उपेन्द्र यादवका लागि यो कस्तो संयोग

त्यो कस्तो संयोग थियो ! जतिखेर महन्थ ठाकुर पटकपटकको मन्त्री पद प्राप्तिपछि पनि गिरिजाको किचेन क्याबिनेटमा सदाबहार मन्त्री पदमा विराजमान थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक क्रान्ति पुरुष त्यो विभेदकारी अन्तरिम संविधान जलाउन आफ्ना सदयोद्धा क्रान्तिवीरहरुसँग आन्तरिक तयारी गर्दै थिए ।

–अमरेन्द्र यादव

त्यो कस्तो संयोग थियो ! जतिखेर मधेशी राजनीतिका संस्थापक वेदानन्द झा आफूले जन्माएको तराई कांग्रेस पार्टी र श्रद्धेय रामजनम तिवारीहरुलाई अलपत्र पार्दै निरंकुश राजा महेन्द्रको निर्दलीय पंचायती व्यवस्थामा समाहित भएका थिए । ठिक त्यही सेरोफेरोमा सप्तरी जिल्लाको एउटा सानो गाउँको निम्नमध्यम वर्गीय परिवारमा उपेन्द्र यादव नामक बालक जन्मिएका थिए ।

त्यो कस्तो संयोग थियो ! जतिखेर तत्कालीन राजा विरेन्द्र र उनका टिके प्रधानमन्त्रीहरुले पञ्चायती व्यवस्थालाई युग युगान्तरसम्म टिकाइराख्न अनेक हिंस्रक/अहिंस्रक षड्यन्त्र रच्दै थिए ।

ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव भन्ने जुझारु युवा नेपाल र भारतका कम्युनिस्ट संगठन र प्रशिक्षण शिविरहरुमा मार्क्स र लेलिनलाई पढ्दै मुलुकमा गणतन्त्र स्थापना गर्ने योजना बुन्दै थिए ।

त्यो कस्तो संयोग थियो ! जतिखेर गजेन्द्रनारायण सिंह र हृदयेश त्रिपाठीहरुले ३ देखि ६ संसदीय सिट जित्दैमा मन्त्री पद खानका लागि दौरा सुरुवाल सिलाउँदै थिए र मन्त्रीपदको छिनाझप्टीमा सद्भावना पार्टी फुटाउँदै थिए ।

ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक एकजना असन्तुष्ट नेताले राजतन्त्र स्वीकार गरेको नक्कली कम्युनिस्ट पार्टीलाई परित्याग गरी मधेश जनअधिकार फोरम नामक राजनीतिक संगठनलाई गोडमेल गर्दै थिए ।

त्यो कस्तो संयोग थियो ! जतिखेर महन्थ ठाकुर पटकपटकको मन्त्री पद प्राप्तिपछि पनि गिरिजाको किचेन क्याबिनेटमा सदाबहार मन्त्री पदमा विराजमान थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक क्रान्ति पुरुष त्यो विभेदकारी अन्तरिम संविधान जलाउन आफ्ना सदयोद्धा क्रान्तिवीरहरुसँग आन्तरिक तयारी गर्दै थिए ।

त्यो कस्तो संयोग थियो ! जतिखेर कांग्रेसका कोषविहीन कोषाध्यक्ष ठाकुर अन्तरिम संविधानको घोषणामा मौन समर्थन जनाउँदै थिए, भित्ताभित्तामा ‘गर्वसे कहु हम मधेशी छी…’ लेख्ने मातृका यादव आफूभित्रै दिग्भ्रमित थिए, कुनै एक सद्भावना पार्टीका नेता राजेन्द्र महतो संघीयताविहीन संविधानको घोषणामै सन्तुष्ट थिए ।

ठिक त्यही बेला उपेन्द्र यादव आफ्ना २८ जना सहयोद्धाहरुसँग एकात्मक नेपालको केन्द्रीकृत राजधानीमा त्यो विभेदकारी संविधानका पानाहरुमा आगो झोँस्दै थिए ।

त्यो कस्तो संयोग थियो ! जतिखेर एउटा मधेशी नेताले मधेश विद्रोहलाई पानीको फोका भन्दै थिए, कुनै अर्को मधेशी नेताले त्यो विद्रोह एक दुई दिनमै आफैँ बिलाएर जान्छ भन्दै थिए । ठिक त्यही बेला उपेन्द्र यादव काठमाडौंदेखि मधेशसम्मका सडकहरुमा धक्कामुक्का खाँदै अभूतपूर्व मधेश विद्रोहलाई नेतृत्व प्रदान गर्दै थिए ।

मधेश विद्रोहको १६ वर्षपछि पनि दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रहार झेल्दै त्यही उपेन्द्र यादव नेपालको ‘हार्डकोर’ राजनीतिमा आज पनि सक्रिय छन् । कम्युनिस्ट आन्दोलन र मधेश/पहिचानको राजनीति हुँदै पछिल्लो विभेदकारी संविधानको घोषणापछि उनी अहिले पहिचानसहितको समाजवादी राजनीतिक धार निर्माणमा तल्लीन छन् ।

उनमा भएको भौतिक उर्जा, वैचारिक सामर्थ्य र भविष्यमुखी राजनीतिक चेतले उनी केही दशक अझै सडकदेखि सरकारसम्मको राजनीति गर्ने निश्चित छ ।

त्यसैले उनी आज पनि इतिहासको निर्मम कठघारामा उभिएका छन् ।

उनको समग्र राजनीतिक जीवन र योगदानलाई भविष्यले निर्मम समीक्षा गर्ने नै छ । तर एउटा कुरा के ऐतिहासिक रुपमै प्रमाणित भइसकेको छ भने उपेन्द्र यादव मधेश विद्रोहको सर्वोच्च नेता एवं नेपालमा संघीयताको मुख्य प्रवर्तकको रुपमा स्थापित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया