जसपाविरुद्ध लोसपा र जनमतलाई उभ्याइएको हो

–जयराम यादव
–केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल
जनता समाजवादी पार्टी अहिले चर्चाको केन्द्रमा छ । प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि त्यसको विरुद्धमा जसपा उभिएको छ । पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नाम राख्नुपर्छ भनि त्यसको विरोधमा उभिएको छ । यता, केन्द्रमा उपराष्ट्रपतिका लागि जसपाले आफ्नो उम्मेदवार खडा गरेको छ । त्यो पनि विवादमा आएको छ । रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर बारा २ मा हुने उपनिर्वाचनबाट उपेन्द्र यादव संसदमा आउने कुराले पनि चर्चा पाएको छ । प्रस्तुत छ यिनै विषयवस्तुमा केन्द्रीत रहेर जसपाका केन्द्रीय सदस्य जयराम यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्यो तर त्यो विवादस्पद रह्यो । तपाईहरुले त्यसको विरोध गरिरहनु भएको छ किन ?
–नेपालमा न अहिले राणाको शासन हो न पंचायतकालिन शासन हो । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रत्मक व्यवस्था लागु भइसकेको छ । त्यसको महसुस नेपाली जनताले गर्न पाउनुपर्छ । देशमा नेपाली जनताले आफ्नो पहिचान रहेको महसुस गर्न पाउनु पर्छ । देश हाम्रो पनि हो भनि सबैले समान रुपमा महसुस गर्न पाउनुपर्छ तर त्यस्तो देखिएको छैन । नेपालको संविधानमा नै पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नामाकारण र सिमांकन हुनुपर्ने कुरा उल्लेख गरिए पनि पंचायतकालिन नामहरु राखिएका छन् त्यसैको विरुद्धमा आन्दोलनहरु भइरहेका छन् । १ नम्बर प्रदेशको नाम कोशी प्रदेश राखियो तर यो प्रदेशमा मधेशी, आदिवासी जनजातिहरुको उपस्थिति छन् । तत्कालिन जनयुद्धदेखि लिएर मधेश विद्रोहलगायत अन्य पहिचानका आन्दोलनहरुमा उठेका नामहरुको आधारमा यसको नामाकरण गर्नुपथ्र्यो तर त्यस्तो नभएको कारण त्यसमा हामीहरुको फरकमत रहेको छ ।

कोशी प्रदेश नाम पनि राम्रै हो नि । कोशीले पनि त्यो क्षेत्रलाई, त्यो भुगोललाई राम्रै पहिचान दिलाउने काम गरेको छ त्यसमा खराबी के छ र ?
–खराबी भन्दा पनि आमाजनताको बुझाई के छ भने गणतन्त्र नेपालमा जनताको शासन सुरु भइसकेपछि सगरमाथा, बागमती, नारायणी, लुम्बनी, कर्णाली, कोशी जस्ता पंचायतकालिन नामको पुनरावृति किन ? यी सबै नामहरु त पंचायतकालिन नामहरु हुन् । हामी गणतान्त्रिक मुलुकमा छौं भने त्यसको पहिचान झल्किने गरि नामहरु आउनु पर्यो नि । पंचायतकालिन नामहरु राख्नुपथ्र्यो भने हामी गणतन्त्रका लागि किन लड्यौं त किन बलिदानी दियौं किन रगत बगायौं, किन सहादत दियौं त प्रश्न यहाँ निर छ । दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राख्यो ।

त्यसले त्यहाँको छुट्टै पहिचान र अस्तित्व झल्काइ रहेको छ । त्यही अनुसार एक नम्बर प्रदेशको नाम पनि राखिनु पथ्र्यो जस्तो मलाई लाग्छ । तपाईले त्यसमा खराबी के भन्नुभयो, नाम त एक नम्बर प्रदेश पनि खराब थिएन नि । एक नम्बर प्रदेश नाम पनि राखेको भए हुन्थ्यो नि । नाम कुनै पनि खराब हुँदैन तर नाम राख्दा उसको पहिचान झल्किनु पर्यो । त्यसको परिभाषा दिनु पर्यो त्यति हो । यहीं प्रदेशमा किरांत मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा, मधेश राष्ट्रिय मुक्ति मोर्चा क्रियाशिल थिए । त्यसैको आधारमा पनि नाम राख्न सकिन्थ्यो । तर त्यो अनुसार नभएपछि जनताले विरोध गरेको हो ।

यसमा जसपाको के प्रस्ताव थियो प्रदेशको हकमा ?
–प्रष्टै छ हामी पहिचानवादी हौं । हाम्रो पार्टीको प्रदेश नम्बर १ मा पहिचानमा आधारित चारवटा समिति छन् । मधेश राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति र शेर्पालुङ राष्ट्रिय समिति रहेका छन् । यी चारवटै नामहरु हामीले प्रस्तावका रुपमा पठाएका थियौं । चारवटै जोडेर एउटा नाम राख्दा हुुन्छ वा यी मध्ये एउटा कुनै नाम राख्दा पनि हुन्छ भनि प्रस्ताव गरेका थियौं । तर त्यसमा सहमति हुन सकेन । पंचायतकालिन नाम छनौटमा पर्यो त्यसमा हाम्रो असहमति रहँदै आएको छ ।

तपाईहरुले गरेको प्रस्तावमा खासगरि ककसको विरोध थियो ?
–यसको विरोध के भनौं, विपक्षमा भनौं न । यसको विपक्षमा माओवादी, एमाले, काँग्रेस र राप्रपा थिए । उनीहरुले बहुमत देखाएर कोशी प्रदेश राख्ने काम गरे । हामी नेकपा एकीकृत समाजवादी र जसपा एक ठाउँमा थियौं । जब कि त्यही माओवादी जनयुद्ध गर्दा कोचिला, लिम्बुवानका लागि आवाज उठाएको थियो । प्रस्ताव पनि गरेको थियो । एमालेले पनि यहाँको पहिचान झल्किने गरी नामहरु विगतमा प्रस्ताव गरेको थियो तर के भयो थाह छैन एकाएक कोशी प्रदेशमा सहमति गरे । यद्यपी हामीले सुरुदेखि जे कुरा उठाएका थियौं त्यसमा अडिग नै रह्यौं ।

तपाईहरुले त्यसको विरोध गरिरहनु भएको छ, अब पुनः यसको नाम परिवर्तन हुने अवस्था छ कि छैन ?
–परिवर्तन हुनुपर्छ भनि हाम्रो आन्दोलन भइरहेको छ । हामीले असहमति जनाउँदै आइरहेका छौं । कोशी नामाकरण गरेपछि त्यसको विरोध नगरेको भए पहिचानवादीहरु पनि यसको मौन समर्थन गरे भनि म्यासेज जान्थ्यो । त्यसका लागि भएपनि हामीले विरोध गर्नुपथ्र्यो र गरिरहेका छौं पनि । नाम परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरा थाह छैन तर हामी यसका लागि सहमत थिएनौं र छैनौ भन्ने कुराको सन्देश गएको हो र त्यो आवश्यक पनि थियो । दुई तिहाईले यसको नाम राखेको हो । अब दुई तिहाईले मात्र त्यसलाई परिवर्तन गर्न सक्छ तर अहिले त्यो सम्भव देखिएको छैन । भोलीको दिनमा जनताले फेरि पहिचानवादी राजनीतिक दलहरुलाई म्याण्डेट दियो भने यो नामलाई परिवर्तन गर्न सकिन्छ । त्यसको लागि हाम्रो प्रयास जारी रहन्छ । पहिचानका लागि पहिचानवादीहरुको आन्दोलन जारी नै रहन्छ ।

केन्द्रमा तपाईहरुको गठबन्धन छ तर प्रदेशमा गठबन्धनको आधारमा किन सहमति हुनसकेन, गठबन्धनबाट एउटा निर्णय गरेर अगाडि बढ्न सकिन्थ्यो नि त्यसो किन भएन ?
–नेपालका लागि यो दुर्भाग्य हो । एउटै सिद्धान्त, एउटै विचार, एउटै मिसन लिएर गठबन्धन बनाउँछ तर त्यसभित्र आआफ्नो छुट्टै विचार र प्रस्ताव पनि राख्छन् । त्यो राख्न पाउनुपर्छ तर गणतन्त्रको मुल स्प्रिट के हो, त्यसको मुल्य मान्यता के हो, फन्डामेन्टल कुरा के हो त्यसमा पनि ध्यान दिनु पर्छ । गणतन्त्रका लागि लडेका शक्तिहरु एक ठाउँमा छन् भने त्यसको पहिचान दिनु पर्यो । विचार, सिद्धान्त, मूल्य मान्यता एकातिर, गठबन्धन अर्को तिर राखेर हुँदैन । यसले देशलाई र समाजलाई नयाँ दिशा दिन सक्दैन । देशभरका लागि गठबन्धन बनेको थियो भने प्रदेश १ का लागि एउटा निकास दिनुपथ्र्यो तर त्यसमा चुकेको हो ।

जनताको पहिचानसँग सम्बन्धित कुरामा गठबन्धनले केही गर्न सक्दैन, विभाजित हुन्छ तर शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका पदहरु तुरुन्तै कुरा मिल्छ किन ?
–मैले भने नि कि यो दुर्भाग्यपूर्ण कुरा हो । जनताले त्यही भएर यसलाई रुचाई रहेको छैन । त्यही कारणले जनता गणतन्त्रप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो काम भइरहेको छ । जनतासँग सरोकार राख्ने विषयमा पनि नेताहरु जसले गठबन्धन गरेका छन् त्यसमा पनि मिल्नुपर्ने हो ।

पद बाँडफाँटमा मिल्ने तर पहिचानमा आधारित विषयमा कुरा हुँदा त्यसमा मिल्न नसक्नुमा जसपा पनि दोषी छ नि त ?
–प्रदेश १ मा कोशी प्रदेश राख्नुमा जसपालाई दोषी मान्न सकिदैन । पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ भनि जसपाले सुरुदेखि उठाउँदै आएको विषय हो । त्यो कुरालाई निरन्तर राख्दै आयो । त्यसबाट कहिले विचलित भएन । अरु दललाई पनि मिलाउने प्रयास गर्यो । गठबन्धनमा पनि कुरा राख्यो तर अन्य दलले सहमत हुन सकेनन् । हामी अहिले पनि पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्छ भनि लडि रहेका छौं । त्यसैले कोशी प्रदेश नामाकरणमा जसपालाई दोषी भन्न मिल्दैन । जहाँसम्म पद बाँडफाँटमा कसरी कुरा मिल्छ जुन भन्नुभयो यदि त्यस्तै हो भने त्यो दुर्भाग्य हो अहिलेलाई म यति भन्छु ।

उपराष्ट्रपति जसपाले पाएको छ तर गठबन्धनमा एकमत हुनसकेको छैन किन ?
–त्यो जसपाले पाएको कारणले मात्र विवाद भइरहेको छ । अरु पार्टीले पाएको भए कुनै विवाद हुने थिएन । सबै कुरामा सधै सहमति हुँदै आयो । जसपाले सबै कुरामा समर्थन जनाउँदै आयो जब जसपाले लिने कुरा आयो अनि विभिन्न विवादहरु आउन थाल्यो । यसलाई मैले षड्यन्त्रको रुपमा लिन्छु । जसपाले देशमा आफ्नो एउटा शक्ति निर्माण गरेको छ । त्यो कुरा यहाँका शासकलाई पचेको छैन । त्यसले जसपाको विरुद्धमा अनेक षड्यन्त्रहरु गर्छन् । तर जति षड्यन्त्र गरेपनि जसपा उम्केर बाहिर आएको पनि इतिहास छ । उपराष्ट्रपति जसपाले पाएको छ त्यसमा धेरैको चित्त दुखेको छ । धेरैलाई यो कुरा पचेको छैन । त्यही भएर अनेक नाममा षड्यन्त्रहरु भइरहेका छन् ।

जसपाले उपराष्ट्रपति लिनुमा स्वार्थ छ रे, रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर खाली हुने बारा २ बाट चुनाव जितेर संसदमा आउने उपेन्द्र यादवको चाहना छ रे के यो सही हो ?
–के जसपा उपराष्ट्रपति लिने लायकको पार्टी होइन र ? जसपा उपराष्ट्रपति लिनु हुँदैन्थ्यो र ? जसपा उपराष्ट्रपति मात्र होइन राष्ट्रपति र प्रधानमन्त्रीको पनि दावेदार हो । र, त्यो हैसियत बनाई सकेको छ । त्यही कुरा षड्यन्त्रकारीहरुलाई पचिरहेको छैन । उपराष्ट्रपतिका लागि जसपा डिजर्व गर्छ र त्यही भएर दावीका साथ लिएको हो । जहाँसम्म उपेन्द्र यादवजी संसदमा आउने कुरा छ । त्यो गलत पनि होइन । उपेन्द्र यादव संसदलाई चाहिने व्यक्ति हुनुहुन्छ । मधेशी, आदिवासी जनजाति, पिछडिएका समुदायको हकहितका लागि संसदमा बोलि दिने कोही हुनुपर्छ । र त्यो उपेन्द्र यादव उपयुक्त पात्र हुनुहुन्छ । तर उहाँकै लागि यी सबभएको हो भन्नु गलत हुन्छ । उपराष्ट्रपति बनिसकेपछिको अवस्था के हुन्छ, पार्टीले के डिसिजन गर्छ त्यसको आधारमा अगाडि बढ्ने कुरा हुन्छ । अहिले नै सबै कुरा क्लियर भएको छैन ।

त्यसो भए उपराष्ट्रपतिका लागि रामसहाय यादव नै किन अरु पनि व्यक्ति हुनसक्थे नि ?
–पार्टीमा अरु पनि व्यक्ति हुनुहुन्छ । व्यक्ति छैन भने होइन तर त्यसमध्ये सबभन्दा उपयुक्त पात्र रामसहाय यादव नै हुनुहुन्छ । उहाँको नाम आएपछि कसैले कुनै टिप्पणी गर्दैन । रामसहाय यादवबाहेक अन्य कुनै नेता वा व्यक्तिको नाम सिफारिस भएको भएको भए पार्टीमा पनि कुनै नकुनै रुपमा कसैले न कसैले कुरा उठाउँथे । बाहिर पनि विभिन्न रुपमा चर्चा हुन्थ्यो तर रामसहाय यादव नै यस्ता व्यक्ति हुनुहुन्छ जो सर्वस्विकार्य हुनुहुन्छ । शालिन, अनुशासित, निष्कलङ्क, आफ्नो कर्म प्रति निष्ठावान व्यक्ति हुनुहुन्छ । त्यही भएर पार्टीलाई उपयुक्त लाग्यो र उम्मेदवार बनायो ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने आवाज उठि रहेको छ अनि तपाईहरुले पुरुष उपराष्ट्रपति किन उठाई दिनुभयो ?
–संविधानमा कतै पनि उल्लेख छैन कि राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ, उपराष्ट्रपति पुरुष भएपछि राष्ट्रपति महिला हुनुपर्छ । संविधानमा नै फरक फरक लिङ्ग वा समुदायको हुनुपर्छ भनि उल्लेख छ । सोही अनुसार जसपाले राष्ट्रपतिको फरक समुदायबाट उपराष्ट्रपति उठाएको हो । राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भनि यो व्यवहारिक कुरा हो । तर कानुनमा व्यवहार लागु हुँदैन । सबै कुरा कानुन अनुसार हुन्छ । कानुन भन्दा बाहिर कोही जान मिल्दैन । जसपाले पनि उपराष्ट्रपतिको उम्मेदवार कानुनको आधारमा नै उठाएको हो । यदि यसमा कसैले इन्तु, किन्तु, परन्तु भनेर विवाद गरिरहेका छन् भने त्यो बेकार हो ।

अनि महिला उम्मेदवार पनि किन उठाउनु भयो त ?
–निर्वाचन आयोगको डोएल क्यारेक्टर र सुरुमा जे अभिव्यक्तिहरु आयो त्यसले जसपालाई सचेत बनायो । र, त्यही सचेतताका कारण प्रमिला यादवलाई उम्मेदवार बनायो । नेपालको कानुनको भर छैन भन्छन् । हामीलाई त्यस्तै लाग्यो । जे पनि हुनसक्छ भनि थाह पाएर नै हामीले महिलालाई पनि अघि सारेका थियौं तर हाम्रो मुख्य उम्मेदवार रामसहाय यादव नै हुनुहुन्छ । निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयले उपराष्ट्रपतिको उम्मेदवारी बारे स्पष्ट पारिसकेपछि प्रमिला यादवले रामसहाय यादवलाई समर्थन जनाई सक्नुभएको छ । उहाँले उम्मेदवारी फिर्ता लिएको घोषणा पनि गरिसक्नुभएको छ । त्यसैले अब त्यसमा कुनै विवाद छैन ।

उपराष्ट्रपतिलगायतका विषयमा अन्य दलसँग जसपाको कुरा मिल्छ तर मधेश केन्द्रीत दलसँग किन मिलिरहेको छैन जस्तो लाग्छ तपाईलाई ?
–मधेशी जनअधिकार फोरम गठनभएदेखि हाल जसपा बनेसम्म त्यसको विरुद्धमा शासकहरुबाट नै षड्यन्त्र भएर नयाँ नयाँ शक्तिहरु उभ्याउने काम भयो । मधेश आन्दोलन हुँदा पनि फोरमको छेउमा एउटा शक्ति उभ्याई दियो । मधेश आन्दोलन सकेपछि पनि संघीय समाजवादी फोरमको छेउमा एउटा शक्ति उभ्याई दियो । जसपा बनेपछि पनि एउटा शक्ति उभ्याई दियो । अर्थात जसपालाई सुरुदेखि नै ड्यामेज गर्नका लागि षड्यन्त्रहरु भइरह्यो र अहिले पनि त्यसकै निरन्तरता हो । लोसपा, जनमतलगायतका पार्टीलाई जसपाविरुद्ध शासकले उभ्याइ दिएको हो । मधेश केन्द्रीत दलहरु बेचारा के गरुन्, उनीहरु अर्काका लागि प्रयोग मात्र भइरहेका छन् । तर जसपा आफ्नो मिसनमा अगाडि बढेको छ । त्यो यात्राको क्रममा आवश्यकता अनुसार कसैसँग सहकार्य भइरहेका छ भने कसैसँग एकता त कसैसँग विछोड भइरहेको छ । यस्तै चलिरहेको छ ।

तपाईको प्रतिक्रिया