जसपा–एमाले गठबन्धन चुनावसम्मका लागी मात्र हो

–मनिष सुमन
–प्रवक्ता एवं कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल,–

सरकारको नेतृत्वमा रहँदा एमालेले दुई दुईपटक संसद विघटन गरेको थियो । त्यसको विरुद्धमा काँग्रेस, माओवादी केन्द्रलगायत दलसँग मिलेर जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धन बनाएको थियो । गठबन्धन बनाउनमा जसपको अहम भूमिक थियो । तर यो चुनावको समयमा जसपाले गठबन्धन छाड्न बाध्य भयो । र, केपी शर्मा ओली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्यो । नागरिकतालगायतका विषय लिएर भर्खर जसपाले एमालेको विरोधमा आन्दोलन नै गरेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग केपी ओलीको राम्रो सम्बन्ध थिएन । मधेश पनि एमालेप्रति सकारात्मक छैन । त्यस अवस्थामा पनि जसपाले एमालेसँग गठबन्धन गर्नु आफैमा अनौठो हो । यो कसरी सम्भव भयो, चुनावमा मधेशमा यसले के फरक पार्छ, जसपा र एमाले गठबन्धनको आयु कति लामो छ लगायतका विषयमा जनता समाजवादी पार्टी नेपालका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनसँग सहारा टाइम्सले गरेको कुराकानीः

यत्रो मेहनत गरेर गठबन्धन बनाउनु भयो आज त्यही गठबन्धनबाट बाहिर निस्कन बाध्य हुनुभयो किन ?
–एउटा विशेष परस्थितिमा त्यो गठबन्धन बनेको थियो । जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो । त्यो उद्देश्य पुरा भयो । अर्को, शृङ्खलामा प्रवेश गर्दा दलहरुको बीचमा कुरा मिलेन अनि हामी त्यहाँबाट निस्कियौं । सरकारको नेतृत्वमा रहेको बेला एमालेले संविधानको उल्लघंन गर्दै संसद विघटन गरेको थियो । संविधानको रक्षाका लागि पाँचवटा दल मिलेर गठबन्धन बनाइएको थियो । गठबन्धन गरेर ती सबै काम सल्टाइयो । त्यसपछि चुनावसम्म सँगसँगै जाने कुरा भयो । तर चुनावका लागि सीट बाँडफाँट गर्दा दलहरुको बीचमा कुरा मिलेन अनि हामी बाहिर भयौं । सधै एउटा गठबन्धन बस्नुपर्छ भने पनि छैन । गठबन्धन त्योसँग हुन्छ जोसँग मन मिल्छ, हरेक कुरामा सहमति बन्छ । तर जहाँ सहमतिको वतावरण नै छैन त्यहाँ बस्नु उचित पनि होइन ।

जुन दल (एमाले) को विरुद्धमा तपाई (जसपा) ले गठबन्धन गर्नुभयो, त्यही दलसँग अहिले मिल्नुभयो यो कस्तो अप्राकृतिक जस्तो देखियो तपाईलाई अनौठो लाग्दैन ?
–विल्कुल लाग्दैन । पाँच दलीय गठबन्धन बनाउँदा काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँग विल्कुल विचार नमिल्न राष्ट्रिय जनमोर्चालाई पनि साथमा राखियो । राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टी हो नि तर त्यो दलसँग गठबन्धन बनायौं भने एमाले त राष्ट्रिय जनमोर्चाभन्दा धेरै अग्रगामी छ । त्यसैले हामी जुन प्रयोजनका लागि गठबन्धन गरेका थियौं त्यो परियोजना समाप्त भयो । एमालेसँग सिर्फ चुनावी प्रयोजनका लागि गठबन्धन भएको छ । अरु कुरामा फरक मत छदैछन् । हामी चुनावी तालमेलका लागि एमालेसँग छलफल गर्दा चुनावी क्षेत्र र सीट बाँडफाँटबाहेक अरु कुनै विषयमा छलफल गरेनौं । अहिले चुनाव आएको छ । चुनावमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा जसरी पनि जित्ने कुरा हुन्छ । चुनावै यस्तो चिज हो, जहाँ जित्नका लागि दुश्मभन्दा दुश्मन व्यक्तिसँग सम्बन्ध बनाउनुपर्ने हो । चुनाव कसरी जित्ने त्यसका लागि अपनाउनु पर्ने सबै टुल्स अपनाइन्छ । एमालेसँग जसपाले गठबन्धन गर्नु कुनै गलत भएको छैन ।

केही दिनअघि मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाउनु भएको थियो त्यो कुरा बिर्सिनु भयो ?
–छैन बिर्सेको । संविधान विपरित गलत काम गरेको कारण त्यसको विरोध गरेको हुँ । त्यो एउटा परस्थिति थियो । अहिले चुनावको अवस्था छ । परस्थितिले हामीलाई मिलाएको छ । हिजोको परस्थिति अर्कै थियो, आजको परस्थिति फरक छ । भोलीको परस्थिति के हुन्छ त्यो अनुसार कुरा हुन्छ । मैले अघि पनि भनेको थिए कि एमालेसँग यी सब विषयमा कुरा हुन बाँकी छ । सैद्धान्तिक पाटोमा कुनै पनि कुरा भएन । सिर्फ चुनावको परिणाम आफ्नो पक्षमा कसरी पार्न सकिन्छ अहिले त्यतातिर मात्र ध्यान छ । चुनावपछि त्यस विषयमा कुरा हुनसक्छ ।
ल तपाईहरु पार्टीका नेता भएका कारण चुनाव जित्नका लागि परस्थिति अनुकुल निर्णय गर्नुभयो तर तपाईका जुन मतदाता छन् उनीहरुले

कसरी एमालेलाई स्विकार गर्न सक्छ त ?
–मतदाताले पनि स्विकार गरिसके । मधेशमा एक अर्काको झण्डा बोकेर हिड्न थालेका छन् । एक अर्काको चुनाव चिन्हको प्रचार प्रसार गर्न थालेका छन् । मतदातालाई पनि हामीले कन्भिन्स गर्छौ । परस्थितिको बारेमा हामीले जानकारी गराउँछौं । हामीलाई पूर्ण विश्वास छ कि मतदाताले पनि हामीलाई विश्वास गर्छ ।

स्थानीय चुनावदेखि अन्य अवस्थामा पाँच दलीय गठबन्धनको पाठ सिकाउनुभयो, एमालेको विरुद्धमा उचाल्नुभयो । यत्रो समय लगाएर सबैलाई सत्ता गठबन्धनका लागि तयार गर्नुभयो अहिले एकाएक एमालेसँग गठबन्धन गरपछि सत्ता गठबन्धनबाट एमाले–जसपा गठबन्धनमा कन्भर्ट गर्न पक्कै पनि गाह्रो हुन्छ होला ?
–अहिलेको मतदाता वा जनता पहिलाको जस्तो मुर्ख छैन । सबै सचेत र शिक्षित भइसकेका छन् । सबैको हात हातमा मोवाइल छन् । हर हमेसा समाजिक सञ्जालसँग जोडिएका हुन्छन् । पलपलको खबरसँग अपडेट हुन्छन् । तपाई हामीले अहिले सम्झाउनै पर्दैन । गाउँघरमा जानुभयो भने त्यहाँका जनताको कुरा सुन्नुभयो भने तपाई पनि छक्क पर्नुहुन्छ । यस्ता यस्ता लौजिक दिएर कुरा गरेका हुन्छन् कल्पना गर्न सक्नु हुन्न । यी सब कमाल टेक्नालोजीको हो । सिंहदरवार, शितल निवास बालुवाटारमा के भइरहेका छन् ती सब कुरा लाइभ नै थाह पाइराखेका हुन्छन् उनीहरु । त्यसैले कन्भर्ट गर्न कुनै गाह्रो हुनेछैन । हामी काठमाडौबाट मधेश झर्दासम्म उहाँहरुले सबै कुरा थाह पाइसकेका हुन्छन् । हामीले केही भन्नै पर्दैन ।

सत्ता गठबन्धन छाड्ने परस्थिति कसरी निर्माण भयो ?
–मुख्य चुनावका लागि क्षेत्रगत सीट बाँडफाँटमा कुरा मिलेन र हामी बाहिर निस्कियौं । सत्ता गठबन्धनमा रहेका दल खासगरि काँग्रेसले हामीलाई देशभरमा १३ वटा सीट दिइरहेको थियो । त्यसमध्ये ११ वटा मधेश प्रदेशका लागि र एउटा लुम्बनी प्रदेशको बाँकेमा इस्तियाक राइका लागि दिइरहेको थियो भने अर्को एक नम्बर प्रदेशमा सुनसरीमा अशोक राइका लागि दिइरहेको थियो । हामीले भनेका थियौं बाँकेमा हामीलाई चाहिदैन । त्यहाँ हामी एक्लै पनि चुनाव जित्न सक्छौं । त्यहाँ दिएपनि नदिए पनि केही फरक पर्दैन्थ्यो । तर हामीलाई त्यो १२ सीटमा चित बुझिरहेको थिएन । हामीले मधेश प्रदेशमा आधा जसपालाई र बाँकी आधा अरु दलहरुले वितरण गरा्ेस् भनि माग गरेका थियौं । र बाँकी प्रदेशमा कम्तीमा १५ वटा सीट अर्थात देशभरमा ३० देखि ३२ सीटको मात्र हामीले दावी गरेका थियौं । तर उनीहरुले देशभरमा १२ वटा सीट मात्र दिइरहेका थिए र अन्य बाँकी रहेको १५१ सीटमा कतै एकल उम्मेदवारी पनि दिन नपाउने भनि परहेज थियो । यो त पार्टीलाई नै समाप्त गर्ने षड्यन्त्र जस्तै हामीले देखियौं र त्यहाँबाट बाहिर निस्कियौं ।

तपाईका पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रचण्डको राम्रो दोस्ती छ, प्रचण्डबाट पनि सहयोग भएन त ?
–हामी त्यहाँबाट निस्किने निर्णयमा पुगेपछि गठबन्धन दलका नेताहरु हामीलाई फर्काउन धेरै कोशिस गर्नुभयो । शेरबहादुर देउवादेखि लिएर प्रचण्ड, माधवकुमार नेपालहरु पनि जसपालाई गठबन्धन नछाड्न पटक पटक आग्रह गर्नुभयो । तर आग्रहले मात्र हुँदैन । मनभित्रको पूर्वाग्रह पनि हटाउनुपर्छ । आफ्नो पार्टी नै समाप्त गरेर त्यहाँ बस्नुको कुनै औचित्य रहदैन । प्रचण्डको इच्छा थियो कि जसपा गठबन्धन छाडेर नजाओस् तर उहाँ पनि खुलेर बोल्नु भएन । यदि जसपालाई सीट थप्नु पथ्र्यो भने सबैको सीट अलिकति कटौती हुन्थ्यो । त्यही भएर सबै दलका नेताहरु तैचुप मैचुपको अवस्थामा पुग्नुभयो । वास्तवमा भन्ने हो भने यी दल भनाउँदाहरुले साना दलको हित कहिले सोचेनन् । खास गरि मधेश केन्द्रीत दललाई ती ठूला दलहरु प्रधान सत्रु नै ठान्छन् । मधेश केन्द्रीत दलबाट नै ती ठूला दलहरुले खतरा देख्छन् । थ्रेस होल्ड पनि साना दलहरुलाई समाप्त गर्नका लागि नै उनीहरुले ल्याएका हुन् । साना दलहरु समाप्त भयो भने आफूहरुको हाली मुहाली रहन्छ भनि जानी बुझि विभिन्न षड्यन्त्रहरु गरेका छन् ।

गठबन्धनमा रहेका सबै दलहरु तपाईहरु प्रति पूर्वाग्रह छन् भने मधेश प्रदेश सरकारबाट मन्त्री बर्खास्त गर्दा काँग्रेसको मात्र किन गर्नुभयो, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका मन्त्रीहरुलाई किन छाड्नु भयो त ?
–संघमा सत्ता गठबन्धनको सरकार भएपनि त्यसको नेतृत्व काँग्रेसले गरेको छ । काँग्रेसका प्रधानमन्त्री हुनुहुन्छ । र, काँग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा चारजना मन्त्री बर्खास्त गर्नुभयो । गठबन्धनको निर्णयबाट जसपाका मन्त्रीहरु हटायो कि हटाएन त्यो हामीलाई थाह छैन । हामीलाई के थाह छ भने काँग्रेस नेतृत्वको सरकार हो, काँग्रसका प्रधानमन्त्री देउवाले हाम्रो मन्त्रीलाई बर्खास्त गर्नुभयो । मलाई लाग्छ जसपाका चारजना मन्त्री हटाउनुमा माओवादी केन्द्र र नेकपा (एस) को कुनै हात छैन । यद्यपी यस बारेमा हामीलाई आधिकारिक जानकारी छैन । हामी पनि बुझ्दैछौं ।

त्यसो चुनावमा माओवादी केन्द्र र नेकपा (एस) सँग मधेश प्रदेशमा कस्तो सम्बन्ध रहन्छ त ?
–चुनावसम्म कुनै सम्बन्ध रहने छैन । हामी एमालेसँग चुनावी तालमेल गरेका छौं । जहाँ जहाँ तालमेल भएका छन् त्यहाँ हामीले इमान्दारीपूर्वक साथमा रहन्छौं । चुनावपछि के अवस्था हुन्छ त्यसपछि छलफल गरेर अगाडी बढिन्छ ।

तपाईहरुको सरकार रहेसम्म माओवादी केन्द्र र नेकपा (एस) का मन्त्रीहरु कहिले हटाउनु हुन्न त ?
–त्यो त उहाँहरुको व्यवहारमा भर पर्छ । ती दुवै दलले जसपासँग कस्तो व्यवहार गर्छन्, त्यस्तै व्यवहार हामी पनि गर्छौ । जसरी काँग्रेसले हाम्रा मन्त्रीहरुलाई बर्खास्त गर्यो । त्यसरी नै हामीले पनि मधेश प्रदेशमा त्यो दलका मन्त्रीहरु हटायौं । उसले हामीसँग जस्ता व्यवहार गर्यो हामीले पनि त्यस्तै गर्यौं । जसपाले मधेश प्रदेशको सरकारमा माओवादी केन्द्र र नेकपा (एस) सँग कस्तो व्यवहार गर्छ त्यो ती दलहरुको व्वहारमा भर पर्छ ।

जसपा–एमाले गठबन्धनको आयु कति लामो छ ?
–चुनावसम्म मात्र । चुनावपछि कुन दलको कति सीट आउँछन् । परस्थिति कस्तो निर्माण हुन्छ । त्यसलाई हेरेर पुनः छलफल हुन्छ । सम्भव भयो भने सँगै हिड्ने कुरा हुन्छ नभए अलग अलग बाटो हुन्छ । तर अहिले हामी चुनावका लागि गठबन्धन गरेका छौं । त्यसलाई इमान्दारी पूर्वक हामी निर्वाह गर्छौ । एक अर्काका सहयोगमा संसदमा सबभन्दा ठूलो शक्ति बनेर आउनु हाम्रो लक्ष्य रहेको छ । हेरौं कहाँसम्म सफल भइन्छ ।

एमालेसँग देशभर १७ सीटमा तालमेल गर्नुभएको छ । त्यसमध्ये १४ वटा सीट मधेश प्रदेशमै रहेका छन्, यीमध्ये तपाईको जसपाले कति सीट हात पार्छ जस्तो लाग्छ तपाईलाई ?
–हाम्रो लक्ष्य त सबै सीट जित्ने नै हो । चुनावी तालमेल गरेका कारण हार्ने छुट हामीलाई छैन । नभए १५ वटा सीट त जसरी पनि जित्नुपर्छ । र, हामीले जित्र्छौ पनि । १७ सीट बाहेकका अन्य सीटमा मित्रवत प्रतिस्पर्धा गर्दैछौं । त्यहाँ पनि केही सीट जित्ने हाम्रो लक्ष्य छ ।

त्यसको आधार के छ ?
–त्यसको आधार २०७४ को प्रतिनिधिसभा र २०७९ को स्थानीय चुनावको मत परिणाम हो । २०७४ को मतपरिणाम अनुसार देशकै ठूलो पार्टी हो एमाले । एमालेले स्थानीय तहको चुनावमा पनि दोस्रो स्थान ल्याएको छ । २०७४ को चुनावमा हामी मधेश प्रदेशमा मात्र नौ सीट जितेका थियौं । स्थानीय तहमा राम्रै परिणाम ल्याएका छौं । पछिल्लो समय एमाले र जसपाप्रति जनताको आकर्षण बढेको छ । काँग्रेस, माओवादी पार्टी स्थिर भएका छन् तर जसपा र एमाले विस्तार हुँदैछन् । दिन दिनै अन्य अन्य पार्टीबाट नेताहरु हाम्रो पार्टीमा आउँदै छन् । अरु ठाउँको त हामीलाई थाह छैन तर मधेश प्रदेशमा समग्र हिसाब गर्दा चार दलीय गठबन्धनको मत र हाम्रो (जसपा–दलीय) मत लगभग बराबर नै छन् । यी सब कारणले गर्दा हामी राम्रै परिणाम ल्याउँछौं ।

तपाईको प्रतिक्रिया