–जेपी गुप्ता,,,
अकाल तथा भोकमरी, भूकम्प, बाढी–पैरो, आगलागी, रोग व्याधिको संक्रमण र अन्य प्राकृतिक बिपदहरू कतिपय मानवीय असावधानीले घटित हुन्छ। कतिपयको कुनै पूर्व सुचना हुन सक्दैन।
केही राज्य संचालनको त्रृटी तथा अर्थ व्यवस्थाका गलतीले हुन्छ। केहीलाई रोक्न सकिन्छ, केहीलाई रोक्नु असंभव मानिन्छ। तर, यसबाट हुने मानवीय तथा भौतिक क्षतिलाई भने कम पार्न सकिन्छ–आजको संसारमा अनेकन् अनुभव तथा शोधहरूले यसलाई सिद्ध गरेको छ। यस सन्दर्भमा हालसम्मका सबैभन्दा उल्लेख्य शोध अर्थशास्त्री अमर्त्य सेनको हो।
सन् ३० को दशकमा भारतको बिशेषतः बंगालमा केन्द्रीत अकाल तथा भोकमरी जसमा लाखौं मानिसको मृत्यु भएको थियो–यसमा केन्द्रीत रहेर अमर्त्य सेनको शोधको निष्कर्ष राज्यको व्यवस्थापन कलासंग सम्बन्धित छ। यस शोध वापत डा. सेनलाई नोवेल पुरष्कार दिईयो।
उनको मान्य तर्क रहेको छ कि यदि राज्यले उचित व्यवस्थापन गर्न सक्यो भने प्राकृतिक भनिने कतिपय बिपदलाई हुनबाट रोक्न न सकिएपनि तेसबाट हुने मानवीय एवं भौतिक क्षतिलाई भने कम पार्न सकिन्छ।
हालैको एउटा उदाहरण लिऊँ। भूकम्प बिनाशको समाचार फैलिना साथै दुबै छिमेकी मित्र राष्ट्र चीन र भारतले क्रमशः १० करोड र १६ करोड रूपिया बराबरको राहत सामाग्री नेपाल पठायो। यी सामाग्रीहरू नेपाललाई हस्तान्तरण भएको तस्वीरहरू संचार माध्यममा आयो।
दुबै मित्र राष्ट्रका नेपाल स्थित दुताबासहरूले जनाए अनुसार राहत सामाग्रीको मुख्य अंश त्रिपाल, टेन्ट, कम्बल तथा आपतकालिन औषधीको छ। यी सामाग्रीहरू आज पर्यन्त जाजरकोट तथा बिपद् प्रभावित क्षेत्रमा पुर्याउन सकिएको छैन। आजैको समाचार पत्रहरूमा छापिएको छ कि तेस क्षेत्रका प्रभावित समुदायहरू यथोचित्त टेन्ट र कम्बल पाएका छैनन्, बढदो जाडोको सामना गर्नु परिरहेको छ। यस समाचारको गहिराईमा बिचार गर्दा सरकारको बितरण क्षमता अत्यन्त कमजोर एवं असक्षम रहेको बुझिन्छ।
असक्षमताको यस पक्षलाई अनेकौ सन्दर्भहरूमा जान्न सकिन्छ। यो बडो महत्वपुर्ण कुरो हो। बंगालको अकाल एवं भोकमरीमा अमर्त्य सेनले बडो मिहिन रूपमा यस कुरोलाई उठाएका छन् कि खाद्यान्न हुदां हुदै पनि मानिसहरू भोकले, खान नपाएर लाखौंको संख्यामा मरे।
२०४५, २०७२ को भूकम्पले पुर्याएको ‘भौतिक क्षति’को बिवरण, तथ्यांक राज्य तथा नागरिक क्षेत्रमा उपलब्ध छ।अहिलेको भुकम्पको ‘भौतिक क्षति’ को बिवरण पनि सार्वजनिक हुदैछ।
मानवीय क्षतिको लगभग बिवरण सार्वजनिक भइसकेको छ । यस तीन वटा भुकम्पबाट समाजका कुन वर्ग, अर्थात कस्तो आर्थिक हैसियतका जनता बढी प्रभावित भए ? नेपालको सुदूरपश्चिम क्षेत्र तथा भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, कश्मीर, राजस्थान, पंजाब र दिल्ली आदि क्षेत्रलाई ठुलो नोक्सानी पुर्याउन सक्ने क्षमताको भुकम्प आउन सक्ने भूगर्भविदको प्राविधिक आंकलन २०४५ पछि निरन्तर आई रहेको छ।
यस सचेतताको कति प्रभाव हाम्रो निर्माण क्षेत्रमा परेको छ र ? केही वर्ष अघिको, २०७२ को बिनाशले दिएको शिक्षा राज्य र जनता दुबैले बिर्सि सके।
यसर्थ, बिनाशको हकमा यस बिषय उपर छलफल हुनु जरूरी छ कि बढी बिनाशको एक मुख्य कारण गरिबी हो।
बिगत दुई भूकम्प पछि नजरअन्दाज गरिएपनि, यस पटक भने चर्चा गरौं कि भौतिक संरचनामा बढी क्षति भएर मानवीय क्षति बढनुमा भूकम्प र गरिबीका बीच के सम्बन्ध छ ?
तपाईको प्रतिक्रिया