जनमत पार्टीको पहिलो महाधिवेशन आज

काठमाडौं चैत २८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबार जनकपुरको बाह्रविघामा हुँदैछ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने सो पार्टीका नेता चन्दन सिंहले बताउनुभयो ।  

उहाँका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महाधिवेशनका लागि भारत, अमेरिका, चीनलगायत विभिन्न ४२ वटा देशलाई जनमत पार्टीले निमन्त्रणा पठाएको थियो । ती सबै देशलाई नेपालस्थित दूतावासमार्फत पत्र पठाएको सो पार्टीले जनाएको छ ।

यद्यपी कोरोनाका कारण कुनै पनि देशका प्रतिनिधि सो कार्यक्रममा सहभागी नहुने बताइएको छ । तर, अधिकांश देशले इमेलमार्फत शुभकामना सन्देश पठाएको सो पार्टीले जनाएको छ ।

एक दिवसीय महाधिवेशन भएको हुनाले उद्घाटन सत्रका लागि अन्य पार्टी, संघ, संगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको छैन । कार्यक्रमको प्रमुख अतिथि सिके राउत स्वयं रहने छन् भने अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरूलाई बनाउने तयारी रहेको छ ।

उद्घाटन सत्र सकिएपछि आजै नै ३ बजेदेखि बन्दसत्र सुरु हुने सो पार्टीका नेता ई. दीपक साहले बताउनुभयो ।

जनमत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । त्यसमध्ये अध्यक्षसहित ३९ सदस्यीय कार्यसमितिका लागि सम्भवतः आजै नत्र भोलि मतदान हुनेछ । बाँकी १२ वटा पदमा पछि मनोनित गरिनेछ । हरेक पदमा उम्मेदवारी दिनका लागि खुल्ला गरिएको थियो तर हालसम्म अध्यक्षमा सिके राउत र महासचिवमा चन्दन सिंहबाहेक अरुको उम्मेदवारी परेको छैन । हरेक केन्द्रीय सदस्यले कम्तीमा सय मत ल्याउनुपर्ने हुन्छ ।

अध्यक्ष, उपाध्यक्ष–४, महासचिव, उपमहासचिव र बाँकी सबै केन्द्रीय सदस्यका लागि पाँच हजार महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । तीन उपाध्यक्ष, सात सचिव, प्रवक्ता र कोषाध्यक्ष पछि मनोनित हुनेछन् ।   

लामो समय पृथकतावादी अभियान चलाएका सिके राउत २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारका राजनीतिमा आएका थिए । उनी मूलधारको राजनीतिमा आएपछि जनमत पार्टी गठन गरेका थिए । सोही जनमत पार्टीको पहिलो महाधिवेशन हुन लागेको हो । 

महाधिवेशन सफल पार्नका लागि सहभागी स्वयं सेवकहरूलाई दुई दिनदेखि जनकपुरको बाह्र बिघामा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा १२२ सहिद परिवार, स्वराज आन्दोलनमा मुद्दा खेपेकाहरू १२१, विभिन्न समयमा हिरासत तथा जेल भोगेका २२३ जनालाई कार्यक्रममा सहभागीका लागि निमन्त्रणा गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनको आन्दोलन तथा विभिन्न समयमा भएको मधेश तथा थरूहट आन्दोलनमा सहिद भएका परिवारलाई पनि निमन्त्रणा गरिएको छ । 

#ratopati

तपाईको प्रतिक्रिया