चुनावमा विदेशी शक्तिले मधेशमा नाङ्गो परेड खेल्यो

युरोपियन युनियनका मान्छेहरु आएर क्रिश्चयन धर्मालम्बीहरुलाई पनि जनमतलाई मतदान गर्न लगाएको थियो । पश्चिमाहरुको पनि चहल पहल त्यहाँ थियो । दक्षिणतिरका त खुलेर नै लागेका थिए ।

–उमेश यादव
केन्द्रीय सदस्य, माओवादी केन्द्र
सप्तरी २ (२) मा मधेश प्रदेशको प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्रको तर्फबाट चुनाव लड्नु भएका उमेश यादवको जित लगभग सुनिश्चित नै थियो । सप्तरीमा उमेश यादवको जितको चर्चा चुनावको अघिल्लो एक दुई दिनसम्म चल्यो । तर, चुनावमा उहाँ आफ्नो प्रतिस्पर्धीबाट करिब दोब्बर मतले पराजित हुनुभयो । जनमत पार्टीबाट महेशप्रसाद यादवले १३ हजार ३२५ मत ल्याउन उमेश यादवले सात हजार २३ मत ल्याएर पराजित हुनुभयो । महेश यादव पनि माओवादी केन्द्रका नै नेता हुनुहुन्छ । उहाँले माओवादीबाट टिकट नपाएपछि अन्तिम समयमा जनमतबाट टिकट लिएर चुनावमा भाग लिनुभयो । २०७० को संविधान सभा चुनावमा जितेका उमेश यादव त्यतिबेला सिंचाई मन्त्री बन्नुभएको थियो । २०७४ को आमचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिनिधि सभा सदस्यको चुनाव हार्नुभएको थियो । पाँच वर्ष उहाँले आफ्नो क्षेत्रमा निकै मेहनत गर्नुभयो । माओवादी केन्द्रका सप्तरी अध्यक्ष समेत रहनु भएका उमेश यादवलाई पार्टीले प्रदेश सभा सदस्यका लागि टिकट दियो । जितको सुनिश्चितता हुँदा हुँदै पनि उहाँ किन चुनाव हार्नुभयो । प्रस्तुत छ, यिनै विषयवस्तुमा केन्द्रीत रहेर सहरा टाइम्सका लागि माओवादी केन्द्रका नेता उमेश यादवसँग गरिएको कुराकानीको सम्पादीत अंश

सप्तरी–२ मा तपाईको मात्र जितको सुनिश्चितता थियो तर तपाई पनि हार्नुभयो, यो कसरी भयो ?
–यसका विभिन्न कारणमध्ये मुख्य कारण वैदेशिक हस्तक्षेप नै हो । देशभरीकोचुनावमा जसरी विदेशीहरुले हस्तक्षेप गरेर कसैलाई हराउने र कसैलाई जिताउने काम गरे त्यसको नाङ्गो रुप सप्तरीको चुनावमा पनि देखिएको थियो । विदेशी एजेण्टहरुले मलाई समेत फोन गरेर होरन छापमा मतदान गर्न दवाव दिइरहेका थिए । कतिपय त मेरै पार्टीका शीर्ष नेता थिए भने कतिपय अन्य पार्टीका पनि थिए । एकजना त माओवादीको हँसुवा हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका नेताले समेत मलाई फोन गरेर सिके राउतलाई जिताउन दवाव दिएका थिए ।

उनेले तपाईको चुनावमा कति खर्च भएको छ ती सबै दिलाउने व्यवस्था गर्छौ हामी तर तपाईको तर्फबाट आउने मतहरु गठबन्धनको उम्मेदवार (जेपी ठाकुर) लाई न दिएर सिके राउतलाई दिन लगाउनुस् भन्दै दवाव दिइरहेका थिए । तर मैले बरु म राजनीतिबाट सन्यास लिएर वनारश जान्छु तर सिके राउतलाई कुनै पनि हालतमा मत हाल्न सक्दिन, पार्टी तथा पार्टीका हेडक्वाटरलाई म धोखा दिन सक्दिन भनेको थिए । सप्तरीमा कहिले नदेखिएका व्यक्तिहरुलाई देखिएका थिए ।

युरोपियन युनियनका मान्छेहरु आएर क्रिश्चयन धर्मालम्बीहरुलाई पनि जनमतलाई मतदान गर्न लगाएको थियो । पश्चिमाहरुको पनि चहल पहल त्यहाँ थियो । दक्षिणतिरका त खुलेर नै लागेका थिए । त्यहाँ विभिन्न एजेण्टहरु माओवादी पार्टीका विभिन्न नेताहरुलाई प्रत्यक्ष रुपमै भेटेर प्रभावमा पारिरहेका थिए । हाम्रा पार्टीका कतिपय नेताहरु त्यसको मतियार बने । गठबन्धनमा रहेका काँग्रेसका नेताहरु पनि बिके, लोसपाले त पुरै मत जनमतलाई सुम्पि नै सकेको थियो । माओवादीका कतिपय कमरेडहरु खुलेर जनमतको लागि मत मागि रहेका थिए । अर्को मुख्य कारण पार्टीभित्र आन्तरिक विवाद पनि थियो । पार्टीका एकजना शीर्ष नेताले मलाई हराउनका लागि कसम नै खानु भएको थियो । आफ्ना पक्षका नेताहरुलाई मलाई हराउन र होरनलाई जिताउन अभियान नै चलाएका थिए ।

अर्को कुरा, दोस्रो संविधान निर्माणपछि माओवादीको गतिविधि नहुनु, पार्टी एकीकृत भएपछि त्यसमा आन्तरिक विवाद हुनु पनि माओवादी हारको कारण हो । स्वार्थ समूहको गतिविधि शंकास्पद थियो । अध्यक्ष तथा पार्टीका निर्देशन कुनै नेताले मानेको जस्तो देखिएन । स्वार्थ समूहले आफ्नो व्यक्तिबाहेकलाई निषेध नै गरेको थियो । त्यसमध्ये पार्टीको एकजना पदाधिकारी जो मधेशका हुन् उनले मलाई हराउनका लागि ठूलै षड्यन्त्र गरे ।

गठबन्धनमा रहेका काँग्रेसका नेताहरु पनि बिके, लोसपाले त पुरै मत जनमतलाई सुम्पि नै सकेको थियो । माओवादीका कतिपय कमरेडहरु खुलेर जनमतको लागि मत मागि रहेका थिए । अर्को मुख्य कारण पार्टीभित्र आन्तरिक विवाद पनि थियो ।

तपाईले भनेकोमध्ये पार्टीका आन्तरिक कारण हुनसक्छ तर विदेशी शक्तिहरु तपाईलाई नै हराउन किन यतिका मेहनत गर्छन् त पश्चिमा तथा दक्षिण शक्तिको तपाईले के विगार्नुभएको छ ?
–कुनै पनि देशी विदेशी शक्तिको न मैले केही विगारेको छु, न मेरो पार्टीले विगारेको छ । कुनै पनि विदेशी शक्तिको केही विगार्ने क्षमता मसँग छैन । तर उनीहरु किन ममाथि आइ लागे त्यो मलाई पनि थाह छैन । छिमेकी देश होस् या अन्य देश होस् सबैसँग समदुरीको सम्बन्ध राखेको छ हाम्रो पार्टीले । कसैको अहितमा आजसम्म कुनै काम गरेको छैन । राष्ट्र र राष्ट्रियताको सवालमा कसैसँग झुकेको छैन ।

दक्षिण तथा पश्चिमका देशहरुले नेपालमा माओवादी नरहोस् भनि चाहेको छ । माओवादीलाई समाप्त पार्न विभिन्न षड्यन्त्रहरु भए । त्यही नेपालले माओवादीलाई आतकंकारी घोषणा गर्नुभन्दा पहिले अमेरिकालगायतका देशहरुले आतकंकारी घोषणा गरेका थिए । जनयुद्धकै बेला माओवादीलाई समाप्त पार्न विभिन्न षड्यन्त्रहरु भयो । त्यहीबेलादेखि नै माओवादीलाई घेरा हालेर समाप्त पार्ने षड्यन्त्र गर्दै आइरहेको छ । र, यो चुनावबाट समाप्त गर्ने पुरै तयार गरेको थियो । कतिपय ठाउँमा क्षति पुर्यायो पनि तर माओवादी जनताका लागि जन्मेको पार्टी भएको कारण यस्तो षड्यन्त्रहरु चिर्दै गइरहेको छ । यो सानोतिनो षड्यन्त्रलाई समाप्त पर्दै जानेछ ।

मधेशमा अहिलेको जस्तो माओवादी कहिले कमजोर भएको थिएन, यसपाली निकै कमजोर भयो किन ?
–माओवादी कमजोर हुनेको कारण अघि पनि भने । माओवादीलाई कमजोर गर्नका लागि देशी विदेशी शक्तिहरु लागेका नै थिए । माओवादीमाथि सबैतिरबाट एकैपटक प्रहार भयो । पाँच दलीय गठबन्धनको मुख्य घटकमध्येको एक माओवादी केन्द्र हो तर काँग्रेसले माओवादीलाई समाप्त पार्ने षड्यन्त्र गरे । काँग्रेसले बरु जनमतलाई मत हाल्यो, एमालेलाई मत हाल्यो, राप्रपालाई मत हाल्यो, घण्टीलाई मत हाल्यो तर माओवादीलाई हालेको छैन ।

नत्र माओवादीको मत लिएर काँग्रेस जित्ने तर काँग्रेसको मत लिएर माओवादी हार्ने कही हुन्छ । काँग्रेसले माओवादीलाई मत नै दिएन । अर्को कुरा माओवादीको गुटबन्दीले सबभन्दा क्षति पुर्यायो । माओवादी केन्द्रका शीर्ष नेताहरु नै प्रतिकृयावादी शक्तिहरुसँग मिलेर एक अर्कालाई हराउने काम गरे । त्यसमा मुख्य भूमिका पार्टीका दुई शीर्ष नेताको रह्यो ।

मातृका यादवले त शुरुदेखि नै मेरो विरुद्धमा लाग्नु भएको छ । मलाई टिकटबाट पनि बन्चित गर्ने प्रयास गर्नुभयो । टिकट लिन म सफल भएपछि उहाँले मलाई हराउनका लागि सारा शक्ति लगाउनुभयो । सप्तरीमा गएर शखेर सिंह, सतिश सिंहहरुसँग बसेर मेरो विरुद्धमा योजना बनाएको सूचना म कहाँ आइपुगेको छ । आफ्ना निकटका नेताहरुलाई सप्तरीमा मेरो विरुद्ध खुलेर लगाउनुभयो । उमेश यादव हारुन् र होरन छापबाला जितुन् भन्ने मनसायले कसको इशारामा काम गर्नुभयो त्यो कुरा सबैलाई थाह छ ।

तपाईको बिचारमा जजसले तपाईलाई हराउनका लागि षड्यन्त्र गर्नुभयो उहाँहरु पनि चुनाव हार्नुभयो नि, त्यो कसरी भयो त ?
–उहाँहरु चुनाव हार्नुभयो त्यसका लागि अपसोच छ । पार्टीलाई धेरै ठूलो क्षति भयो । तर कहिले काहीं अरुको बुराई (खराबी) सोचेपछि त्यसको नराम्रो असर आफूलाई पनि पर्छ भन्ने कुरा बिर्सिनु हुँदैन । उहाँहरु पनि पार्टीको गुटबन्दी र गठबन्धनमा रहेको दलबाट धोखाको शिकार हुनुभयो । उहाँ दुईजनाको गुटबन्दीको कारण मधेशमा माओवादी समाप्त भइरहेको छ । अरु आफू बन्न सक्नुभयो र अरुलाई बन्न दिनुभयो । उहाँहरुले आफू र आफू आसेपासेबाहेक अरु कसैको बारेमा सोच्नु भएन । उहाँहरुको प्राथमिकता पार्टी होइन, व्यक्तिगत स्वार्थ हो ।

उहाँहरु पनि पार्टीको गुटबन्दी र गठबन्धनमा रहेको दलबाट धोखाको शिकार हुनुभयो । उहाँ दुईजनाको गुटबन्दीको कारण मधेशमा माओवादी समाप्त भइरहेको छ ।

तपाई २०७४ हार्नुभएको थियो, अहिले २०७९ मा पनि हार्नुभयो, अब तपाईको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ ?
–म शुरुदेखि पार्टीको लाइनबाहेक एक इन्च दायाँ बायाँ भएको छैन । पार्टीको सिद्धान्त र विचारमा आफूलाई जहिले अब्बल तरिकाले उभ्याएको छु । अगामी यात्रा पनि पार्टीको लाइनभन्दा दायाँ बायाँ हुनेछैन । पार्टीको विरुद्धमा लाग्नेको भण्डारफोर, पार्टी सुदृढीकरणदेखि लिएर जनताको पक्षमा काम गर्नेछु । म २०७४ मा चुनाव हारेपनि आफ्नो क्षेत्र तथा क्षेत्रबाहिर कुनै सांसद तथा जनप्रतिनिधिभन्दा कम काम गरेको छैन । अहिले पनि कसैले मेरो क्षेत्रमा गएर हेर्दा हुन्छ ।

आजसम्म जनताले भनेको कामका लागि नाई भनेको छैन । २४ घण्टा जनताकै कामका लागि तयार थिए । र, अगामी दिनमा पनि सोही अनुसार काम गर्छु तर काम गर्ने तरिका विगतको भन्दा फरक हुन्छ । त्यसको लागि योजनाहरु बनाउँदैछु । परिवर्तनकारी शक्तिलाई मिलाउनेदेखि लिएर संगठन विस्तारमा म सक्रिय भएर लाग्छु ।

विगतको चुनावभन्दा यसपटकको चुनाव फरक रह्यो भन्ने धेरैले टिप्पणी गरिरहेको छ तपाईको अनुभव कस्तो रह्यो ?
–हो, विगतका चुनावहरु भन्दा यसपटकको चुनावमा पक्कै पनि केही फरक दृश्यहरु देख्न पाइयो । यसरी खुल्लेयाम रुपमा विदेशको हस्तक्षेप हुँदैन्थ्यो । परिवर्तनकारी शक्तिलाई कमजोर बनाउने र लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता नरुचाउने शक्तिहरु आए । जसलाई यो देशसँग माया नै थिएन, देशलाई वेश्यासँग तुलना गरे, लोकतन्त्रलाई रुचाएन, त्यसको विरुद्धमा अभिव्यक्ति दिए, संघीताको जननी प्रदेशलाई जसले रुचाएन, धर्मनिरपेक्षता र गणतन्त्रलाई रुचाएन त्यस्ता त्यस्ता व्यक्तिलाई सदनमा पठाउने काम भयो । लोकतान्त्रिक शक्ति, परिवर्तनकारी शक्तिमा पनि विचलन आएको देखियो ।

समानुपातिकमा आफ्नै आफन्तलाई ल्याए । ठूला जात भनाउँदाहरु पिछडिएका जातको भाग खोसेर खाए । कोही अल्पसँख्यको नामबाट समानुपातिक सांसद बने भने कोही जनजातीको नामबाट सांसद बन्ने कोही दलितको नामबाट सांसद बने, कोही जनजातिको नामबाट सांसद बने । धार्मिक, समाजिक र आधुनिक राज्य सत्तामा पनि निरन्तर जातीय रुपमा बर्चस्व कायम राख्दै आएका जातीय समूहलाई समानुपातिक समूहमा राखेर निरन्तर बहिष्करणमा पारिएकामाथि अन्याय हो र जातीय अहंकार हो । मधेशमा पनि सोलकम, पिछडा, अछुत भनिएका कुन कुन जात होला यी कसले निर्माण गरे । यसको पहिचान गर्न आवश्यक छ ।

जजसले यी जाती निर्माण गरे, जजसले यिनलाई बहिष्करणमा पारे, जजसले यसलाई अछुत माने उसैले आज त्यसको नाममा समानुपातिकको भाग खाइरहेका छन् । उनीहरु नै आज अल्पसँख्यक, जनजाति, पिछडिएको नाममा सांसद बने ।

अल्पसँख्यक भनेको डोम, दुसाध, मलाह, धोवी, मुसहरलगायतका जात हुन् उनीहरुले अल्पसँख्यक कोटामा सांसद बन्न पाउनुपर्छ तर ठूला जातका व्यक्तिहरु उनीहरुको भाग खोसेर सांसद बनेका छन् ।

तपाई गठबन्धनमा भएपनि उपेन्द्र यादवलाई सघाएको तपाईमाथि आरोप छ नि ?
–यस्तो आरोप लगाउने एउटा मात्र प्रमाण दिए भने म आजैको मितिबाट राजनीतिबाट सन्यास लिन्छु । ममाथि जसले यस्ता आरोप लगाई रहेका छन् उसले आफ्नै पार्टीलाई मत दिएका छैनन् । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन कम्मर कसेका थिए । बरु काँग्रेस र लोसपाले सिके राउतका पार्टीलाई जिताउनतिर लागे । तर माओवादीहरु गठबन्धनप्रति प्रतिवद्ध थिए ।

उपेन्द्र यादवसँग कुनै नाता सम्बन्ध थिएन । कसको मत कहाँ गयो त्यो हिसाब त अहिले पनि निकाल्न सकिन्छ । मतहरु सबै छर्लङ छ । बरु यति भन्न सक्छु, उपेन्द्र यादव पनि परिवर्तनकारी शक्तिको नेतृत्व गर्नुहुन्छ । माओवादी पनि परिवर्तनकारी शक्ति हो । यी दुवै शक्तिलाई देशी विदेश शक्तिले एकैपटक समाप्त गर्ने षड्यन्त्र गरेकै हो । त्यसको मतियार माओवादीका केही नेता र जसपाका केही नेताहरु भएको प्रष्ट छ । अमेरिकी सम्राज्यवाद र भारतीय विस्तारवाद यी दुई शक्तिलाई नरुचाएको कुरा पहिलादेखि नै स्पष्ट थियो ।

अमेरिकी सम्राज्यवाद र भारतीय विस्तारवादले मधेशमा नाङ्गो परेड खेले । यसबाट के देखिन्छ भने आउने दिनमा मधेशमा झन संकट आउनसक्छ । अमेरिकाको जन्मजातको काम नै हतियार बेच्ने हो । विभिन्न देशमा द्धन्द फैलाउने र त्यसको आडमा हतियारको व्यपार गर्ने काम गर्दै आइरहेको छ ।

विभिन्न बाहानामा नेपालमा पनि त्यही गर्न खोजिएको प्रष्ट देखिन्छ । भारतीय सत्ता पनि उच्च जातकै नियन्त्रण र कब्जामा छ । त्यसको प्रभाव मधेशको चुनाव देखियो । नेपालमा रहेका भारतका कुटनीतिज्ञहरु पिछडिएका र उत्पीडनमा परेका पक्षमा काम गरेको छैनन् । उच्च जातको पक्षमा काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया