मधेशी दलको सत्ता मोहका कारण मधेश आन्दोलन कमजोर भएको हो (भिडियो सहित)

५२ प्रतिशत पपुलेशन बस्ने ठाउँमा १५–१६ प्रतिशत वजेट जान्छ । अहिले पनि सिडियोले शासन गरिरहेका छन् । यो देशको डिसिजन मेकिङ उपेन्द्र यादवले गर्न पाउनु भएको छ त ?

–विजयकान्त कर्ण, मधेश मामिलाका जानकार
२०६३ मा भएको मधेश आन्दोलनलाई नजिकबाट नियाल्ने, त्यसलाई बुझ्ने र त्यस बारेमा बोल्ने व्यक्तिमध्येमा पर्नुहुन्छ विजयकान्त कर्ण । पेसाले प्रध्यापक रहनु भएका उहाँले मधेश आन्दोलनको विभिन्न आयामका बारेमा अध्ययन अनुसन्धान पनि गर्नुभएको छ । पूर्वराजदूत समेत रहनुभएका विजयकान्त कर्ण विदेश नीति र अनुसन्धानमा पनि दख्खल राख्नुहुन्छ । विभिन्न शक्तिहरुको बीचमा समन्वयकारी भूमिका समेत निर्वाह गर्नुभएका उहाँ मधेशको बारेमा बोल्नु हुन्छ, लेख्नु हुन्छ, अनुसन्धान गर्नुहुन्छ । यिनै सन्दर्भहलाई जोडेर सहारा टाइम्सले मधेश मामिलाका जानकार विजयकान्त कर्णसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

माघ ५ गते मधेश आन्दोलनको ठिक १६ वर्ष पुग्छ, यो १६ वर्षको अवधिलाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ ?
–मधेश राजनीतिका लागि २०६३ माघ ५ गतेको मधेश विद्रोह निकै महत्व राख्दछ । पहिलो पटक काठमाडौँले स्थापित गरेको औपनिवेशिक विरुद्धमा आमजनता सडकमा आएको थियो । त्यो संगठित जनता थिएन, आम जनता थियो । र, त्यो जनताले काठमाडौँलाई के सन्देश दिएको थियो भने ‘अब हामी गुलाम भएर बस्न सक्दैनौं ।’ यो आन्दोलन मधेशको २२ वटै जिल्लामा मेचीदेखि महाकालीसम्म भएको थियो । मधेशमा दुईसय अढाईसय वर्षदेखि गुम्सिएको, पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका शासकले गरेका अत्याचार, अन्याय, उत्पीडन, शोषण र गरेको त्यो अपमान ती सबैको विरुद्ध एउटा ठूलो विद्रोह थियो ।
त्यो विद्रोहमा ८०–८५ वर्षका बुढादेखि लिएर ५–६ वर्षका बालबालिकाहरु पनि सहभागी थिए ।

अच्चमको एउटा तादम्यता मधेशमा देखिएको थियो । त्यो बेला थारु र मुस्लिम अग्रणीमा थिए । मधेशमा नर्मली महिलाहरु घरबाट कम निस्किने गरेका हुन्छन् तर त्यो आन्दोलनमा महिलाको पनि उल्लेखनीय सहभागीता थियो । गोली चल्दा पनि जुलुस रोकिएको थिएन । त्यसले काठमाडौँलाई ठूलो प्रतिउत्तर दिइएको थियो । काठमाडौँको राज्य सत्तालाई हलाई दिएको थियो । अन्तराष्ट्रिय जगत पनि चकित थिए, यो कहाँबाट आयो भनि खोजबिन र चासो लिन थालेका थिए । मधेशमा एकदिन न एकदिन आन्दोलन हुन्छ भनि मेरो मनमा थियो तर यति सशक्त र यति शक्तिशाली आन्दोलन हुन्छ भनि मैले पनि सोचेको थिएन । त्यो आन्दोलन मधेशीले आफ्नै शक्तिमा गरेको थियो ।

त्यहाँ न डलर थियो न भारु थियो । मधेशी जनताले आफ्नै बलमा आन्दोलन गरेको थियो । तर आन्दोलन सुरु भएकै दिनदेखि काठमाडौँ सत्ताले त्यसलाई रोक्ने प्रयास गरेको थियो । पहिलो मधेश आन्दोलन रोक्नु पनि त्यसैको एउटा अंश थियो । त्यो थाह पाएपछि फेरि दोस्रो आन्दोलन सुरु भएको थियो । प्यालेस्टेनीहरुसँग कुरा गर्दा तिमीहरु यसरी किन मर्न तयार हुन्छौं भन्दा उनीहरुले बाँच्नु भन्दा मर्नु ठिक हो भन्छन् । जहाँ आफ्नो सम्मान हुँदैन, जहाँ आफ्नो पहिचान हुँदैन, जहाँ आफ्नो अधिकार हुँदैन त्यहाँ बाँचेर पनि के गर्नु भनि प्यालेस्टेनीहरु भन्ने गर्छन् । मलाई पनि मधेशका आन्दोलन त्यस्तै त्यस्तै लागेको थियो । त्यो आन्दोलनमा जो पनि मर्नका लागि तयार देखिन्थे । गोली चलाउँदा आन्दोलनकारीहरु छाती थपि दिन्थे । गोली चल्दा कसैले पनि डराएको मैले देखेको थिइनन् ।

संघीयता दिएको छ । समावेशीता दिएको छ । धर्मनिरपेक्षता र मधेशीहरुले मान र स्वभिमान पाएको छ । भ्वाइसलेसले भ्वाइस पाएका छन् । जनतामा डर हराएको छ ।

पहिलो मधेश आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्ने काम दोस्रो मधेश आन्दोलनले गरेको थियो । झण्डै सयजना सांसद निर्वाचित र समानुपातिकबाट आउनु भएको थियो । प्रतिनिधित्व राम्रै भएको थियो तर गल्ती कहाँ भयो भने त्यो बेलाका मधेशी दलहरुले संविधान निर्माण र अधिकार प्राप्तिको संघर्षमा लाग्नुपर्ने थियो तर उनीहरु सत्ताका खेलामा लागे । गल्ती यहीं भएको हो, अरु कही केही भएको होइन । मधेशी जनताले मधेशी दललाई स्कूल, कलेज, रोड बनाउनका लागि मत दिएकै होइन ।

अधिकार र पहिचानका लागि काठमाडौँसँग लड्नका लागि दिएका हुन् । स्कूल त काँग्रेस, एमाले र माओवादीले पनि बनाउन सक्छन् । त्यसको परिणाम के भयो भने दलहरु टुक्रा टुक्रा भएर आफै कमजोर भए । र, मधेशको माग जस्ताको त्यस्तै रह्यो । पाँच वर्षसम्म सत्ताको वरिपरी रहेको परिणाम २०७० को निर्वाचनमा देखाई दिएको थियो । सबै कमजोर भएर आए । त्यसरी कमजोर भएपछि उनीहरु आपसमा एक हुने काम गरे । सन् २०१३ देखि १७ सम्म काठमाडौँसँग लडे । र, त्यसैको परिणामअनुसार संघका ३३ जना सांसद प्राप्त गरे, मधेश प्रदेशको सरकार बनाउन सफल भए । जबजब मधेवादी दलहरु सत्ताको खेलमा लाग्छन्, तब तब ती दलहरु कमजोर हुने गरेको देखिएको छ ।

यो मधेश आन्दोलनबाट प्राप्त चाहिं के भएको छ त ?
–मधेश आन्दोलनले केही पनि नदिएको त्यो पनि होइन । संघीयता दिएको छ । समावेशीता दिएको छ । धर्मनिरपेक्षता र मधेशीहरुले मान र स्वभिमान पाएको छ । भ्वाइसलेसले भ्वाइस पाएका छन् । जनतामा डर हराएको छ । सिडियो र एसपीसँग आँखा जुधाएर कुरा गर्ने हिम्मत जुटाएको छ । त्यो पनि मधेश आन्दोलनले नै दिएको हो, त्यसमा कुनै शंका छैन । तर अहिले पनि ती मधेशी शक्तिहरु सत्ताका लागि लुछाचुडी गरिरहेका छन् । अहिले पनि गल्ती दोहोर्याई रहेका छन् ।

ती दलहरु अहिले सत्तामा जानै हुँदैन । मधेशी, जनजाति र दलितसँग सम्बन्धीत पार्टीहरु सत्तामा गएपछि ‘कोअप्ट’ हुन्छ । सत्ताको गुण दोष ब्यहोर्नुपर्ने हुन्छ । सत्ता बाहिर रहेर पनि आफ्नो एजेण्डाहरुलाई सफल बनाउन सकिन्छ । मधेशवादी दल कमजोर भएपछि सबभन्दा ठूलो चुनौती संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालाई भएको छ । मधेशी, आदिवासी जनजाति, दलित बेसका पार्टीहरु कमजोर भएपछि अन्य पुराना पार्टीहरु बलियो भएका छन् र त्यसका कारणले समावेशी, गणतन्त्र, लोकतन्त्र, संघीयता विरोधी शक्तिहरु संसदमा पुगेका छन् । यो राम्रो संकेत होइन ।

तपाई भन्नुहुन्छ, मधेश आन्दोलनबाट प्राप्त गर्ने धेरै कुरा बाँकी छन् तर मधेशवादी दलका नेताहरुले आन्दोलनबाट प्राप्त हुने कुरा प्राप्त भइसके अब आर्थिक समृद्धि र सुशासनका लागि सत्ता नै चाहिन्छ भन्नुहुन्छ, के यो सही हो ?
–उहाँहरुको यो गलत बुझाई हो । यो कुरा त प्रचण्डजीले पनि भन्नुहुन्छ । उहाँले पनि भन्नुहुन्छ, राजनीतिक परिवर्तन भइसक्यो, अब आर्थिक समृद्धिका लागि काम गर्नुपर्छ ।’ यही कुरा उपेन्द्रजी र महन्थजीहरु पनि भन्नुहुन्छ तर यो कुरा सही होइन । न संघीयता संस्थागत भएको छ । गणतन्त्रलाई कुनबेला के हुन्छ त्यो ग्यारेन्टी छैन । धर्मनिरपेक्षताको हालत त्यस्तै छ । समावेशीलाई खारेज गर्ने एउटा आयोगले भनि सक्यो । सबै चुनौती बाँकी छ । थारुको थरुहट बनेको छैन । मगरको मगरात बनेको छैन । नेवारको नेवा बनेको छैन । मधेशलाई पाँच टुक्रा गरेको छ । ५२ प्रतिशत पपुलेशन बस्ने ठाउँमा १५–१६ प्रतिशत वजेट जान्छ । अहिले पनि सिडियोले शासन गरिरहेका छन् । यो देशको डिसिजन मेकिङ उपेन्द्र यादवले गर्न पाउनु भएको छ त ? काठमाडौँले मधेशलाई स्विकार गरेको छ ? के परिवर्तन भएको छ उहाँहरुले भन्नुपर्छ । सुशासन के को सुशासन ? अहिले पनि यो देशको डिसिजन मेकर तीनटा दलका निश्चित जातका व्यक्तिहरु छन् ।

न संघीयता संस्थागत भएको छ । गणतन्त्रलाई कुनबेला के हुन्छ त्यो ग्यारेन्टी छैन । धर्मनिरपेक्षताको हालत त्यस्तै छ । समावेशीलाई खारेज गर्ने एउटा आयोगले भनि सक्यो । सबै चुनौती बाँकी छ । थारुको थरुहट बनेको छैन ।

मधेश आन्दोलन तुहिएको हो कि समाप्त भएको हो ?
–मधेश आन्दोलन न तुहिएको हो न समाप्त भएको हो । आन्दोलन सधै भइराख्ने चिज होइन । आवश्यकता र परस्थिति अनुसार हुन्छ । आन्दोलन सुसुप्त अवस्थामा छ । जनतालाई फेरि त्यही अवस्थामा उठाउनका लागि केही टाइम लाग्छ । जहिले पनि, जुनसुकै बेला आन्दोलन गर्न सकिदैन । नेपालको इतिहासमा मधेश आन्दोलन जतिको लामो आन्दोलन कहिले पनि भएको थिएन । काठमाडौँमा जुन माइन्डसेट छ त्यो माइन्डसेटले मधेशीलाई नेपाली बुझेकै छैन । यो बुझाउनका लागि काठमाडौले आफूलाई कोर्स करेक्सन गर्नुपर्छ । एउटा तमिल नेताले भारतलाई संघीयतामा लगि दिए । जवाहरलाल नेहरुले मान्नु पर्ने भयो । कुनै उपाय नै लागेन । दिल्लीले संघीयतालाई स्विकार गर्न बाध्य भयो । आज ७० वर्षमा १३ वटा प्रान्तबाट २९ जटा प्रान्त बनेका छन् । तर हाम्रो देशमा भएकालाई बन्द गर्नुपर्ने भन्न थालेका छन् । काठमाडौँले पनि प्राकृतिक रुपमा त्यसलाई स्विकार गरेको छैन ।

तपाईले आन्दोलन सुसुप्त अवस्थामा छ भन्नुभयो, तर जसले आन्दोलनलाई ड्राइभ गरे ती ड्राइभरहरु खलासीसहित सिंहदरवार छिरी सके, थन्केर बसेका गाडी कसले चलाउने हुन् त ?
–२०४० बाट गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् हुँदै सद्भावना पार्टी बनाउनुभयो । गाडी पनि थियो, ड्राइभर पनि थियो तर ठिक ढंगले ड्राभइ भएन । त्यसपछि उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरमको जन्म भयो । कसैले सोचेका थिएन कि २०६३ मा उपेन्द्र यादव देशका यत्रो ठूलो नेता बन्नुहुन्छ । फोरम यति ठूलो फोर्सका रुपमा आउँछ भनि कसैले सोचेका थिएनन् । त्यही बेला तमलोपा पनि जन्मियो । अब यिनी गाडी थन्काएर हिडि सकेका छन् । यसको मतलब अब ड्राइभर पाउँदैन भने होइन । गाडी भएपछि कही न कहीबाट ड्राइभर आइपुग्छन् र त्यो गाडी चल्छ । उनीहरुमा एउटा भ्रम छ, ‘म नभए केही हुँदैन’ । राजा नभए देश चल्दैन भन्थे राजा नहुँदा पनि देश चलिरहेको छ नि । यो भ्रमबाट मधेशी नेताहरु मुक्त भए हुन्छ । समयअनुसार ड्राइभर आइपुग्छ ।

जनयुद्धलगायत विभिन्न आन्दोलन एउटा प्रकृयामा गएर टुगिंएको हो तर मधेश आन्दोलन कसरी समाप्त भयो कसरी टुगिंयो त्यो पत्तै भएन, यस्तो किन भयो ?
–पहिलो र दोस्रो मधेश आन्दोलन सम्झौतामा गएर टुगिंएको हो । तेस्रो मधेश आन्दोलनमा पनि सम्झौता नभएको होइन, भएको हो । तर तेस्रो मधेश आन्दोलन जुनबेला भयो त्यो बेला काठमाडौँका सबै शक्तिहरु एक ठाउँ भए । राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति समेत एक ठाउँमा भएर मधेश सामु नझुक्ने अवस्था निर्माण भएको थियो । बहुतै पावरफुल आन्दोलन थियो तर असफल भयो । यही कुरा हाम्रा मधेशका नेताहरुले बुझि दिए हुन्थ्यो । सत्ताको मोह यति प्रिय भएको छ उहाँहरुको लागि कि दयाँ, बयाँ हेर्नु हुन्न । उहाँहरुले यो कुरा किन बुझ्नु भएको छैन कि सत्तामा गएपछि पार्टी विभाजन हुन्छ, पार्टी कमजोर हुन्छ । यो त उहाँहरुसँग पटक पटक भएकै हो । २०७०–२०७४ को बीचमा फोरम कहिले विभाजन भएन नि बरु एकीकृत भयो । मधेशमा एउटा शक्ति निर्माण भएको थियो । मधेशको समस्या छ सत्तामा गएपछि कमजोर हुन्छ । सरकारमा गएपछि उनीहरुले जनताको काम गर्न सक्दैनन् र जनताले रुचाउन छाडि दिन्छन् । मधेशी जनतामा ठूलो चेतनाको विकास भएको छ । आफ्नो बारेमा आफै निर्णय गर्ने सक्षम भएका छन् ।

विभिन्न रिपोर्ट तथा लेखहरुमा मधेश आन्दोलन समाप्त हुनुमा अदृशय शक्तिको हात थियो रे तपाईलाई कस्तो लाग्छ ?
–नेपालमा एउटा ठूलो समस्या छ । आफ्नो गल्ती लुकाउनका लागि अरुलाई दोष देखाइ दिन्छन्् । प्रचण्डजीसँग कुरा नमिल्ने वित्तिकै केपी ओलीजीले भारतले आफूलाई हटाउन खोज्यो भन्नुहुन्छ । अरुअरुले पनि त्यस्तै भन्नुहुन्छ । तर आफ्नो कमजोरी थाह हुँदैन । मधेशी दलहरुलाई आफ्नो निर्णय गर्न कसले रोकेका छन् ? यदि कसैले जवर्जस्ती कुनै काम गराउन चाहन्छन् भने खुलेर भन्न सक्नुपर्छ कि हामी यो गर्न सक्दैनौ । बोल्न पनि नसक्ने, गर्न पनि नसक्ने अनि यो अमेरिकाले गराएको, त्यो चीनले गराएको, यो भारतले गराएको छ फलानोले गराएको भन्ने गरिन्छ जुन बकवास कुरा हो । काठमाडौँलाई भ्रम छ कि मधेश आन्दोलन भारतले गराई दियो । जुन गलत हो । मधेश आन्दोलन गराउनमा कसैको हात छैन आम मधेशी जनताले स्वतस्फूर्त रुपमा आन्दोलन गरेका छन् ।

त्यसो भए मधेश आन्दोलनलाई अन्तराष्ट्रिय शक्तिले कसरी बुझेका छन् त ?
–जुन दिन मधेश आन्दोलन सुरु भयो त्यही दिन वल्र्ड बैंक र डिएफआइडीले एउटा किताब प्रकाशन गरेका थिए । अनइक्वल सिटिजन अर्थात असमान नागरिकहरु । त्यसमा महिलाको बारेमा थियो, जनजातिको बारेमा थियो, दलितको बारेमा थियो तर मधेशीको बारेमा केही उल्लेख थिएन । त्यसपछि उनीहरु चकित परे कि मधेश आन्दोलन कसरी भयो ।

जुनबेला मधेश आन्दोलन भइरहेको थियो त्यो बेला इन्टरनेशनल प्रतिनिधिहरुले हामीलाई भेट्न खोज्नु भएको थियो । एउटा कार्यक्रममै उहाँहरुलाई भेट्यौं र त्यहाँ हामीले भन्यौं कि तपाईहरुले मधेश चिन्नु नै भएको छैन । त्यो बेला अमेरिकन होस्, ब्रिटिश होस्, युरोपियन युनियन होस्, चाइनिज होस् सबैलाई मधेशको बारेमा बुझ्ने इच्छा लागेको थियो । हामीले धेरैलाई बुझाउने कोशिस गर्यौं । धेरैले बुझेपनि । त्यसपछि मधेशको बारेमा उनीहरुले बोल्न थाले र रिपोर्टहरु बनाउन थाले । तर उनीहरु बुझेर हुँदैन काठमाडौको शासकले बुझ्नुपर्छ अनि मात्र समस्या समाधान हुन्छ ।

मधेश आन्दोलन उठाउनेमा मधेशी बुद्धिजिवी र नागरिक समाजका अगुवाहरुको ठूलो भूमिका थियो, तर पछिल्लो समय उनीहरुले मतलब गर्न छाडि सकेपछि कसैलाई कसैसँग मतलब छैन, यसकारणले मधेश आन्दोलन कमजोर भएको हो कि के लाग्छ तपाईलाई ?
–त्यो पनि एउटा कारण हो । मधेशी बौद्धिक समाज, नागरिक समाज पहिला पनि कमजोर अवस्थामा थियो । धेरैजसो पदको लोभमा विभिन्न राजनीतिक दलमा लागे । कोही कता त कोही कता गए । सबै बुद्धिजिवीहरु आआफ्नो पेसा तथा सेवामा छन् । धेरै कम मान्छे मधेश आन्दोलनमा लागेका थिए ।

त्यो पनि खण्डखण्ड भए । जसरी दलहरु विभाजित भए, कमजोर भए त्यसरी मधेशी बौद्धिक जगत विभाजित र कमजोर भए । कतिपय बुद्धिजिवीहरु लेख्ने र बोल्ने काम अझै गरिरहेका छन् । संगठित भएर नलागेपनि आआफ्नो ठाउँबाट केही नकेही गरि नै रहेका छन् तर बल पुगिरहेको छैन । आवश्यकता पर्यो भने संगठित भएर पनि आउन सक्छन् ।

मधेश आन्दोलनको १६ वर्ष/ के पायो के गुमायो ?

तपाईको प्रतिक्रिया