षेत्र बनाउन थाल्नुभयो ।

पछि अध्यक्ष उपेन्द्र यादवले उहाँलाई ‘तपाई प्रदेशमा होइन, संघीय संसदमा आउनुस्, तपाईको अवश्यकता त्यहाँ छ ।’ भन्नु भएको थियो । त्यसपछि उहाँको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भयो ।

र महोत्तरी–३ का लागि प्रतिनिधिसभा सदस्यको तयारीमा जुट्नुभयो । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तय भएपछि उहाँले न्यायधिवक्ताबाट राजिनामा दिनुभयो र जसपामा प्रवेश गर्नुभयो । तर प्रवेश गरेकै दिन सो पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले कार्यक्रममै उहाँमाथि हुटिङ गर्नुभयो ।

उहाँका लागि पहिलो गाँसमा ढुगां जस्तै भयो । त्यसपछि क्षेत्र तथा जिल्लामा उम्मेदवार छनौट प्रकृया सुरु भयो तर स्रोत भन्छन्, दिपेन्द्र झाको नाम महोत्तरीको न क्षेत्र, न जिल्लाबाट सिफारिस भयो । क्षेत्र तथा जिल्लाका नेताहरुले उहाँलाई पार्टीमा स्विकार गरेनन् । त्यसपछि उहाँले जसपाको मधेश प्रदेश समितिमा प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी–३ बाट उम्मेदवार बन्न पाउ भनि निवेदन दिनुभयो ।

त्यसपछि प्रदेश समितिले दिपेन्द्र झाको मामिलामा केन्द्रले नै निर्णय गरोस् भनेर उहाँको नाम केन्द्रमा सिफारिस गर्यो । अहिले उहाँ केन्द्रमा टिकटका लागि दौडधुपमा लाग्नु भएको छ । अध्यक्ष उपेन्द्र यादवले आश्वासन दिनु भएको छ । तर महोत्तरी–३ बाट हरिनारायण यादवको पक्षमा माहोल छ । उहाँका लागि पार्टीमा उपेन्द्र यादवलाई दवाव परिरहेको छ ।

टिकट दिपेन्द्र झाले पाउने हो कि हरिनारायण यादव हालसम्म टुगों लागेको छैन । टिकटका लागि दुवैजना केन्द्रमा दवाव बनाइरहनु भएको छ ।
-सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया