म त लोसपामा प्रवेश गरेको होइन नि, पार्टी एकीकरण गरेको हुँ । सहमति पत्रमा हस्ताक्षर भएर एकीकण भएको हो । म एउटा पार्टीका अध्यक्ष भएको कारणले सोही अनुसार पद पनि दिनुपथ्र्यो ।
–कौशलकुमार सिंह
उपाध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी,-
कौशलकुमार सिंह एउटा परिचित नाम हो । पत्रकारिता पृष्ठभूमीबाट राजनीतिमा आउनु भएका उहाँ लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ लोक दलको अध्यक्ष हुनुहुन्थ्यो र त्यही पार्टी लिएर लोसपासँग एकीकरण गर्नुभएको हो । तर राजनीतिमा आउनु भन्दा पहिले उहाँ पिछडा वर्गका लागि ओबीसी बनाएर संघर्षमा हुनुहुन्थ्यो त्यसमा उहाँ अझै क्रियाशिल हुनुहुन्छ । पछिल्लो समय लोसपाले कार्य समिति बनाउँदा आफ्ना दल (लोक दल)का नेता तथा कार्यकर्तालाई नसमेटेको कारण असन्तुष्ट हुनुहुन्छ । खासमा भएको के हो, लोसपाको कार्य समितिप्रति के छ धारणा लगायतका विषयमा प्रस्तुत छ सहारा टाइम्सले लोसपाका उपाध्यक्ष कौशलकुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंशः
लामो रस्साकस्सीपछि तपाईको पार्टीले पदाधिकारीसहितको कार्य समिति सार्वजनिक गरेको छ तर त्यसमा पनि विवाद देखिएको छ किन ?
–हो, लोसपा नेपाल गठन भएको दुई वर्षपछि यो कार्य समिति सार्वजनिक भएको हो । कार्य समिति बनाउन अलि ढिलो नै भएको हो । पार्टीका अध्यक्ष महन्थ ठाकुरजी दलका अन्य नेताहरुसँग परामर्श लिएर यो कार्य समिति बनाउनु भयो, सायद त्यही कारणले ढिलो भयो कि । तर अध्यक्षज्युले नेताहरुसँग लिनु भएको परामर्शका आधारमा समिति नबनेको कुरा सबैले अनुभुती गर्नु भएको हो । पार्टीका अधिकाँश नेता जो केन्द्रीय समितिमा पर्नु भएको छ, पदाधिकारी पनि हुनु भएको छ ती नेताहरुले पनि यो कार्य समिति प्रति टिप्पणी गरिरहनु भएको छ । यसको मतलब कही नकही त्रुटी भएकै हो भनि यसले पुष्टि हुन्छ ।
यसरी टिप्पणी गर्नुको कारण के हुनसक्छ जस्तो लाग्छ तपाईलाई ?
–एक त पार्टीको मुख्य समिति केन्द्रीय कार्य समिति गठनमा ढिलाई भयो । त्यसले पनि साथीहरुमा एक प्रकारको असन्तुष्टि सुरुदेखि नै थियो । कार्य समिति बनाउँदा पनि पार्टीमा जुनखालको छलफल हुनुपथ्र्यो त्यो भएन । यसो दुई चार जना नेताहरुसँग परामर्श गरेर कार्य समिति बनाउनु भएको हो । अध्यक्षज्युले अरु कुनै नेताहरुसँग बन्द कोठामा छलफल गर्नु भएको होला त्यो मलाई थाह भएन तर पार्टीका चार पाँच जना शीर्ष नेताहरु हुनुहुन्छ उहाँहरुसँग बेलाबेलामा परामर्श लिनुभएको कुरा मलाई पनि थाह छ तर परामर्श लिएको अनुसार कार्य समिति भएन ।
अध्यक्षज्युले परामर्श लिनुभयो तर गठन आफ्नै तरिकाले गर्नुभयो । कार्य समितिमा आउनुपर्ने साथीहरु आउनु भएको छैन, नआउनुपर्ने कतिपय साथीहरु आउनु भएको छ । जो पार्टीमा मधेश आन्दोलनमा लामो समयदेखि सक्रिय थिए कतिपय त्यस्ता साथीहरु पनि छुट्नु भएको छ । त्यो पनि एउटा असन्तुष्टि हो ।
अर्को कुरा, पदाधिकारी एकदमै भद्रगोल भयो । यस्तो भद्रगोल कि बैठक बसाउन पनि कुनै ठूलै ठाउँ खोज्नुपर्ने हुन्छ । महासचिव मात्र १६ जना बनाउनु भएको छ । कोषाध्यक्ष दुई जना बनाउनु भएको छ यस्तो कही पदाधिकारी गठन हुन्छ ? जो पदाधिकारी हुनुभएको छ, त्यसलाई पनि लाज लागि रहका छन् । पदाधिकारीमा परिवारका सदस्यहरुलाई पनि छिराइएका छन्, त्यसले पनि पार्टीका साथीहरुमा असन्तुष्टि जन्माएको छ । बाहिर पनि त्यसको नकारात्मक टिप्पणी भइरहेको छ ।
कस्तो सांगठनिक संरचना बनाउने त्यसका लागि सुझाव दिन उमाकान्त झाको नेतृत्वमा कार्यदल बनाइएको थियो त्यसमा तपाई पनि सदस्य हुनुहुन्थ्यो अनि सुझाव दिनुभएन ?
–कार्यकारिणी समितिको बैठकले पार्टीका अध्यक्ष महन्थ ठाकुरज्युले संगठन संरचना कस्तो बनाउने सुझावका लागि त्यो कार्यदल गठन गर्नुभएको थियो । सात आठ जनाको त्यो कार्यदलले अध्ययन गरेर संगठनको संरचना कस्तो हुने भनि प्रतिवेदन तयार गरेर ठाकुरजीलाई हामीले बुझाएका थियौं । उहाँले तपाईहरुले दिनुभएको सुझाव अनुसार नै कार्य समिति बनाउने प्रतिवद्धता पनि जनाउनु भएको थियो तर सुझाव अनुसार केही पनि आएन । सुझावलाई टच पनि गर्नु भएको छैन ।
हामीले दिएको सुझाव अनुसार अहिलेको कार्य समिति बनेको भए अहिले जस्तो विवाद आउने थिएन । तर अध्यक्षज्युले आफ्नै तरिकाले सबै गर्नुभएको छ त्यही भएर केही असन्तुष्टि बढेको छ । असोज १६ गते पदाधिकारीको बैठक बोलाउनु भएको छ त्यसमा सम्भवतः यी विषयहरुमा छलफल हुने विश्वास लिएका छौं ।
पहिलो कुरा मधेशको अधिकार, पहिचानका लागि लामो समयदेखि लडाई भइरहेको छ । तराई काँग्रेस, गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टी, त्यसपछि बनेका विभिन्न दलहरुले मधेशको अधिकार र पहिचानका लागि लडाई गरे, संघर्ष गरे ।
तपाईको प्रतिक्रिया