बेलाबेला रमितालाई मुर्छित बनाउने त्यो काठमाडौं

जीवन एउटा पाठशाला हो, यहाँ हरेक कुरा सिकाइन्छ । र त्यहाँबाट लिइने परीक्षामा कोही पास हुन्छन् भने कोही फेल । कोही फेल भए पनि पुनः पुनः परीक्षा दिन्छन्, एकदिन अवश्य पास भइन्छ भनि आशमा अगाडि बढी रहन्छन् । त्यस्तै जीवन भएको छ रमिता यादवको । रमिता यादवले यतिका सानै उमेरमा जीवनको अध्यायमा पटक पटक परीक्षा दिनुभएको छ । कुनैमा पास हुनुभएको छ भने कुनैमा फेल तर उहाँले अझै आफ्नो कोशिस छाड्नु भएको छैन ।


२०६९ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका रमिता यादव रेडियो नेपालमा हिन्दी समाचार वाचिका हुनुहुन्छ । त्यहाँ मधुरीमा हिन्दी कार्यक्रम चलाई रहनु भएको छ । जुन कार्यक्रम नेपाललगायत भारतमा पनि फेमस छ । पत्रकारिताका साथै उहाँ कालिकारिता क्षेत्रमा पनि पाइला टेक्नुभएको छ । रेडिया नाटक, थियेटर नाटक पनि गर्नुभएका रमिता विभिन्न विज्ञापनमा पनि काम गर्नुभएको छ तर रमिता भन्नुहुन्छ, ‘यहाँसम्मको यात्रा सहज छैन र थिएन पनि, जीवनका परीक्षामा पास हुने प्रयास जारी छ ।’

सिरहाको नरहा नगरपालिका बर्छवामा २०४९ भदौं ५ गते जन्मनु भएका रमिता यादवको विहे १७ वर्षकै उमेरमा सप्तरी डाक्नेश्वरी नगरपालिका गोविन्दपुर पातोका सुरेन्द्र यादवसँग भयो ।

डरले विहे
तपाई हामीलाई लाग्नसक्छ, यतिका कलिलो उमेरमा रमिताले किन बिहे गर्नुभएको होला । जब कि उहाँका हजुर बुवा, बुवा, आमा पनि मस्टर हुनुहुन्छ । यस्तो शिक्षित परिवार हुँदाहुँदै रमिताले बाल्यकालमै विहे गर्न बाध्य हुनुभयो । रमिता भन्नुहुन्छ, ‘म सानै थिए, बिहे के हो, कस्तो हुन्छ केही थाह थिएन पढाई सिवाय समाजमा हुने कुनै पनि गतिविधि बारेमा मलाई थाह थिएन । आमा बुवाको इच्छा पनि छोरी पढाई लेखाई गरेर केही गरुन् नै थियो तर परस्थितिले यस्तो मोड लियो कि बिहे गर्न बाध्य बनायो ।’ रमिता १० कक्षामा अध्ययन गर्दा नै बिहेका कुराहरु चल्न सुरु भएको थियो ।

लहानको लक्ष्मण ललिता कुशवाहा उच्च माविमा १–१० सम्म पढ्नु भएका रमिताका जीवनमा एउटा केटाले जवर्जस्ती प्रवेश गरेको थियो । सशस्त्र समूह जनतान्त्रिकमा रहेका त्यो केटाले रमितालाई मन पराउन थालेको थियो । स्कूल जाँदा आउँदा रमिताको अघिपछि गर्ने, बाटोमा जवर्जस्ती रोकेर बिहेको प्रस्ताव गर्ने जस्ता हर्कत त्यो केटाले गरेको थियो ।

एकपटक त त्यो केटा रमिताको घरसम्म पुगेको थियो । घरबाट नै उठाएर लग्ने धम्की पनि दिएको थियो । त्यो बेला जनतान्त्रिक समूहको ‘दहसत’ थियो मधेशमा । डरले कोही बोल्दैन्थे । रमिता भन्नुहुन्छ, ‘त्यो केटाले केहिले काहीं मेरो कन्चटमा बन्दुक भिराएर त कहिले घाँटीमा चक्कु भिराएर बिहे गर्ने दबाव दिन्थे तर म कहिले डराइनन्, मैले भन्थे ‘तिमीलाई जे जे गर्न मन छ गर त म डराउनेबाला छैन तिम्रो डर धम्कीले तिमीसँग कुनै पनि हालतमा बिहे गर्दिन् ।’

कतियौं पटक त्यो केटाले नाना (आमाको बुवा)–नानी (आमाको आमा) लाई मारेर फ्यालि दिने धम्की समेत दिन्थे । रमिताका नाना राजलाल यादव मधेशका चर्चित नेता हुनुहुन्छ । मधेश आन्दोलनमा अहम भूमिका खेल्नु भएको कारणलाई उहाँलाई सबैले चिन्छन् । तत्कालिन मधेशी जनअधिकार फोरमबाट संविधान सभा सदस्य भएर विना विभागीय मन्त्रीसम्म बन्नुभएको थियो ।

रमिताका आमा–बुवा दुवैजना शिक्षक भएका कारण उहाँहरु अलग अलग ठाउँमा रहनु भएको थियो । त्यही कारणले रमिता छ महिनाको हुँदादेखि नै उहाँका आमाले लहानस्थित आफ्नो बुवा राजलालको घरमा राख्नु भएको थियो । रमिताको देखभाल उहाँको नाना–नानीले नै गर्नुभएको थियो । त्यही पढाई पनि लेखाई गर्नुभयो ।

परिवारको निष्कर्ष
त्यो केटाबाट पटक पटक यस्ता धम्कीहरु आउन थालेपछि त्यसबाट बच्ने एक उपाय भनेको बिहे नै हो भनि निष्कर्षमा परिवारका सदस्यहरु पुगेका थिए । सुरेन्द्र यादव त्यतिबेला सिरहा क्याम्पसमा अध्ययन गरिरहनु भएको थियो ।

सुरेन्द्र रमिताका सानी आमा संगिताको घरमा डेरा लिएर बस्नुहुन्थ्यो । संगिताको छोरीको बिहेमा रमिता सिरहा गएको बेला सुरेन्द्रले उहाँलाई मन पराउनुभएको थियो । उहाँले त्यही दिन रमिताका आमासँग कुरा गर्नुभएको थियो । त्यहीबाट सुरेन्द्र र रमिताको बिहेको कुरा उठेको थियो । २०६४ मा एसएलसी पास गर्नुभएका रमिता ११ मा पढी रहँदा २०६६ मा उहाँको बिहे भएको थियो । बिहे आदर्श नै भएको थियो, कुनै लेनादेना भएको थिएन ।

प्लस टु पास गरेसम्म रमिता अधिकांश समय आफ्नो माइतीमै बस्नु भयो । कहिले काहीं आउ जाउ गर्नुहुन्थ्यो । बिहेको भएको थाह पाएपछि जनतान्त्रिकका त्यो केटाले बिस्तारै रमितालाई बिर्सिन थाल्यो । बिहे गरेर आएपछि सुरुमा टर्चर दिन खोज्यो तर सफल नभएपछि केटो त्यो बाटो नै छाड्यो । २०६८ मा प्लस टु पास गरेपछि रमिता श्रीमानको घर जानुभयो । बिहे भएपछि पढाई छुट्छ कि चिन्ता रमितालाई थियो । ससुराल गएपछि त्यो चिन्ता लिएर बेलाबेला रुने गर्नुहुन्थ्यो ।

त्यो देखेर उहाँका श्रीमान सुरेन्द्र यादवले त्यसको कारण सोध्नुभयो । रमिताले आफू अझ पढ्न चाहेको भन्नुभएको थियो । त्यसपछि उहाँका श्रीमान सुरेन्द्रले तिम्रो पढाईलाई कसैले रोक्न सक्दैन, तिमीलाई जसरी, जहाँ पढ्न मन लाग्छ पढ त्यसमा आफ्नो पूर्ण सहयोग रहने भन्नुभएको थियो । त्यसपछि रमिताको अनुहारमा खुशी देखिएको थियो ।

पढाईका लागि नै सुरेन्द्रले आफूसँग रमितालाई लिएर सिरहा जानु भयो । सिरहा क्याम्पसमा रमिताको नाम बीएडमा लेखाई दिनुभयो । त्यहीको एभरग्रीन बोर्डिङ स्कूल रमिताले पढाउन पनि थाल्नुभयो । जीवनको रथ राम्रोसँग चलिरहेको थियो तर रमितालाई क्याम्पसको पढाईप्रति चित्त नै बुझेको थिएन । उहाँलाई राम्रो कलेज अझ टियु (त्रिभुवन विश्व विद्यालय) मै पढ्ने इच्छा थियो । उहाँले टियुको नाम धेरैपटक सुन्नुभएको थियो ।
सिरहा क्याम्पसमा बीएडको फस्र्ट इयरको परीक्षा दिएर श्रीमान सुरेन्द्रसँग रमिता वीरगञ्ज जानुभयो । त्यहाँ गएर डेरा लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्न थाल्नुभयो । तर नाम लेखाउनु भएको थिएन । क्याम्पसको पढाई राम्रो भए पनि वीरगञ्जको वतावरण राम्रो लागेन रमितलाई । त्यहाँ आर्थिक अवस्था पनि राम्रो भएन उहाँको । बरु सिरहामा ठिक थियो, दुवैजना मिलाएर महिनाको २०–२५ हजार रुपियाँ कमाउनु हुन्थ्यो । तर वीरगञ्जमा छ महिनामै आर्थिक रुपले उहाँहरुको हालत खराब भयो । कोठा भाडा तिर्न समस्या थियो नै दैनिक छाक टार्न पनि गाह्रो भइरहेको थियो ।

रमिताले होम ट्युशन पढाउनु हुन्थ्यो । त्यसबाट महिनाको एक दुई हजार रुपियाँ हुन्थ्यो । रमिता त्यो दिन सम्झिदै भन्नुभयो, ‘श्रीमानजीले त्यहाँ गाउँको एउटा बोर्डिङ स्कूलमा पढाउनु हुन्थ्यो, त्यहाँ महिनाको एक दुई हजार मात्र दिन्थ्यो हामीलाई आर्थिक रुपले निकै समस्या पारयो, अर्कोतिर वीरगञ्जको वतावरण पनि राम्रो भएन ।’ त्यसपछि रमिताले काठमाडौँ जाने सोच बनाउनुभयो । काठमाडौं धेरै ठूलो सहर हो, त्यहाँ थुप्रै सम्भावना हुन्छन्, केही न केही काम पाइहालिन्छन् भनेर श्रीमान सुरेन्द्रलाई कन्भिन्स गरेर दुवैजना वीरगञ्जबाट झोलाझन्टी लिएर सिधै काठमाडौँ आउनु भयो ।

रमिता पहिलो पटक नाइट बस चढ्नुभयो । नाइट बस चढेर पहिलो पटक आफ्नो भविष्य खोज्न सपनाको सहर काठमाडौं आउँदै गर्दा रमिताको मनमा अनेक कुराहरु खेलिरहेको थियो । एकातिर उहाँमा उत्साह थियो भने अर्कोतिर भविष्यलाई लिएर चिन्ता पनि । पढ्नका लागि नै सिरहादेखि वीरगञ्ज र वीरगञ्जबाट काठमाडौसम्म आउनु भयो र त्यसमा उहाँको श्रीमान सुरेन्द्रको पुरै सहयोग थियो । सुरेन्द्र यादव सिरहा क्याम्पसमा पढाई गर्नुका साथै काँग्रेस पार्टीमा राजनीति गर्नुहुन्थ्यो । र, एउटा बोर्डिङ स्कुलमा पढाउनु पनि हुन्थ्यो । जीवन ठिक ठाक चलिरहेको थियो ।

तर रमिताको चाहनालाई पुरा गर्न ती सबै छाडेर हिड्नुभयो । आफ्नो भविष्यभन्दा रमिताको भविष्यप्रति चिन्तित हुँदै त्यसलाई सक्सेस बनाउन रमिताको पछिपछि हिड्न थाल्नुभयो ।

सपनाको शहर काठमाडौँ
रमिता काठमाडौं आएपछि श्रीमानको काका छोटेलाल यादवको डेरामा बस्नुभयो । त्यही छोटेलालले सुरेन्द्रसँग भन्नुभएको थियो, बुहारीको अँग्रेजी राम्रो छ भने काठमाडौँ आउनुस् केही न केही उपाय गरौला । छोटेलाल आफैं पनि अंग्रेजीका प्रध्यापक हुनुहुन्छ । काठमाँडौको कुपण्डोलमा काका छोटेलालको डेरामा उहाँहरु बस्नुभयो । एक महिना जति बसेपछि उहाँहरुले कुपण्डोलमै महिनाको ३५ सयमा एउटा कोठा लिएर छुट्टै बस्न थाल्नुभयो ।

यत्रो ठूलो सहरमा हराए जस्तो फिल भयो रमितालाई । कहाँबाट के सुरु गरौं भनि सोच्न पनि सकिरहनु भएको थिएन । श्रीमान–श्रीमतीको काम विहान पत्रिका किनेर ल्याउने, त्यसमा आउने जागिरको विज्ञापनमा गोलो लगाउने र त्यसमा भएको नम्बरमा फोन गरेर बोलाएको ठाउँमा जाने । इन्टरभ्यु दिने र डकुमेन्ट्सहरु छाडेर आउने । यस्तो काम कम्तीमा १५ भन्दा बढी ठाउँमा गर्नुभयो । तर सोचे अनुसारको जागिर कतै पाउनुभएन । रमिताले पछि थाह पाउनु भयो कि त्यसरी पत्रिकामा विज्ञापन निकालेर बेरोजगारलाई ठग्ने काम मात्र गरिरहेका छन् ।

त्यसपछि त्यस्ता विज्ञापनको पछि लाग्न छाडेर उहाँले कुपण्डोलमा होम ट्युशन पढाउन थाल्नुभयो । सिरहा क्याम्पसबाट ताहचलमा आफ्नो बीएडको पढाईलाई सार्नुभयो । रमिता विहान कलेज जानुहुन्थ्यो । त्यसपछि दिनभर जागिर खोज्नका लागि काठमाडौँमा भौतारिनु हुन्थ्यो ।

श्रीमान पनि जागिरका लागि प्रयास गर्नुहुन्थ्यो तर श्रीमान सुरेन्द्रलाई आफूभन्दा पनि मेरो लागि बढी चिन्तित हुनुहुन्थ्यो, रमिता भन्नुभयो, ‘उहाँले मलाई नै पुस गर्नुहुन्थ्यो, हामी दुईजना काठमाडौँको गलीगली घुम्यौं, जागिरका लागि सरकारी तथा गैरसरकारी कार्यालयहरुको ढोका ढकढकाइयौं तर केही पाएनौं ।’ आर्थिक रुपमा वीरगञ्जभन्दा बढ्ता हालत खराब भयो ।

ट्युशनबाट ४–५ हजार रुपियाँ आउथ्यो । त्यसले केही हुँदैन्थ्यो । महिनामा ३५ सय रुपियाँ घरभाडा नै तिर्नुपथ्र्यो । अन्य दैनिक गर्जो टार्न निकै नै समस्या हुन्थ्यो । घरबाट चामल आउँथ्यो । रमिता भन्नुहुन्छ, ‘१०–२० रुपियाँको रायो साग किनेर त्यसमा आलु मिसाएर भुटेर भातसँग खान्थ्यौं, खाजा त हाम्रो लागि अनौठो थियो, दुई छाक मात्र खाना खान्थे कहिले काही बिस्कुट या अरु केही खान्थे त्यो पनि निकै अप्ठ्यारो हुन्थ्यो ।’
बिहेको समयमा रमिताका आमा–बुवाले सुरेन्द्र–रमिताको नाममा संयुक्त खाता खोलेर डेढ लाख रुपियाँ राख दिनुभएको थियो । बिहेमा कुनै लेनदेन नभएको कारण छोरी र ज्वाइँलाई सुरुवातमा कुनै गाह्रो नहोस् भनेर त्यसरी बैंकमा रकम राखि दिनुभएको थियो ।

त्यो पैसा पनि सकिन लागेको थियो । सिरहादेखि वीरगञ्ज र वीरगञ्जदेखि काठमाडौसम्म आउँदा त्यो रकम पनि सकिन लागेको थियो । ठूला ठूला गर्जो त्यही रकमबाट टार्नु हुन्थ्यो । जस्तो, कलेजमा फि तिर्ने, कापी किताब किन्ने, विज्ञापनको फर्म भर्ने, नाम आइडमिशन गराउने जस्ता काम त्यही रकमबाट गर्नुहुन्थ्यो । एक दिन रमिता लुगा सिलाउन टेलरमा गइरहनु भएको थियो । विहेमा उहाँको आमाले दिनुभएको सुनको सिक्रि लगाउनु भएको थियो । बाइकमा आएका एकजनाले त्यो सिक्रि घाँटीबाट थुतेर भाग्यो । रमिता यादवको अगाडि अन्ध्यारो नै छायो । सर्वस्व लुटे जस्तो भयो उहाँलाई ।

जीवन चलाउन त्यो सिक्रिसँग रमिताको आशा जोडिएको थियो । निकै गाह्रो साह्रो भयो भने त्यसलाई पनि बेचेर काम चलाउने भरोसा थियो रमितालाई । त्यो पनि लुटियो । रमीता नराम्री गरी टुट्नुभयो । काठमाडौँमा अभावको जिन्दगी बितिरहेको थियो । त्यसमा आफूसँग रहेको सुन पनि लुटेर लगेपछि रमिता निकै दुखि हुनुभयो । प्रहरीमा खबर गरेपनि केही रेसपोन्स भएन । रमिताको आँखाबाट आँसु रोकिएको थिएन । छरछिमेकले सम्झाउने प्रयास गरे । श्रीमानले पनि सम्झाउनु भयो ।


के के सपना देखेर काठमाडौँ आउनु भएको थियो तर चार पाँच महिनामा काठमाडौंबाट मोह भङ्ग हुन थालेको थियो । फेरि सिरहा नै फर्किने सोच रमितामा नआएको होइन । तर फर्केपछि गाउँ समाजले के भन्ला, कता कता भौतारिदै असफल भएर फेरि सिरहा नै फर्कि आए । त्यो चिन्ताले पनि काठमाडौं छाडेर फर्किने सोच त्याग्नु भएको थियो उहाँहरु ।

रमिताका आमा बुवाले त काठमाडौँबाट फर्कि हाल, यहीं सिरहामा केही गर्नु, त्यहाँ यत्रो दुख गरेर बस्नु हुँदैन भनि सम्झाउने गर्नुहुन्थ्यो । तर रमिताले मान्नु भएन ।

रमिताको ससुरालबाट सहयोग भइरहेको थिएन । बरु ससुरालबाट छोरा–बुहारीले नै सहयोग गरोस् भन्ने चाहना थियो र त्यो स्वभाविक पनि थियो । छोरा–बुहारी दुवैजना पढे लेखेका छन्, काठमाडौँमा बसिरहेका छन् पक्कै केही न केही गर्दै होला । त्यही भएर ससुरालबाट केही सहयोग भइरहेको थिएन ।

रेडियो नेपालको जागिर
त्यही बेला रमिताका नाना राजलाल यादव बिना विभागीय मन्त्री हुनुभयो । रमिताको नानाले मन्त्री क्वाटरमै आएर बस्न रमितालाई भन्नुभएको थियो तर रमिता जान मान्नु भएन । ‘म मन्त्री क्वाटरमा बस्दिन, बरु सक्नुहुन्छ भने कही जागिर लगाई दिनुहोस् भनि मैले आफ्नो नानालाई भनेको थिए, रमिताले भन्नुभयो, ‘आफ्नै नाना मन्त्री भएपछि केही न केही जोगार किन नहोला भनि आशा थियो ।’

त्यतिबेला सुरेश कार्की रेडियो नेपालको निर्देशक हुनुहुन्थ्यो । राजलाल यादव र सुरेश कार्कीको राम्रो सम्बन्ध थियो । दुवैजना सिरहाकै हुनुहुन्छ । राजलालले सुरेश कार्कीलाई आफ्नी नातिनी रमिता र ज्वाई सुरेन्द्रको लागि कहिं कतै जागिर खोजि दिन भन्नुभएको थियो । त्यही बेला रेडियो नेपालमा हिन्दी समाचार वाचकको विज्ञापन थियो । त्यसअघि प्रियंका पाण्डे त्यहाँ काम गर्नु हुन्थ्यो । केही काम विशेषले उहाँ गाउँ गएपछि फर्केर आउनु भएको थिएन ।

रमितालाई त्यहाँ काम गर्न सक्नु हुन्छ भनि सोधिएको थियो । रमिताले केही दयाँ बयाँ नसोचि सिधै हो भन्नुभएको थियो । किनभने रमितालाई जागिरको निकै आवश्यकता थियो । जसरी पनि त्यो जागिर पाउनु पर्ने थियो रमितालाई । रमिताले त्यहाँ फर्म भर्नुभयो । त्यसअघि यसरी पत्रकारिता क्षेत्रको बारेमा उहाँले केही सोच्नु भएको थिएन । रेडियो र टीभी सुन्दा र हेर्दा आफूले पनि यस्तै गर्न पाए हुन्थ्यो भनि रमिताको मनमा थियो तर यसैमा काम गर्छु भनि सोच थिएन ।


रमिताको लागि बिल्कुल नयाँ क्षेत्र भयो । उहाँ फर्म भरेपछि त्यसको तयारीमा लाग्नुभयो । काठमाडौँमा हिन्दी भाषामा निस्किने पत्रपत्रिका तथा विभिन्न हिन्दी भाषाका किताबहरु कोठामा ल्याएर पढ्न थाल्नुभयो ।

ऐनाको अगाडि उभिएर समाचार पढ्ने प्राइक्टिस गर्न थाल्नुभयो । भाषा बनाउनुभयो । तीन महिनाको तयारीपछि उहाँले रेडियो नेपालमा परीक्षा दिनुभयो । सबै कुरा राम्रो भयो तर समाचार पढ्ने शैली पुगेन भनि उहाँलाई वेटिङमा राख्यो तर उहाँलाई रेडियो नेपालमा आएर सिक्ने मौका दिएका थियो ।

उहाँ सधै साँझ सात बजे रेडियो नेपाल जानुहुन्थ्यो । त्यहाँ समाचार कसरी बाचन गरिन्छ, कसरी लेखिन्छ, जस्ता कुरा सिक्न थाल्नुभयो । तीन महिनासम्म त्यस्तै गर्नुभयो । पत्रकारिता के हो सबै कुराको जानकारी त्यही तीन महिनामा लिनुभयो । पत्रकारिताको लागि रमिताको विद्यालय जस्तो भयो रेडियो नेपाल । २०७० बैशाख १ उहाँलाई नियुक्ति पत्र दियो । बुलेटिन आधारमा रमितालाई रेडियो नेपालमा जागिर भयो । महिनाको ६ हजार रुपियाँ दिएको थियो ।

रकम थोरै भएपनि रमिताका लागि त्यो धेरै नै थियो त्यतिबेला । उहाँले भन्नुभयो, ‘कम से कम महिनाको ६ हजार आउने बाटो त खुल्यो अरु देखा जाएगा जस्तो मलाई, अब कोठा भाडा तिर्न समस्या हुनेछैन । त्यसमै म खुशी थिए ।’ उता ट्युशन पढाउन पनि छाड्नु भएको थिएन तर विद्यार्थी एक दुईजना मात्र थियो । एक दुई हजार त्यहाँबाट पनि आउँथ्यो । श्रीमान सुरेन्द्र पनि बिजुलीको काम गर्न थाल्नु भयो ।

त्यहाँबाट महिनाको एक–दुई हजार मात्र आउथ्यो । यसरी जोरजाम गरेर रमिताको जीवनको पहिया (पाङ्ग्रा) काठमाडौंमा चलिरहेको थियो । तर अभावले कहिले साथ छाडेन । रेडियो नेपालमा काम गरिरहँदा बाहिर अन्य विकल्पको खोजीमा पनि रमिता लाग्नुभएको थियो । लोकसेवा आयोगको परीक्षा दिनुहुन्थ्यो । तीन चारपटक परीक्षा दिनुभयो तर पास हुनुभएन । प्राइभेट कम्पनी तथा स्कुलहरुमा धाउनुभयो तर कहीं कतै कुनै उपाय लागेन । राती रेडियो नेपालमा काम गर्नुहुन्थ्यो, दिनमा पढाई लेखाई तथा जागिरको खोजीमा उहाँ लाग्नु हुन्थ्यो ।,

२०७१ मा रमिता श्रीमानले गोल्डेन रोज सहकारीमा जागिर पाउनुभयो । त्यहाँ महिनाको ६ हजार रुपियाँ दिन्थ्यो । त्यही बेला रमिताले छोरी प्रगती यादवलाई जन्म दिनुभयो । त्यही वर्ष उहाँले बीएड पनि पास गर्नुभयो । आर्थिक भारका साथै जिम्मेवारी पनि थपियो । छोरीको पालन पोषण र रेडियो नेपालमा रमिता सिमित हुनुभयो । साँझ सातवजेदेखि राती १० वजेसम्म छोरीलाई हेरचाह गर्ने जिम्मा उहाँको श्रीमानको थियो । दिनमा रमिताले आफै हेर्नुहुन्थ्यो ।

कहिले काहीं कतै कुनै कार्यक्रममा जाँदा श्रीमानको जिम्मा छाडेर जानुहुन्थ्यो । एकदिन रमिता रातीको ड्युटीमा हुँदा यता डेरामा छोरीको अनुहारमा दूध पोख्यो । अनुहारको आधा भाग पोलेको थियो । खबर भएपछि हतपत रेडियो नेपालको गाडीमा अस्पतालमा लगेर उपचार गरायो । रमिता भन्नुहुन्छ, ‘त्यो दिनको जस्तो तनाव जिन्दगीमा कहिले भएको थिएन, संयोग अफिसले त्यही दिन तलब दिएको थियो । खासै समस्या भएन । अफिसका साथीहरुले पनि केही सहयोग गर्नुभएको थियो ।’


बेलाबेलामा तलबको वृद्धि भएपनि आर्थिक अवस्थामा सुधार भएको थिएन । रमिताको नाना मन्त्री पदबाट हटेपछि डेरामा सर्नुभएको थियो । डेरा भाडा तिर्न समस्या हुँदा रमिता आफ्नो नानासँग बस्न थाल्नुभएको थियो । त्यतिबेला सुरेन्द्र एउटा मेनपावरमा काम गर्नुहुन्थ्यो । एकदिन बैंकमा राख्न नसकेको एकलाख रुपियाँ डेरामा नै लिएर आएको थियो । राती त्यो रुपियाँ घरबाटै चोरी भएको थियो । रमिता त्यतिकै तनावमा हुनुहुन्थ्यो त्यसमा झन थपिदै गइरहेको थियो ।

रेडियोमा काम गर्न थालेपछि उहाँले जीवनका धेरै कुरा सिक्नुभयो । सबभन्दा ठूलो कुरा जीवन के हो त्यसको अनुभव गर्नुभयो । समाजमा खुल्ने मौका दियोे । त्यहाँबाट समाजसँग भलाकुसारी गर्ने बाटो बन्यो ।

कालाकारीतामा प्रवेश
रेडियो नेपालमा ‘हरवाह चरवाह’ रेडियो नाटक सुरु भएको थियो । त्यसमा काम गर्ने मौका रमिताले पाउनु भएको थियो । रमिताको कामको तारिफ भयो । रमिताको कामको प्रशंसा बाहिर पनि हुन थाल्यो । एन्टेना फाउण्डेशनले सुरु गरेको ‘चोचा के खोता’ रेडियो नाटकमा पनि काम गर्ने मौका पाउनुभयो । विभिन्न अडियो विज्ञापनमा पनि उहाँले मैथिली र भोजपुरीमा काम गर्नुभयो । एउटा सर्ट नेपाली फिल्मलाई मैथिली र भोजपुरी भाषामा डविङ गर्नुभयो ।

विभिन्न एनजीयो, आइएनजीयोबाट कामको अफर आउन थाल्यो । तर पैसा खासै हुँदैन्थ्यो । तैपनि केही सिकिन्छ र जानिन्छ भनि कम दाममा पनि उहाँले जे जे काम आए सबै गर्दै जानुभयो । फेसबुकमा मिसेज नेपाल ग्ल्यामर्स कार्यक्रमका विज्ञापन उहाँले हेर्नुभयो । त्यसमा पनि उहाँले भर्नुभयो । उहाँलाई अडिसनका लागि बोलायो ।


तपाई यसमा भाग किन लिन चाहनु भएको छ भनि प्रश्न उहाँलाई गरिएको थियो । त्यसको जवाफमा रमिताले ‘म मधेशमा उदाहरण बन्न चाहन्छु, मधेशका लागि केही गर्न चाहन्छु, अहिले पनि मधेशमा छोरी बेटीलाई घरबाट निस्किन दिइरहेको छैन, म यो कार्यक्रममा भाग लिएर यो कुराको सन्देश दिन चाहन्छु कि मधेशका छोरीले पनि केही गर्न सक्छ’ भनि जवाफ दिनुभएको थियो ।

उहाँ त्यही जवाफका कारण छनौट हुनुभयो । फस्र्ट रनरअप हुनुको साथै मोस्ट डिसिपिलिनको अवार्ड पनि पाउनुभयो । त्यसले रमिताको पहिचानलाई झन बढायो । त्यसपछि कलाकार सरिता साहले उहाँलाई फोन गरेर ‘ढकिया मे नागरिकता’ नाटकमा अभिनय गर्न आग्रह गर्नुभयो । सरिता र रमिता बीच एन्टिना फाउण्डेशनमा चिनजान भएको थियो । सरिताको त्यो आग्रह रमिताले सहस्र स्विकार गर्नुभयो ।

डिप्रेशन रमिता
त्यो नाटकमा उहाँले काम गर्नुभयो । यसरी थियेटरमा अभिनय गर्नु उहाँको पहिलो थियो । पहिलो नाटकबाट उहाँले दर्शकको मन जित्नुभयो । नाटक खेल्न थालेपछि रमितामा रहेको डिप्रेशनको समस्या पनि आफै हरायो । वीरगञ्जबाट काठमाडौ आएपछि तनावका कारण रमिता डिप्रेशनमा जानुभयो । डाक्टरलाई देखाउँदा तनाव नलिन भन्थे तर तनाव नलिने सम्भव थिएन । काठमाडौँले रमितालाई डिप्रेशनको रोगी बनाई दियो । उहाँ औषधी खान थाल्नुभएको थियो । तर नाटक खेल्न थालेपछि उहाँको डिप्रेशन पनि हट्यो । यो कुराको सेयर उहाँले सरिता साहसँग पनि गर्नुभएको थियो ।


त्यसपछि पत्रकारिता र कलाकारितालाई सँगसँगै लग्ने अठोट उहाँले लिनुभयो । २०७५ मा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान र नेपाल यादव सेवा समितिबाट सम्मानित हुनुभएका रमिता रेडियो नेपालमा साँझ पाँच बजेदेखि राती १० बजेसम्म ड्युटी गर्नुहुन्छ । त्यसबाहेको समय उहाँले कलाकारीतालगायत अन्य क्षेत्रमा दिने सोच बनाउनुभयो । एलएलबी पढ्दै गर्नुभएका रमिताले हालै एनएमबी बैंक र स्प्राइटका विज्ञापनमा काम गर्नुभएको छ । अन्य प्रोजेक्टहरुमा पनि संलग्न हुनुभएको छ । अहिले उहाँको छोरी प्रगति यादव आठ वर्षकी भएकी छिन् । दुई कक्षामा पढ्दैछिन् ।

घरायसी टर्चर
रमिताले नाम र दाम दुवै कमाउन थालेपछि घरायसी समस्या सुरु भयो । श्रीमान बेरोजगार हुनुहुन्थ्यो । कम तलबमा सहकारीमा काम गर्नुहुन्थ्यो । त्यहाँबाट रमिताको नामबाट १२ लाख रुपियाँ लिएर लहानमा जग्गा किन्नुभयो । त्यो जमिन किनका लागि रमिताले भन्नुभएको थिएन तर त्यो १२ लाख आफूले नै तिर्ने भनि सुरेन्द्रले रमितालाई कन्भिन्स गर्नुभएको थियो । तर रमिताको श्रीमानले ब्याज समेत तिरिरहेको थिएन । त्यो विषय लिएर रमिता र सुरेन्द्रमा खटपट सुरु भयो ।

काम गर्दा गर्दै सुरेन्द्र गाउँ जानुभयो । छ महिनासम्म फर्किनु भएन । रमिता एक्लै काठमाडौँमा छोरी र जागिर सम्हाल्नु भयो । त्यसपछि रमिता सहकारीमा गएर कुरा बुझ्दा त त्यहाँ १२ लाख मात्र होइन, उहाँका श्रीमानले थप १७ लाख रुपियाँ पनि त्यो सहकारीबाट उठाउनु भएको रहेछ । त्यसको एक किस्ता पनि तिर्नुभएको छैन । ती सबै रकम रमिताको नामबाट लिनुभएको रहेछ ।

रमिताको डिप्रेशन फेरि सुरु भयो । पछि श्रीमान काठमाडौँ आएपछि त्यही विषयलाई लिएर पटक पटक दुवैजनामा झगडा हुन्थ्यो । रमिताले काठमाडौँमा आफ्नो घर व्यवहार चलाउने कि सहकारीको पैसा तिर्ने भनि तनावमा पर्नुभयो ।

रमिता पनि सहकारीको पैसा तिर्ने अवस्थामा हुनुहुन्न । उहाँको श्रीमानले त झन के तिर्नुहुन्छ । सहकारीको अवस्था राम्रो छैन । रमिताको श्रीमानलाई छ महिनादेखि तलब पनि दिएको छैन् । त्यो सहकारीको तनावले रमितालाई बेलाबेलामा पिरोली रहेको हुन्छ तर समाधान कसरी गर्ने त्यसको उपाय सामुने आइरहेको छैन ।

तपाईको प्रतिक्रिया