भारतले नेपालको मधेश प्रदेशमा रासायनिक मलको कारखाना खोल्ने इच्छा देखाएको छ । त्यसका लागि उसले नेपाल सरकारसँग छलफल पनि अगाडि बढाएको छ । सबभन्दा बढी मल खपत हुने क्षेत्र नै तराई मधेश हो र त्यहाँ मल कारखाना स्थापना भयो भने उत्पादित मल खपत पनि हुन्छ र त्यसलाई भारत निर्यात गर्न पनि सजिलो हुने उद्देश्यले भारत सरकार त्यसका लागि नेपाल सरकारसँग गम्भीर रुपमा छलफल अगाडि बढाएको छ ।
भारतका रासायन एवं उर्वरक (मल) मन्त्रालयका प्रतिनिधहरु आएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत अन्य सरोकारबालासँग पहिलो चरणको छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड जेठको दोस्रो साता भारत भ्रमणमा गएको बेला नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा भारतसँग सहमति गर्नुभएको थियो । सोही सहमति भारतले कारखाना खोल्ने प्रकृया सुरु गरेको हो ।
नेपालमा मलको खपत, निर्यातको अवस्था, कारखानालगाउने स्थानलगायतको बारेमा प्रारम्भिक अध्ययन गरेर भारतीय प्रतिनिनिधिहरु फर्किसक्नु भएको छ । उहाँहरुले रासायनिक मलको कारखाना स्थापनाको बारेमा कृषि मन्त्री डा.बेदुराम भुसाल, कृषि सचिव डा.गोविन्द शर्मालगायत अन्य सरोकारबालासँग छलफल गर्नुभएको छ ।
उहाँहरुले कृषि मन्त्रालयअन्तरर्गतकै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अधिकारीहरुसँग पनि त्यस विषयमा छलफल गर्नुभएको छ । भारतका रासायन विभागका निर्देशक निराजन लालको नेतृत्वमा आएका प्रतिनिधिहरुले नार्कका प्रतिनिधिसँग छलफल गर्दै नेपालमा मलको खपतको अवस्था, त्यसको उत्पादन, निर्यातलगायतका विषयमा छलफल गर्नुभयो ।
नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले भारतीय प्रतिनिधिहरु नेपालमा मल कारखानाका लागि अध्ययनलाई अगाडि बढाउनु भएको बताउनुभयो । आफूहरुसँग पनि कारखाना खोल्ने सम्भावित अवस्थाको बारेमा उहाँहरुले छलफल गर्नुभएको हो ।
नेपालमा मल कारखाना खोल्नेमा उहाँहरुभित्र आफूहरुले गम्भिर्यता देखेको बताउँदै उहाँले भारतीय पक्षको चाहना तराई मधेश खासगरि मधेश प्रदेशमै कारखाना खोल्न पाए हुन्थ्यो भनि हो त्यस विषयमा उहाँहरुले कुरा पनि राख्नु भएको बताउनुभयो । सबभन्दा बढी मल खपत हुने ठाउँ मधेश प्रदेश हो भन्दै उहाँहरुले त्यहाँ कारखाना स्थापना गर्न सकियो भने त्यहाँबाट भारत निर्यात गर्न पनि सजिलो हुने धारणा राखेको निर्देशक पाण्डेले बताउनुभयो ।
नेपालसँग जोडिएका भारतका नजिकका राज्य (प्रदेश)लाई नेपालबाट नै मल आपूर्ती गर्ने सोच उहाँहरुको रहेको छ । कृषि प्रयोजनमा मात्र वार्षिक साढे तीन लाख मेट्रिक टन मल खपत हुने गरेको तथ्यांक नार्कले दिएको छ । नेपाल कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले टेण्डर गरी मल ल्याएर बिक्रि वितरण गर्ने मलको तथ्याङ्क हो यो । तर त्यसबाहेक अन्य बाटोबाट पनि नेपाल मल आउने गरेका छन् र कृषि प्रयोजनबाहेक अन्य कार्यका लागि पनि मल प्रयोग हुने गरेका छन् । कृषि मन्त्रालयले तयार पारेको एक तथ्यांक अनुसार नेपालमा १३–१४ लाख मेट्रिक टन मल खपत हुने गरेका छन् ।
तर त्यसको आधिकारिता कतै छैन । निर्देशक पाण्डेले भन्नुभयो, ‘नेपालले निर्यात गरी बिक्रि वितरण गर्ने तथ्यांक नै हामीसँग रहेको छ । यसको बारेमा भारतीय पक्षलाई पनि जानकारी गराई सकेका छौं ।’ भारतबाट आएका प्रतिनिधिहरुले समेत साढे तीन लाखभन्दा धरै बढी मल नेपालमा खपत हुने गरेको कुरा आफूहरुको जानकारीमा रहेको धारणा छलफलमै राखेको निर्देशक पाण्डेले बताउनुभयो ।
मल कारखाना ग्यासबाट सञ्चालन गर्ने हो, त्यो नेपाल कसरी ल्याउने, नेपालमा उत्पादन गरेपछि भारतको सीमा क्षेत्रमा निर्यात गर्न दिन्छन् कि दिँदैन, तराई मधेशको समथल भूभागमा कारखाना खोल्न दिन्छ कि दिँदैन भनि जिज्ञासा भारतीय पक्षको रहेको नार्कले जनाएको छ ।
भारतबाट आएका प्रतिनिधिहरुले सरोकारबालाहरुसँग छलफल गरी सामान्य जानकारी लिएर फर्केका छन् । त्यसको बारेमा थप अध्ययन अनुसन्धान गर्न दुवै देशको तर्फबाट कार्यदल चाँडै बन्ने बताइएको छ । छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई नेतृत्वको प्रतिनिधि र भारतका मल मन्त्रालयका तर्फबाट रासायन विभागका निर्देशक निराजन लाल नेतृत्वको प्रतिनिधिबिच असोज २५ गते छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया