सर्लाहीको नाढीमन तालमा बालिका सम्मेलन हुने

सर्लाही माघ २२ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल परिसरमा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ ।

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको बालिका सम्मेलन हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी गराउनु भएको छ ।

चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने यस राष्ट्रियस्तरको बालिका सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र चार वटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ ।

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यले सो सम्मेलन हुन लागेको अध्यक्ष महतोले बताउनुभयो ।

बाल विवाह र दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान, प्रत्येक विद्यालयमा बाल विवाहको अन्त्य विषयक कला प्रतियोगिता र उत्कृष्ट आर्ट पेन्टिङ्गको प्रदर्शनी, पालिका र जिल्लास्तरमा बाल विवाहको अन्त्यको लागि भएको सकारात्मक प्रयास, प्रगति र चुनौती एवम विकासका साझेदार, बाल अधिकारकर्मी, प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया