अहिलेको संसदीय अभ्यासले हाम्रो चित्त दुखेको छ

–अब्दुल खान
उपाध्यक्ष एवं सांसद, जनमत पार्टी नेपाल,,,
जनमत पार्टीले सरकारमा सहभागी हुने गरी तयारी गरिरहेको छ । अहिले प्रधानमन्त्री प्रचण्ड आफै शोकमा भएको कारण सरकारमा सहभागी हुने कुरा स्थगित छ, नत्र यतिबेलासम्म सपथ भइसकेको हुन्थ्यो । जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्रीका लागि आफ्ना पार्टीका सांसद अनिता साहको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाई सक्नु भएको कुरा बाहिर आएको छ । तर पार्टीले आधिकारीक कुरा बाहिर ल्याएको छैन । हालै केन्द्रीय समिति विस्तार गरेको छ । जनमत सडक, सदन र सरकार तीनटै ठाउँमा छन् । तीनटै ठाउँमा रहेका जनमत पार्टीले अहिले के गरिरहेको छ लगायतको विषयमा प्रस्तुत छ, सहारा टाइम्सले सो पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानसँग गरिएको कुराकानीको सम्पादीत अंशः
हालै केन्द्रीय समिति विस्तार गरिएको छ तर पार्टीमा कुनै छलफल नै नगरिकन अध्यक्ष सिके राउतले आफू खुशी गर्नुभएको गुनासो भइरहेको छ यसमा तपाईले के भन्नुहुन्छ ?
–होइन, पार्टीमा बैठक बसेर, सबैसँग सल्लाह गरेर नै केन्द्रीय समिति विस्तार गरिएको हो । अध्यक्षजी (सिके राउत)ले धेरै पहिलादेखि यसमा गृहकार्य गरिरहनु भएको थियो । सबैसँग सल्लाह गरेर लिस्ट गर्दै जानुभएको थियो । अस्ति बैठक बसेर त्यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्नुभएको छ ।
भर्खर पार्टीमा प्रवेश गरेकाहरुलाई सचिवालय, कार्यकारिणी तथा राजनीतिक समितिमा राखिएको छ, जो सुरुदेखि यो पार्टीमा लागे, दुख नेल सहे, त्यसमध्ये धेरैलाई केन्द्रीय कमिटीमा नै ल्याइएको छैन भनि गुनासो भइरहेको छ, के यो साँच्चै हो ?
–हाम्रो जनमत पार्टी अरु पार्टी जस्तो नेता तथा कार्यकर्ताप्रति गैरजिम्मेवारी होइन । हामी सबै नेता तथा कार्यकर्ताको हिसाब, किताब राखेका हुन्छौं । सबैको मूल्यांकन भइरहेको हुन्छ । पार्टीले कसैमाथि अन्याय गरेको छैन, सबैलाई न्याय नै गर्छ । पार्टीमा कतिपय सिनियर नेताहरु प्रवेश गर्नुभएको छ । जसको नेपाली राजनीतिमा ठूलो योगदान रहेका छन् । उहाँहरुको क्षमता र योगदानको मूल्यांकन गर्दै ठाउँ दिएको हो तर पार्टीमा जो समेटिनु भएको छैन त्यसको योगदान र भूमिका छैन भने होइन । सबैको आआफ्नो ठाउँमा ठूलो भूमिका छ । सबैको भूमिका र योगदानका कारण आज जनमत पार्टी यो स्थानमा पुगेको छ । विस्तारै सबैलाई उचित जिम्मेवारी दिइनेछ । कोही आत्तिनु हुँदैन ।
विधान अनुसार ३७५ सदस्यीय केन्द्रीय समिति हुनुपर्ने हो, विस्तार गर्दा २६६ जनाको केन्द्रीय समिति बनेको छ, यस्तो किन ?
–होइन, विस्तार गर्ने कार्य सकेको छैन । छलफल चलिरहेको छ । संगठनले पूर्णता नपाएसम्म यसरी नै विस्तार भइरहन्छ । जनमत नयाँ पार्टी हो । यसको काम देखेर युवाको आकर्षण बढेको छ । अरु अरु क्षेत्रका व्यक्तिको आकर्षण पनि बढेको छ । आउँदै गर्छन् विस्तारै अपडेट हुँदै गर्छन् । विधानमा व्यवस्था अनुसार नै सबै काम हुन्छ ।
जनमत पार्टी सरकारमा कहिले सहभागी हुँदैछ ?
–हामी सरकारमा जान तयार छौं तर लिने पनि तयार हुनु पर्यो नि । हामी सुरुदेखि सरकारलाई सहयोग गर्दै आएका हौं । सरकारभन्दा हामी बाहिर छैनौं । चुनावपछि बनेको प्रचण्डको नेतृत्वको सरकारलाई हामीले जिरो आवरदेखि नै समर्थन गरेका छौं । सरकारमा पनि सहभागी भयौं । तर हामीसँग भएको सम्झौता अनुसार मन्त्रालय नदिएको कारण केही दिन मन्त्रालय (खानेपानी मन्त्रालय) नै गएनौं तर प्रधानमन्त्री प्रचण्डले अहिलेलाई सम्हाल्दै गर्नु, पछि तपाईहरुले चाहेको जस्तो मन्त्रालय मिलाउँछौं भन्नुभएको थियो । लामो समय भइक्दा पनि हामीलाई सहमति भएको जस्तो मन्त्रालय नदिएपछि सरकारबाट अलग भएका थियौं । हामीलाई कुनै विकासे मन्त्रालय दियो भने अझै हामी सरकारमा जान्छौं । सरकारमा जाँदैनौं भनि हामीले कहिले भनेका छैनौं ।
होइन, तपाईहरु यसरी सरकारका लागि किन मरिहत्ते गर्नुहुन्छ त ?
–हेर्नुस् जसले जति ठूलो कुरा गरेपनि आखिर जनताका लागि काम गर्ने निकाय सरकार नै हो । जबसम्म सरकारमा जाँदैन, तबसम्म जनताको काम गर्न सकिदैन । एउटा कल दिनका लागि पनि सरकारकै सिफारिस चाहिन्छ । आफ्नो गोजीबाट धेरै दिन जनताका लागि गर्न सकिदैन, त्यो सम्भव पनि छैन । राज्यको सिस्टमबाट जनताका लागि काम गर्नुपर्छ र त्यसका लागि सरकारमा जानैपर्छ । हर्क सम्पाङले पहिला पनि धरानमा विकास गर्न खोज्नु भएको हो नि तर सक्नु भएन । काम गर्नका लागि सरकारी संयन्त्रण नै चाहिन्छ । उहाँ मेयरमा जितेर आएपछि गर्न खोजेका कामहरु सुरु गर्नुभएको छ । हामीले जनतासँग विभिन्न वाचाहरु गरेका छौं तर ती वाचाहरु पुरा गर्न सरकारमा नगइ हुँदैन । रोजगारी सृजना गर्ने, उद्योग सञ्चालन गर्ने जस्ता प्रतिवद्धता जनतासँग गरेका छौं तर यी काम गर्नका लागि सरकार नै चाहिन्छ । त्यसैले सरकारमा हामीले जान चाहेका हौं । अरु दल जस्तो हामी ढोङ्गी होइनौं । सरकारमा जाँदैनौं, जानु हुँदैन भन्ने तर खुसुखुसु गइ दिने । हामी भन्छौं जनताका लागि सरकारमा जान आवश्यक छ र हामी जान्छौं ।
त्यसो भए जनमतले गरेको त्यत्रो आन्दोलन बेकार थियो भनि निष्कर्षमा पुग्नु भएको हो ?
–होइन, आन्दोलन र सरकार फरक फरक कुरा हो । जनतामा चेतना फैलाउन, सरकारमाथि कुनै कुराको दबाव बढाउन, राजनीतिक मुद्दा समाधान गर्न आन्दोलन आवश्यक हुन्छ । तर गाउँमा एउटा उद्योग खोल्न, एउटा विद्यालय खोल्न आन्दोलनले सम्भव हुँदैन त्यसका लागि सरकार नै चाहिन्छ । जनताको अधिकार र पहिचानको लागि, नागरिकताका लागि, भ्रष्टाचार अन्त्यका लागि, कुनै कानुन बनाउनका लागि आन्दोलन नै आवश्यक पर्छ तर गाउँमा बाँध बाँध्न, सडक बनाउन, विजुली लैजान सरकार नै चाहिन्छ । हामी सडक, सदन र सरकारमा छौं । तीनटै ठाउँको आआफ्नो महत्व रहेको छ । हाम्रो पार्टीका लागि तीनटै ठाउँ आवश्यक छ । त्यही भएर हामी सरकारमा जान चाहिरेका छौं ।
खानेपानी मन्त्रीबाट तपाईले राजिनामा दिनुभयो, अर्को मन्त्रालय दिएपछि पुनः तपाई नै जाने चर्चा थियो तर पार्टीले अनिता साहको नाम पठाउनु भएको कुरा बाहिर आएको हो के यो कुरा सही हो ?
–म पनि मिडियामार्फत जानकारी पाएको हुँ । पार्टीमा यसको बारेमा कुनै चर्चा भएको छैन । अध्यक्षज्युले कसैको नाम पठाउनु भएको होला त्यो थाह भएन । पार्टीमा छलफलका लागि आएपछि मात्र सबै कुरा थाह हुन्छ । सरकारमा कसलाई पठाउने नपठाउने निर्णय पार्टीले गर्छ । फलानै जानुपर्छ भने छैन, पार्टीले जसको नाम सिफारिस गर्छ उही जान्छन् ।
यसको मतलब अनिता साहको नाम पार्टीले सिफारिस गरेको छैन ?
–मैले भने नि मलाई यसको बारेमा जानकारी छैन । म पनि मिडियाबाट नै जानकारी पाएको हुँ । यस विषयमा अध्यक्षज्युसँग पनि मेरो कुरा हुन पाएको छैन । पार्टीमा छलफलका लागि आयो भने मात्र थाह हुन्छ । जसको नाम जान्छ पार्टीबाट नै जान्छ । हालसम्म मन्त्रीको बारेमा टुगों लागेको छैन । प्रधानमन्त्री प्रचण्डले आज भोली, आज भोली भनिरहनु भएको छ । अहिले उहाँ शोकको अवस्थामा हुनुहुन्छ । काजक्रिया सकेपछि सायद त्यसको बारेमा छलफल होला भनि आशा गरौं ।
भनिन्छ, जनमतलाई सरकारमा सहभागी गराउनेमा जसपा बाधक बनेको छ तपाईहरुले यो कुराको फिल गर्नुभएको छ कि छैन ?
–जसपाले रोकेर किन रोकिने हो र । प्रधानमन्त्री प्रचण्डले चाहनु भयो भने अरुले कसैले रोकेर राकिदैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले निषेधको राजनीति गरिरहनु भएको छ । राजनीतिमा अरु कोही नआउन भनि सोच हामीले पनि महसुस गरेका छौं । कोही नयाँ शक्ति आए भने आफ्नो भाग खोसिन्छ भने उहाँलाई हमेशा चिन्ता हुन्छ । उहाँले प्रतिस्पर्धाको राजनीतिभन्दा निषेधको राजनीति गरिरहनु भएको छ । सत्ता पक्षकै कतिपय सांसदहरुले हामीलाई भनिरहनु भएको छ कि उपेन्द्र यादवले जनमतलाई सरकारमा सहभागी हुन दिन चाहनुभएको छैन रे । तर हामीले उपेन्द्र यादवभन्दा पनि प्रधानमन्त्री प्रचण्डलाई दोष दिन्छौं । प्रचण्डले चाहेमा कसैले रोक्दैमा रोकिदैन ।
जसपासँग यो खालको निषेधको राजनीति किन ?
–हामीले कुनै निषेधको राजनीति गरेका छैनौं बरु हामीले मिलेर जाउँ भनि पटक पटक आग्रह गरेका छौं । मधेशको मुक्तिका लागि तराई मधेशमा जनमत, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी नमिलेसम्म सम्भव छैन । एक्लै एक्लै लडेर केही प्राप्त हुँदैन । बरु राज्य शक्तिले यी शक्तिहरु आपसमा नमिलोस् भनि चाहन्छन् । मधेशको शक्ति जति कमजोर हुन्छ त्यति नै फाइदा राज्य शक्तिलाई हुन्छ । हामीले मिलेर जाने पक्षमा छौं । तर जसपाले नै निषेधको राजनीति गरिरहेको छ ।
सप्तरी–२ को चुनावपछि जसपा र जनमत बीच झन दुरी बढेको हो जस्तो लाग्दैन तपाईलाई ?
–पहिलादेखि नै त्यति राम्रो थिएन । उपेन्द्र यादव कहिले चाहनु भएको थिएन कि सिके राउतले मधेशमा राजनीति गरोस् । आफूलाई सिके राउतबाट चुनौती रहेको महसुस गरिरहनु भएको थियो । जब चुनावमा सप्तरी–२ बाट चुनाव लड्ने कुरा भयो अनि झन उहाँले जसपालाई गिन्दै गिन्नु भएन । सप्तरी–२ को बारेमा छलफल गर्न हामी उल्टै उपेन्द्र यादवसँग भेटेका थियौं । तर उहाँमा यति अहंकार थियो कि राम्रोसँग कुरा नै गर्नुभएन । सिके राउतको सप्तरी–२ बाट चुनाव लड्ने कुरा थियो तर सबभन्दा पछाडी औपचारिक घोषण गर्नुभयो, कारण थियो उपेन्द्र यादव । उहाँले कुनै मतलब नराखेपछि सप्तरी–२ मा उम्मेदवारी दियौं । हामी जित्यौं, त्यसपछि झन उहाँ जनमतप्रति पूर्वाग्रही हुनुभएको छ । हरेक ठाउँमा हामीलाई गाह्रो बनाउन खोज्नु भएको छ । तर त्यसले हामीलाई केही फरक पर्दैन, किनभने जनता हाम्रो साथमा छ ।
यही कारण हो तपाईहरु संसदीय राजनीतिबाट फ्रस्टेड हुनुभएको, तपाईका पार्टीका अध्यक्षले समाजिक सञ्जालबाट बेलाबेला यस्तो संकेत दिइरहनु हुन्छ । साँच्चै तपाईहरु फ्रस्टेड नै हुनुभएको हो त ?
–साँच्चै भन्ने हो भने हामीले सोचेको जस्तो नेपालको राजनीति रहेनछ । यहाँ बेइमानी, झालझेल, तिकरमबाजी बढी हुने गरेका छन् । हरेक कुरामा चलखेल, हरेक कुरामा जालझेल । नेताहरु विहान एउटा कुरा बोलेका हुन्छन्, साँझ अर्को कुरा बोल्छन् । संसदमा एउटा कुरा बोल्छन्, बाहिर अर्को कुरा बोल्छन् । संसदको रोष्टमबाट एउटा कुरा बोल्छन्, कार्यान्वय अर्को कुरा गर्छन् । संसदमा कसैको स्पष्ट बहुमत छैन ।
विभिन्न पार्टीको सहयोगमा सरकार बनाएको छ । संयुक्त सरकार भएका कारणले केही असमझदारी, समझदारीको कुरा हुन्छ नै । संसदभित्र संसदीय अभ्यासमै हामीलाई चित्त बुझेको छैन । बजेटकै कुरा गर्ने हो भने यसप्रति सबैले असहमति जनाएका थिए । अधिकाँश सांसदले त्यसको विरोध गरेका थिए तर पास गर्नेबेला कमा, फुल स्टप पनि चेन्ज नगरी पास गरे । यसले जनतामा विश्वास कम गराउँछ, जनताको भरोसा टुट्छ यो कुराको चिन्ता हामीलाई छ । संसदीय अभ्यासले गर्दा हामीलाई चित्त दुखाएको छ । जनताका लागि बोल्दा कमसे कम इमान्दर हुनुपर्छ, जनताका लागि के बोलिएको छु भने त्यो कसरी पुरा गर्ने भन्नेतिर लाग्नुको सट्टा बोलि नै फेरि रहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया