चुनावी मैदानमा मधेशी युवा

पछिल्लो चुनावमा युवाहरुको आकर्षण बढेको छ । र, पार्टीहरुले पनि युवालाई स्थान दिन थालेका छन् । जो चुनावका आकाँक्षी छन्, त्यसले यदि पार्टीबाट टिकट पाएका छैनन् भने स्वतन्त्र पनि उठेका छन् । स्वतन्त्र उठ्नेमा पनि अधिकाँश युवा नै छन् । २५ वर्षदेखि ४५ वर्षका युवा चुनावी मैदानमा छन् । धेरैजसो युवाहरु पढेलेखेका नै छन् ।

कोही मास्टर्स गरेका छन् भने कोही ब्याचलर गरेका छन् । कोही एसएलसी मात्र पास गरेका छन् तर निरक्षर कोही पनि छैन । सर्लाहीका संजय यादव, अशोक यादव, उपेन्द्र महतो, रौतहटका योगेन्द्र राय यादव, पुजा चौधरी, सप्तरीका टिकाराम चौधरी, लक्ष्मी चौधरी, सिरहका विजय यादव, धनुषाका जितेन्द्र यादव, महोत्तरीका दीपेन्द्र झालगायतका युवा चुनावी मैदानमा छन् ।

डाक्टरी छाडेर राजनीतिमा
कतिपय युवाले त आफ्नो पेसा छाडेर राजनीति फिल्ड रोजेका छन् । पर्सा क्षेत्र नम्बर ३ (ख) का लागि मधेश प्रदेशको प्रदेशसभामा उम्मेदवारी दिनु भएका डा.मधु गुप्ताले पेसाले डाक्टर हुनुहुन्छ । उहाँ स्त्री रोग विशेषज्ञ नै हुनुुहुन्छ । वीरगञ्जको एक अस्पतालमा उहाँ कार्यरत नै हुनुहुन्थ्यो तर उहाँले सो पेसा छाडेर राजनीति रोज्नु भएको छ । जनता समाजवादी पार्टी नेपालले उहाँलाई सो क्षेत्रका लागि टिकट दिएपछि उहाँ चुनावी मैदानमा हाम फाल्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, अब देशको र समाजको नेतृत्व युवाले लिनुपर्छ, डेटस्पाइर नेताहरुको अब काम छैन नयाँ नयाँ टेक्नोलोजीहरुको विकास भएको छ त्यसबाट युवा अभ्यस्त भइसकेका छन् । त्यो अनुसार काम गर्न सजिलो हुन्छ त्यही भएर राजनीतिमा युवाको हस्तक्षेप जरुरी छ । ‘म डाक्टरी पेसामा परफेक्ट छु तर देशको सिस्टम नै राम्रो भएन भने पेसा पनि राम्रोसँग चल्न सक्दैन त्यसैले सिस्टम सुधारका लागि म अघि सरेको हुँ, उहाँले भन्नुभयो, म देशभरका युवालाई आह्वान गर्दछु कि राजनीतिमा आउनुस् देशको नेतृत्व लिनुस् र देशको विकास गर्नुस् ।’

अभियान र राजनीतिको कनेक्सन
समाजिक अभियन्ताको रुपमा सुपरिचित सरोज राय पनि मधेश प्रदेशको सर्लाही ३ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले जनता समाजवादी पार्टी नेपालबाट टिकट लिएर चुनाव लड्ने सोचमा हुनुहुन्थ्यो तर सो पार्टीबाट उहाँले टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । तराई मधेशमा मात्र होइन, उहाँ देशभरमै एउटा समाजिक अभियनताको रुपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न विपदमा सहयोग जुटाउनुदेखि लिएर समस्यामा परेका वैदेशिक रोजगारमा गएकाहरुको पनि उद्धार गर्ने काम गर्दै आउनु भएको छ ।

समाजमा कसैलाई कुनै आपत्त पारेको छ भने अघि सरेर उहाँले सहयोग गर्दै आउनु भएको छ । चाहे कोही विरामी परेको होस् या कसैको घरको झगडा होस् अथवा प्रहरी प्रशासनबाट पिडित भएको होस् अरुको दुख आफ्नो टाउकोमा लिएर त्यसको समाधानका लागि उहाँ भौतारिनु हुन्छ र त्यसको अन्त्यसम्म जानु हुन्छ । मधेश प्रदेश सरकारसँग सहिद परिवार र सुकम्वासीहरुका लागि लडेको धेरै भएको छैन । तर उहाँ भन्नुहुन्छ, ‘म जेजति काम गरिरहेको छु ती देशको व्यवस्था बिग्रेको कारण गर्न बाध्य पारेका छ, यदि देशको सिस्टम ठिक भयो भने हामी जस्ता अभियन्ताको कुनै काम नै हुँदैन । त्यसैले नीति निर्माणको तहमा जानका लागि मैले यो उम्मेदवारी दिएको हुँ ।’

राजनीतिमा बौद्धिक उपस्थिति
सिरहा क्षेत्र नम्बर ४ मा ४१ वर्षीय काशिन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोशियोलोजी र रुलर डेभलोमेन्टमा मास्टर्स गर्नुभएका काशिन्द्र अमेरिकन फेलोसीपमा अध्ययन पनि गर्नुभएको । उहाँ जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री राजकिशोर यादवका भाइ हुनुहुुन्छ । पार्टीले सिरहा ४ बाट चुनाव जितेका राजकिशोरलाई सिरहा २ का लागि टिकट दिएको छ । सोही मौका काशिन्द्र यादवले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको कतिपयको बुझाई छ । तर उहाँ पार्टीको तर्फबाट होइन तराई मधेश राष्ट्रिय अभियानको तर्फबाट स्वतन्त्र उम्मेदावरी दिनुभएको छ ।

काशिन्द्र यादवलाई बौद्धिक युवाको रुपमा चिनिन्छ । कुनै पनि विषयमा सुक्ष्म र तथ्यपरक तर्क गर्ने खुबी उहाँसँग छ । तराई मधेश राष्ट्रिय अभियान गठन गरेर मधेशको राजनीतिक, समाजिक, आर्थिकलगायतका विषयमा बहस चलाउँदै आउनु भएका काशिन्द्र यादव समाज परिवर्तनका लागि अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको बताउनु हुन्छ । कुनै पनि चिजको विकास गर्नका लागि त्यसको बारेमा अध्ययन हुनु आवश्यक छ । उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘किताब को पढिए, जमिन से जुडिए तब राजनीति किजिए ।’ अर्थात किताब पढ्नुस्, जमिनबाट जोडिनुस् अनि राजनीति गर्नुस् ।

राजनीतिका भोका
सुनसरीका सन्तोष मेहतामा पनि चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता सन्तोष मेहता सुनसरी ४ (ख) का लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका छ । पोल्टिकल साइन्समा ब्याचलरसम्म अध्ययन गर्नुभएका ३७ वर्षीय सन्तोष मेहता होल्टाइमर राजनीतिकर्मी हुनुहुन्छ । विद्यालय जीवनदेखि राजनीतिमा आउनु भएका सन्तोष मेहता राजनीतिककै कारण उहाँले पढाईलाई निरन्तरता दिनुभएन ।

नेपाल सद्भावना पार्टीसँग जोडिएर काम गर्न थाल्नु भएका सन्तोष मेहता यसअघि २०७० को संविधानसभामा पनि सदभावना पार्टीबाट चुनाव लड्नु भएको थियो । तर पराजित हुनुभयो । पराजित भएपनि उहाँ पछाडी हट्नु भएन । पार्टीमा रहेर आफ्नो यात्रा निरन्तर अगाडि बढाई रहनु भएको छ । पार्टीमा अध्ययनशिल र बौद्धिक युवाको रुपमा परिचित उहाँ राजनीतिको ट्रेण्ड बदल्नुपर्ने बताउनु हुन्छ । परम्परागत ढंगले अब राजनीति हुँदैन, यसको परिवर्तन आवश्यक छ र त्यसका लागि युवा नै अगाडि बढ्नुपर्ने उहाँको बुझाई छ ।

विकासका लागि युवा
सप्तरीका ३५ वर्षीय अभिषेक यादव पनि मधेश प्रदेशको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । जसपा नेपालको तर्फबाट सप्तरी ४ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनु भएका उहाँ यसअघि पनि प्रदेशसभा सदस्यमा जित्नु भएको थियो ।

भारतबाट ब्याचलरसम्म अध्ययन गर्नुभएका अभिषेक देशको विकासका लागि राजनीतिमा युवाको सहभागिता अनिवार्य रहेको बताउनु हुन्छ । देशमा विकास नहुनुको कारण देशका सबै जनशक्ति विदेश गइसके अरु अन्य अन्य क्षेत्रमा लागेका छन् । राजनीतिमा पढे लेखेका व्यक्तिको कमी छन् । त्यही भएर विकास नभएको उहाँको बुझाई छ । पढे लेखेका, अध्ययन अनुसन्धान गरेका व्यक्ति राजनीतिमा आए भने देशलाई परिवर्तन गर्न असम्भव छैन भन्दै उहाँले आफू देशको समग्र विकास वैज्ञानिक ढंगबाट होस् भनेर नै राजनीतिमा लागेको बताउनुभयो ।

उहाँ जसपाका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री रेणु यादवको छोरा हुनुहुन्छ । उहाँ यसअघि प्रदेशसभा सदस्यको रुपमा आफ्नो क्षेत्रमा गरेको कामको चौतर्फी चर्चा भइरहेको छ । उहाँ आफ्नो कामको प्रचार गर्न रुचाउनु हुन्न । चुपचाप विस्तारै काम गर्नमा उहाँ विश्वास गर्नुहुन्छ । विगतमा आफ्नो क्षेत्रमा काम गरेको नाताले चुनाव जित्ने निश्चित रहेको उहाँको दावी छ ।

समाज परिवर्तनका लागि
म्यानेजमेन्टमा ब्याचलरसम्म अध्ययन गर्नुभएका सिरहाका रेणु यादव राजनीतिमा आएपछि धेरैले अच्चम मानेका थिए । काठमाडौमा व्यपार विजनेश गरेर सुखसयलको जीवन बिताइ रहनु भएको रेणु यादव एकाएक राजनीतिमा उदय हुनुभयो । र, अहिले जसपा नेपालको तर्फबाट सिरहा ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

समाजलाई परिवर्तन गर्नका लागि राजनीति नै चाहिन्छ । र, त्यसका लागि युवाको सहभागिता हुनुपर्छ भन्दै रेणुले आफू राजनीतिमा कुनै लाभका लागि आएको होइन, आफ्नो गाउँ ठाउँ र समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ त्यसका लागि आफू राजनीतिमा आएको दावी गर्नुभयो ।

इन्टेरियर डिजाइनरको पढाई पनि गर्नुभएका रेणु यादवले क्याप्टल मल्टीप्रपोज कम्पनी खडा गरेर व्यवसायमा लाग्नु भएको थियो । तर, आफै कमाउने र आफै खाने गर्यो भने समाजको विकास हुँदैन समाजको विकासका लागि युवालाई नै लाग्नु पर्छ भनि सोचेर उहाँ राजनीतिमा आउनु भएको हो । राजनीतिमा आएपछि उहाँले आफ्नो गाउँ कर्जन्हालाई निकै नै परिवर्तन गर्नुभएको छ । महिलादेखि युवामा चेतनाको विकास गराई उनीहरुमा आमुल परिवर्तन ल्याउनु भएको छ ।

राजनीति नै सबथोक
भारतबाट ब्याचलरसम्म अध्ययन गर्नुभएका ४२ वर्षीय जीवछ यादव माओवादी केन्द्रबाट मधेश प्रदेश प्रदेशसभा सदस्यका लागि सिरहा २ (क) मा उम्मेदवारी दिनुभएको छ । विद्यार्थी जीवनदेखि फुलटाइम राजनीतिमा लागेको कारण अध्ययनलाई निरन्तरता दिन न सक्नु भएका जीवछ यादव एक अनुशासित र इमान्दार युवाको नेतामा चिनिनु हुन्छ ।

बुढापाका नेताका कारणले यो देशले विकास गर्न नसकेको भन्दै उहाँले देशको विकास राजनीतिबाट नै सम्भव छ र त्यसका लागि युवा नै अगाडि आउनुपर्ने बताउनुभयो ।

आफ्ना सारा सम्पत्ती राजनीतमा नै सकाइ सक्नु भएका जीवछ यादव यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट चुनाव लड्नु भएको थियो । तर उहाँ ११ सय मतले हार्नुभएको थियो । क्षेत्रमा केही नयाँ गर्ने उद्देश्यले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

क्षमतावान युवाको खाँचो
अँग्रेजी विषयमा मास्टर्स गर्नु भएका सिरहाका सुरेश मण्डल एक बौद्धिक युवा नेताको रुपमा परिचित हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा लाग्नु भएका उहाँ जनता समाजवादी पार्टी नेपालको तर्फबाट सिरहा ४ (ख) मा मधेश प्रदेशको प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो । उहाँ मधेश प्रदेश सरकारमा राज्यमन्त्री पनि बन्नु भएको थियो ।

राजनीतिमा शुद्धिकरणको आवश्यकता रहेको बताउँदै उहाँ त्यसका लागि युवा अघि नसरेसम्म त्यो सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुराना सोच र पुरानो तरिकाले राजनीतिबाट परिवर्तन सम्भव छैन, सोचमा परिवर्तन न ल्याएसम्म परिवर्तन गर्न सकिदैन ।’

पछिल्लो समय पढेलेखेका युवाको पनि राजनीतिप्रति आकर्षित हुन थालेको बताउँदै नेता मण्डलले आफ्नो अध्ययन, क्षमताको प्रयोग राजनीतिमा गर्नुपर्छ, सुधार हुन केही समय लाग्नसक्छ तर त्यसलाई निरन्तरता दिइरह्यो भने एकदिन परिवर्तन अवश्य हुने बताउनुभयो । वामपन्थी विचारको विद्यार्थी राजनीतिबाट आउनु भएका नेता मण्डल आफ्नो क्षेत्रमा गरेको विकासका कारण पनि उहाँ जनताको मन जित्न सफल हुनुभएको छ । क्षेत्रमा काम गरेकै कारण चुनाव जित्न सकिने अवस्थामा उहाँ रहनु भएको छ ।

जनताका लागि राजनीति
पोल्टिकल साइन्समा मास्टर्स गर्नुभएका ४१ वर्षीय विदेश्वर यादव अर्थात बिक्की यादव स्कूल जीवनदेखि नै राजनीतिमा लाग्नु भएको छ ।

स्वर्गीय गजेन्द्रनारायण सिंहको विचार र सिद्धान्तबाट प्रभावित भएर राजनीतिमा लाग्नु भएका बिक्की यादव नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेपछि त्यसैमा निरन्तर रहेर काम गर्नुभयो ।

पढाई र राजनीतिलाई साथसाथै लग्नु भएका बिक्की यादव जसपाको तर्फबाट मधेश प्रदेश सप्तरी ३ (ख) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।

अन्तराष्ट्रिय सम्बन्धमा समेत मास्टर्स गर्नुभएका बिक्की यादवले पनि युवाको चाहना अनुसार राजनीति अगाडि नबढेको दुखेसो पोख्नुभयो ।

सम्भावना भएका थुप्रै युवा राजनीतिमा आएका छन्, आउन चाहेका छन् तर कतै न कतै ब्रेकर भएको कारण चाहेर पनि युवाहरु राजनीतिमा सक्रिय हुन नसकेको उहाँले बताउनु भयो ।

अहिले पनि नेपालको राजनीति परम्परा ढंगबाट अगाडि बढेको बताउँदै उहाँले नेपालमा साधन स्रोतको अभाव छैन तर वैज्ञानिक ढंगबाट त्यसलाई कार्यान्वयनमा ल्याउन खाँचो रहेको बताउनुभयो ।

विकासका नाममा करोडका करोड खर्च भइरहेका छन् तर गएर हेर्नुभयो भने परिणाम देखिदैन त्यसको कारण हो व्यवस्थित र योजनावद्ध तरिकारले त्यसको सदुपयोग नभएको हो, त्यसका लागि पढे लेखेका जाने बुझेका युवा नै चाहिने उहाँले बताउनुभयो ।

राजनीतिमा परिवर्तनको खाँचो छ । देशको राजनीतिलाई युवाले नेतृत्व गर्नुपर्ने उहाँको बुझाई रहेको छ ।

पंचायतकालिन प्रवृति फेर्न युवा आवश्यक
सर्लाही क्षेत्र नम्बर ४ मा २६ वर्षीय मधुमाला कुमारी यादवले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जहाँ अमरेशकुमार सिंहले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएका छ । मधुमाला माओवादी केन्द्रका नेता शिवपुजन राय यादवका छोरी हुनुहुन्छ । बीएससी नर्सिङ पढ्नु भएका मधुमालाले पनि देशमा वर्षौदेखि राजनीति भइरहेको छ । सांसद बनेका छन्, मन्त्री बनेका छन्, तर देशको विकास भएन । पंचायतकालमा विकास हुन सकेन भनि जनआन्दोलन गरेर बहुदल ल्यायो । बहुदलमा पनि केही भएन भन्दै लडेर गणतन्त्र ल्यायो तर अहिले गणतन्त्रको अवस्था पंचायतकालभन्दा खराब देखिएको उहाँले बताउनुभयो ।

त्यसको मुख्य कारण हो, राजनीतिमा नेतृत्व परिवर्तन, उहाँले भन्नुभयो, ‘देशको शासन प्रणाली परिर्वतन भयो तर नेता परिवर्तन भएन । पंचायतकालमा जसको हालीमुहाली थियो, त्यसको हाली मुहाली बहुदलदेखि गणतन्त्रसम्म रह्यो ।

पात्र बदलिए होला तर प्रवृति त्यही पंचायतकालिन सोचका नै रहे ।’ यो सब देखेर नै आफू राजनीतिमा आएको उहाँले बताउनुभयो । आफू नर्सिङ पढेको, कुनै ठाउँमा राम्रो जागिर गरेर पनि बस्न सक्थे तर त्यसले मात्र देशको समग्र परिवर्तन नहुने बताउँदै उहाँले देशको परिवर्तनका लागि युवा नै अघि बढ्नुपर्ने तर्क गर्नुभयो ।

परिवर्तनका लागि भ्रष्टाचारमुक्त समाज
समाजिक कार्यकर्ताको रुपमा परिचित ३७ वर्षीय ओमप्रकाश सर्राफले मधेश प्रदेश पर्सा १ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँ लोसपाका नेता हुनुहुन्छ तर पार्टीले टिकट नदिएपछि स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । पर्सा १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत पनि उम्मेदवार हुनुहुन्छ ।

नेता सर्राफले मुख्यमन्त्री राउतलाई टक्कर दिइरहनु भएको छ ।

लोसपाका साथै उहाँ विभिन्न समाजिक संघ संस्थामा आवद्ध भएर पर्सामा समाजिक कार्यक्रमहरु सक्रिय हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, पत्रकारितालगायतका क्षेत्रमा उहाँले गरेको कामको प्रशंसा वीरगञ्जमा भइरहेका हुन्छन् । लिडरसीमा ग्राजुएशन गर्नुभएका सर्राफले परिवर्तनका लागि भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनु हुन्छ ।

वीरगञ्ज महानगरपालिका बनाउने अभियान, लोडसेडिङ मुक्त सत्याग्रह, सिर्सिया नदी बचाउन अभियानको नेतृत्व गरिसक्नु भएका सर्राफ नारायणी अस्पताल सुधारका लागि लामो संघर्ष गर्नुभयो । भिजिट मधेशको संयोजक समेत रही सक्नु भएका उहाँ देशको समग्र परिवर्तनका लागि युवा सक्रिय हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया