Khadya Bibhag

खुशी यो कारणले छु कि म मधेशको साथमा छु

जुन कुरा मधेशी जनताले थाह पाइसकेका छन् । २०६४÷६५ को मधेशी दललाई हेर्नुस् र अहिलेका दललाई हेर्नुस् आफै थाह पाउनु हुन्छ कि ती दल र नेताको हैसियत कहाँ पुगिसक्यो । मधेशी जनताले पत्याउन छाडिसकेको संकेत हो यो ।

–रामनरेश राय यादव, स्वतन्त्र राजनीतिकर्मी
गजेन्द्रनारायण सिंहको साथमा नेपाल सद्भावना पार्टी गठन गरी मधेशी राजनीतिमा आउनु भएका रामनरेश राय यादव नेपाल सद्भावना पार्टी विभाजन हुँदा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा रहनुभयो । त्यसपछि त्यहाँबाट अलग भएर आफ्नै नेतृत्वमा पार्टी खोल्नुभयो । पछि महेन्द्रराय यादव नेतृत्वको पार्टीसँग एकीकरण गर्नुभयो । त्यसपछि राजपा बनाउनुभयो । राजपा हुँदै जसपामा जानु भयो । जसपा विभाजन भएपछि उहाँ कतै नगएर स्वतन्त्र हुनुभयो । हाल उहाँ स्वतन्त्र राजनीतिक जीवन बिताइ रहनुभएको छ । प्रस्तुत छ, सहारा टाइम्सले उहाँसँग मधेशको समसामयीक राजनीतिक विषयमा गरिएको कुराकानीको सम्पादीत अंशः
अहिले नेपालको राजनीति परिदृष्यबाट तपाई एकाएक गायब हुनुभयो कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ ?
–राजनीतिक गर्ने मान्छे कहिल्यै गायब हुँदैनन् । राजनीतिबाट पनि बन्चित हुँदैन । आफ्नो अनुकुल केही न केही गरेकै हुन्छन् । मेरो जीवन र जवानी राजनीतिमै बितेको कारण तपाई लाग्छ कि म त्यतिकै चुपचाप बसेको हुँला । तराई मधेशका विभिन्न व्यक्तित्वहरुसँग भेटेर केही नयाँ गर्ने सोचका साथ अगाडि बढी रहेको छु । त्यसका लागि गृहकार्यहरु भइरहेका छन् । विभिन्न माध्यमबाट जनसम्पर्क बढाउने काम भइरहेको छ । अगामी दिनमा कसरी अगाडि बढ्ने त्यसको बारेमा विचार विमर्शहरु भइरहेका छन् । केही दिनमा तपाईहरुले यसको परिणाम थाह पाउनु हुन्छ ।
गृहकार्य भन्नुभयो, कस्तो गृहकार्य गरिरहनु भएको छ केका लागि गरिरहनु भएको छ ?
–अब परम्परागत ढंगले राजनीति अगाडि बढ्दैन । अहिलेको राजनीतिमा थुप्रै चुनौतीहरु देखिएका छन् । ती चुनौतीहरुलाई सामना गर्न के गर्नुपर्छ, कसरी अगाडि बढ्नु पर्छ । अहिलेको राजनीतिक अवस्थाको बारेमा जनताको बुझाई र मनोदाशा कस्तो रहेको छ, कुन ढंगले निकास दिदा समस्या समाधान हुन्छ, लगायतका विषयमा गृहकार्य भइरहेको छ । नेपालको वर्तमान राजनीतिक अवस्था सिधा ढंगले अगाडि बढेको छैन ।
कतै न कतै गडबड छ । त्यो गडबडलाई कसरी सुधार गर्ने हो त्यसको बारेमा विचार विमर्शहरु भइरहेको छ । मधेशमा लामो समय राजनीतिक गर्यौं । मधेशी दल र मधेशी नेतालाई बुझ्ने मौका पायौं । उनीहरुले के गर्न सक्छन्, कतिसम्म गर्न सक्छन् सबै कुरा थाह छ । त्यसैले उनीहरुभन्दा थप अरु केही नयाँ गर्न सकिन्छ कि भनि चाहनाका साथ छलफलमा छौं । छलफलबाट के निष्कर्ष आउँछ त्यसको आधारमा हामी अगाडि बढ्छौं ।
नयाँ पार्टी खोल्न लाग्नु भएको हो कि क्या हो ?
–हेर्दै जाउ के हुन्छ । पहिलो कुरा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल हुँदैछ । युवा जुट्दैछन्, केही नयाँ केही पुराना साथीहरु पनि सम्पर्कमा आउँदैछन् । नयाँ पार्टी खोल्न सकिन्छ, वा कुनै दलको साथ पनि लिन सकिन्छ वा पार्टी नै नखोली स्वतन्त्र ढंगले पनि अगाडि बढ्न सकिन्छ यी सब विषयमा साथीहरुको बीचका कुराकानी भइरहेको छ । तत्कालै नयाँ पार्टी खोलि हाल्ने अवस्था पनि देखिएको छैन । नयाँ पार्टी खोलेपछि जनतालाई भरोसा दिलाउनु पर्छ कि अधिकार दिलाउँछौं त्यो पनि तत्कालै अवस्था देखिदैन । चलिरहेको पसलको छेउमा अर्को त्यस्तै पसल खोल्ने पक्षमा हामी तत्काल अहिले छैन । मधेशी जनताले के भन्छ, त्यसको आधारमा हामी अगाडि बढ्छौं ।
तपाई मधेश केन्द्रीत दल तथा त्यसका सबै नेतासँग काम गरिसक्नु भएको छ, यी दल तथा नेतामध्ये कोसँग तपाईहरुको बिचार मिल्दैछ, कोसँग सहकार्य हुनसक्छ ?
–हामीले विचार मिल्नेसँग काम गर्ने हो । तर त्यो पनि खाँटी मधेशी दलसँग । हामी कुनै कम्युनिष्ट वा काँग्रेस पार्टीसँग सहकार्य गर्दैनौं । मधेशी जनताको लागि काम गर्न मधेशी संगठन नै चाहिन्छ । तर कस्तो संगठन बनाउने वा कसैसँग सहकार्य गर्ने त्यस बारेमा छलफल चाल्दैछ । गजेन्द्रनारायण सिंहले पंचायत कालमा नै नेपाल सद्भावना पार्टी खोल्नुभयो र मधेशका लागि लड्नु भयो त्यही बेलादेखि म पनि मधेशको राजनीतिमा सक्रिय भएको हुँ । त्यसैले मधेशको राजनीति छाडेर अन्यत्र जाने कुनै चान्स नै छैन ।
मधेशको राजनीतिमा हुँदा विभिन्न उतार चढाव भयो, सबैलाई झेलेर त्यसैमा टिकेको छु । मैले मधेशको राजनीति छाडेर कही गएको छैन । काँग्रेस, एमाले, माओवादीका नेताहरुले मलाई पार्टीमा आउन, टिकट लिएर चुनाव लड्न न भनेको होइन । पार्टीमा ल्याउनका लागि विभिन्न प्रलोभन पनि दिए तर म कही गइनन् । मसँगै राजनीतिक गर्नेहरु कोही एमालेमा गए, कोही काँग्रेसमा गए भने कोही माओवादीमा गए कोही कता हराए तर म मधेशको विचार, सिद्धान्तलाई त्यागेको छैन । केही समयका लागि राजनीतिबाट ओझेलमा परेको हो त्यो बेग्लै कुरा हो तर म मधेशलाई छाडेको छैन । एउटा नेता हुनुहुन्छ जो कम्युनिष्ट पार्टी त्यागेर मधेशको राजनीतिमा आउनुभयो । मधेश राजनीतिमा उथल पुथल ल्याएर फेरि कम्युनिष्ट बन्नुभयो अहिले उहाँले सबल कम्युनिष्ट बनाउने भनिरहनु भएको छ । त्यस्ता नेतामाथि हामीले कसरी विश्वास गर्ने, जनताले पनि त्यस्ता नेतालाई पहिचान गरिसकेका छन् ।
तपाईको इशारा महेन्द्र राय यादवतिर हो जस्तो लाग्छ, उहाँको बारेमा तपाईले भन्न के खोज्नु भएको हो ?
–उहाँ कट्टर कम्युनिष्ट नेता हुनुहुन्छ । तर कम्युनिष्ट पार्टीमा ठाउँ नपाए पछि उहाँले मधेशको शरण लिनुभयो । मधेशी जनतालाई गुमराहमा राखेर आन्दोलन गर्नुभयो । आन्दोलनबाट थुप्रै मधेशी जनताको ज्यान पनि गयो । त्यसको आडमा मधेशको राजनीतिमा टिक्नुभयो । तर जब त्यहाँबाट स्वार्थ पुरा नहुने देखेपछि अहिले पुनः कम्युनिष्ट पार्टीमा जानु भयो । अहिले उहाँले सबल कम्युनिष्ट पार्टी बनाउने भन्नुभएको छ । उहाँलाई अब मधेशी नेता कसरी भन्ने, मधेशी दलको नेता कसरी भन्ने । मधेशी जनताले उहाँमाथि अब कसरी विश्वास गर्छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने खालका नेता उहाँ हुनुहुन्छ । त्यस्ता नेतालाई जनताले बहिष्कार गर्ने अवस्थामा पुगि सकेको छ । जनताले राम्रोसँग पहिचान गरिसकेको छ ।

मधेशको राजनीतिमा हुँदा विभिन्न उतार चढाव भयो, सबैलाई झेलेर त्यसैमा टिकेको छु । मैले मधेशको राजनीति छाडेर कही गएको छैन । काँग्रेस, एमाले, माओवादीका नेताहरुले मलाई पार्टीमा आउन, टिकट लिएर चुनाव लड्न न भनेको होइन ।

तपाईले उहाँसँग लामो समय काम गर्नुभयो, अन्तिम समय जसपामा पनि सँगै हुनुहुन्थ्यो फेरि उहाँप्रति यो खालको पूर्वाग्रही किन ?
–यो पूर्वाग्रही होइन । लामो समय काम गरेको कारण त उहाँलाई चिनेको हुँ नि । जबसम्म मान्छेको नजिक जाँदैन तबसम्म पहिचान गर्न सकिदैन । मैले महेन्द्रजीसँग लामो सहकार्य गरेको कारण उहाँलाई चिन्ने मौका पाएको छु । मधेशको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने अनेक पात्रमध्ये उहाँ मुख्य पात्र हुनुहुन्छ । मधेशी राजनीतिमा उथलपुथल ल्याउने पात्रमध्येको एक उहाँ पनि हुनुहुन्छ । मधेशको राजनीतिलाई एक ठाउँमा रहन दिनुभएन उहाँले । हरेक समयमा हतारिएर निर्णय गर्नुभयो र मधेशको राजनीतिलाई तहस नहस बनाएर जानुभयो । अहिले कम्युनिष्ट कित्तामा जानु भएको छ । यदि उहाँ सुरुदेखि ठिक ठाक रहनु भएको भए मधेशको अवस्था यस्तो हुने थिएन ।
तपाईले लामो समय मधेशको राजनीति गर्नुभयो, अहिलेको मधेश राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–एउटै लाइनमा भन्ने हो भने मधेशलाई ठग्ने कामबाहेक ती नेताहरुले अरु केही गर्नुभएको छैन् । आफूलाई स्थापित गर्न मधेशी जनतालाई विभिन्न नाममा ठग्ने काम बाहेक उहाँहरुले केही गर्नुभएको छैन । मधेसी जनतालाई भ्रममा राख्ने काम ती नेताहरुले पटक पटक गर्नुभएको छ । जुन कुरा मधेशी जनताले थाह पाइसकेका छन् । २०६४÷६५ को मधेशी दललाई हेर्नुस् र अहिलेका दललाई हेर्नुस् आफै थाह पाउनु हुन्छ कि ती दल र नेताको हैसियत कहाँ पुगिसक्यो । मधेशी जनताले पत्याउन छाडिसकेको संकेत हो यो । ठूला ठूला नेताहरुको हालत खराब गरि दिएका छन् मधेशी जनताले । पत्याउन छाडिसकेका छन्, यसको संकेत ती नेताहरुले बुझ्नुपर्ने हो । मधेशी लासमाथि राजनीति गरिरहनु भएको छ । सहिदको मोलमोलाई गरेर राजनीति गरिरहनु भएको छ । सत्ताको भागबण्डा र कुर्सीको राजनीतिबाहेक अरु केही गर्नुभएको हो जस्तो लाग्छ तपाईलाई ? म त सबै कुरा प्रष्ट देखेको छु ।
यसको दोष त तपाईलाई पनि जान्छ नि । तपाई राजनीतिमा हुँदा केही बोल्नु भएन, पार्टीको अध्यक्षदेखि मन्त्रीसम्म पनि बन्नुभयो त्यतिबेला ती कुराहरु बोल्नु भएन आज पार्टीमा हुनुहुन्न, सरकारमा हुनुहुन्न त्यसपछि यस्तो कुरा बोल्नुको के तुक छ ?
–मान्छु मबाट केही भुल भएको होला । म पनि ती नेताहरुको लहैलहैमा केही गलती गरेको हुँला तर मेरोतर्फबाट मधेशी जनतालाई कहिले धोका भएको छैन त्यो कुराको ग्यारेन्टी म लिन्छु । सत्ताका लागि, व्यक्तिगत लाभका लागि म आफ्नो जमिर (मान प्रतिष्ठा) कहिले बेचेको छैन । हो म पनि पार्टीको अध्यक्ष भए, मधेश सरकारमा मन्त्री पनि भए तर मधेशी जनतालाई मबाट कहिले धोका भएको छैन । जहिले पनि मधेशी जनताको पक्षमा उभिएर काम गरेको छु । बरु जहाँ चित्त बुझेएको छैन त्यहाँबाट अलग भएको छु फरकमत राखेको छु तर मधेशको नाममा आफूले कसैलाई धोका दिएको छैन ।

एउटै लाइनमा भन्ने हो भने मधेशलाई ठग्ने कामबाहेक ती नेताहरुले अरु केही गर्नुभएको छैन् । आफूलाई स्थापित गर्न मधेशी जनतालाई विभिन्न नाममा ठग्ने काम बाहेक उहाँहरुले केही गर्नुभएको छैन ।

मधेश सरकारको अघिल्लो कार्यकालमा तपाई पनि मन्त्री रहनुभएको थियो, मधेशको अघिल्लो सरकार र अहिलेको सरकारको बारेमा तपाईको के बुझाई छ ?
–यो मैले भन्ने कुरा नै होइन, मधेशका जनताले नै भनिरहेका छन् कि यसअघिको सरकार कस्तो थियो र अहिलेको सरकार कस्तो छ । सरकारले सर्वदलीय छानविन समिति गठन गरेको छ, सबै कुराको जवाफ त्यसले नै दिइसकेको छ । सरकारमा पक्कै पनि केही नकेही भएको छ भने त्यही सर्वदलीय छानविन समिति गठनले स्पष्ट गरेको छ । हामीले गरेको कामको पाँच प्रतिशत काम अहिले भएको छैन ।
अहिलेका मन्त्री, मुख्यमन्त्रीमा काम गर्ने इच्छाशक्ति पनि देखिएको छैन । हामी हुँदा यो देशमा मधेश प्रदेश सरकार छ भन्ने कुराको अनुभूती सबैलाई हुन्थ्यो । मधेशको अधिकार र पहिचानका लागि संघीय सरकारसँग हाम्रो पटक पटक लडाई हुन्थ्यो । कानुन निर्माणदेखि लिएर विभिन्न निकायको गठन हामीले गरेका थियौं । त्यतिबेला अधुरा रहेको काम पनि अहिलेको सरकारले गर्न सकिरहेको छैन । देशमा मधेश सरकार छ भन्ने कुराको अनुभूती जनताले गरिरहेको छैन । यो मैले होइन, त्यहाँको जनताले भनिरहेको कुरा हो ।
तपाई जसपामा हुनुहुन्थ्यो तर चुनाव स्वतन्त्र रुपमा लड्नु भयो किन ?
–जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो सिद्धान्त र विचार बिर्सिनुभयो र त्यहाँ मनमौजी गर्न थालेपछि म निस्केको हुँ । हरेक पार्टीको आफ्नो नीति, विधि र सिद्धान्त हुन्छ । नेतामा नैतिकता हुन्छ, तर जब ती सबै छाडेर स्वार्थ केन्द्रीत राजनीति हुन्छ तब त्यहाँ रहनु न रहनुको कुनै अर्थ रहदैन । जुनका नेताको पुतला जलाईएको थियो त्यही दलसँग चुनावी तालमेल गर्नुलाई कसरी बुझ्ने ? नागरिकताको विषयलाई लिएर जसपाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाइएको थियो । त्यसको विरुद्धमा आन्दोलन गरेको थियो ।
तर ११ दिन नपुग्दै त्यही दलसँग चुनावी गठबन्धन गरेर निर्वाचनमा भाग लिने निर्णय जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको थियो । मैले त्यसको विरोध पनि गरेका थिए, त्यस्तो नगर्नुस् मधेशी जनताले यसलाई रुचाउदैन, बरु एक्लै चुनावमा जाउसम्मको सुझाव दिएको थिए । आफूबाहेक कसैको नसुन्ने उपेन्द्र यादव मेरो किन सुन्नुहुन्थ्यो र । उहाँ एमालेसँग गठबन्धन गर्नुभयो ।
मलाई चित्त बुझेन म अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको थिए । म जसपाबाट अलग भएर स्वतन्त्र उम्मेदवारी दिने भएपछि मलाई एमालेले टिकट दिन तयार भयो, माओवादीलगायत अन्य दलले पनि सम्पर्क गर्न थाले । हारजित आफ्नो ठाउँको कुरा हो तर म पनि कुनै दलको टिकट लिएर चुनावमा जानसक्थे तर म मधेशको, आफ्नो स्वभिमानको लागि कही गइनन् जनताको बीचमा रहे स्वतन्त्र उम्मेदवारी दिए । चुनाव हारे त्यसमा मलाई दुख छैन । खुशी यो कारणले छु कि म मधेशको साथमा छु ।

तपाईको प्रतिक्रिया