देउवाले समेत झुक्याए भारतलाई

पुस १२ गते प्रधानमन्त्री प्रचण्डले एक भारतीय टीभी च्यानेलमार्फत उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुने घोषणा पनि गर्नुभयो ।

जब देशमा सरकार परिवर्तन हुन्छ अनि आरोप लाग्छ विदेशी शक्तिको । यो सरकार फलानो देशले बनाएको हो, त्यो सरकार फलानो सरकारले बनाएको हो भनि चर्चा हुन थाल्छन् । चाहे त्यसमा कुनै देशी विदेशी शक्तिको हात होस् या नहोस् । यसपटक पनि त्यस्तै भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको सरकार चीनले बनाएको चर्चा हुन थालेको छ ।

पुस १० गते एमाले–माओवादी केन्द्रबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै भारतका सञ्चारमध्यमले यो चीनले बनाएको सरकार हो भन्न थाले । अमेरिकालगायतका अन्य अन्तराष्ट्रिय सञ्चारमाध्यममा पनि सोही अनुसारको समाचार सम्प्रेषण भए । नेपालमा पनि सोहीअनुसारको विश्लेषण सुरु भयो । जब माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । सबभन्दा पहिले नेपालस्थित भारतीय दूतावासका भारतीय राजदूत नविन श्रीवास्तवको शुभकामना उहाँलाई गयो ।

त्यस लगतै राती भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर आफ्ना समकक्षी प्रधानमन्त्री प्रचण्डलाई शुभकामना तथा बधाई दिनुभयो । त्यति मात्र होइन, पुस ११ गते भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै गएर प्रधानमन्त्री प्रचण्डलाई भेटेर शुभकामना दिनुभयो । त्यसको भोलीपल्ट अर्थात पुस १२ गते प्रधानमन्त्री प्रचण्डले एक भारतीय टीभी च्यानेलमार्फत उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुने घोषणा पनि गर्नुभयो ।

पुस १४ गते भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा गठन भएको नयाँ सरकारसँग भारतले मिलेर काम गर्न चाहेको प्रतिकृया दिनुभयो । पुस १५ गते भारतीय दूतावासका राजदूत श्रीवास्तव प्रधानमन्त्री कार्यालयमा गएर प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तर गर्नुभएको छ ।

नेपालमा काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनिरहेको छ भनि थाह पाएर उहाँ अस्पताल छाडेर नेपाल फर्किनु भएको हो ।

यी सब घटनाक्रम हेर्दा भारतको इच्छा विपरित प्रचण्ड नेतृत्वको सरकार बनेको हो भनि अनुमान लगाउन गाह्रो छ । तैपनि चीनको गतिविधि र सक्रियताले यो चीन समर्थक सरकार हो भनि सोच्न सबैलाई बाध्य बनाएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानु भएको थियो ।

माओवादीका स्रोतहरु भन्छन्, ‘उहाँ उपचारका लागि मात्र चीन जानु भएको होइन । नेपालमा वामगठबन्धनको सरकार बनाउने माहोल तयार गर्न उहाँ चीन जानुभएको थियो ।’ उहाँ पहिलो पनि त्यहाँ उपचार गराएको कारण फ्लोपमा जानु नै भएको हो । उहाँ त्यहाँको अस्पतालमा भर्ना भएर उपचार गराएकै हो तर अस्पतालमा जुन किसिमले चिनियाँ एजेण्ट र प्रतिनिधिको चहल पहल थियो त्यसले यो अनुमान लगाउन गाह्रो हुँदैन कि वर्षमान पुन सिर्फ त्यहाँ उपचार गराउन जानु भएको हो ।

चीनमा उहाँको उपचार चलि नै रहेको थियो । तर नेपालमा काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनिरहेको छ भनि थाह पाएर उहाँ अस्पताल छाडेर नेपाल फर्किनु भएको हो । उहाँलाई त्यहाँका डाक्टरले आउन दिइरहेको थिएनन् । अझै केही दिन आरामको आवश्यकता छ भनि रोक्न कोशिस पनि गरे तर नेता पुनले भनसुन गरेर नेपाल फर्किन सफल हुनुभयो ।

नेपाल आउने वित्तिकै उहाँको जुन किसिमको सक्रियता बढ्यो त्यसले धेरैलाई अच्चमित बनायो । चीनबाट उपचार गराएर आएका व्यक्ति केही दिन घरमा आराम गर्नुपर्ने हो तर उहाँले नेता तथा शक्ति केन्द्रहरुको घरदैलो धाउन थाल्नुभयो । चीनबाट आउने वित्तिकै सबभन्दा पहिले उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भयो । त्यहाँ चीनको सन्देश सुनाउनुभयो । सोही भेटबाट एमालेका अध्यक्ष अ‍ोलीको मनमा परिवर्तन आएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

चीनबाट आउने वित्तिकै सबभन्दा पहिले उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भयो । त्यहाँ चीनको सन्देश सुनाउनुभयो ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुप एकदमै बाक्लिएको थियो । नेता पुनले विष्णु पौडेलदेखि लिएर पृथ्वी सुब्बा गुरुङलगायत नेकपा (एस) का पनि थुप्रै नेतालाई उहाँले भट्नुभयो । अन्त्यमा पुस ९ गते तत्कालिन प्रधानमन्त्री देउवालाई भेटेर माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु होस् नत्र अवस्था बिग्रन सक्छ भन्नुभएको थियो । तर देउवाले पुनको कुरालाई वास्ता गर्नुभएन, ठिक छ सल्लाह गरौला भनेर पठाई दिनुभयो ।

देउवालाई विश्वास थियो कि माओवादीका अध्यक्ष प्रचण्ड कुनै पनि हालतमा गठबन्धन छाडेर एमाले कहाँ जानु हुन्न किनभने एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्विकार गर्दैनन् । तर देउवाले के बिर्सिनुभयो कि नेता वर्षमान पुन भर्खर चीनबाट उपचार गराएर फर्किनु भएको छ र उहाँ फर्केपछि करिब हरेक शीर्ष नेतालाई भेटेर माहोला बनाई सक्नु भएको छ ।

एक दिनअघि नै तत्कालिन प्रधानमन्त्री देउवा विभिन्न च्यानेलमार्फत गठबन्धन टुट्नसक्छ भन्ने कुराको जानकारी पाउनु भएको थियो तर त्यसलाई ठिकसँग विश्लेषण नै नगरिकन सूचनाहरुलाई ‘इगनोर’ गर्नुभएको थियो । उहाँलाई प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीप्रति पूर्ण विश्वास थियो । प्रचण्डले गठबन्धन छाडेर गएपनि ओलीले उहाँलाई साथ दिँदैनन् भने एजेन्सीहरुले उहाँलाई विश्वस्त बनाएको थियो ।

त्यही कुरा तत्कालिन प्रधानमन्त्री देउवाले भारतीय दूतावासलाई पनि ब्रिफ गर्नुभएको थियो । प्रचण्ड वा ओलीको समर्थनमा प्रधानमन्त्री आफू नै बन्ने हो विश्वास दूतावासलाई उहाँले दिलाई रहनु भएको थियो । प्रचण्डले गठबन्धन छाडेर गएपछि एमालेको समर्थनमा सरकार बनाउने कुराको जानकारी पनि दूतावासलाई गराएको थियो । दूतावासले पनि यो गठबन्धन नभत्कोस्, बरु पहिलो चरणमा प्रचण्ड नै प्रधानमन्त्री बनोस् तर गठबन्धन नभत्कोस् भनि रहेको थियो ।

दूतावासको चाहना पनि कुरा मिलेन भने राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एउटा माओवादीलाई दिएर गठबन्धन जोगाउनु पर्छ भनि थियो । किनभने यो गठबन्धन बनाउन भारतीय दूतावासले निकै मेहनत गरेको थियो ।

प्रचण्डले गठबन्धन छाडेर गएपछि एमालेको समर्थनमा सरकार बनाउने कुराको जानकारी पनि दूतावासलाई गराएको थियो

दूतावासले पनि आफ्नो सुत्रहरु प्रयोग गरेर बुझ्दा माहोला काँग्रेसकै पक्षमा रहेको थियो तर दूतावासले पनि त्यसलाई मसिनो तरिकाले विश्लेषण गर्न सकेनन् । शहरिया एजेण्टको भरमा ढुक्क भएर बस्यो । काँग्रेसका नेता विमलेन्द्र निधिले पनि एक राउण्ड सबैसँग कुरा गर्दा पनि माहोल काँग्रेसकै पक्षमा रहेको ब्रिफिङ बालुवाटारदेखि लैजनचौरसम्म भएको थियो ।

तर नेता वर्षमान पुन नेपाल फर्केपछि सबै माहोल बिगारिसकेको भेउ कसैले पाउन सकेन । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि चीनले लगाएको नाकाबन्दी पनि खुल्ला गर्यो । नेपालमा स्थगित रहेको रेल सम्बन्धी अध्ययन गर्नका लागि चीनबाट एउटा टोली पनि नेपाल आइपुग्यो ।

नेपालबाट चीन जाँदा कोभिड जाँच गराएर क्वारेन्टाइनमा राखिन्थ्यो ती सबै कुरा खारेज गरेको छ । चीनका कार्यबाहक राजदूत प्रचण्डलाई भेटेर शुभकामना दिएका छन् । पुस ११ गतेको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रचण्ड नेतृत्वका सरकारलाई शुभकामना दिँदै चीनको बीआरआई प्रोजेक्ट कार्यान्वन हुने अपेक्षा पनि व्यक्त गरिएको थियो ।
(पुस १६ गतेको सहारा टाइम्सबाट)

तपाईको प्रतिक्रिया