मधेशमा यसरी मनाइन्छ भाइदूतीया

–रामदयाल राकेश
सम्पूर्ण मिथिलाञ्चलमा भाइ–बहिनीको पारस्परिक प्रेमको प्रतीकका रूपमा मनाइने दुईवटा चाडपर्वको परम्परा सदियौंदेखि चल्दै आएको छ । तीमध्ये एउटा पर्व हो रक्षाबन्धन र अर्को हो भैयादूज या भ्रातृद्वितीया । रक्षाबन्धन साउन महिनाको पूर्णिमाको दिन मनाइन्छ भने भैयादुज कार्तिकशुक्ल द्वितीयाका दिनमा मनाइन्छ ।
ंसारमा मैथिली संस्कृति नै यस्तो संस्कृति हो जहाँ भाइ–बहिनीको स्नेहिल सम्बन्धलाई उद्घाटित गर्नका लागि वर्षभरिमा दुईचोटि यस्ता पर्वहरू मनाउने परम्परा रहिआएको छ। भाइ–बहिनीको आत्मीय एवं आत्मिक सम्बन्धको प्रतीक यी दुइटै पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् । रक्षाबन्धन पर्वमा दिदीबहिनीले दाजुभाइका नाडीमा रक्षाको बन्धन बाँधेर उनीहरूको दीर्घायु र चिरायुको कामना गर्ने चिरन्तन परम्परा रहिआएको छ । भ्रातृद्वितीयाको पावन अवसरमा दाजुभाइ जहाँसुकै भए पनि त्यहाँबाट उनीहरू आफ्ना दिदीबहिनीलाई भेट्न आउने गर्दछन् यथोचित भेटी लिएर ।
भैयादुजको प्रमुख उद्देश्य के रहेको छ भने वर्षमा कमसे कम एकचोटी भाइबहिनीका बीचमा अवश्यमेव भेटघाट होस् । यदि रक्षाबन्धनमा भेटघाट सम्भव भएन भने दिदीबहिनीले दाजुभाइलाई राखी पठाउने गर्दछन् । अचेल त डाकसेवाबाट पनि राखी पठाउने प्रचलन बढ्दै गएको छ ।
रोजगारी अथवा नोकरीमा दूरस्थ ठाउँमा नियुक्त दाजुभाइलाई प्रत्यक्ष रूपमा भेट्न सम्भव नभएकाले यस्तो विधि अपनाउने गरिन्छ । तर भैयादुजमा चाहिँ दिदीबहिनी र दाजुभाइका बीचमा प्रत्यक्ष भेटघाट हुनैपर्ने भएकाले यदि दाजुभाइ नोकरीमा छन् भने बिदा लिएर भए पनि एक दिनका लागि दिदीबहिनीका घरमा पुग्नैपर्ने प्रचलन छ। भैयादुजभन्दा पहिले ‘गोधन’ लोकोत्सव मनाइन्छ र यसमा केराउका गेडालाई गोबर मिलाएर कुटिन्छ ।
पछि ती केराउका गेडा भाइहरूलाई खान दिइन्छ जसलाई बज्री भनिन्छ। यो वज्री खुवाउँदा दाजुभाइको कलेजो वज्र समान बलियो होस भन्ने कामना गरिन्छ ।
यस दिनमा दाजुभाइ दिदीबहिनीका घरमा गएर खाने चलन छ । आफ्नै दिदी बहिनी नभए पनि काका या फुफाकी छोरी वा नाता–गोताका दिदीबहिनीका घरमा गएर खाने प्रचलन छ । नभए मित्रकी बहिनी पनि उत्तिकै पूजनीय हुन्छे । दिदीबहिनीका घरमा भोजन गर्नु फलप्रद मानिन्छ यस लोकोत्सवमा ।
भ्रातृद्वितीया पर्वको शुभअवसरमा यमुनाले आफ्ना भाइ यमलाई बडो– हार्दिकतापूर्वक आमन्त्रित गरी उनलाई भोजन गराएर बडो आदर–सत्कार गरेकी  थिइन्; फूलमालाले स्वागत गरेकी थिइन् । त्यसबाट प्रभावित भएर उनले आफ्नी बहिनी यमुनालाई वरदान दिएका थिए ।
त्यो वरदान के थियो भने जुनसुकै भाइबहिनीले यस शुभअवसरमा एक–अर्कालाई आमन्त्रित गरेर यसरी प्रेमभावले भोजन गराएका खण्डमा कसैलाई पनि कुनै किसिमको क्लेश हुनेछैन। बहिनीले पनि वैधव्यको व्यथा सहनुपर्दैन ।
पूर्वतयारी
मिथिलामा प्रत्येक दिदीबहिनीले भ्रातृद्वितीयाका अवसरमा गाईको गोबरले घरआँगन लिपपोत गरेर सफासुग्घर पार्ने गर्छन् । आफू पनि एकाविहानै नुहाएर नयाँ साडी लगाएर यस पर्वको तयारीमा तनमनले लाग्छन् । पिर्कालाई पानीले धोएर सफा गरिन्छ । त्यसमाथि अरिपन रचिन्छ ।
चामलको पीठो र सिन्दूरबाट अरिपनलाई सुशोभित गरिन्छ । पिठार (चामलको पीठो) बाट पाँचवटा सर्पसङ्कुल आकृतियुक्त अरिपन बनाइन्छ र बीचमा सिन्दूरको लेप लगाइन्छ । कहीँकहीँ र कहिलेकाहीँ पिर्कामाथि चामलको पीठोबाट षट्दल कमल बनाइन्छ । बीचमा सिन्दूर लगाइन्छ। पिर्का अगाडि कमलफूलको आसन राखिन्छ। त्यसका नजिकमा जल, फूल, सिन्दूर, छवटा पानका पात, छवटा सिङ्गा सुपारी, सानो सुकमेल, ठूलो सुकमेल र जाइफल राखिन्छ। यसमा मुहूर्तको निकै महत्त्व रहेको छ । तर अचेल आवागमनको साधनमा निर्भर हुनुपर्दा यो आउने–जाने कुरामा भर पर्दछ । अर्थात् खासै मुहूर्तमा नआई ढिलो भएका खण्डमा पनि नराम्रो मानिँदैन ।
प्रथमतः दिदीबहिनीले दाजुभाइका खुट्टा धुन्छन् । त्यसपछि अरिपनबाट अलङ्कृत पिर्कामाथि दाजुभाइ बस्दछन् । आफ्नो साडीको आँचल समातेर दिदीबहिनीले आफ्ना दाजुभाइका दुवै हातमा पिठार–सिन्दूर लगाइदिन्छन् ।
कुनै कुनै दिदीबहिनीले खुट्टामा पनि लगाइदिन्छन् । हातमा मह, गाईको घ्यू र चन्दन लगाइदिन्छन्। तत्पश्चात् भाइका हत्केलामा पानको पात, सुपारी, फूल, जाईफल आदि राखेर बहिनीले “यमुना नोतलनि यमके, हम नौतै छी प्रशान्त भाइ कै” भन्दछन् । मेरो भाइको आयु यमुनाको जत्तिकै होस् भन्दै भाइका हत्केलामा जल राखिदिन्छन्। यो प्रक्रिया तीनचोटि गरिन्छ ।
त्यसपछि जलले हातखुट्टा धोएर रुमालले पुछिदिन्छन्। टीका लगाइदिन्छन् अनि मखनको खीर खुवाउँछन् । दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई उपहार दिन्छन् । उपहारमा साडी, गरगहना, फलफूल र रुपियाँ–पैसा पनि हुन सक्तछन् ।
बहिनीले पनि उपहारस्वरूप दाजुभाइलाई नयाँ धोती दिने चलन छ। यदि दाजुभाइ आफ्नो घरबाट बहिनीलाई भेट्न गएका छन् भने घरैबाट कोसेलीस्वरूप सबैथोकको प्रवन्ध गरेर जान्छन् । यदि अन्यत्रबाट गएका भए त्यहीँबाट सबैथोकको व्यवस्था गरेर जान्छन् । यसप्रकार जुन दिदीबहिनीले यस शुभअवसरमा आफ्ना दाजुभाइलाई निमन्त्रित गरेर बोलाउँछन् तिनलाई वैधव्यको व्यथा आजीवन भोग्नुपर्दैन। यस अवसरमा गाइने एउटा लोकप्रिय मैथिली लोकगीत यहाँ प्रस्तुत गरिन्छ–
“पूनम (आआफ्नो भाइ, बहिनीको नाम लिँदै) बहिनी चललन अहेरिया
प्रभात भैया देलन आशिष हे
जिअउ हो मोर भैया
जिअउ भैया लाख बरिस हे ! विभा बहिनी चललन अहेरिया, प्रशान्त भैया देलन आशिष हे जिअउ हो मोर भैया
जिअउ भैया लाख वरिस हे !”
अर्थात् पूनम बहिनी आफ्ना घर फर्किनका लागि तमतयार छिन् । उनका दाइ प्रभात बहिनीलाई आशीर्वाद दिन्छन् । प्रत्युत्तरमा बहिनी पनि आफ्ना दाइलाई लाख वर्षको जीवनका लागि शुभकामना प्रकट गर्दछिन् ।
यस्तै विभा वहिनीले पनि आफ्ना प्रशान्त भाइलाई लाख वर्ष जिउने शुभाशिष दिन्छिन् । यसप्रकार भैयादुजको शुभअवसरमा भाइवहिनीको शुभाशिषवाट सुभाषित लोकगीत मिथिलाञ्चलका गाउँ– गाउँ, गोरेटो–चौवाटो, गल्ली–गल्ली र वन–वीथिकामा अहिले पनि सुन्न सकिन्छ । यस्ता लोकगीतहरूमा भाइबहिनी र दाजु–दिदीको आत्मिक सम्बन्धको अभियक्ति सहज रूपमा भएको हुन्छ ।
भैयादुज भाइबहिनी र दाजुदिदीका बीचको पारस्परिक प्रेमको प्रतीकको रूपमा मनाउने प्रसिद्ध लोकपर्व हो । यो पर्व प्रत्येक वर्ष बडो हर्षोल्लासका साथ सम्पूर्ण मिथिलाञ्चलमा मनाउने प्रचलन छ । जबसम्म भाइ–बहिनी र दाजु–दिदीको अस्तित्व रहन्छ तबसम्म यो पर्व मनाउने प्रथा पनि रहिरहनेछ । त्यसैले आजको स्वार्थमय संसारमा पनि बहिनी र भाइका बीचको प्रेम कलुषित नभएर निष्कलङ्क एवं निस्वार्थ रहिआएको छ ।
यो भैयादुज प्रकाश पर्व अर्थात् दीपावलीको लगत्तै दोस्रो दिनमा मनाइने परम्परा रहेको छ । यस अवसरमा प्रकृति पनि नयाँ परिधानमा परिवेष्टित भएर दिग्दिगन्तमा आफ्नो सौन्दर्य प्रचार–प्रसारमा प्रयत्नशील रहेको आभास हुन्छ । यसबेला सम्पूर्ण मिथिलाञ्चलमा मनोरम र मनोहर वातावरण व्याप्त हुन्छ । नदीनालाहरू पनि यस बेला शान्त स्वरमा सुसेलिरहेका हुन्छन् । बाढीको बिगबिगी पनि सकिएको हुन्छ । कृषकहरू नयाँ अन्नबाली भित्र्याउने सुरसारमा हुन्छन् । दैनिक चिन्ताबाट उन्मुक्त भएर यिनीहरू चाडपर्व मनाउनमा लीन भएका हुन्छन् । चारैतिर खुसीयालीको वातावरण व्याप्त भएको हुन्छ ।
यस्तै सुहाउँदो मौसममा यो लोकचाड प्रतिवर्ष मनाउने गरिन्छ । राजा भोजले आफ्नो ‘राजमार्तण्डमा’ भ्रातृद्वितीयाको वर्णन गरेका छन्। यसबाट के प्रमाणित हुन्छ भने भैयादुज प्राचीन सांस्कृतिक गरिमाबाट मण्डित छ ।
वृजेन्द्रनाथ शर्माले ’फेस्टिभल्स अफ इन्डिया’मा यो भैयादुज चाडका बारेमा यसरी वर्णन गरेका छन्–

“The festival of Bhaiya Duja is observed on the day after Diwali in the month of Kartik (Oct.-Nov.) On this day a sister anoints her brother’s forehead with turmeric and prays to god for his good and welfare. In return, the brother gives her presents in the form of coins and gifts. If the sister is faraway the brother sends presents by post or money-order.” (Brijendra Nath Sharma, Festivals of India: P. 35.)

तपाईको प्रतिक्रिया