महिल आफैमा कमजोर हुँदैन, उसले आफैमा हिनताबोध गरेर कमजोर ठानेको कारण कमजोर भएका हुन्छन् । एउटा महिला आफैमा आत्मनिर्भर र आत्मशक्ति भएपछि उसले आफूलाई मात्र होइन, आफ्नो परिवार र सिगैं समाजलाई नै परिवर्तन गर्ने सामर्थ राख्दछन् । त्यसमध्येको एक हुनुहुन्छ, सिरहाका संगिता यादव । जतिबेला उहाँले पढाई गरिरहनु भएको थियो, त्यतिबेलाका समाजले छोरी चेलिबेटीलाई घरबाट पनि निस्कन दिइरहेको थिएनन् । त्यस अवस्थामा पनि उहाँले आफ्नो घर परिवारलाई कन्भिन्स गरेर पढाईलाई अगाडि बढाउनुभयो ।
पढाईमा जब उहाँ अगाडि बढ्नु भयो, त्यसपछि उहाँ पछाडि फर्केर कहिले हेर्नुभएन ।
अहिले उहाँ जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धक हुनहुन्छ । र, ४० वर्षको इतिहासमा पहिलो पटक मधेशी महिला सो केन्द्रको महाप्रबन्धक हुनुभएको हो । बुवा देवेन्द्र यादव र आमा रामदुलारी देवीका छोरी संगिता यादवको जन्म धनुषाको मिथिला बिहारी नगरपालिका पहिलाको कचुरी गाउपालिकामा भएको हो ।
उहाँका एक जना दिदी सविता यादव र दुई जना वहिनी सोनु यादव र अन्जु यादव हुनुहुन्छ । सविता यादव मास्टर्स गरेर जागिरे हुनुहुन्छ भने सोनु अष्ट्रेलियामा डेन्टिस्ट हुनुहुन्छ । अञ्जु यादव पनि अमेरिकामा डेन्टिस्ट हुनुहुन्छ । संगिताका दाजु चन्द्रशेखर अधिकारी पनि इन्जिनियरीङ गर्नुभएको छ । केही समय बैंकमा जागिर पनि खानुभयो तर पछि जागिर छाडेर आफ्नै व्यवसायी सुरु गर्नुभयो । अर्थात संगिताका आमाबुवाले छोरालाई मात्र होइन चार जना छोरीलाई पनि उच्च शिक्षा दिनुभएको छ र तराई मधेशको यो एउटा उदाहरण हो ।
जहाँ मधेशी समुदायमा खासगरि यादव समुदायका छोरीलाई त्यति पढाउने चलन थिएन । छोरीलाई जति बढी पढाईयो त्यति नै बढी दहेज दिनुपर्छ भन्ने मान्यता भएको कारण बरु पढाई नगराउने अलिकति दहेजमा खर्च गरेर बिहे गरी पठाई दिने चलन थिया । तर त्यो सोचमा अहिले धेरै परिवर्तन आइसकेको छ ।
शिक्षा
संगिताका आमाबुवाले छोरीहरुलाई पनि छोरा सरह नै शिक्षा दिनुभएको हो । त्यसमा सबभन्दा जोडबल संगिताका आमाको थियो । धनुषाका सकल भवन कन्या माविबाट २०५२ मा एसएलसी पास गर्नुभएका संगिता स्कूलको बोर्डका टपर विद्यार्थी हुनुहुन्थ्यो । त्यतिबेला पाँच कक्षामा नै बोर्ड परीक्षा हुन्थ्यो ।
संगिता पढ्ने स्कूलको हेडमास्टर विमला राणा हुनुहुन्थ्यो, सगिताले भन्नुभयो, ‘विमला म्यामले मलाई निकै प्रोत्साहन गर्नुहुन्थ्यो, उहाँले मलाई विभिन्न प्रतियोगात्मक कार्यक्रममा भाग लिन उत्साहित गर्नुहुन्थ्यो, ठाउँ ठाउँमा लग्नु हुन्थ्यो र पठाउनु हुन्थ्यो । यहाँसम्म कि उहाँले गाउँका चेलिबेटीहरुलाई अध्ययन गर्नका लागि उत्साहित गर्नुहुन्थ्यो ।’ बिमला म्यामले आफूमाथि लगाउनु भएको गुण आफूले कहिले पनि बिर्सन नसकिने बताउँदै संगिताले त्यतिबेला मधेशमा छोरीलाई पनि पढाउनु पर्छ भन्ने मान्छेमा सोच नै थिएन, उच्च जाती (ब्राहमण, कायस्थ)ले मात्र छारीलाई पढाउने गरेको बताउनुभयो ।
तर आफ्नो घरपरिवामा छोरी चेलिबेटीलाई पनि पढाउनुपर्छ भनि सोच सबैमा आफूले पाएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘मैल पाँच कक्षाको बोर्ड परीक्षा पास गर्दा छरछिमेक गाउँमा पनि चर्चा भयो, मलाई बधाई दिन मान्छेहरु घरमै आउँथे, केही न कही पुरस्कार दिएर मलाई सम्मान गर्थे, त्यतिबेला मेरो परिवारको खुशीको सीमा थिएन । त्यसपछि त झन छोरी चेलिबेटीलाई पढाउनुपर्छ भनि मान्यता स्थापित मेरो घरमा मात्र होइन छरछिमेकमा पनि भयो ।’
हेडमास्टर विमला राणा पनि सगिताप्रति निकै खुशी हुनुहुन्थ्यो । बोर्ड परीक्षामा राम्रो नतिजा ल्याए पछि घरपरिवार तथा स्कूलले पनि संगिताको पढाईमा ध्यान दिन थालेका थिए । २०५२ मा एसएलसी पास गरेपछि त्यस लगतै २०५३ सालमा राराब क्याम्पस धनुषामा आइकममा नाम लेखाउनु भयो । उहाँका आमाबुवाले छोरी संगितालाई साइन्स पढाएर डाक्टर बनाउन चाहन्थे तर संगितालाई त्यतातिर रुची नै गएन ।
उहाँ भन्नुहुन्छ, डाक्टर पढेपनि त्यति अपर्चुनिटी देखिनन् मैले । बरु कमर्श पढेपछि यसका क्षेत्र निकै विस्तार छ, जहाँ पनि काम गर्न पाइन्छ भनि थाह पाएर मैले यो सेक्टर रोजेको थिए ।’ संगिताले कमर्श रोजेपछि उहाँका आमा बुवाले पनि इन्कार गर्नुभएन । छोरीकै इच्छामा छोड दिनुभयो । श्रीमान डाक्टर हुनुहुन्छ, तैपनि उहाँको पढाईमा कुनै हस्तक्षेप गर्नुभएन र उहाँ जुन सोचका साथ पढ्नु भयो त्यसमा सधै अगाडि बढ्दै जानुभयो । सोही कलेजबाट उहाँले बीबीएस पास पनि पास गर्नुभयो । उहाँले बीबीएसमा कलेजमै सबभन्दा बढी माक्र्स ल्याउनु भएको थियो ।
उहाँले आफ्नो कमर्श फ्याकेल्टीमा मात्र होइन, साइन्स र माइनेजमेन्ट फ्याकेल्टीका सबै विद्यार्थीलाई जित्नु भएको थियो । अर्थात कलेजमै सबभन्दा बढी माक्र्स लिएर पास भएपछि उहाँको चर्चा जनकपुरभर फैलिएको थियो । उहाँको पढाईलाई जसले पनि चर्चा गरिरहेका थिए । छोरीले पनि केही गरेर देखाउन सक्छ भनि उदाहरण बनेर संगिताले देखाउनु भएको थियो । कलेज टप गर्दा पनि उहाँलाई सम्मान गरिएको थियो । घरपरिवार र कलेजले पनि गर्वको अनुभूती गरेको थियो ।
बीबीएस राम्रो माक्र्स लिएर पास गरेपछि उहाँको पढाईको चर्चासँग विहेको अफर पनि आउन सुरु भएको थियो । सुरुमा त संगिताले अझै पढेपछि मात्र विहे गर्ने सोचमा हुनुहुन्थ्यो तर घरपरिवारले आग्रहलाई पनि उहाँले अस्विकार गर्न सक्नुभएन । सिरहाका विष्णुपुरका डा.विरेन्द्रप्रसाद यादवसँग २०६० मा भयो । बिहेपछि केही समय घरपरिवारमा अल्झिनुभयो । त्यसबीचमा एक डेढ वर्ष उहाँको पढाईमा ब्रेक लाग्यो । त्यही बीचमा एउटा छोराको जन्म पनि दिनुभयो । अब पढाई अगाडि बढ्छ कि बढ्दैन भनि उहाँलाई लागेको थियो । तर उहाँ निराश हुनुभएन ।
उहाँको श्रीमान डा.विरेन्द्र यादव बिराटनगरको कोशी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । संगिता पनि बिराटनगर जानुभयो । केही समय पनि त्यहाँको व्यवस्थापन कलेजमा एमबीएमा उहाँले नाम लेखाउनुभयो । केही ढिलो भएपनि उहाँले आफ्नो आफ्नो पढाईलाई निरन्तरता दिन सक्नु भएमा खुशी हुनुहुन्थ्यो । उहाँले भन्नुहुन्छ, ‘भाग्यले मेरो श्रीमानलगायत सासु ससुरालगायत परिवारका सबै सदस्यबाट एकदमै सर्पोट पाए, यहाँसम्म कि मेरो श्रीमान डाक्टर हुनुहुन्छ, त्यतीबेला उहाँले आफ्नो पढाई भन्दा मेरो पढाईलाई प्राथमिकता दिनुभयो, मेरो पढाई सकाएर मात्र उहाँले आफ्नो पढाईमा लाग्नुभयो ।’
संगिता बिराटनगरको कलेजमा अध्ययन सुरु गर्दा उहाँको पेटमा बच्चा थियो । त्यहीबेला परीक्षा पनि सुरु भएको थियो । बच्चा हुने बेला भइसकेको थियो त्यो बेलामा पनि उहाँ परीक्षालाई निरन्तरता दिनुभयो । अन्तिम परीक्षा दिएको पाँच दिनपछि उहाँले छोराको जन्म दिनुभयो ।
अध्ययन र परिवारलाई सँगसँगै अगाडि बढाउनु भएका संगिता भन्नुहुन्छ, एमबीएको परीक्षा दिएको पाँच दिनपछि बच्चा जन्मियो, त्यसलाई मलाई केही फरक परेन म पनि खुशी, घरपरिवारका अन्य सदस्यहरु पनि खुशी थिए ।’ क्यारियर सुरु गर्ने बेला नै बच्चा जन्मनुलाई कतिपय महिलाले राम्रो मान्दैनन्, सकभर बच्चा नभइ दियोस् भनि चाहना राख्छन् तर संंगिताको सोचाई अन्य भन्दा फरक रहेको छ ।
एउटा महिलाको लागि आमा बन्नु भनेको ठूलो कुरा हुन्छ । उहाँ भन्नुहुन्छ, ‘एउटा महिलाले बच्चालाई जन्म दिनु भनेको प्राकृतिक कुरा हो, प्रकृतिकलाई कसैले परिवर्तन गर्न सक्दैन, भागवानले दिएको कुरालाई मानवले स्विकार गर्नुपर्छ त्यो सोच मेरा पहिलादेखि नै थियो ।’ जन्मनु, विवाह हुनु, बच्चा जन्मनु यी सबै प्राकृतिक कुरा हो, इश्वरले बरदानमा दिएको चिज हो, त्यसलाई कसैले ‘इगनोर’ गर्नुहुँदैन ।
एउटा महिलाका लागि घर परिवार, बालबच्चा अनि आफ्नो भविष्यलाई एकैसाथ लिएर जाँदा गाह्रो हुन्छ, धेरै ठूलो चुनौति हो तर संगिताले ती सबै चुनौतिलाई सामना गर्नुभयो । उहाँले सबै जिम्मेवारी एकै साथ निर्वाह गर्दै जानुभयो ।
त्यतिबेला एकजना पुष्प मिस हुनुहुन्थ्यो । उहाँले जीवनका थुप्रै आरोह, अवरोहको बारेमा आफूलाई सिकाएको बताउँदै संगिताले दुख के हो, सुख के हो, चुनौती के हो ती सबैको कुराको बारेमा आफूले सिकाउने गरेको बताउुभयो । दुख र चुनौती भनेको जीवनको फरक फरक पाटो हो त्यसलाई आफूले कसरी सहज बनाउदैँ लाने हो त्यसमा भर पर्छ । दुःख र सुख त जीवन भरी चलिरहने प्रकृया हो, त्यसलाई सामना गर्दै अगाडि बढ्नुपर्छ भन्दै उहाँले भन्नुभयो, ‘गर्भवती भएको बेला एउटा महिलाले के सोच्दछन् के पीडा हुन्छ त्यो एउटा महिला नै थाह हुन्छ यदि मेरो ठाउँमा अरु कुनै महिला भएको भए बच्चाका लागि यसपटका परीक्षा छोडदिन्छु अर्को सालका लािग कुर्थे होला तर मेरो दिमागमा त्यो कुरा कहिले आएन ।’
हुन त मेरो मनमा पनि त्यो कुरा कहिले कांही आउँथ्यो कि परीक्षा दिन सकिदैन कि क्या हो, तर अको मनले भन्थ्यो होइन, यसरी हिम्मत हानुहुँदैन अहिले गर्न सकिदैन भने जीवनमा पछाडी पर्न सकिन्छ जीवनमा एक एक पलको महत्व हुन्छ, उहाँले भन्नुभयो, मेरो श्रीमान मेडिकल डाक्टर हुनुहुन्छ उहाँले मलाई निकै सहयोग गर्नुभयो र साथ दिनुभयो ।’
धेरैले भन्ने गरेको छ कि यो पुरुष प्रधान समाज हो तर यो कुराको महसुश संगितालाई कहिले भएन । किनभने उहाँको सफलताको पछाडी कुनै नकुनै पुरुषको हात छ । जीवनमा अगाडि बढ्न हरहमेशा पुरुषले नै उहाँलाई साथ दिनुभएको थियो । यदि कुनै पुरुषलाई सफल बनाउनको लागि महिलाको योगदान हुन्छ भने एउटा महिलालाई सफल बनाउनमा पनि कुनै न कुनै रुपमा पुरुषको हाथ हुन्छ ।
जागिर
डाक्टर विरेन्द्रलाई सर्जन सम्बन्धी थप पढाइका लागि बाहिर जानु थियो तर आफू बाहिर गएपछि संगिताको पढाई बिग्रिन्छ भनि केही समय आफ्नो पढाई स्थगित राखेर उहाँको पढाईमा सहयोग गर्नुभएको थियो । संगिताले २०६५ मा एमबीए सकाएपछि मात्र डा.विरेन्द्र सर्जनको पढाइका लागि रुस जानु भएको थियो । श्रीमान पढाईका लागि बाहिर गएपछि अब त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भनि उहाँले जागिरको खोजीमा लाग्नुभयो ।
जनकपुरको सीटी कलेजमा उहाँले पढाउन सुरु गर्नुभयो । उहाँले त्यहाँ डेढ वर्ष पढाउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जागिर नगर्दा पनि हुन्थ्यो तर आफ्नो क्यारियरका लागि जागिर सुरु गरेका हुँ, महिला भनेको अर्काको भरमा बाँच्छन् भन्ने मान्यतालाई भत्काउनका लागि मसँग दुईटा बच्चा हुँदा हुँदै जागिर खोजेर गरेको थिए, त्यतिबेला श्रीमान रसियामा अध्ययनका लागि जानुभएको थियो आम्दानीको श्रोत पनि केही थिएन ।’
सीट कलेजमा पढाउदै गर्दा अन्य राम्रो जागिरको खोजीमा हुनुहुन्थ्यो । काठमाडौँको एउटाब सहकारीमा जागिर खुलेको थियो । त्यहाँ पनि उहाँले ट्राइ गर्नुभयो । त्यसमा पनि उहाँले जागिर पाउनुभयो । त्यसपछि उहाँले कान्छो छोरालाई आमा–बुवासँग छाडेर जेठोलाई लिएर उहाँ काठमाडौँ आउनुभयो । काठमाडौको सहकारीमा आफ्नो जागिर सुरु गर्नुभयो ।
सहकारीमा जागिर गरिहँदा अरु ठाउँमा त्यो भन्दा राम्रो अवसरको खोजीमा हुनुहुन्थ्यो । नभन्दै उहाँले बागमती आयोजनामा पनि जागिर पाउनुभयो । सहकारीमा १० बर्ष जति काम गर्नुभएका संगिताले बागमती आयोजनामा आर्थिक विज्ञको रुपमा काम पाउनु भएको थियो । त्यहाँ उहाँले डेढ वर्षसम्म काम गर्नुभयो । त्यही काम गरिरहँदा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा महाप्रबन्धकका लागि विज्ञापन निस्केको थियो । उहाँले त्यहाँ पनि फर्म भर्नुभयो र पास पनि गर्नुभयो ।
उहाँले भन्नुहुन्छ, मेरो कुनै राजनीतिक पृष्ठभूमी छैन, अहिलेसम्म त्यतातिर कुनै ध्यान छैन ।’ मागेको ठाउँमा आफ्नो योग्यता अनुसार आवेदन भरिदै गयो, योग्यताकै आधारमा विभिन्न ठाउँमा काम पाउँदै जागिर गर्दै बताउँदै उहाँले सोही क्रममा २०७८ चैत्र २४ गते जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धक बन्न सफल भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘मधेश सम्पूर्ण बुवाआमालाई के भन्न चाहन्छु भने छोरीको लागि दहेज होइन, उच्च शिक्षा दिएइर समाजमा समक्ष बनाउनु होस् । छारी आफू सक्षम भएपछि परिवार समाज पनि सक्षम हुँदै जान्छ र आफ्नो समक्ष आएका चुनौतीको सामना गर्दै जान्छ । त्यतिबेला तपाईले दहेजको चिन्ता पनि गर्नुपर्दैन ।’
तपाईको प्रतिक्रिया