देउवा–ओली मिलाउन भित्रभित्रै हुँदैछ यस्तो खेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारको नेतृत्व गर्ने दिन आउँदासम्म माओवादी केन्द्रले काँग्रेसलाई समर्थन गर्छ भनि त्यसको ग्यारेन्टी के ? भनि त्यसको जवाफ पार्टीका सभापति शेरबहादुर देउवासँग माग्नु भएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वाम एकताको कुरा चल्दैछ, चारैतिरबाट कम्युनिष्ट एकताका लागि प्रयास भइरहेको छ, फ्याटै माओवादी र एमालेबीच एकता भयो भने काँग्रेस त हेर्या हेर्यै हुन्छ भनि कुरा देउवा समक्ष राख्नु भएको छ । सवैधानिक अंगदेखि लिएर अन्य ठूला पदमा माओवादीको कोही पनि छैनन् प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक निकायदेखि अन्य पदहरुमा पार्टीका कोही हुँदैन भनि थाह पाएर एमालेसँग माओवादी केन्द्रले कुनै गेम खेल्यो भने त्यतिबेला काँग्रेसले के गर्छ जस्ता प्रश्न नेताहरु सभापति देउवासँग गरिदैछन् ।
यतिखेर सभापति देउवालाई बलबहादुर केसी, प्रकाशनमान सिंहले मात्र होइन, विमलेन्द्र निधि, शेखर कोइराला, गगन थापालगायतका थुप्रै नेताहरुले काँग्रेस र एमाले मिल्नुपर्छ भनि दबाव दिइरहनु भएको छ । माओवादीले एमलासँग मिल्नु भन्दा पहिले काँग्रेस मिल्नुपर्छ नेताहरुको दबाव छ । नत्र चुनाव आउँदासम्म माओवादीले काँग्रेसलाई समाप्त गर्छ भनि काँग्रेसका अधिकाँध नेताहरुको बुझाई रहेको छ ।
चुनावपछि काँग्रेसले सरकारको नेतृत्व गर्ने दावी गर्दा माओवादीका अध्यक्ष प्रचण्डलाई मिनेट पनि लागेन, उहाँ बालकोट गएर सरकार निर्माणको सबै खाका तयार गरेर प्रधानमन्त्री बन्नुभयो । फेरि त्यहाँ के कुरा मिलेन अनि काँग्रेससँग मिल्न आइ पुग्नुभयो । यस अवस्थमा प्रचण्डमाथि कसरी विश्वास गर्ने भनि नेताहरुले सभापति देउवालाई प्रश्न गर्न थाल्नु भएको छ ।
भ्रष्टाचारलगायत विभिन्न आरोपमा पार्टीका नेताहरुलाई डाम्ने काम माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री प्रचण्ड र माओवादीका उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरिहरनु भएको गुनासो नेताहरुले गर्नुभएको छ ।
प्रचण्डमाथि देउवाको विश्वास
तर सभापति देउवा अहिले कसैको कुरा मान्न तयार देखिनु भएको छैन । उहाँले आफूलाई प्रचण्डमाथि पूर्ण विश्वास छ, उहाँले काँग्रेसलाई धोका दिनु हुन्न, भोली गएर यदि केही त्यस्तो भयो भने त्यतिबेला नै केही उपाय निकाल्ने भन्दै नेताहरुलाई कन्भिन्स गर्ने काम गरिरहनु भएको छ । तर अहिले माओवादीको सरकारले जे गरिरहेको छ त्यो ठिक नगरेको बुझाई देउवाको पनि छ ।
खास गरि गृह प्रशासनबाट विभिन्न ढंगले बलजफ्ती काम भइरहेको कुरा आफ्ना निकट नेताहरुलाई राख्नु भएको छ । यसरी एमालेसँग मिल्न देउवालाई पार्टी भित्रबाट नै दबाव आएपछि उहाँ साउन २६ गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाएर झपाडेका छन् ।
तपाई एउटा मिनिस्टर मात्र हुनुहुन्छो, सिगैं राज्य होइन, आफ्नो पावरलाई यसरी मिसयुज नगर्नुस्, सभापति देउवाले गृहममन्त्री श्रेष्ठलाई भन्नुभयो, ‘तपाईले गर्न के खोज्नु भएको हो, त्यही कुरा स्पष्ट छैन, जसलाई पायो त्यसैलाई पक्राउ गर्न लगाउनु भएको छ, अनुसन्धान सुरु भएकै हुँदैन उसको नाम जथाभावी मिडिया आउँछ भोली गएर प्रमाणित भएन भने तपाई के गर्नुहुन्छ, सबैको इज्जत प्रतिष्ठा छ त्यसको पनि ख्याल राख्नुस् ।’
अनुसन्धानपछि सबै कुरा स्पष्ट भएपछि कानुनले अधिकार दिए मात्र पक्राउ गर्न सभापति देउवाले गृहमन्त्री श्रेष्ठलाई भन्नुभयो । यो माओवादी केन्द्रको एकल सरकार होइन, यो गठबन्धनको सरकार हो, गठबन्धन सरकारको आफ्नै नीति तथा कार्यक्रम छ, सरकारले केही गर्छ भने त्यसको जवाफदेही सबैले लिनुपर्छ, तर तपाई एक्लैले सबै थोक गरे जस्तो गरिरहनु भएको छ, जो राम्रो नभएको कुरा राख्नु भएको देउवा निकट स्रोतले जनाएको छ ।
त्यसको जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले आफूले विधि र प्रकृयाको दायरामा रहेर प्रधानमन्त्री प्रचण्डसँग सल्लाह गरेर नै विभिन्न कारवाही प्रकृया अगाडि बढाएको बताउँदै सरकारले गरेको यो कामको सबैतिर प्रशंसा भइरहेको कुरा पनि देउवा समक्षा राख्नु भएको थियो । गृह प्रशासनबाट यदि कुनै गल्ती भएको छ भने त्यसको बारेमा सल्लाह गर्न सकिन्छ, छलफल गर्न सकिन्छ, तर यो गठबन्धनको सरकारले गरेको कामको जस अपजस हामी सबैले लिनुपर्ने धारणा राखेर धुम्बाराहीबाट उहाँ फर्किनु भएको थियो ।
ओलीसँग काँग्रेसका नेताहरु
काँग्रेसका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक रुपमा संवाद सुरु गरिसक्नु भएको छ । पार्टीका नेता शेखर कोइरालादेखि नेता विमलेन्द्र निधिसम्मले एमालेका अध्यक्ष ओलीसँग आन्तरिक रुपमा छलफल गरिरहनु भएको छ । तर ‘हाइलेवल’ बाट हरियो सिङ्गनल नआएसम्म कुरा आगाडि नबढेको हो । स्रोत भन्छन्, ‘काँग्रेस–माओवादी गठबन्धन जोगाउनका लागि भारतले टेको दिएको छ भारतले नचाहेसम्म यहाँ केही हुनेबाला छैन, देउवाले एमालेतिर मन न डौडाउनुको कारण पनि यही हो ।’
बालकृष्णलाई पटाउदै शेखर
सभापति देउवाबाट दबाव बढाउनका लागि नेता शेखर कोइरालाले साउन ३१ गते बालकृष्ण खाँणलाई भेट्न जेल नै पुग्नुभएको थियो । बालकृष्ण खाँण देउवा पक्षका नेता हुनुहुन्छ । बालकृष्णले भनेको कुरा देउवाले मान्नु हुन्छ । त्यही भएर उहाँले जेलमै गएर उहाँलाई भेट्नु भएको छ । बालकृष्णलाई जेलबाट निकाल्न सहयोग गर्ने वाचा शेखर कोइरालाले गर्नुभएको काँग्रेस स्रोतको दावी छ । त्यसको बदलामा सत्ता गठबन्धन परिवर्तन गर्नका लागि देउवालाई कन्भिन्स गर्नुपर्ने सर्त अघि सारेको त्यो स्रोतले दावी गरेको छ ।
बालकृष्ण र शेखर एउटै पार्टीमा भएपनि दुई विपरित ध्रुवका हुनुहुन्छ । १४ औं महाधिवेशनमा शेखर सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । शेखरलाई हराउनका लागि बालकृष्णले कुनै कसर बाँकी राख्नुभएको थिएन । त्यतिबेला बालकृष्ण गृहमन्त्री हुनुहुन्थ्यो । आफ्नो शक्तिको आडमा बालकृष्णले नै शेखरलाई हराएको शेखर गुटको बुझाई छ ।
तर अहिले त्यही शेखर माआवादी–काँग्रेसको गठबन्धन भत्काउनका लागि बालकृष्णलाई गुहार्नु भएको छ । अहिले कानुन मन्त्री धनराज गुरुङ शेखर कोइरालाका खास मान्छे हुनुहुन्छ । शेखरकै कोटामा उहाँ मन्त्री बन्नुभएको छ । शेखर कोइरालाले भनेको कुरा एउटा पनि खेर जाँदैन । बालकृष्ण खाँरलाई निकाल्नुपर्छ यदि शेरखले भन्नुभयो भने मन्त्री गुरुङ ज्यानको बाजी लगाएर भए पनि निकाल्नु हुन्छ ।
शेखर कोइराला त्यही तयारीमा लाग्नुभएको स्रोतले दावी गरेको छ । उच्च अदालतले खाँणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाइसकेको छ । जिल्लाले पनि सो आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पठाइसकेको छ । अब उच्च अदालतले खाँणलाई रिहा गर्ने कि जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने कि के गर्ने त्यस बारेमा निर्णय लिन बाँकी छ । कानुन मन्त्री गुरुङ यहाँ खेल्ने सम्भावना प्रवल रहेको स्रोतले दावी गरेको छ ।
निधिको दौडधुप
यता, यसअघि एमाले–काँग्रेसको गठबन्धन बनाउन नसकेको आरोप निधिले आजसम्म झेलिरहनु भएको छ । २०७९ को चुनावपछि पाँच दलीय गठबन्धनमा विवाद देखिएको थियो । त्यसले गर्दा एमाले–काँग्रेस गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको थियो । त्यसका लागि नेता निधिले निकै प्रयास गर्नुभएको थियो । प्रचण्डले पहिलो चरणमा काँग्रेसलाई प्रधानमन्त्री नदिएपछि पार्टीमा सल्लाह गरेर नै निधिले पुस ९ गते एमालेका अध्यक्ष अ‍ोलीलाई भेट्न बालुवाटार जानुभएको थियो ।
ओलीसँग भेटेर काँग्रेस–एमाले गठबन्धनको सरकार बनाउने सहमति गर्नुभएको थियो । त्यो दिन ओलीले देउवालाई प्रधानमन्त्री बनाउन तयार हुनुभएको थियो । यो खबर निधिले तत्कालै प्रधानमन्त्री देउवालाई गर्नुभएको थियो । जसरी यो खबर देउवाले पाउनुभयो त्यसरी नै प्रचण्डले पनि बालकोटबाट पाउनुभयो । प्रचण्डले तत्कालै निधिलाई फोन गरेर भेट्न भन्नुभएको थियो ।
तर राती भएको कारण अहिले न भेट्ने भोली विहानै खुमलटार आउने निधिले भन्नुभएको थियो । भोलीपल्ट निधि विहानै खुमलटार पुग्दा प्रचण्ड रिसले आगो हुनुभएको थियो । निधिलाई सिधै गठबन्धन तोड्न तपाई कसरत गर्ने, गठबन्धन तोड्न तपाईलाई कसले लगाएको जस्तो कुरा भन्नुभएको थियो ।
लगभग त्यो दिन निधि र प्रचण्डबीच ठासठुस नै परेको थियो । प्रचण्डले देउवासँग पनि गुनासो गर्नुभएको थियो । नहुँदै प्रचण्डले अ‍ोलीसँग मिलेर गठबन्धन बनाउनुभयो । पछि काँग्रेससँग मिल्नुभयो तर निधिलाई अहिले पनि एमाले–काँग्रेस गठबन्धन बनाउन नसकेकोमा ग्लानी भइरहेको छ । त्यसैले अहिले पनि उहाँ माओवादीसँग साथ छोडाएर एमाले–काँग्रेसको गठबन्धन बनाउने कसरतमा लाग्नुभएको छ ।
उपेन्द्र यादवको चासो
यसमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि साथ दिइरहनु भएको छ । १७ वर्ष पुरानो रौतहटको गौर घटनाको फाइल माओवादी नेतृत्वको सरकारले खोलेपछि जसपाका अध्यक्ष यादव असन्तुष्ट बन्नुभएको छ । उहाँ पनि माओवादीबाट काँग्रेसलाई अलग गरेर एमालेसँग मिलाउने कसरतमा लाग्नुभएको छ । स्रोतका अनुसार यस विषयमा अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीसँग पटक पटक भेटेर कुराकानी अगाडि बढाउनु भएको छ ।
जसपासँग निर्णायक मत छ । त्यो पार्टीले बीचमा चलखेल गर्न सुरु गरेपछि गठबन्धन भत्किन बेर नलाग्ने जानकारहरु बताउँछन् । जसपाका अध्यक्ष यादव गौर घटनामा दोषी भएर कारवाही भोग्न तयार देखिनुभएको छैन । यता, माओवादी जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि हालसम्म सकारात्मक देखिएको छैन । त्यसैले उपेन्द्र यादव आफूलाई बचाउनका लागि जे पनि गर्न सक्नुहुन्छ भनि धेरैको बुझाई रहेको छ । तर जसपाका नेताहरुले आफ्ना पार्टीका अध्यक्ष यादव गठबन्धन फेरबदल गर्ने पक्षमा नरहेको दावी गर्नुभएको छ ।
ओलीको तयारी
काँग्रेसका केही शीर्ष नेताहरुको इसार पाएपछि एमालेका अध्यक्ष ओली पनि त्यसको आन्तरिक तयारीमा लाग्नुभएको छ । एमालेले अहिले जतिपनि गतिविधिहरु ग्रिरहेको छ ती सबै माओवादीको विरुद्धमा गरिरहेको छ । प्रहरीको वान्टेड सूचीमा काँग्रेसका नेता विजयकुमार गच्छदारको नाम छ । तर एमालेले गच्छदारलाई किन न पक्राउ गरेको सरकारलाई भन्दैन, कृष्ण बहादुर महरालाई किन न कारवाही गरेको भनि पटक पटक प्रश्न गरिरहेको छ ।
भुटानी शरणार्थी काण्डमा देउवा पत्नी आरजु देउवाको नाम पनि मुछिएको छ तर एमालेले त्यो कुरा बिर्सिसकेको छ तर माओवादीका कुनै नेताको फोटो कुनै सुनको व्यपारीसँग देखिएको छ भने त्यो कुरा पनि उठाउँदै कारवाहीका लागि संसद अवरोध गरिरहेको छ । सुनकण्डामा माओवादीको संलग्नता रहेको भन्दै एमालेले उच्च स्तरीय छानविनको माग गरेको हो । त्यस्तै पछिल्लो समय काँग्रेसका नेताहरुको इसारा पाएको कारण एमालेका अध्यक्ष ओलीले साउन ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलेसँग पनि भेटेर छलफल गर्नुभएको छ । छलफलमा के कुरा भयो त्यो कुरा बाहिर आएको छैन ।

तपाईको प्रतिक्रिया