मधेश अलग होइन भने दुईखालको व्यवहार किन ? (फरकमत)

–सुनैनाकुमारी यादव
पछिल्लो समय यही देशभित्र मधेश पनि छ भनि विश्वास गर्न गाह्रो भइरहेको छ । शासकको व्यवहार र चरित्रका कारण मधेशसँग फरक ढंगको व्यवहार भइरहेको भनि अनुभूती हुन थालेको । मधेशका जनताले भन्न थालेका छन्, ‘हामी छुट्टै देशका नागरिक त होइन नि ।’

पछिल्लो उदाहरण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारलाई लिन सकिन्छ । त्यो सरकारबाट मधेश केन्द्रीत दललाई सिधै ‘बाइकट’ गर्यो । विभिन्न षड्यन्त्र गरेर प्रतिनिधि सभा र प्रदेश सभामा कमजोर बनायो । थोरबहुत सीट जितेर आएका तराई मधेश केन्द्रीत दललाई सरकारभन्दा अलग राख्यो । सरकार भनेको नीति निर्माण गर्ने ठाउँ हो ।

बाहिर जति आन्दोलन गरेपनि काम हुने सरकारबाट नै हो । तर त्यो ठाउँमा मधेशीलाई जान नै दिँदैन, नीति निर्माणको तहमा पहुँच नै रहन दिँदैन भने मधेशको विकास र समृद्धिको कल्पना कसरी गर्न सकिन्छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई षड््यन्त्र गरेर नै सरकारभन्दा बाहिर राखेको छ । जनमत पार्टीलाई सरकारमा लिएको छ तर कमजोर बनाएर राखेको छ ।

त्यहाँ सरकारको साक्षि बस्नुबाहेक अरु केही गर्न सक्दैन । यी सबै दल सरकारमा गएको भए तराई मधेशको अधिकार, पहिचान र विकासको केही नकेही कुरा अवश्य हुन्थ्यो तर अहिलेको सरकारले पंचायती व्यवस्थाको झझल्को दिइरहेको छ ।

मानौ यो देशभन्दा बाहिरको देश हो मधेश । औपनेविशिक राज्यको जस्तो व्यवहार मधेशसँग भइरहेको छ । नेपालभन्दा उ छुट्टै हो कि अनुभूती सरकारले नै दिलाई रहेको छ । हालैको अर्को उदाहरण पनि लिन सकिन्छ । माघ १० गते झापाको व्यपारी प्रेमप्रसाद आचार्यले बानेश्वरमा संसद भवनका अगाडि जहाँ प्रधानमन्त्री प्रचण्डको अगाडि हिडिरहेको थियो त्यही उहाँले आत्मदाह गर्नुभयो र त्यसको भोलीपल्ट उहाँको निधन भयो । यो दुखद कुरा हो ।

यस्तो हुनुहुँदैन । तर त्यसको ठिक एक दिन पहिले अर्थात माघ ९ गते राती सप्तरी छिन्नमस्ता गाउँपालिकाका ४५ वर्षीय रामदेव मल्लिक (डोम) रुखमा झुण्डिएर आत्महत्या गर्नुभएको थियो ।

एउटा सहकारीबाट लिएको एक लाख रुपियाँको ऋण तिर्न नसक्दा उहाँ झुण्डिएर आत्महत्या गर्नुभएको हो । प्रेम आचार्य पनि व्यपारमा डुब्नुभयो, ऋण तिर्न सक्नु भएन र बाध्य भएर आत्मदाह गर्नुभयो । दुवैजनाको घटना प्रकृति एउटै हो तर रामदेव मल्लिक आत्महत्या गरेको कुरा सायद राज्यलाई जानकारीमा पनि छैन तर प्रेम आचार्यको बारेमा निकै चिन्ता गरेको देखियो । एउटै देशका नागरिकसँग दुईखालको व्यवहार किन ?

प्रेमको आत्मदाहको बारेमा राज्यले छानविन गर्ने रे, तर रामदेव मल्लिकको बारेमा केहीं नकेही । के रामदेव मल्लिक मधेशी र त्यसमा पनि डोम जातीको भएको कारण हो कि अरु कारणले राज्यले नचिनेको हो कि ? त्यसको जवाफ राज्यले दिनुपर्छ । राज्यबाट प्रेमको ऋण तिर्ने, उहाँका छोरीहरुलाई पढाई दिने व्यवस्था पनि हुन लागेको सुनिएको छ तर रामदेवको बारेमा सरकारले चर्चा गरेका पनि सुनिएको छैन ।

अर्को उदाहरण, रवि लामिछानेको घटनालाई लिन सकिन्छ । रवि नेपाल छाडेर अमेरिका गएर बस्नुभएको थियो । त्यहीको नागरिक हुनुभएको थियो । पछि के कारण भयो त्यहाँको नागरिकता त्यागेर नेपाल आउनुभयो । तर नेपाल आएपछि उहाँले अर्को नागरिकता बनाउनु भएन । पुरानै नागरिकताको आधारमा उहाँ नेपालमा पासपोर्ट पनि बनाउनु भयो र एउटा नेपाली नागरिकको हैसियतमा बस्न थाल्नुभयो ।

उहाँको नागरिकताको विषय सुरुदेखि नै उठ्दै आइरहेको थियो । तर उहाँले अटेरी गर्नुभयो । पार्टी गठन गरेर चुनाव जित्नुभयो र उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि बन्नुभयो । तर सर्वोच्चको फैसलाले रवि नेपाली नागरिक होइन भनि पुष्टि गर्यो । पुष्टिपछि उहाँको सांसद पद, पार्टीका सभापति पद र मन्त्री पद समेत गयो । उहाँले सिडियो कार्यालय गएर तुरुन्त नागरिकता पाउनु भयो ।

प्रश्न यहाँ खडा हुन्छ यदि आज कुनै मधेशी त्यो ठाउँमा भएको भए यस्तो सुविधा पाउने थिए त ? अहिले पनि मधेशमा नागरिकताको समस्या छ । लाखौ युवा नागरिकता नपाएर उनीहरुको विजोग भएको छ । पढाई गर्न सकिरहेको छैन । नोकरी गर्न सकिरहेको छैन ।

विदेश जान पाएको छैन । यहाँसम्म कि एउटा सीम कर्डा समेत खरिद गर्न पाइरहेको छैन । तर त्यो समस्या समाधान गर्नेतिर सरकारको ध्यान गएको छैन तर एउटा नागरिक आफ्नो देशको नागरिकता त्यागेर अमेरिका जान्छ । त्यहाँ कुनै लफडा गरेर त्यहाँको नागरिकता त्याग गरी नेपाल फर्किन्छ तर विना नागरिकता नेपालमाथि शासन गर्न थाल्छन् जब उमाथि प्रश्न तेर्सिन्छ अनि राज्यले नै सुविधा दिएर नागरिकता बनाउने मौका दिन्छन् ।

तर मधेशीहरु वर्षौदेखि नागरिकताका लागि संघर्ष गरिरहेका छन् तर त्यसप्रति अझैसम्म कुनै सुुनुवाई भएको छैन । के मधेशीहरु यो देशको नागरिक होइन, उसले यहाँ आफ्नो अधिकार पाउँदैन ? मधेश अलग होइन भने दुईखालको व्यवहार किन ?

तपाईको प्रतिक्रिया