दशैंमा चुनावी चहल पहलः सकसमा मधेश केन्द्रित दल

–अनन्त अनुराग,-

मलुकमा दशैंको चहल पहलसँगै चुनावको गतिविधिले पनि तीब्रता लिएको छ । यसपालीको दशैं, तिहार, छठ चुनाव केन्द्रीत हुने देखिएको छ । राजनीतिक दलका नेताहरुले चाडपर्वबाट चुनावी फाइदा लिने देखिएको छ । विगतमा कोभिडका कारण दशैं खल्लो थियो । यसपटकको दशैंमा विगतको भन्दा दशैंमा छुट्टै रौनक देखिनेछ । दशैंको नाममा विभिन्न दलका नेताहरुले भोजभतेर गर्नुको साथै मेलामा लगाउनमा पनि उनीहरुको लगानी हुने देखिएको छ ।

अर्थात यसपटकको चाडपर्व राजनीतिमै हुने देखिएको छ । प्रतिनीधि सभा र प्रदेश सभाको चुनाव यही मंसिर ४ गते हुने निश्चित भएको छ । दलहरु चुनावको तयारीमा जुटि सकेका छन् ।

समानुपातिक तर्फबाट उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा प्रस्तुत भइसकेपछि चुनावी माहोला तातिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा दलहरु लागि सकेका छन् । क्षेत्र, जिल्ला प्रदेश हुँदै केन्द्रमा सिफारिसमा पर्नु भएका दलका नेताहरुले विभिन्न समाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट आआफ्नो चुनाव प्रचार पनि सुरु गरिसकेका छन् ।

दलहरु आउँदो चुनाव आफ्नो पक्षमा कसरी बढी जनमत ल्याउन सकिन्छ भनेर रणनीति र जोड घटाउमा व्यस्त छन् । देशमा यति बेला तीन ध्रुवको चुनावी राजनीति देखा परेको छ ।

पहिलो ध्रुव पाँच दलीय गठबन्धन जसमा शेरबहादुर नेतृत्वको नेपाली काँग्रेस, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा रहेका छन् ।
दोस्रो ध्रुव अर्थात प्रमुख विपक्षी दल केपी अ‍ोली नेतृत्वको नेकपा एमाले हालसम्म सिङ्गै रहेका छन् ।

 

यद्यपी एमाले पनि महन्थ ठाकुर नेतृत्वको लोसपालगायत अन्य दलसँग गठबन्धन बनाउने गृहकार्यमा छ । तेश्रो ध्रुव भनेको अहिले स्वतन्त्रको नाममा चुनौती दिन तयार रहेका छन् । यता वैकल्पिक शक्तिको नाममा पनि पुराना शक्तिहरु एक जुट हुन तम्सिएका छन् । अर्काे राष्ट्रवादी शक्ति राप्रपा लगायतका दलहरु पनि जुर्मुराएका छन् ।

तर सबै भन्दा बढी सकसमा परेका छन् मधेश केन्द्रित दल जसपा, लोसपा र भर्खरै चुनावी राजनीतिमा होमिएका जनमत पार्टी । जसपा नेपाल अहिले सत्तारुढ गठबन्धनका सारथीका रुपमा रहेको छ । उपेन्द्र यादवले चुनावी गठबन्धनमा बसेर बढी भन्दा बढी सिट पाउने भन्नेमा केन्द्रित भएका छन् । पाँच दलीय गठबन्धनभित्र उपेन्द्र यादवले कति सिट पाउने निक्र्याैल हुन सकेको छैन । सिट बाँडफाँटको बार्गेनिङ्ग अझै जारी छ । यता, उपेन्द्र यादवको पार्टीभित्र आन्तरिक लेखाजोखामा पनि हुन थालेको छ ।

पाँच दलिय गठबन्धनसँग मिलेर जाँदा बढी सिट जित्न सकिन्छ कि एक्लै वा अन्य मधेश केन्द्रित दल लोसपा र जनमतलाई पनि साथमा लिएर बढी सिट जित्न सकिन्छ । जसपाका एक प्रदेश सांसदसँग पंक्तिकारले जसपा पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा फाइदा हुन्छ कि घाटा हुन्छ ? भनेर प्रश्न गर्दा उनले यस्तो उत्तर दिए, ‘‘जसपा पाँच दलीय गठबन्धनमा जाँदा अहिलेको भन्दा थोरै सिट पाउने सम्भावना पनि छ । गठबन्धनको हिसावले चुनाव लड्दा थ्रेस होल्ड पनि नकट्ला कि भनेर चिन्ता हुने अवस्था छ ।

बरु यो भन्दा त जसपा एक्लै चुनावमा जाँदा बढी भन्दा बढी क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएर अहिलेको हाराहारीमा सिट जित्न सक्छ वा यो भन्दा थोरै कम सिट प्रत्यक्षमा जितिएला तर समानुपातिकमा थ्रेस होल्डमात्रै होइन पहिले भन्दा धेरै मत आउने सम्भावना देख्छु ।’ उनको दावी थियो, ‘जसपा, लोसपा र जनमत मिलेर मधेश प्रदेशमा प्रायः सबै सिटमा मधेश केन्द्रित दलको जित हुने देख्छु तर किन मिल्न नसकेको हो बुझन कठिन छ ।

मधेशमा सबै पुराना गल्ती कमिकमजोरी छाडेर दलहरु मिलेर गएर मधेश केन्द्रित दलको साख जोगिने सम्भावना छ होइन भने सबै दलको हालत उस्तै हुने संकेत देख्दछु ।” यी सांसदको कुरा सुन्दा मधेशवादी दल कति सकसमा छन् भने कुरा पुष्टि हुन्छ ।

अर्काे तर्फ, लोसपाको हालत झनै विकराल देखिएको छ । जसरी पनि शीर्ष नेताहरुलाई जिताउने उद्देश्यका साथ पाँच दलीय गठबन्धनमा सामेल हुन हर सम्भव प्रयास गर्दा असफलताबाहेक केही हात लाग्न सकेन । गठबन्धनमा गए काँग्रेसले आफनो भागबाट दुई वा बढीमा तीन सिट भन्दा बढी दिन नसकिने भनेपछि उनीहरुको पाँच दलिय गठबन्धनमा सहभागि हुने सम्भावना लगभग सकिएको छ । यद्यपी अहिले पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर काँग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाको सम्पर्कमा हुनुहुन्छ । लोसपाको भरोसा अझै काँग्रेसबाट टुटेको छैन ।

यता, लोसपा नेपालमा अन्य विचार मिल्ने दलसँग चुनावी तालमेल गर्न पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा छ सदस्यीय एक वार्ता समिति बनाएको छ । जसले नेकपा एमाले लगायत अन्य दलसँग चुनावी तालमेलका लागि गृहकार्य गरी रहेका छन् । तर, नेकपा एमाले पछिल्लो समय लोसपाको ढुलमुले नीतिका कारण महन्थ ठाकुरसँग सहकार्यमा त्यति रुची देखाएको छैन ।

जुन कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेर लोसपा नेता राजेन्द्र महतोको क्षेत्रमा नेकपा एमालेले कसैलाई समर्थन वा सहयोग नगर्ने बल्की आफनो पार्टीको बलियो उम्मेदवार उठाउने घोषणा गर्नुभएको थियो । एमालेले धनुषा–३ बाट चुनाव लडाउन जुली महतोलाई तयार गरिरहेको सुन्नमा आएको छ । त्यही भएर लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनाव कहाँबाट लड्नेमा अझै अन्योलमा हुनुहुन्छ । उहाँ हालै सर्लाही गएर आफ्नो क्षेत्रको अनुगमन गर्नुभएको छ । त्यहाँका मतदाताहरुको मन टोटल्नु भएको छ ।

यदि लोसपाको कसैसँग चुनावी तालमेल नभए एक वा दुई सिट भन्दा बढी प्रत्यक्षमा जित्न गाह्रो देखिएको छ । लोसपाका नेताहरुको कारण अगामी निर्वाचनबाट सो पार्टीका थ्रेस होल्ड पनि नकट्ने चिन्ता व्यक्त भइरहेको छ ।

एमालेसँगको चुनावी सहकार्यको विषयमा पनि लोसपाभित्र फरकफरक मत रहेका छन् । पहिलेदेखि नै पाँच दलीय गठबन्धनमा जानुपर्ने पार्टी अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारीको जोड थियो भने नेकपा एमालेसँग बलियो सहकार्य गरेर बढी भन्दाबढी सिट लिएर धेरै ठाँउमा उम्मेदवारी दिनु पर्नै अडानमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो रहेका थिए ।

यता, अध्यक्ष महन्थ ठाकुर नजिक मानिएका नेता डा. सुरेन्द्र झा पनि एमालेसँग सहकार्य गर्ने विषयमा त्यति सन्तुष्ट देखिएका छैनन् । उनको तर्क छ, एमालेसँग हाम्रो कुनै पनि विचार मिल्दैन, चुनावी तालमेल नै गर्ने हो भने जसपा, ‘जनमत वा अन्य मुद्दा मिल्ने शक्तिसँग गर्नु पर्छ ।’

डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी पनि चुनावी लेखाजोखामा व्यस्त छन् । पार्टी अध्यक्ष राउत पनि सप्तरी निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने घोषणा गरी सकेका छन् । सप्तरी २ यसअघि उपेन्द्र यादवले जितेको क्षेत्र हो, फेरी यादव यसै क्षेत्रमा उम्मेदवारी दिने निश्चित छ । यस्तो अवस्थामा यो निर्वाचन क्षेत्र ‘ब्याटल अफ इलेक्सन’ क्षेत्रमा रहने अनुमान गर्न सकिन्छ । तर, सो क्षेत्रमा लोसपाका पनि बलियो उम्मेदवार रहेको हुनाले कडा टक्कर हुने निश्चित छ ।

मधेशका जानकारहरुका अनुसार यदि जसपा, लोसपा र जनमतबीच सहकार्य नभए दलहरु एक दुई सिट जित्लान् तर, यसले मधेश मुद्दा कमजोर हुने र भविष्यमा यसले ठूलो मूल्य चुकाउने पर्ने चिन्ता व्यक्त गर्दछन् । मधेश केन्द्रित दलको भलो अन्य दलसँग सहकार्य गर्नु भन्दा आफनै मुद्दा मिल्ने दलसँग सहकार्य गरेर गए जनताले विश्वास गर्ने बताउँछन् ।

यही कारणले होला पाँच दलीय गठबन्धन जसपालाई अझै पनि अल्मल्याई रहेका छन् । जसरी लोसपालाई पनि अलमलमा पारे, अन्तिममा जति सिट दिन्छु लिने भने लेउ नभए जाँउ भने स्थिती निमार्ण गरेर एक पछि अर्काे मधेश केन्द्रित शक्तिलाई कमजोर गर्ने खेलमा लागेको छन् । मधेश केन्द्रित दल जति कमजोर भए त्यति बढी फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई हुने चुनावी गुणाभाग गर्दा देखिन्छ ।

जति सक्दो छिटो जसपा, लोसपा र जनमतभित्र चुनावी सहकार्यको वातावरण बन्छ त्यति लाभदायक हुनेछ । होइन भने २०७० निर्वाचनमा मधेश केन्द्रित दलले जुन हविगत भोगेका थिए त्यो भन्दा पनि कमजोर हुनेछ । यसको ज्वलन्त उदाहरण त हाम्रो सामुन्ने र्छलङ्गै छ, चुनावको मिति नजिकिँदै जाँदा मधेशमा अहिले दल बदलको सिजन सुरु भएको छ । प्राय जसो मधेश केन्द्रित दलका पूर्व सांसदहरु ठूला पार्टी प्रवेश गर्ने लहर चलेको छ ।

२०७४ को निर्वाचनमा उनले धनुषा २ बाट तत्कालिन समाजवादी पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित भएका उमाशंकर अरगरिया एमाले प्रवेश गरिसकेका छन्, यता जसपाकी सांसदद्वय अमृता अग्रहरि र रुही नाज पनि एमाले प्रवेश गरिसकेकी छिन् । बाबुराम भट्टराईले खोलेका नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी पनि एमालेमा प्रवेश गरिसकेका छन्् । तर नेसपाका अर्का नेता नरसिंह चौधरी भने सिके राउतले नेतृत्व गरेको जनमत पार्टीमा प्रवेश गरिसकेका छन्् । मधेसमा भइरहेको दल अदलबदलको शृंखलाले मधेस केन्द्रित दुई दल जसपा र लोसपालाई नै निकै नोक्सान पु¥याएको छ । मधेशमा एमाले विस्तारै आफनो बलियो उपस्थिती देखाउने बाटोमा लागेको छ ।

(लेखक अनन्त अनुराग पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया