–रामेश्वर राय यादव केन्द्रीय सदस्य, माओवादी केन्द्र
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु साउन ५ गतेदेखि १५ गतेसम्म भारतको भ्रमण गर्नुभयो । माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण सम्पन्न गरेको हो । यसरी नै माओवादीका अर्का उपाध्यक्ष अग्नी सापकोटाको नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमण गरेको थियो । दुई मुलुकका मुख्य पार्टीसँग माओवादीले सम्बन्ध बनाउन चाहन्छ भनि प्रष्ट छ । प्रस्तुत छ यिनै विषयवस्तुमा केन्द्रीत रहेर भारत भ्रमणबाट फर्किनु भएका माओवादीका केन्द्रीय सदस्य रामेश्वर राय यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
भाजपाको निमन्त्रणामा भारत भ्रमण सकाएर फर्किनु भएको छ । भ्रमणको उद्दश्य के थियो ?
–भारतका सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा हामी साउन ५ गतेदेखि १२ गतेसम्म भारतको भ्रमण गर्यौं । यो राजनीति तथा कुटनीतिक भ्रमणभन्दा पनि दुई पार्टीबीच सम्बन्ध आदाना प्रदानका लागि गरिएको भ्रमण थियो । भाजपाले बीजेपी नो (बीजेपी चिन्नुस्) कार्यक्रमअन्तरर्गत विभिन्न देशका दलहरुलाई निमन्त्रणा गरेर आफ्नो पार्टीको बारेमा जानकारी गराउँदै आएको छ । पार्टी–पार्टीबीच सम्बन्ध बढाउँछ, भाइचाराको सम्बन्ध बनाउँछ । हामी माओवादी पार्टीसँग पनि त्यस्तै गर्यो ।
भ्रमणको क्रममा को कोसँग भेट भयो के के कुराकानी भयो ?
–भाजपाले निमन्त्रणा गरेर बोलाएको कारण सोही दल निकटका नेता तथा सरोकारबालाहरुसँग भेटघाट र छलफल भयो । हामी गएको दिन एयरपोर्टमा स्वागत गर्न भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवा आफै आउनु भएको थियो । त्यही पनि एकछिन कुराकानी भयो । त्यसको भोलीपल्ट हामी भाजपाको हेडक्वाटर गयौं । त्यहाँ पार्टीका उपाध्यक्षदेखि विभिन्न भातृ संगठन जस्तै युवा, महिला, मिडिया क्षेत्रका अधिकारीहरुसँग छुट्टा छुट्टै छलफल भयो । त्यही दिन भाजपाका अध्यक्ष जेपी नड्डासँग छुट्टै छलफल भयो ।
उहाँसँग एक डेढ घण्टा कुराकानी भयो । सबैको एउटै चाहना थियो भाजपा–माओवादीको सम्बन्धका साथ नेपाल–भारतबीच राम्रो सम्बन्ध होस् । सबैको चिन्ता र चासो त्यही थियो । जेपी नड्डाजी पनि नेपाल–भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा बिल्कुल फरक हो । यी दुई देशको बीचमा घरायसी, समाजिक, साँस्कृतिक सम्बन्ध रहेका छन् । त्यसलाई त्यही रुपमा विकास गरिरहनु पर्छ भन्नुभएको थियो । दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउनका लागि राजनीतिक सम्बन्ध पनि बलियो हुनुपर्छ ।
त्यसमा खासगरि माओवादी केन्द्र नेपालका लागि परिवर्तनकारी शक्ति हो, यता भारतमा भाजपा परिवर्तनकारी शक्ति हो त्यसैले दुवै शक्तिको सहकार्य हुनुपर्ने धारणा नड्डाजीले राख्नुभएको थियो । माओवादीका कारण नेपालमा परिवर्तन सम्भव भएको हो र अगामी दिनमा पनि माओवादीले नै परिवर्तनका लागि नेतृत्व गर्नुपर्छ भनि नड्डाजीको विचार थियो । यसरी हामीबीच एकदमै सौहाद्र रुपमा कुराकानी भयो ।
भाजपाको हेडक्वाटर भ्रमण गरेर के के सिक्नुभयो त ?
–त्यहाँ सिक्नुपर्ने भन्दा पनि अनुभव गर्ने, मनन गर्ने कुराहरु धेरै छन् । हामीले जानेकै बुझैकै कुराहरु थिए । उहाँहरुले कति व्यवस्थित तरिकाले पार्टी चलाई रहनु भएको छ, त्यो मनन गर्ने र अनुभव गर्ने कुरा थियो । पार्टी कार्यालय एउटा सिस्टममा चलिरहेको छ । हरेक विङ्गस कसरी क्रियाशिल बनाएको छ । पार्टीका दस्तावेजहरु कसरी व्यवस्थित गरिएको छ । ऐतिहासिक कुराहरुलाई कसरी मिलाएर व्यवस्थित ढंगले राखिएको छ, त्यो अनुसरण गर्नुपर्ने कुरा थियो । मानौ भाजपा एउटा पार्टी कार्यालय होइन, एउटा म्युजियम हो, पुरै इतिहास् हो ।
पुरै भारत हो । विगतका प्रधानमन्त्रीहरुको बारेमा डिजिटलाइजेशन गरिएको छ । हेर्दा लाग्छ पूर्व प्रधानमन्त्रीहरु त्यहाँ जिवितै हुनुहुन्छ । लाइब्रेडी पनि त्यस्तै व्यवस्थित देखियो । अर्थात भाजपाको कार्यालय भ्रमण गर्दा सम्पूर्ण भारतको इतिहास त्यहाँ भेट्न सकिन्छ । भाजपाले समाजिक सञ्जाललाई कसरी प्रयोग गरेको छ, मिडिया सञ्चालन कसरी गरिएको छ लगायतको विषय अनुशरण गर्ने लायकको छ ।
त्यहाँबाट सिकेर, बुझेर, अनुभव गरेर आउनु भयो अब माओवादी पार्टीलाई पनि त्यस्तै बनाउनु हुन्छ नि कि कसो ?
–म भन्छु त्यस्तै नबनाए पनि व्यवस्थित गर्न जरुरी छ । त्यहाँ हामीले हेरेका र अनुभव गरेका कुरा यहाँ गर्न सकिदैन भने होइन । मज्जाले गर्न सकिन्छ र त्यो सम्भव पनि छ तर गर्न सकिएको छैन । झन माओवादी १० वर्ष जनयुद्ध गरेर आएको पार्टी हो । पार्टीसँग थुपै अनुभव र दस्तावेजहरु छन् । त्यसलाई मात्र व्यवस्थित गर्न सकियो भने अरुलाई देखाउन पर्याप्त हुन्छ । माओवादी एउटा इतिहास पनि हो र वर्तमान पनि हो । त्यसको बारेमा अरुलाई जानकारी दिन सक्यौ भने त्यो नै पर्याप्त हुन्छ । पेरिसडाँडालाई माओवादी जनयुद्धकालको म्युजियम बनाउन सक्यो भने विश्वका लागि एउटा उदाहरण बन्न सक्छ । यी सब गर्न नसकिने पनि होइन मज्जाले सकिन्छ त्यसका लागि इच्छा शक्ति चाहिन्छ ।
माओवादीका पनि भातृ संगठन छन्, त्यसलाई परिचालन गर्न सकिन्छ, व्यवस्थित गर्न सकिन्छ । माओवादीको मिडियालाई व्यवस्थित गर्न सकिन्छ । ल्याब्रेरी पनि हामीसँग छ, त्यसलाई व्यवस्थित बनाउन सकिन्छ । सामाजिक सञ्जाललाई पार्टीको पक्षमा कसरी प्रयोग गर्न सकिन्छ त्यसलाई पनि व्यवस्थित गर्न सकिन्छ । वैचारिक हिसाबले पार्टीका नेता तथा कार्यकर्तालाई कसरी प्रशिक्षित गर्न सकिन्छ त्यसको बारेमा पनि योजना बनाउन सकिन्छ । यो कुनै ठूलो कुरा नै होइन । पार्टीलाई जनताको जनसरोकारका विषयसँग कसरी जोड्न सकिन्छ, जनताको मनमा माओवादीलाई कसरी बसाउन सकिन्छ त्यसका लागि थुप्रै योजनाहरु बनाएर अगाडि बढ्न सकिन्छ । गर्न नसकिने केही पनि छैन, त्यसका लागि इच्छा शक्ति चाहिन्छ ।
त्यसो भए तपाईको बुझाईमा माओवादी अस्तव्यस्त छ होइन ?
–अस्तव्यस्त त होइन तर व्यवस्थित गर्न आवश्यक छ । भएका कुरालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । माओवादी जनयुद्ध लडेर आएको पार्टी हो । त्यसको आफ्नै नेचर र व्यवहार भएको कारण व्यवस्थित हुन गाह्रो हुनसक्छ तर नयाँ परिवेश र अवस्था अनुसार परिवर्तन गर्नुपर्ने आवश्यक छ ।
भाजपा र माओवादी वैचारिक हिसाबले फरक फरक पार्टी हुन् अनि सम्बन्ध कसरी बनाउन सकिन्छ ?
–वैचारिक हिसाबले फरक भएपनि जनहितमा काम गर्ने विषय एउटै हो । मानव कल्याणका लागि साझा भ्वाइस हो । आर्थिक समृद्धि र विकासका लागि एउटै सोच र विचार हो । पार्टीको उसको विचार, सिद्धान्त अन्तरिक जीवनमा लागु हुन्छ । बाहिर सबैको उद्देश्य जनताको सेवा नै हो । जनताका लागि विकास कसरी गर्न सकिन्छ, आर्थिक समृद्धि, देशको उन्नतीका लागि के गर्न सकिन्छ सायद सबैको एउटै उद्देश्य हुन्छ । भाजपाको विचार हामीभन्दा फरक होला तर मानव कल्याण, विकास निर्माण, समाजिक सम्बन्ध त पक्कै साझा छ नि । त्यसमा मिलेर काम गर्न सकिन्छ । एक अर्काको विचार र सिद्धान्तलाई हस्तक्षेप नगरी पनि कार्य गर्न सकिन्छ ।
भाजपा हिन्दुवादी पार्टी हो, माओवादी धर्मनिरपेक्षताका लागि लडेको पार्टी हो । भाजपाका चाहना नेपाल हिन्दु राष्ट्र होस् भन्ने हो । यस विषयमा तपाईहरुसँग कुनै कुराकानी भयो कि भएन ?
–भाजपा हिन्दु धर्ममा विश्वास गर्ने पार्टी हो, त्यसमा दुई मत छैन । हामी माओवादी धर्मनिरपेक्षताका लागि लडेको हौं । त्यसमा म खासै फरक देख्दिन किनभने भाजपाले हिन्दुलाई जसरी सम्मान गरेको छ, त्यसरी हामीले पनि गरेका छौं । हामीले हिन्दुलगायत अन्य धर्मलाई त्यतिकै प्राथमिकतामा राखेका छौं । एउटा धर्मका कारण अर्को धर्मप्रति अन्याय नहोस् भनि हाम्रो चाहना हो । सबै धर्म बराबर हुुन् ।
मेरै कुरा गर्नुहुन्छ भने म हिन्दु धर्म मान्छु, सधै पुजापाठ गर्छु तर अरुले आफ्नो धर्म मान्नु हुँदैन भने होइन । भ्रमणको क्रममा भाजपाले हिन्दु धर्मको बारेमा चर्चा पनि गरेन । नोटिस गर्ने कुरा के थियो भने माओवादीलाई अप्ठ्यारो हुने खालको कुनै पनि विषयवस्तु भाजपाले भ्रमणको क्रममा उठाएन । हिन्दु धर्म, कालापानी, लिपुलेक, सीमा विवादलगायत केही पनि विवादका विषयमा कुरा उठाएन । कुनै प्रकारको दबाव र प्रभाव थिएन । दुई देश र पार्टीको बीचमा कसरी सम्बन्ध बनाउन सकिन्छ त्यसको बारेमा मात्र कुराकानी भयो ।
तपाईका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला उजैनमा महाकालेश्वर मन्दिरमा गर्नुभएको पुजापाठका कारण विवादमा पर्नुभयो तपाईहरु पनि देहरादुन गएर ऋषिकेशमा गंगा आरती गर्नुभयो यो हिन्दु धर्मलाई विशेष स्थान दिएको जस्तो भएन र ?
–मैले अघि भने नि हामी माओवादीले कुनै पनि धर्मलाई अपहेलना गर्दैनौं सबैलाई सम्मान रुपमा हेर्छौ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड देशका प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जानु भएको बेला त्यहाँका सरकारले मन्दिरको अवलोकन भ्रमण गरायो । पुजापाठको व्यवस्था पनि गरेको थियो । त्यतिबेला प्रधानमन्त्रीज्युले म पुजा गर्दिन भन्दिएको भए के हुन्थ्यो, विश्वमा रहेका करौडो हिन्दुको चित्त दुख्थ्यो ।
त्यहाँ भाजपाको सरकार छ, तर सरकार पक्षका कुनै पनि प्रतिनिधिसँग भेटघाट भएन भनिन्छ नि ?
–हामी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका थियौं । सरकार निमन्त्रणामा गएका थिएनौं । जसको निमन्त्रणामा गएका थियौं, त्यसले तयार पारेको कार्यतालिका, कार्ययोजना अनुसार हिड्नुपर्छ । उहाँहरुले आफ्नो तरिकाले तयारी गर्नुभएको थियो । त्यहीं अनुसार हामीले भ्रमण पुरा गर्यौं । सरकारी प्रतिनिधिसँग भेट्ने कुनै सेडुल नै थिएन । त्यही भएर सरकारी प्रतिनिधिलाई भेट्ने कुरा नै भएन । कोही कसैसँग अनौपचारिक भेटघाट गर्नु छुट्टै कुरा हो । तर हाम्रो सेडुलमा नरहेको कारण त्यसको बारेमा हामीले मतलबै राखेनौं । उद्देश्य एउटा, काम अर्को गर्नु हुँदैन ।
तपाईको प्रतिक्रिया