उपेन्द्रको महाभुल (सम्पादकीय)

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग चुनावी तालमेल गरेर महाभुल गर्नु भएको छ । एकपटक यस्तै भुल गर्दा उहाँका साथै मधेश पनि अपमानित हुनु परेको थियो । एमालेसँग चुनावी तालमेलका लागि सहमति गरेपछि उहाँका पार्टीमा समेत असन्तुष्टि सुरु भएको छ भने बाहिर बौद्धिकजगतमा पनि उहाँको आलोचना भइ रहेको छ ।

२०७४ मा पनि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली उपेन्द्र यादवको बुँई चढेर मधेश छिर्नु भएको थियो । यसपटक पनि अ‍ोलीले उपेन्द्र यादवको बुँई चढेर मधेशमा पाइला टेक्नु भएको छ । उहाँले पाइला जमाएपछि फेरि त्यसलाई हलाउन कुनै तागतले सक्दैन । एमाले नै यस्तो पार्टी हो कि मधेशी जनतालाई पटक पटक अपमान गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश र मधेशी जनताको बारेमा पटक पटक नाकारात्मक टिप्पणी गर्नु भएको छ । उहाँले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत आफ्नो मन्त्रीमण्डलमा अपमान गर्नु भएको धेरै समय भएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा मन्त्री हुँदा कहिले पनि सौहाद्र सम्बन्ध रहेन ।

उपेन्द्र यादवलाई भन्दै न भनिकन स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सरुवा गरिएको थियो । उहाँका राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाइएको थियो । कानुन मन्त्री भएको हैसियतमा संविधान संशोधनको गृहकार्यका लागि उपेन्द्र यादवले कार्यदल गठन गर्नुपर्ने प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा लाग्नु भएको थियो । तर अ‍ोलीले त्यो प्रस्ताव पढ्दै नपढी उपेन्द्र यादवलाई गेटलस्ट भनेर अपमान गर्नु भएको थियो ।

त्यो अपमान सहन गर्न नसकेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट समर्थन फिर्ता लिएर आफूसहित अन्य मन्त्रीहरुलाई पनि फिर्ता बोलाउनु भएको थियो । त्यो दिनदेखि उहाँ केपी शर्मा अ‍ोलीको कट्टर विरोधी हुनुभयो । केपी शर्मा ओलीको नाम समेत उहाँले सुन्न चाहनु हुन्थेन । उहाँले नै माओवादी र काँग्रेसलाई कन्भिन्स गरेर अ‍ोली विरुद्ध गठनबन्धन बनाउन लगाउनु भयो । गठबन्धन बनेपछि अ‍ोलीलाई सरकारबाट हटाउने काम पनि उहाँकै प्रयासबाट भएको थियो ।

नागरिकता विधेयक पारित हुन नदिनेमा एमालेले खेलेको भूमिकाप्रति उपेन्द्र यादव स्वयंले आफ्ना पार्टीका कार्यकर्ता तथा नेताबाट एमालेको अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाउन लगाउनु भएको थियो ।

तर त्यो पुतलाको आगो सेलाउन नपाउँदै उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउनु भयो । चुनावी तालमेल गर्नुभयो । जसको आलोचना चौतर्फी भइरहेको छ । दुवै सदनबाट दुई दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नु भएन । त्यसमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हात रहेको कुरा स्वयं उपेन्द्र यादवले भन्दै आउनु भएको थियो तर त्यस्तो के आपत्त आइलाग्यो कि मधेश र मधेशीलाई पटक पटक अपमान गरेको अ‍ोलीसँग गठबन्धन बनाउन बाध्य हुनुभयो ? यो प्रश्न मधेशी जनताको मानसपटलमा नाचिरहेको छ ।

ओलीको प्रतिगमन कदम विरुद्ध उपेन्द्र यादवले गठबन्धन बनाउनु भएको हो तर आज त्यही दुई चारवटा सीटका कारण छाड्नु भयो । उपेन्द्र यादवले प्रतिगमनकारीलाई साथ दिएको कुरा यो घटनाक्रमले पुष्टि भएको छ । २०७४ मा ओली नेतृत्वको सरकार गठन हुँदा यसैगरि उहाँले अ‍ोलीलाई साथ दिनु भएको थियो । त्यो बेला पनि उहाँको आलोचना भएको थियो ।

तर तीन वर्षसम्म सरकारमा रहनु भयो तर मधेशको एउटा पनि माग पुरा गराउन सक्नु भएन । र, अपमानित भएर सरकारबाट अलग हुनु भएको थियो । अहिले फेरि उहाँ त्यही बाटो अपनाउनु भएको छ । फेरि अ‍ोलीबाट उहाँ अपमानित हुनुपर्दैन भन्ने कुनै ग्यारेन्टी छैन ।

तपाईको प्रतिक्रिया