देशको ‘कोर्स चेन्ज’का लागि षड्यन्त्र सुरु भएको छ

अहिले देशमा जुनखालको अवस्था सृजना भएको छ त्यसले वतावरण राम्रो बनाएको छैन । सरकारले गौर घटना पिडितसँग जुन सम्झौता गरेको छ त्यो गैर राजनीतिक र पूर्वाग्रही सम्झौता हो र त्यसलाई जसपा नेपालले इन्कार (अस्विकार) गरिसकेको छ ।

–प्रमोद साह
–राजनीतिक समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल
जनता समाजवादी पार्टी अहिले गौर घटनाको उल्झनमा फँसेको छ । १७ वर्षको पुरानो घटनाको फाइल सरकारले खोलेको छ । त्यसले गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुमाथि मुद्दा लाग्ने सम्भावनाले गर्दा सो पार्टीभित्र त्रासको वतावरण सृजना भएको छ । यसका लागि जसपाले सरकारसँग औपचारिक, अनौपचारिक कुराकानी गरिरहेको छ । जसपाका राजनीतिक समिति सदस्य प्रमोद साह (सर्लाही)ले पनि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्नु भएको थियो । प्रस्तुत छ, गृहमन्त्री श्रेष्ठसँग भेट, गौर घटना, देशको समसामयीक राजनीतिक घटनाक्रमलगायतका विषयमा जसपाका राजनीतिक समिति सदस्य एवं पूर्व सांसद प्रमोद साहसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
तपाई केही दिन पहिले (भदौं १३) गृहमन्त्रीसँग भेट्नु भएको छ, भेटको कारण गौर घटना थियो कि अन्य कुनै कारण ?
–गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग मेरो भेटघाट सर्लाही जिल्लाको विषयमा थियो । सर्लाही जिल्लाको सुरक्षा व्यवस्था, त्यहाँको विकास निर्माणलगायतको विषयमा कुराकानी भएका थियो । गौर घटनाको बारेमा केही चर्चा नै भएन । मैले कुराकानीको क्रममा समाजवादी मोर्चामा आएको दरार (चिरा)को विषयमा चर्चा गरेको थिए । मैले गौर घटनाको विषय न उठाए पनि गौर घटनालगायत भएका अन्य घटनाक्रमका कारण समाजवादी मोर्चामा कुनै दरार परेको हो कि आशंकायुक्त प्रश्न मैले गृहमन्त्रीज्युसँग गरेको थिए तर उहाँ पुरै कन्फिडेन्टका साथ भन्नुभयो कि समाजवादी मोर्चामा कुनै दरार उत्पन्न भएको छैन झन बलियो भएर अगाडि बढेको छ र त्यसको महत्व र आवश्यकता झन बढ्दै गइरहेको छ ।
गौर घटनाको बारेमा कुनै चर्चा भएन ?
–भएन, मैले समाजवादी मोर्चाको विषयमा कुरा उठाउँदा गृहमन्त्रीज्युबाट नै केही आउला भने जस्तो लागेको थियो । तर त्यस विषयमा न गृहमन्त्रीज्युले केही भन्नुभयो न मैले नै कुरा उठाए । गृहमन्त्रीलाई लागेको होला कि गौर घटनाको विषयलाई लिएर भेट्न आएको होला तर मैले त्यसको बारेमा चर्चा नै नगरि सर्लाहीको सुरक्षा व्यवस्था तथा समाजवादी मोर्चाको विषयमा कुराकानी गरेको थिए ।
तपाईलाई के लाग्छ गौर घटनाका कारण समाजवादी मोर्चामा चिरा आउन सक्छ ?
–आउँदैन तर यो कुरा सरकार र समाजवादी मोर्चाको व्यवहारमा फरक पर्छ । अहिले देशमा जुनखालको अवस्था सृजना भएको छ त्यसले वतावरण राम्रो बनाएको छैन । सरकारले गौर घटना पिडितसँग जुन सम्झौता गरेको छ त्यो गैर राजनीतिक र पूर्वाग्रही सम्झौता हो र त्यसलाई जसपा नेपालले इन्कार (अस्विकार) गरिसकेको छ । १७ वर्षअघि भएको घटनालाई आधार बनाएर अहिले जसपालाई घेराबन्दी गर्न खोज्नुको नियत स्पष्ट भइरहेको छ । मधेश आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने, पक्राउ परेकालाई रिहा गर्ने, घाइतेलाई उपचार गराउने, मृत्यु भएकालाई सहिद घोषणा गर्ने विषयमा सरकारसँग पटक पटक सम्झौता भएको हो । त्यो त पक्कै मौखिक सम्झौता थिएन होला नि । लिखित सम्झौता भएको हो, सरकारको पक्षबाट हस्ताक्षर भएको छ । यदि त्यस्तो सम्झौता भएको छ भने अहिले किन फाइल खोलेको होला हामी तपाई सबैलाईं त्यसको नियतको बारेमा थाह छ । यदि सरकारको नियत खराब छैन भने गौर घटनाको बारेमा युएनलगायत विभिन्न निकायले जाँच बुझ गरेका छन् । सरकारी निकायले पनि गरेको छ, यहाँसम्म कि माओवादी स्वयंले पनि गरेको छ । यी सबै प्रतिवेदन किन सार्वजनिक गर्दैन त । एउटा कुनै दलको विशेष उक्साहटमा सरकारले सम्झौताबाट टुगिंसकेको घटनालाई किन बाहिर ल्याएको बुझिसक्नु छैन । यदि सरकारले त्यसको बारेमा छानविन नै गर्ने हो भने एउटा उच्च स्तरीय छानविन आयोग बनाएर गर्नुपर्छ । हामीले माग पनि गरेका छौं ।
तपाईका दल सरकार र मोर्चा दुईटैमा छ तैपनि तपाईहरुमाथि अन्याय भइरहेको छ त्यहाँ बस्नुको औचित्य के त ?
–यहाँ सरकार र मोर्चाको मात्र कुरा होइन देशकै कुरा भइरहेको छ । देशमा जुन खेलहरु भइरहेका छन् । जे षड्यन्त्र भइरहेका छन् त्यसले देश नै संकटमा पर्ने हो कि हाम्रो चिन्ता हो । हाम्रो लागि सरकार र मोर्चा ठूलो कुरा होइन । सरकारमा आउने जाने भइरहेका हुन्छन् । गौर घटनाको फाइल खोलेको छ त्यो जसपाका लागि चिन्ताको विषय होइन यो त राज्यले सोच्ने कुरा हो । गौर घटनालगायत विभिन्न कुराहरु अहिले जसरी उठाइएका छन् त्यो सरकार ढाल्न र मोर्चा विघटनाका लागि नै हो । त्यो कुरामा जसपा सचेत छ । विगतमा पनि दुई दुई पटक संसद विघटन भएको हो । त्यसलाई जोगाउने काम यही गठबन्धन र मोर्चाले गरेको थियो । अहिले पनि त्यही खेल सुरु भएको छ । जसपा सरकार र मोर्चामा रहनु न रहनु ठूलो कुरा होइन । तर देश नै अर्को कोर्समा जाँदैछ कि हाम्रो चिन्ता रहेको छ । देशमा अर्को द्वन्द सृजना हुन्छ कि हाम्रो चिन्ता हो । केही शक्ति चाहन्छन् कि जसपा सरकार र मोर्चा छाडेर निस्कोस् । त्यो खेल हामी पनि बुझेका छौं तर यी कुरालाई कसरी सेटल गर्ने त्यसको जिम्मेवारी सरकारको हो । सरकारले जसपासँग कसरी व्यवहार गर्छ, सरकार र मोर्चालाई टिकाउन कस्ता कस्ता कदम चाल्छ त्यसमा भर पर्छ ।
गौर घटनालाई लिएर छानविन गर्दैमा देश कसरी दुर्घटनामा जान्छ त ?
–मैले माथि नै भने कि यहाँ गौर घटनाको कुरा मात्र होइन । गौर घटनाका कारण सरकार तथा मोर्चामा कुनै असर गर्दैन तर त्यसको आडमा हुने विभिन्न खेलले जे पनि हुनसक्छ भनेको हुँ । विगतमा संसद विघटन हुँदा गठबन्धनले खुटट दरो नपारेको भए देश त्यति नै बेला अर्को कोर्समा जान्थ्यो त्यो अवस्था अहिले पनि सृजना भएको छ । खुलेर नै भन्दाखेरी देशका कुन नेतामाथि मुद्दा छैन । सबैको मुद्दाको फाइल खोले भने देशको अवस्था के हुन्छ ? सबैमाथि मुद्दा लगाएर जेल नै पठाउन थाले भने देशका अवस्था के हुन्छ ? म दाबाको साथ भन्छु नयाँदेखि पुराना सबै नेतामाथि कुनै न कुनै मुद्दा विचाराधिन छ, चाहे प्रचण्ड होस् या शेरबहादुर देउवा, या केपी शर्मा अ‍ोली होस् या प्रचण्ड । अथवा रवि लामिछाने होस् या सिके राउत अथवा रेशम चौधरी किन नहोस् । सबैमाथि कुनै न कुनै मुद्दा अदालत, प्रहरीमा विचाराधिन छन् के सबैलाई समातेर जेलमा थुनि दिने हो त ? सबैमाथि मुद्दा लगाइयो भने देशको अवस्थ के हुुन्छ । अहिले त्यही भइरहेको छ । जसको हातमा सत्ता र शक्ति छ उसले अरु दलका नेताहरुमाथि मुद्दा लगाएर तर्साउन खोजिरहेको छ । कमजोर बनाउन खोजिरहेको छ । भोली अर्काको नेतृत्वमा सरकार बन्यो र उसले पनि यसरी मुद्दा लगाएर जवर्जस्ती समात्न लगायो भने देशको अवस्था कहाँ पुग्छ । पाकिस्तान जस्तो हुन्छ कि हुँदैन ? कुनै पनि मुद्दा वा घटनालाई पूर्वाग्रही ढंगले हेर्नुहुँदैन भनि हाम्रो भनाई हो ।

खुलेर नै भन्दाखेरी देशका कुन नेतामाथि मुद्दा छैन । सबैको मुद्दाको फाइल खोले भने देशको अवस्था के हुन्छ ? सबैमाथि मुद्दा लगाएर जेल नै पठाउन थाले भने देशका अवस्था के हुन्छ ?

त्यसो भए अहिले जति नेतामाथि मुद्दा लगाइएको छ ती सबै सरकारको गलत कदम हो त ?
–सबै गलत होइन तर सबै सही पनि होइन । कतिपय नेतालाई पूर्वाग्रही ढंगबाट फँसाउने काम पनि भइरहेको छ भने कतिपय नेताले गल्ती नै गरेका छन् । उदाहरणका लागि ललिता निवास घटनालाई हेर्नुहुन्छ भने त्यसमा कतिपय नेता तथा व्यक्तिहरु निर्दोष छन् तर उसलाई त्यसमा फँसाइएको छ । बालकृष्ण खाँणको कुरा गर्नुहुन्छ भने प्रमाण उहाँको विपक्षमा छैन । त्यस्ता केही प्रमाण भेटिएको छैन तर उहाँलाई जेलमा राखिएको छ । कतिपय नेताहरुलाई आशंकाको भरमा समातेर जेलमा हालिएको छ । सरकारले इगोमा काम गरिरहेको जस्तो अनुभुती मलाई भएको छ । यस्तै इगोमा काम भयो भने भोली अर्को सरकार गठन हुँदा यस्तै हुने त होइन भनि चिन्ता छ ।
अहिलेको सरकार ‘इगो’ मा काम गरिरहेका छ त ?
–काँग्रेसका सुनिल शर्मालाई समातेर थुन्नु भनेको इगो हो कि होइन । सुन काण्डको बारेमा कसैको बारेमा बोलेकै कारणले उहाँलाई समातेर थुनिएको थियो । सरकारले यसरी विभिन्न दलका नेताहरुलाई फँसाएर राख्न चाहेको देखिन्छ । त्रसित बनाएर आफ्नो अधिनमा राख्न खोजेको देखिन्छ । भोली गएर सरकारले कुनै गल्ति गरेपनि कुनै दल तथा नेताले त्यसको विरोधमा नबोलोस् भन्नका लागि पनि कतिपय हरकत भइरहेका छन् । सरकारले अहिले भ्रष्टाचार तथा सुशासनका लागि चालेको कदम राम्रो छ, त्यो काबिले तारिफ छ तर त्यसको आडमा केही गलत काम पनि भइरहेका छन् । त्यो सरकारले गरिरहेको छ कि अरु कुनै शक्ति केन्द्रले गरिरहेको छ त्यो थाह छैन तर पक्कै पनि केही न केही गलत भइरहेको छ भने कुरा सबैतिर महसुस भइरहेका छन् ।
नेता तथा पार्टीलाई फँसाएर केमा प्रयोग गर्ला जस्तो तपाईलाई लाग्छ ?
–यो सरकार टिकाउने खेल पनि हुनसक्छ । अहिलेको सरकार माओवादीले नेतृत्व गरेको छ । ३२ सीट भएको माओवादीले सरकार चलाइरहेको छ । सरकार छाडेर नजाओस् भनेर दलहरुलाई फँसाएर राखेको हुनुपर्छ यो एउटा मेरो आशंका र अनुमान मात्र हो । राजनीतिमा विगतमा यस्ता घटना भएकै हो । यहाँ व्यवस्थापन परिवर्तनको खेल पनि भइरहेको छ । विभिन्न राजावादी तथा नयाँ शक्तिहरु चलखेल सुरु गरेको छ । कहिले धर्मको नाम त कहिं भ्रष्टाचारको नाममा देशमा उथल पुथल ल्याउने प्रयास भइरहेको छ । त्यसका लागि पनि विभिन्न शक्तिहरुले यो खालको घटनाक्रमहरु गराएको हुनसक्छ भनि मेरो अनुमान हो । ठूला ठूला नेताहरुलाई फँसाई दिने र पछि गएर त्यही नेता तथा दलसँग बार्गेनिङ गर्ने काम हुनसक्छ । त्यसबाट सबै सचेत रहनु पर्ने आवश्यकता छ । देशमा विदेशी चलेखल तीब्र रुपमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया