Khadya Bibhag

दुध बढेकोमा डीडीसीलाई चिन्ता

दुध विकास संस्थान (डीडीस)सँग बढी दुध तथा दुधजन्य पदार्थ बढी भएकोमा चिन्ता बढेको छ । यसरी नै दुध वृद्धि हुँदै जाने हो भने पछि दुधजन्य पदार्थ राख्ने ठाउँ पनि नहुने डीडीसीका कर्मचारीहरु बताउँछन् । अहिलेदेखि नै भण्डार गर्ने ठाउँको अभाव हुन थालेका छन् ।
किसानबाट दुध खरिद अनुसार बजारमा बिक्रि नहुँदा दुग्धजन्य पदार्थको मौज्दात दिनदिनै बढ्दै गएको र अब राख्ने ठाउँको अभाव पनि हुन थालेको डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । डीडीसी दुई वर्षदेखि दुध संकलन ४० प्रतिशतले वृद्धि भएपनि दुग्धजन्य पदार्थको बिक्रि वितरण दिनदिनै घट्दै गएको उहाँले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘करिब ६० करोड रुपियाँ बराबरको धुलो दुध र मख्खन मौज्दात रहेका छन् । त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसको चिन्ता थप्दै गएको छ ।’ बटर राख्नका लागि चार सय मेट्रिक टन क्षमताको शीतभण्डार रहेको छ, त्यसमा अढाई सय टन बटर भण्डार गरेर राखिएका छन् । बटर दिन दिनै वृद्धि भइरहेको छ । यो दुई महिनामा त्यो भण्डार फुल हुने उहाँ बताउनुभयो ।
बिराटनगरमा एक सय मेट्रिक टन धुलो दुध राख्ने क्षमताको कोल्ड स्टोर रहेको छ, त्यसमा अहिले ८५ मेट्रिक टन राखिएको छ, यो महिनाभित्र त्यो फुल हुने डीडीसले जनाएको छ । चितवनमा धुलो दुध बनाउँदा त्यहाँ एक दिन पनि राख्न दिइरहेको छैन, कन्भर्जन हुने बित्तिकै लैजान भन्छ र जसरी पनि ल्याउनुपर्छ त्यहाँ पनि धुलो दुध राख्ने ठाउँ छैन । कोल्ड स्टेर भरेपछि अहिले धुलो दुध बरण्डामा राख्न थालिएको छ ।
खपतभन्दा बढी दुधलाई धुलो दुध कारखानाबाट कन्भर्सन गराइ दुध व्यवस्थापन गर्नु बाहेक अन्य विकल्प नरहेकाले डीडीसीबाट दैनिक ३५ देखि ४० हजार लिटर दुधलाई कन्भर्सनका लागि पठाउनु परेको र त्यसले गर्दा दैनिक पचास लाख रुपियाँ पूँजी ब्लक हुने गरेको दावी डीडीसीको छ ।
किसानबाट दुध उठाउने र त्यो दुध बिक्रि नहुँदा किसानको भुक्तानीमा समस्या भइरहेको डेरी उद्योगीहरु बताउँछन् । किसानको करिब ६ अर्ब रुपियाँ भुक्तानी बाँकी छ भने त्यो भन्दा बढी दुधजन्य पदार्थको भण्डार थन्किएर बसेको डेरी उद्योगीहरु बताउँछन् । किसानको भुक्तानी चलायमान बनाउन आफूहरुले प्रयास गरिरहेको उनीहरु बताउँछन् ।
डीडीसीको मात्र करिब ५० करोड रुपियाँको भुक्तानी किसानलाई दिन बाँकी रहेको छ । दशैं तिहारको बिक्रि वितरणबाट सम्पूर्ण भुक्तानी गर्ने तयारीमा डीडीसी रहेको छ । किसानको भुक्तानी कहिले रोकिएको छैन, प्रत्यके १५ दिनमा केही न केही दिइरहेका हुन्छौं तर पुरा भुक्तानी नभएको कारण बक्यौता थपिदै गइरहेका छन्, उहाँले यो महिनाभित्र किसानको भुक्तानीमा विशेष जोड दिइनेछ, त्यसका लागि सरकारसँग पनि रकम माग गरिएको र अन्य व्यवस्था गरेर पनि भुक्तानीका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया