असोज कात्तिकमा पर्ने आश्विन शुक्ल पक्षको प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सवलाई दसैँ वा बडादसैँ भन्ने गरिन्छ । नेपाल भारत गरी विश्वभरका हिन्दु समुदायले यसलाई दुर्गा पूजाको रुपमा बुझ्ने गरिन्छ । नेपाली समुदायले यसलाई दसैँको रूपमा सबै भन्दा ठूलो चाडपर्वको रूपमा एकैपटक सबै भन्दा लामो अवधिसम्म सार्वजनिक विदा दिएर मनाइने पर्व भएकाले यसलाई बडादशैँ भनिएको हो ।
दश दिनसम्म शक्तिका विभिन्न देवीहरूको विशेष पूजा गरिन्छ । पहिलो दिन पवित्र कलशलाई बालुवामा जौ छरेर राखिने दिनलाई घटस्थपना भनिन्छ । यसैगरी सातौँ दिन फूलपाती ,आठौँ दिन महाअष्टमी, नवौँ दिन नवमी र दशौँ दिन विजया दशमीको विशेष पूजा गरिन्छ । घरघर वा देवीको मन्दिरमा यसको पूजा गरिनुका साथै माटोको मूर्ति निर्माण गरी विभिन्न ठाउँमा दशैँ मनाउने गरिन्छ । भारतको पश्चिम बंगालमा मनाइने माटोको मूर्तिहरूको पूजा पण्डालको लोकप्रियता सबै भन्दा बढी रहेको छ । यो लोकप्रियतालाई संयुक्त राष्ट्रसंघ समेतले सम्मान दिएको छ । कोलकाताको दुर्गा पूजालाई डिसेम्बर २०२१ मा युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा अंकित गरिएको थियो ।
१४औँ शताब्दीका जीवित पाण्डुुलिपिहरूमा दुर्गा पूजाको लागि दिशानिर्देशहरू गरिएको पाइन्छ भने ऐतिहासिक अभिलेखहरूले कम्तीमा १६औँ शताब्दीदेखि राजपरिवार र धनी सामन्त परिवारहरूले प्रमुखरूपमा यस्ता दुर्गा पूजा उत्सवहरूको आयोजन गर्ने गरेको पाइन्छ । धार्मिक पूजाको यो उत्सवले सामाजिक तथा सांस्कृतिक पर्वको रूपमा मात्र परिचय बनाएको छैन् । यसले आर्थिक पर्वको रूपले लिन पुगेको छ । उद्योगी व्यापारीहरूले यो पर्वलाई अर्थराजनीतिको पर्व बनाइ दिएका छन् ।
नेपालीहरूले मनाउँदै आएको दशैँमा भारतीयहरूले मनाउने शैलीको प्रभाव पर्दै गएको छ । माटोका मूर्तिहरूको निर्माण गरी सार्वजनिकरूपमा स्थानीय सहभागितामा दशैँ मनाउने चलनले धार्मिक सामाजिक सांस्कृतिक पर्व आर्थिक पर्वमा परिणत हुँदै गएको छ । उद्योगी व्यवसायीहरूले पूजाका सामग्री उत्पादन गरिदिएका छन् । पर्वले मेलाको आयोजना गरिदिन्छ । मेलाले बजारको सिर्जना गरिदिन्छ । सबै भन्दा ठूलो सार्वजनिक विदा मनाउनेहरूले यस्ता मेलामा जाने गरेका छन् । खर्च गर्ने गरेका छन् । यसो भन्नु पर्दा मानिसहरूले वर्षभरीको कमाइ दशैँ तिहार, छठसम्म खर्च गर्ने गरेका कारण दशैँदेखि छठसम्मको अवधिलाई चाडपर्वको अर्थतन्त्र बनेर जान्छ । कमाउनेहरूले यो समयमा खर्च गर्ने भएकाले उद्योगी व्यवसायीले उनीहरूको खर्चलाई तान्न विभिन्न आकर्षक योजना ल्याएर वस्तु तथा सेवा बेच्ने गर्छन् । समग्रमा यो अर्थतन्त्रलाई दसैँ तिहार छठ बम्पर अफरको रूपमा बुझिन्छ ।
वस्तु तथा सेवा अन्तरर्गत धार्मिक सेवाको बजार पनि विस्तार हुँदै गएको छ । पराम्परागत पुरेत बाजेको कमाइ भन्दा धार्मिक प्रवचन दिने विदुषक र विदुषहरूको कार्यक्रमा पनि यो अवसरमा आयोजना गर्ने गरिन्छ । त्यसक्रममा दसैँको बारेमा प्रवचनको क्रममा वैदिक साहित्यको उल्लेख गर्ने गर्छन् । जसअन्तर्गत दसैँ ऋग्वेद स्तोत्र ४.२८,८.२७,८.४७, ८.९३र १०.१२७ र अथर्ववेदको खण्ड १०.१ र १२.४ दुर्गाको उल्लेख भएकोमा मात्रै होइन तैत्तिरीय आरण्यकको धारा १०.१.७ मा समेत दसैँमा पूजा गरिने देवी प्रकट भएको प्रवचनकर्ताहरूले बताउने गरेको सुन्न सकिन्छ । दुर्गा सप्तशीको पाठ र तदनुसारको होम यज्ञ हुने कार्य धार्मिक सेवाको रूपमा विस्तारित हुँदै गएको छ । समुदायहरूले आफ्नो बजेट अनुसार नाम चलेका प्रवचक र भजन गायकहरूलाई ल्याउने गरेका छन् । दानदातव्यको आधारमा यो वर्ष फलना र अर्को वर्ष फलाना चर्चित प्रवचनकर्ताहरूलाई ल्याउने योजना निर्माणको प्रतिस्पर्धाले पनि धार्मिक सेवाको व्यवसायलाई फस्टाउन सहयोग पु¥याइरहेको छ ।
दशैँमा मनाइने विभिन्न सांस्कृतिक शैलीहरू एक ठाउँबाट अर्को ठाउँमा सर्ने भएकाले यस्ता शैलीका लागि चाहिन वस्तु तथा सेवाको बजार एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्छ । नेपाली समाजमा दिइने बलि प्रथा विभिन्न ठाउँमा विभिन्न किसिमका पशु बलि दिएर मनाउने गरिन्छ । नेपाली समाजमा खसी बोका राँगा सुँगुर हाँस कुखुराको बलि दिने गरिएको पाइन्छ ।
यो अवधिमा लामो विदा हुने गरेकाले धार्मिक सांस्कृतिको कार्यक्रमको आयोजना मात्रै हुने गर्दैन । कला साहित्य तथा राजनीतिक कार्यक्रम पनि हुने गरेका छन् । कलाकार, साहित्यकार तथा राजनीतिकर्मीहरूले विभिन्न ठाउँमा सहभागी हुने कार्ययोजना तय गरेका हुन्छ । यी कार्यक्रमहरूमा हुने खर्च अर्थतन्त्रको हिस्सा हो । अर्थतन्त्रका गतिविधि मात्रै नभएर भोटको राजनीति गर्ने राजनीतिकर्मीहरू पनि दशैँको उपयोग विभिन्न किसिमले गर्ने गरेका छन् । सरकारका मन्त्रीहरूले पनि आफ्नो प्रभाव क्षेत्रका दशैँलाई प्रभाव वृद्धि गराउने योजना बनाउने गरेको पाइन्छ ।
दशैँको सम्बन्ध घरेलु अर्थतन्त्रसँग मात्र नभएर यो विश्वको अर्थराजनीतिक कूटनीतिसँग जोडिन पुगेको छ । युरोप अमेरिका र क्यानाडामा दशैँ मनाउन थालिएको छ । हिन्दुहरूको उपस्थिति र दक्षिण एसियाको ठूलो बजारमा आफ्नो सम्बन्ध विस्तार गर्न ती देशहरूका सरकारले दशैँलाई कूटनीतिको माध्यम पनि बनाउन थालेका छन् । उदयमान भारतको बजारको स्थितिले गर्दा हिन्दुहरूको चाड दशैँको महत्वलाई ती देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू विशेष महत्व दिन थालेका छन् ।
युरोप, अमेरिका र क्यानाडामा नेपाल भारतबाट मूर्तिकला–मूर्तिहरू पठाइन्छन् । बेलायतमा पहिलो पटक त्यहाँका अधिकारीहरूले टेम्स नदीमा माटोका मूर्ति बिसर्जन गर्न अनुमति दिएका थिए । त्यहाँका हिन्दु समुदायले पहिलो पटक दसैँमा मूर्ति बिसर्जन गरेका थिए । जर्मनीको कोलोनलगायतका शहरहरूमा दशैँमा पूजा गरिन्छ । सन् २००३ देखि स्विट्जरल्याण्डमा दशैँ मनाउन थालिएको छ । यसैगरी स्वीडेनमा स्टकहोम र हेलसिङबर्ग जस्ता शहरहरूमा दसैँ मनाइन्छ । युरोपमा दशैँ मनाउने देशमध्ये स्वीडेन एक हो । यहाँ सन् १९८८ मा पहिलो पटक मनाइएको थियो । नेदरल्याण्ड र जापानको राजधानीमा पनि दशैँ मनाइन्छ ।
दशैँ कृषि उपजमा आधारित सबै भन्दा लामो चाडपर्व हो । नेपाल कृषिमा आधारित देश हो । नेपाल सबैखाले भूभाग भएको देश हो । यहाँको भौगोलिक विविधता विश्वमै दुलर्भ छ । तर खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता छ । सरकारी योजना नबन्नु, बनेको योजना समयमा पूरा नहुनु, पर्यटकहरूको अतिथि सत्कारका लागि प्रयोग गरिने खाद्यवस्तुमा नेपाल ब्रान्डलाई स्थापित गर्न नखोज्नुले दशैँको अर्थतन्त्रबाट हुनुपर्ने लाभ देशलाई हुन सकिरहेको छैन् । उद्योगी व्यवसायीहरूले नेपाली उत्पादित वस्तुबाट पर्यटकहरूको सेवामा प्रयोग हुने सामग्रीको उत्पादन गर्न सकिरहेका छैनन् । उनीहरूलाई ती वस्तुको उत्पादन गर्न महँगो हुने गरेको छ । नेपाली श्रमबजार श्रम महँगो भएकाले उत्पादन गर्न गाह्रो भएको उद्योगी व्यवसायीको गुनासोलाई सरकारले ध्यान दिन सकेको देखिँदैन ।
यो वा त्यो पार्टी कसैले बनाएको सरकारले पनि उद्योगी व्यवसायीहरूको यो गुनासोलाई ध्यान दिएको भए उनीहरूको यो गुनासो थेगो बन्ने थिएन् । यसले कतै समस्या त छैन । नेपाली श्रमबजारमा बेरोजगारीको समस्या नचर्किने गरी उद्योगी व्यवसायीको यो गुनासोलाई समाधान गर्नुपर्ने दायित्व सरकारको हो । सरकारले कुन क्षेत्रमा कति प्रतिशत अनुदान दिएर महँगो श्रमको समाधान गर्न सकिन्छ त्यसबारे गहिरो गरी सोच्नु पर्छ ।
दसैँमा मदिराजन्य वस्तुको खपत धेरै हुन्छ । हुनेहरूलाई जहिले पनि दशैँ तिहार नहुनेलाई बर्सेनी भने जस्तै नहुनेहरूले वर्षभरीको मिहिनेत दसैँ तिहारलाई नै गर्छन् । यो क्षेत्रमा स्थानीय उत्पादनमाथि कडाइ गर्नुको साटो त्यसलाई ठोस नियमन गरी सुरक्षित गर्न सकिए यो क्षेत्रबाट पनि अर्थतन्त्रमा लाभ पाउन सकिन्थ्यो । मदिरालाई निषेध गर्नुपर्ने माग पनि उठेको छ । तर मदिराको प्रयोग विविध जाति समुदाय भएको नेपालमा सांस्कृतिक पक्षसँग अभिन्नरूपले जोडिएको छ । तर स्थानीयरूपमा उत्पादन गरिने विधि स्वस्थ्य तथा सुरक्षिततवरले सञ्चालन हुँदा समस्या भएको सरोकारवालाहरू बताउँछन् ।
कोदोजस्ता स्थानीय कृषि उपजबाट निर्माण गरिने मदिराजन्य वस्तुको उत्पादन र बिक्री वितरण सुरक्षित तवरले गरिए यसले दशैँको अर्थतन्त्रबाट ठूलो लाभ लिन सकिने सरोकारवालाको दाबी छ । अवसरलाई समेत उचित उपयोग गर्न नसकिएको उनीहरूको भनाइ छ । भारतको बिहार राज्यमा मदिरा निषेध हुँदा स्थानीय मदिराजन्यवस्तुको गुणस्तरमा ध्यान नदिँदा यसबाट प्राप्त हुने आम्दानीको ठूलो हिस्सा अन्ततः विदेशिने नै गरिएको उनीहरूको तर्क छ ।दशैँ बजारमा मदिराजन्य वस्तु मात्रै होइन अन्य अधिकांश खाद्यवस्तुको आपूर्ति आयातबाट हुने गरेको छ । दशैँको बजारले सरकारलाई आयात हुने वस्तुको घरेलु उत्पादनको प्रवद्र्धनलाई ध्यान दिनुपर्ने छ ।
सरकार पक्ष वा सरकारमा सामेल पार्टी र नेताहरूले यस्ता कुरोलाई गफ भन्ने गर्छन् । उनीहरू सरकारमा नरहेका बेला कृषिमा आत्मनिर्भर बन्नुपर्ने वकालत गरिरहेका हुन्छन् । सरकारमा रहेका बेला यो गफको कुरा भएको र सस्तोमा जनतालाई वस्तु तथा सेवा उपलब्ध गराउन सरकारको दायित्व भएको भन्ने गरेका छन् । यसैले पनि स्थितिमा कुनै परिवर्तन नभएको हो । सरकारमा रहेका बेला यस्तै कुरा गरी घरेलु उत्पादन र उत्पादक मारमा पर्ने गरी नियम र नीति बनाउनेतर्फ ध्यान दिने गरेका छन् ।
अर्कोतर्फ उनीहरू के गर्ने के गर्ने भनिरहेका हुन्छन् । अर्थतन्त्रलाई आयातबाट ठूलो मार पर्ने वस्तुको आयातलाई ध्यान दिनुपर्ने हुन्छ । दैनिक आवश्यक वस्तुकोको विस्थापन गर्न सकिने गरी नीति बनाउने वा अनुदान दिएर आयात विस्थापन गर्ने यस्ता विषयमा गहिरिएर सोच्नुपर्ने आवश्यकता छ । दशैँमा देवीहरू पुजा गरेर मात्र होइन् । देवीहरूले राक्षसहरूको संहार गरी भक्तजनको जीवन जोगाएका विभिन्न कथाहरूबाट पाठ सिक्नुपर्ने आवश्यकता छ ।
खड्गले राक्षसलाई मार्दा राक्षसको रगतबाट थप राक्षसको पुनर्उत्पत्ति हुने जस्ता देवीले निकालेको र रक्तबीजहरूको समूल नाश गरेको कथा दशैँमा सुन्न पाइन्छ । रक्तबीजको नाशका लागि रगत पिउने देवीले अपनाएको उपाय जस्तै देशको चुनौती पुरा गर्ने जिम्मेवारी सरकारको हो । यो समस्या समाधान गर्ने फेरि उस्तै समस्या उत्पन्न हुन नदिने गरी उपायो खोजी गर्नु पर्ने आवश्यकता रहेको छ ।
दसैँमा शक्तिको उपसाना र अराधना गरिन्छ । दसैँमा विभिन्न देवीहरूले राक्षसले उत्पन्न गरेको चुनौती पूरा गर्न उनीहरूको समूल नाश गरेको कथा सुन्ने सुनाउने गरिन्छ । देवी र राक्षस बीचको युद्धलाई कथाको रूपमा मात्र लिन हुँदैन् । समस्या र उपायको खोजीको प्रयासको रूपमा लिन पर्छ । कथाहरूबाट उपाय खोज्ने मन्थन, उपायको खोजी र उपायको कार्यान्वयनको पाठ सिक्नुपर्छ । उपायको मन्थनमा बाधा उत्पन्न हुन्छ । मन्थनबाट उपायको खोजी गर्न कठोर अनुशासन पालना गर्नुपर्ने हुन्छ । सहजतामा उपाय प्राप्त हुँदैन् । कुनैबेला सहजतामा पनि उपाय फेला पर्न सक्छ । यो दुवै विषयमा त्यतिकै ध्यान दिनुपर्छ । उपायको कार्यान्वयन सरकारका लागि ठूलो चुनौती हुन्छ । कुनै पनि लोकतान्त्रिक सरकारका लागि उपायको कार्यान्वयन गर्न सरकारलाई प्रतिपक्षीको तर्फबाट हुने चुनौती ठूलो हुन्छ ।
प्रतिपक्षीलाई विश्वासमा लिएर सार्वजनिक हितको नीति निर्माण गर्नु भनेको सही उपायको खोजी गर्नु हो । यस्तो कार्य नगरी जनतालाई ठग्नु बाहेक केही होइन् । यसरी ठग्नु भनेको राक्षसले देवीलाई भ्रममा पार्ने काम गर्नु सरह हुन्छ । जसरी महिषासुरले देवीलाई भैँसी बनेर दिएको भ्रम जस्तो हो । महिषासुरले दिएको त्यो भ्रममा देवी भ्रमित भएको भए उनका भक्तजन पीडाबाट मुक्ति पाउने थिएनन् । भक्तजनको पीडाबाट मुक्ति दिलाउन देवीले भैँसीले दिएको भ्रमलाई चिरेकी थिइन् । अनि भैँसीको गर्दन छिनाल्दा महिषासुरको सर्वनाश भएको र देवी महिषासुर मर्दिनीको जयघोष भएको कथा दशैँको कथा हो । सरकारले राजनीतिक दलबाट प्रस्तुत हुने भ्रमबाट मुक्त र निडर भई काम गरे मात्र वास्तवमा दशैँ मनाएको अर्थ हुन्छ । नभए आयाराम गयाराम सरकारले गर्ने काम शपथ लिने बाहेक अन्य केही नहुने छ ।
तपाईको प्रतिक्रिया