–शिवराम यादव –केन्द्रीय सदस्य, नेकपा (माओवादी केन्द),, माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवराम यादव जनयुद्धकालदेखि नै माओवादीमा लाग्नु भएको हो । जनयुद्धकालमा माओवादीले मधेशलाई जे नजरले हेरेको थियो त्यो नजरमा फरक आएको बुझाई उहाँको रहेको छ । मधेशप्रति माओवादीको नजरिया चेन्ज भएको छ किन त्यस्तो ? प्रस्तुत छ, चाडपर्व र माओवादीको राजनीतिक भविष्यलगायतका विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवराम यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंश
अहिले चाडपर्वको सिजन चलिरहेको छ, यसलाई तपाईले माक्र्सवादीको दृष्टिकोणले कसरी हेर्नुहुन्छ ?
–चाडपर्वलाई मैले माक्र्सवादी दृष्टिकोणले भन्दा पनि म यसलाई व्यवहारिक वैज्ञानिक रुपमा हेर्छु । चाडपर्व भनेको एउटा उत्सव हो, खुशीयाली मनाउने एउटा बाहाना हो । दशैंकै कुरा गर्ने हो भने किसानले धान रोपाइँ सकेर त्यसलाई भित्र्याउने पूर्व खुशीयालीको रुपमा खुशीयाली मनाउने, रमाईलो गर्नका लागि मनाउँदै आएको पर्व हो । तर सबै चाडपर्वको आआफ्नै इतिहास छन् । उनीहरुको आफ्नै ऐतिहासिकता छ र सबैको आफ्नै महत्व छन् । खासमा कुन चाड कसको पालामा कसरी सुरु भयो त्यसले पनि धेरै महत्व राख्दछ । विगतका दिनहरुमा एउटा समुदायको अर्को समुदायसँग, एउटा राज्यको अर्को राज्यसँग द्वन्द हुन्थ्यो, लडाई हुन्थ्यो । त्यो लडाई जित्ने राजा राजौटाहरुले एउटा कुनै मान्यता स्थापित गरेर खुशियाली मनाउँदा त्यो नै एउटा पर्व वा उत्सवको रुप धारण गथ्र्यो । त्यसलाई परम्परादेखि मनाउँदै आउँदा आजसम्म त्यसरी मनाउँदै गरेको हो ।
तपाई चाडपर्वलाई उत्सव भन्नुभयो, त्यो सामाजिक उत्सव हो कि धार्मिक ?
–ती सामाजिक र धार्मिक दुवै उत्सव हुन् । विगतका सत्ताहरु धार्मिक हिसाबले नै निर्धारण हुन्थ्यो । धार्मिक भनेको इश्वर नै हो भनि मान्यता स्थापित भएको हो । त्यतिबेलाका राजा रजौटाहरु आफूलाई इश्वर ठान्थे । जनताले पनि त्यसलाई इश्वर अवतार भन्थे । हाम्रो देशका राजालाई विष्णु अवतार भनिन्थ्यो त्यो त हामीले पनि सुनेको हौ र बुझेका हौं । त्यो भन्दा धेरै पहिलाका राजा राजौटाहरुलाई इश्वर नै भनिन्थ्यो । हाम्रै देशका राजा जनक, बुद्धहरुलाई लिन सकिन्छ । राजालाई त इश्वर वा देवताभन्दा माथि राखिन्थ्यो त्यतिबेला । राजाको कुनै आदेश हुँदा इश्वर वा भगवानको आदेश हो भनि भनिन्थ्यो । यसरी धर्म र समाज एक आपसमा जोडिदै गए । सामाजिक हिसाबले कुरा गर्ने हो, तपाईले विचार गर्नु भएको होला कुनै पनि चाडपर्व मानिसको व्यस्तताको समयमा भएको देखिदैन । किसानहरु व्यस्त भएको बेलामा कुनै पनि चाडपर्व मनाइएको हुँदैन । यसबाट पुष्टि हुन्छ कि किसानहरु वा आम मानिस फुर्सदको समयमा गर्ने रमाईलोका लागि नै चाडपर्व मनाइन्छ । बैशाखमा मनाइने जुडशितल किसानले गहुँबाली भित्र्याइ सकेपछि मनाउने उत्सव हो । त्यस्तै जितिया, चौरचन पनि हुन् । दशैै दीपावली पनि त्यसैगरि मनाउने गरिन्छ । छठ त पूर्णत किसानहरुकै पर्व हो । माघी अर्थात तिलासंक्रान्ति पनि किसानकै पर्व हो ।
परम्परागत रुपमा मनाउँदै आएको यी पर्वहरु उत्सव हो कि अन्धविश्वास हो तपाईलाई के लाग्छ ?
–त्यतिबेला आम मानिसको चेतनास्तर निकै कमजोर थियो, राजाहरुले जे भन्थे, त्यही कानुन बन्थ्यो, जे गर्थे त्यही नै चाडपर्व हुन्थ्यो । शिक्षादीक्षा सिमित मानिसमा मात्र थियो । हाम्रो समाज मनोवादी वर्णाश्रम अनुसार चलेको छ । किसान जातीलाई शुद्रमा गिनिन्थ्यो । शुद्रहरुलाई पढ्ने लेख्ने अधिकार नै थिएन । अतिशुद्र भनेको दलित हो जसलाई अछुतको रुपमा व्यवहार गरिन्थ्यो । शुद्रलाई अछुतको जस्तो व्यवहार नगरेपनि त्यसलाई पढ्ने लेख्ने अधिकार थिएन । पढ्न, लेख्न नपाएका कारण ज्ञान र चेतनाको कमजोर थियो । उनीहरुले धेरै कुराहरुलाई अन्धविश्वासको रुपमा लिए र त्यसलाई चाडपर्वको रुपमा मनाउन थालेपछि आजसम्म त्यही अनुसार चलिरहेको छ । यी कुरा इश्वरले गरेका हुन्, इश्वरले गर्दा नै बाँचेका छौं, इश्वरीय शक्तिको पुजा गर्नुपर्छ भनि विभिन्न तर्कहरु दिएर समाजलाई पुजापाठ गर्न बाध्य पारेको थियो । त्यसको वैज्ञानिक आधार खोज्ने प्रयास कसैले गरेन । यो चाडपर्व तथा विभिन्न परम्पराहरु कुनै बेला, कतैबाट पक्कै सुरु भएको हो, यसको सुरुवात किन भयो, कसले गर्यो जस्ता कुराहरु खोजि गर्नुपर्छ ।
भन्नाले जति पनि चाडपर्वहरु छन् त्यसमा इश्वरी शक्ति छैन ?
–होइन, यो कुनै पनि इश्वर शक्ति होइन । इश्वरीय शक्ति भएको भए, गरिब र निर्धालाई हेर्नुपथ्र्यो नि । तर यहाँ त्यस्तो छैन गरिब झन गरिब भइरहेका छन्, धनी झन धनी भइरहेका छन् । जसको कोही छैन् उसको इश्वर हो भन्ने गरिन्छ तर खोइ त्यस्तो त देखिएको छैन । गरिबका लागि खोइ इश्वर । इश्वरकै लागि जीवको हत्या हुन्छ, कस्तो इश्वर हो, जसलाई अर्को जीवको रगत चाहिन्छ । त्यसैले यी सब अन्धविश्व हुन् । बाढी आउँछ मान्छे मर्छ, आगलागी हुन्छ मान्छे मर्छ, भुँइचालो आउँछ मान्छे मर्छ । यी सब इश्वर शक्तिका कारण भएको हो रे, फलानो देवता रिसाउँदा यस्तो भएको हो रे अब त्यसलाई खुश पार्नुपर्छ । बलि दिनुपर्छ जस्ता कुरा समाजमा अहिले पनि भइरहेका हुन्छन् । गाउँमा ठूलो आगलागी हुँदा त्यो किन भयो, कसरी भयो त्यसको आधार खोज्नेतिर लाग्दैन । देउवा रिसायो भन्न थाल्छन् र त्यसको पुजापाठमा लाग्छन् । बाढी पहिरोमा पनि त्यस्तै हुन्छ । यी सबै कुरा चेतनाको कमीले भएको हो । मेरो विचारमा ती सबै अन्धविश्वास नै हो । पहिला पहिला त देवी देवतालाई नै मानवको बलि दिइन्थ्यो । पछि मान्छेको आवश्यकता महसुस भयो खेती किसानी गराउनुपर्छ, गाह्रो गाह्रो काममा लगाउनुपर्छ भनि आवश्यकता महसुस भएपछि मान्छेलाई बलि दिन छाडेर पशुलाई दिन सुरु गरिएको हो ।
इश्वरी शक्ति छैन, यी सबै अन्धविश्वास हुन् भन्नुहुन्छ तर तपाईकै कम्युनिष्ट पार्टीका नेताहरु धर्म कर्ममा लागि सक्नुभएको छ, भैसीको बली दिनुदेखि लिएर
भारतको उजैनमा गएर गेरुवा वस्त्र लगाएर पुजा गर्ने जस्ता हरेक चाडपर्वमा सहभागी भएको देखिन्छ त्यस्तो किन ?
–हेर्नुंस् राजनीतिक गर्नेहरुका लागि समाज अनुसार चल्नुपर्ने हुुन्छ । कतिपय अवस्थामा समाज के चाहेका छन् त्यो मनोविज्ञान बुझेर काम गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा त्यो समाजलाई परिवर्तन पनि गनुपर्ने हुन्छ । हामी समाजबाट अलग पनि रहन सक्दैनौ, समाजलाई तत्कालै परिवर्तन पनि गर्न सक्दैनौं । समाज परिवर्तनका लागि जागरण ल्याउनुपर्छ । त्यसको वैज्ञानिक आधार खोज्नुपर्छ, भित्रि तहसम्म जानुपर्छ अनि मात्र परिवर्तन गर्न सकिन्छ । अहिलेको समाजमा देखिएको परम्परा, सँस्कृति रितिरिवाजहरुलाई परिवर्तन गर्न सकिदैन । त्यसको वैज्ञानिक र साँस्कृति आधार पत्ता नलगाईकन त्यसलाई परिवर्तन गर्न गाह्रो छ जबसम्म परिवर्तन गर्न सकिदैन तबसमम्म समाजसँग हिड्नुबाहेक अरु कुनै उपाय नै छैन ।
यसको मतलब जनतालाई चित्त बुझाउन, जनताको मन जित्नका लागि अन्धविश्वासलाई साथ दिनुपरेको हो होइन ?
–अन्धविश्वासलाई साथ दिनु परेको भन्दा त्यसलाई यसरी बुझ्दा हुन्छ, कि समाजले तत्काल के चाहेको छ, के गर्दा उ खुशी हुन्छ हामीले त्यो पनि बुझ्नुपर्छ । तत्कालै उसको सँस्कृति परम्परामा प्रहार गरेर भड्काउने प्रयास गर्नुहुँदैन । जनतामा वैज्ञानिक चेतनाको विकास गर्नुपर्छ । म चीन भ्रमण जाँदा त्यहाँ धेरै कुरा परम्परागत र साँस्कृतिक रुपमा हेर्न पाइन्छ, देख्न पाइन्छ । धेरै पुराना कुराहरु त्यहाँ प्रदर्शनमा राखिएका हुन्छन् तर ती सबैको वैज्ञानिक आधार पनि खोजिएका छन् । वैज्ञानिक रुपमा त्यसलाई पुष्टि गर्ने प्रयास गरेको छ । समाजलाई चित्त बुझाउने काम पनि गरेको छ ।
तपाईहरुको अहिले तीन महिने जागरण अभियान चलिरहेको छ, यो अभियानको क्रममा चाँडपर्व र साँस्कृतिक परम्पराको बारेमा वैज्ञानिक रुपमा आधार खोज्ने काम हुन्छ त ?
–छलफल चलाउनुपर्छ सुरुवात गर्नुपर्छ । सबै कुराको परिवर्तन यो तीन महिनामै हुन्छ भने होइन तर सुरुवात गर्नुपर्छ । समाजका सोच र स्तर कस्तो छ त्यसको आधारमा पनि विस्तारै परिवर्तनतिर लग्नुपर्छ । समाजमा सबै कुरा खराबै छन्, सबै अन्धविश्वासकै रुपमा छन् भने पनि होइन कतिपय राम्रा कुराहरु पनि छन् । त्यसको आधारमा पनि समाजलाई परिवर्तन गनुपर्छ । पार्टीलाई सांगठनिक रुपमा सुदृढीकरण गर्न तीन महिने जागरण अभियान चलाएको हो । समाज परितर्वन गर्नका लागि यो तीन महिने अभियानले सम्भव छैन । तर विस्तारै त्यतातिर लाग्ने अवस्था आएको छ । राजनीतिक परिवर्तन गर्न समय लाग्दैन तर साँस्कृतिक परिवर्तन गर्न निकै समय लाग्दो रहेछ । त्यही भएर त्यसका लागि समय लाग्छ तर विस्तारै परिवर्तन हुन्छ ।
अहिले माओवादीको तीन महिने अभियान पनि चलिराखेको छ, तपाई माओवादीमा मधेशबाट प्रतिनिधित्व गर्नुहुुन्छ, मधेशमा माओवादी पार्टी यसरी कमजोर किन भएको होला जस्तो तपाईलाई लाग्छ ?
–माओवादीले यो नेपाली समाजका लागि निकै लामो जनयुद्ध नै गरेको हो । देशलाई राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रुपमा परिवर्तन गर्नका लागि त्यो जनयुद्ध भएको थियो । राजनीतिक रुपमा परिवर्तन त ल्याउन सकियो, समाजमा केही चेतनाको विकास पनि भएको छ, आर्थिक समृद्धिका लागि प्रयास पनि भइरहेको छ तर साँस्कृतिक रुपमा खासै परिवर्तन गर्न नसकेको मेरो बुझाई रहेको छ । साँस्कृतिक रुपमा त्यतिबेलाको समाज जहाँ थियो अहिले पनि त्यही छ । महेन्द्रवाद, पहाडी राष्ट्रवाद हटाउनका लागि ठूलो लडाई भयो । एउटै भाषा एउटै भेषको कुरा त केही हदसम्म हट्यो तर एउटै समुदाय, एउटै अनुहारको बर्चस्व अझै कायम छ । देशमा आन्तरिक औपनिवेशिक छ त्यो अझै हटेको छैन । मधेशमाथि औपनिवेशिक लादिएको हो । मधेशी जनतालाई अझै पनि राज्यले स्विकार गरेको जस्तो देखिदैन । मधेश र मधेशी जनतालाई यो राज्यका अन्य समुदायभन्दा फरक व्यवहार हुन्छ । मधेशको हकमा मण्डले राष्ट्रवादको सोच अझै पनि यो देशका शासकहरुसँग छन् । मधेशमा आफ्नो हक र अधिकारको कुरा उठाउँदा पनि भारतसँग जोडेर हेर्दिन्छन्, यतिसम्म कि मधेशीलाई पनि भारतीय सम्झिन्छन् । तर भारतीय विस्तारवादको सबभन्दा बढी पिडित मधेशी जनता नै हो । यद्यपी राज्यले गलत बुझेको छ ।
माओवादीले पनि मधेशी जनतालाई त्यस्तै सम्झेको हो र ?
माओवादी पार्टीभित्र पनि मधेशी नेतालाई कमजोर नेताको रुपमा हेरेको छ । पार्टीभित्र मधेशी नेताको कुनै महत्व नै छैन त्यहाँ । उनीहरुको नेतृत्वदायी भूमिका नै छैन अनि मधेशमा कसरी पार्टी बनोस् । जनता शक्तिको पछि लाग्छ तर माओवादीमा रहेका मधेशी नेतासँग शक्ति नै छैन, शक्तिविहिन बनाएर पार्टीमा राखेको छ त्यही भएर मधेशी जनता माओवादीको भर परेको छैन । मधेशी नेतालाई पार्टीभित्र नै महत्व छैन भने त्यसको पछि किन लाग्ने भनि भन्न थालेका छन् त्यहाँका जनता । जो बलिया छन्, शक्तिशाली छन्, जसको पार्टी र यहाँको शासन प्रशासनमा चल्छ त्यसको पछि लागेका छन् । अर्को कुरा माओवादी पार्टीभित्र अन्तरविरोधले पनि जाडा गाडेको छ । तर त्यसलाई समाधान गर्ने प्रयास भइरहेको छैन । समाधान गर्ने भन्दा गुट उपगुटमा पार्टीलाई विभाजन गरेको छ । समस्या समाधान गर्नेभन्दा पनि झन बढाई दिने र त्यहाँको नेतृत्वलाई विकास नै गर्न नदिने अवस्थाको सृजना भएको छ । त्यसले गर्दा संगठन व्यवस्थित हुन सकेन । मधेशमा पार्टीका लागि त्यत्रो बलिदान, त्यस्तो संघर्ष गरिएको छ तर त्यसको मूल्यांकन पार्टीभित्र कही कतै कुनै ठाउँमा छैन । मधेशमा चेतनाको विकास गर्ने काम माओवादीले गरेको छ तर त्यही पार्टीमा मधेशी नेताहरुको मूल्यांकन छैन ।
के माओवादीमा एउटै भाषा एउटै भेषको नीति छ ?
–बरु माओवादीले महेन्द्र राष्ट्रवाद, मण्डले राष्ट्रवादको विरुद्ध लडेको छ, त्यसलाई हटाउने प्रयास गरेको छ । राष्ट्रियतालाई एकीकृत गर्ने काम गरेको छ । यत्रो संसारभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला माओवादीले त्यसलाई अगाडि बढायो त्यो आफैमा गौरव गर्ने लायकको काम थियो तर पार्टीभित्र मधेशलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आएन ।
माओवादीमा एउटै भाषा, एउटै भाषाको नीति छैन भन्नुभएको छ तर त्यो पार्टीभित्र जहाँ हेर्दा एउटै अनुहार देखिन्छ यो त त्यही नीतिको तहत भएको होइन र ?
–माओवादीले वर्गीय आन्दोलन गरेको थियो । माओवादीलाई सबै वर्ग तथा समुदायले साथ दिएका थिए । तर साँच्चै भन्ने हो भने पार्टीभित्र एउटै बर्ग एउटै समुदायको पक्कड भएको कुरा पनि अनुभव गरिएको छ । तर हामीले आशा गरेका छौं कि यो तीन महिने अभियानको क्रममा सबै वर्ग र समुदायलाई समेट्छ, समावेशी गर्छ भनि विश्वास लिएको छौ । नीति परिवर्तन भएको छ अब पार्टीले नियत पनि परिवर्तन गर्नुपर्छ ।
माओवादीले मधेशमा मधेशवादी दलसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन ?
–नेपालको राजनीतिक परिवर्तनमा मधेशको पनि योगदान छ । मधेशवादी दलले पनि संघीयता र लोकतन्त्रको लागि संघर्ष गरेको हो । केही कुरामा फरकमत राखेका छन् त्यो बेग्लै कुरा हो तर परिवर्तनका लागि मधेशवादी दलको योगदान पनि छ । खासगरि मधेशमा पनि परिवर्तनकारी शक्तिकै बीचमा प्रतिस्पर्धा हुन्छ । जसले मधेशी जनताको मन जित्छ उ अगाडि बढ्छ ।
माओवादीले मधेशी जनताको मन जित्न सक्छ कि सक्दैन ?
–एक समय थियो, मधेश माओवादीमय थियो । एक पटक त माओवादीका अध्यक्ष प्रचण्डलाई मधेशले पनि जिताएर पठाएको थियो । तर पछिल्लो समय माओवादी पार्टीले मधेशप्रति ध्यान नदिएको देखिन्छ । अर्थात माओवादीले मधेशी जनताको मन जित्न सकेको छैन । यदि जितेको भए मधेशमा माओवादीको यो हालत हुने थिएन ।
तपाईको प्रतिक्रिया