पुष्प मेलाको दोस्रो दिनः दश हजारले गरे अवलोकन, २१ लाख बढीको कारोबार

काठमाडौ, कात्तिक ४ गते । गोदावरी पुष्प मेलाको दोस्रो दिन शुक्रबार दश हजार बढीले अवलोकन गरेका छन् । सो संख्याको अवलोकनकर्ताबाट २१ लाख ७५ हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) का महासविच विश्वमणी पोखरेलले जानकारी दिनु भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ जावलाखेल मैदानमा जारी छ । सो मेलाको विहिवार उद्घाटन गरिएको हो ।

नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको पोखरेलले जानकारी दिनुभयो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गरिएको हो ।
मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल छन् । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फ्यानको अनुमान छ ।

नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर रहेको छ । कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ ।

गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् । पुष्प मेला कात्तिक ६ गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया