उपेन्द्र र गजेन्द्रको तुलना गर्न सकिदैन

–गजेन्द्रप्रसाद सिंह,,,
बसाई सराईको प्रतिवेदन प्रकाशित भए पछि गठित नेपाल तराई विद्यार्थी भाषा एवं संस्कृति समिति त्रिभुवन विश्वविद्यालयको संस्थापक अध्यक्षका हैसियतले मधेशको समस्या लिएर मधेशी विद्यार्थीलाई गोलबन्द गर्न सफल हुनु भएका गजेन्द्रप्रसाद सिंह गजेन्द्रनारायण सिंह अध्यक्ष रहेको बेला तत्कालिन नेपाल सद्भावना पार्टीको संयुक्त महामन्त्री समेत बन्नु भएको थियो । उहाँले पार्टी कार्यालय सचिवको रुपमा पनि काम गर्नुभयो, साथै त्रिवि प्रशासनका उहाँ कार्मचारी पनि हुनुहुन्थ्यो । कर्मचारी भएपनि उहाँ पूर्णकालिन कार्यकर्ता जस्तै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, तर उहाँले चुनाव र सत्ताको राजनीति कहिले मन पराउनु भएन । मधेशको तत्कालिन समस्यालाई लिएर तत्कालिन राष्ट्रिय पञ्चायत तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । पछि नेपाल सद्भावना पार्टी टुटफुट हुन थालेपछि मधेश राजनीतिबाट विरक्त हुनुभएका गजेन्द्र सिंह कर्मचारीबाट अवकाश प्राप्त गरेपनि कही कुनै दलमा सहभागी हुनु भएन । समाजका लागि केही गर्ने सोच बनाउनु भएका गजेन्द्र सिंहसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको सम्पादीत अंश
तपाई लामो समय मधेश राजनीतिमा काम गर्नुभयो, त्यो बेलाको र अहिलेको मधेश राजनीतिमा के अन्तर पाउनु भएको छ ?
–म राजनीतिमा भन्दा पनि आन्दोलनमा होमिएका व्यक्ति हुँ । आफ्नो सरकारी जागिरलाई दाउमा राखेर त्यति बेलाका आन्दोलनमा सक्रिय थिए । त्रिभुवन विश्व विद्यालयका मधेशी विद्यार्थीहरुलाई भेला गरी साथमा लिएर काठमाडौँमा आन्दोलनलाई उचाईमा पुर्याएका थिए । काठमाडौँमा मधेशको बारेमा बोल्ने र केही गर्ने मधेशी विद्यार्थी मात्र थिए । स्वर्गीय गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् गठन गर्नुभएको थियो । मधेशको अधिकार र पहिचानका लागि गजेन्द्रनारायण सिंहले परिषद् गठन गर्दा त्यसबाट हामी पनि प्रभावित भएका थियौं । त्यसपछि हामी पनि त्रिविमा तराई विद्यार्थी भाषा एवं संस्कृति समिति गठन गरेका थियौं । त्यसबाट गतिविधि गरिरहेका थियौं । गजेन्द्रनारायण सिंहको परिषद् पार्टीमा परिणत भएपछि म पनि त्यसलाई सहयोग गर्न थाले । गजेन्द्रनारायण सिंहप्रति हाम्रो सहानुभूती थियो । तर मधेशी नेताको स्वार्थका कारण सो पार्टी छिन्नभिन्न हुन थाल्यो । नेपाल सद्भावना पार्टीप्रति निकै आशा भरोसा थियो । नेताहरुको रवैयाको कारण ती सबै चकनाचुर भयो ।
मधेशी जनताले मधेशवादी दललाई भरपुर सहयोग गरेका थिए चाहे त्यो गजेन्द्रनारायण सिंह होस् या उपेन्द्र यादव, महन्थ ठाकुर किन नहोस् मधेशी जनताले खुलेर सहयोग गरेका हुन् तर त्यसलाई ती नेताहरुले नै बचाउन सक्नुभएन । ती नेताहरु मधेशी जनताको मुल काज छाडेर सत्ता स्वार्थमा रमाउन थाल्नुभयो । सत्ता स्वार्थकै कारण मधेश कमजोर भयो र कुनै माग पुरा भएन ।
गजेन्द्रनारायण सिंहको पालामा पनि सत्ता स्वार्थको खेल भएको हो नि होइन ?
–सत्ताको खेल त्यतिबेला पनि हुन्थ्यो । तर अहिलेको जस्तो गन्दा हुँदैन्थ्यो । यद्यपी मलाई त्यतिबेला पनि व्यक्तिगत रुपमा भन्ने हो भने सत्ताको राजनीति मन परेको थिएन । गजेन्द्रनारायण सिंहले पनि एउटा काउज लिएर मधेश आन्दोलन गर्नुभएको थियो । मधेशी जनतामा आशा भरोसा जगाउनु भएको थियो । तर उहाँ पनि सत्ताको खेलमा फँस्नुभयो । नारायण विजुक्छेसँग धेरै सांसद पनि हुँदैन, एक दुई जना मात्र हुन्छन् तर कहिले सत्ताका लागि हारालुछी गर्नुभएन । सत्तामा नगएर पनि उहाँले आफ्नो क्षेत्रमा काम गर्नुभएको छ । जनताको विश्वास जित्नु नै भएको छ तर मधेशवादी दलमा कुन रोग लागेको छ थाह छैन एउटा सांसद भए पनि सरकार बिना बाच्न सक्दैन । सरकारबाहिर हुँदा ठूला ठूला कुरा गर्ने त्यही नेता मन्त्री भएपछि सबै कुरा पुरा भएको जस्तो कुरा गर्न थाल्छन् । आन्दोलन पनि गर्ने र सरकारमा पनि बस्ने, दुईटा काम एकै पटक हुन सक्दैन । आन्दोलनकारीको रुपमा सत्तामा गएपछि उसले आन्दोलनको कुरा गर्न मिल्दैन किनभने उ सरकारको अंग बनिसकेका हुन्छन् ।
यसको मतलब गजेन्द्र र उपेन्द्रमा कुनै अन्तर छैन ?
–गजेन्द्रनारायणसँग उपेन्द्र यादवको तुलना नै गर्न मिल्दैन । दुवै जनाको एजेण्डा र उद्देश्य एउटै भएपनि स्कूलिङ फरक फरक थिए । त्यतिबेला गजेन्द्रनारायणसँग दुई चार जना सांसद मात्र हुन्थ्यो । त्यति सांसद लिएर केही गर्ने अवस्था थिएन । त्यही कारणले बाध्य भएर सरकारमा उहाँ जानु हुन्थ्यो । यद्यपी नजाँदा पनि हुन्थ्यो । तर उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरुको अवस्था त्यस्तो थिएन । उहाँहरु एउटा शक्ति लिएर संसदमा जानु भएको थियो । उहाँहरुले गर्न चाहेको भए धेरै काम गर्न सक्नु हुन्थ्यो । सरकारलाई बनाउन र गिराउन हैसियत राख्ने उहाँहरुले त्यतिबेला अलिकति धैर्य गरेर मधेशको माग र मुद्दा सम्बोधन गराउने तिर लागेको भए मधेशको अवस्था यस्तो हुने थिएन तर मधेशको माग सम्बोधन गराउनुको सट्टा सत्ताको बार्गेनिङमा उहाँहरु लाग्नुभयो र मधेशलाई झन कमजोर बनाउनुभयो । त्यतिबेला गजेन्द्रनारायण सिंह पनि सरकारमा जाँदा कोही कुनै नेताले हस्तक्षेप गर्नु हुन्थेन, बोल्नु हुन्थेन । गजेन्द्रनारायण सिंहले जे भन्नुहुन्थ्यो त्यही हुन्थ्यो । अहिलेका मधेशवादी दलमा पनि त्यही अवस्था छ । अध्यक्ष प्रणालीको पार्टी रहेका छन् तर त्यहाँ अध्यक्षबाहेक कसैको केही चल्दैन । मधेशवादी दलमा आन्तरिक लोकतन्त्र पनि छैन । बरु काँग्रेस, एमाले, माओवादी दलहरुमा आन्तरिक लोकतन्त्र पाइन्छ ।
मधेशको यो अवस्था हुनुमा मधेशी दल तथा नेता कहाँ चिप्लेको जस्तो लाग्छ तपाईलाई ?
–मधेशवादी दलका नेताहरु माग र एजेण्डाहरु उठाउनु हुन्थ्यो । त्यसमा सरकार तथा अन्य सरोकारवालासँग सम्झौता पनि गर्नुहुन्थ्यो तर त्यसमा अडिग कहिले रहनु भएन । पदको पछाडि दौड्नुभयो उहाँहरु । सत्ताका राजनीतिलाई प्राथमिकतामा राख्नुभयो । मन्त्री बन्नका लागि जे पनि गर्न तयार हुने गरी अगाडि बढ्नुभयो त्यही भएर आज मधेशको अवस्था यस्तो भयो । सिके राउतले पनि स्वतन्त्र मधेश कुरा उठाएर राजनीतिमा आउनुभयो । आन्दोलन गर्नुभयो तर पछि ती सबैलाई छाडेर सत्ताको राजनीतिमा लाग्नुभयो । यसरी मधेशका लागि कोही पनि गम्भीर ढंगले लागेको जस्तो देखिएन । सबै नेताहरुमा एक प्रकारको बिचलन देखिन्छ ।
तपाई सत्तामा गएर राजनीतिलाई बिगारेको भन्नुहुन्छ, तर उहाँहरुले सत्तामा नगइकन जनताका लागि केही पनि गर्न सकिदैन भन्दै आउनुभएको छ के यो सही हो ?
–कम से कम म त यो कुरामा विश्वास गर्दिन । फेरि म मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको उदाहराण दिन चाहन्छु । उहाँ कहिले सत्ताको कुरा गर्नु भएन तैपनि विकास गरिरहनु भएको छ । भक्तपुरमा उहाँलाई राजा नै मान्छन् । तर मधेशवादी दलका नेतामा त्यो अवस्था देखिएको छैन । ठिक छ, जनतालाई चाहिएको विकासका लागि उहाँहरु सरकारमा जानुभयो रे तर के उहाँहरुले त्यसरी काम गर्नुभएको छ र ? संघीय सरकारको कुरा छाडौं, प्रदेशको कुरा गरौं । मधेश प्रदेश सरकारमा उहाँहरुकै हालीमुहाली छन् । उहाँहरुले चाहेको जस्तो सरकार बनेको छ, उहाँहरुले चाहेको जस्तो बजेट आएको छ, उहाँहरुले भनेको जस्तो मधेश चलेको छ अनि अरु के चाहियो तर विकासको नाममा जिरो, भ्रष्टारको नाममा हिरो छ । उहाँहरुले वर्षेनी वजेट ल्याउनु हुन्छ तर त्यसको सदुपयोग कही पनि भएको छैन । सबै ठाउँमा दुरुपयोग नै भएका छन् ।
यहाँसम्म कि वजेट वितरण गर्नुभन्दा पहिले मन्त्रीहरुले आफ्नो कमिशन लिइहाल्नु हुन्छ । विकासका योजनाहरु बेच्ने गर्नुहुन्छ । स्थानीय तहको अवस्था पनि त्यस्तै छन् । आफ्नो शासन, प्रशासन आएपछि केही गरौंला भनि नारा दिने नेताहरु भ्रष्टाचारमा यसरी डुबेका छन् कि अरु कुराहरु यादै छै्रन । अनि किन चाहियो सत्ता, सत्तामा जानु भन्दा आन्दोलन गर्नु, जनताको हक अधिकारको कुरा उठाउनु, जनतामा चेतना फैलाउनु, सरकारको काम पारदर्शी होस् भनि काम गर्नु नै ठिक हो ।
जनताले मधेशी दलमाथि जसरी असन्तुष्टि पोखेका छन् त्यसरी त ठूला दलप्रति पनि असन्तुष्टि जनाएका छन् होइन ?
–हो तर ठूला दलले ती सबै कुरा पचाई सकेका छन् । उसले अरु कसैका लागि केही गर्नुपर्ने अवस्था छैन । अलिकति केही गरे जस्तो देखाए पनि उसको काम चल्छ तर मधेशवादी दलको अवस्था त्यस्तो छैन । मधेशी जनताले अधिकार, पहिचान पाएका छैनन्, त्यहाँ गरिबी अशिक्षा, बेरोगजारी छन् । त्यसको लागि मधेशी दल लडेन भने अरु कोही लड्दैन बरु त्यसलाई झन बिगार्ने र भत्काउने काम गर्न सक्छन् । ठूला दलहरु बिग्रिए भने आफूलाई सुधार गर्न सक्छन् तर मधेशवादी दललाई त्यो छुट छैनन् किनभने सानो दल हुन्, राज्यमा ती दलको त्यति पहुँच छैन केही उल्टा सिधा भयो भने त्यसलाई उनीहरुले सम्हाल्न सक्दैन । म मधेशको धेरै ठाउँमा घुमेको छु, मधेशी नेताले मात्र होइन, मधेशी जनताले पनि आन्दोलन बिर्सि सकेका छन् । उनीहरुले भन्न थालेका छन्, यी मधेशवादी दलहरुको साथमा रहनु भन्दा ठिक त कुनै ठूला दलको साथमा जाँदा नै राम्रो ।’ पछिल्लो समय मधेशवादी दल छाडेर ठूला ठूला दलमा जान थालेका छन् ।
तपाई मधेश राजनीतिका पुरानो व्यक्ति हुनुहुन्छ, तर राजनीति छोड्नु भयो किन ?
–हेर्नुस् राजनीति गर्नका लागि पैसा चाहिन्छ मसँग पैसा छैन त्यही भएर राजनीतिमा नगएको हुँ । कहीं जाँदा पैसा खर्च हुन्छ, कसैसँग भेट्दा खर्च हुन्छ, कार्यक्रम गर्दा खर्च हुन्छ, त्यति पैसा मसँग छैन त्यही भएर राजनीति गर्ने आँट आएन । पहिला पहिला त बिना पैसाको राजनीति हुन्थ्यो । गाउँघरमा जाँदा जनताले नै स्वागत गर्थे । आफ्नो घरमा राखेर खाना खुवाउथ्यो, मानसमान हुन्थ्यो तर अहिले जनतालाई खुवाउनु पर्छ ।
त्यसो भए अब के गर्नुहुन्छ त ?
–केही आफ्ना लाइकम्याडेन्टलाई जोडेर एउटा संस्था खडा गरेर समाजका लागि केही गर्ने, राजनीतिक दललाई दबाव दिनका एउटा समाजिक संस्था बनाउने सोच बनाएको छु । साथीहरुको बीचमा छलफल चलिरहको छ । केही नकेही गर्नुपर्छ तर राजनीतिप्रति मेरो आकर्षण छैन ।

तपाईको प्रतिक्रिया