किसानको भुक्तानी गर्न डेरी उद्योगीलाई मन्त्रीको ताकेता

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.विदुराम भुसालले एक पटक पुनः दुध किसानको बक्यौता रकम भुक्तानी गर्न डेरी उद्योगीलाई ताकेता गर्नुभएको छ । दशैंअघि पनि उहाँले उद्योगीरुलाई बसाएर नै एक महिनाभित्र किसानको भुक्तानी गर्न निर्देशन दिनुभएको थियो तर दशैं पनि बित्यो, तिहार पनि बित्यो छठ पनि आउन लागेको छ तर किसानले डेरी उद्योगीबाट बक्यौता रकम पाएका छैन ।
डेरी उद्योगीहरुले आफूहरुले किसानसँग खरिद गरेको दुध नै विक्रि भएको छैन भनि कहाँबाट पैसा दिनु भन्दै आएका छन् । खरिद गरिएको दुधबाट बनेको धुलो दुधलगायत अन्य दुग्धपदार्थ बिक्रि भएको छैन, भण्डारमा थन्केर बसेको कारण भुक्तानी गर्नमा समस्या भइरहेको बताउँदै आएका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डमा कात्तिक २० गते दुधसँग सम्बन्धीत सरोकारबालासँग छलफल गर्दै कृषि मन्त्री बेदुराम भुसालले किसानको बक्यौता रकम भुक्तानी गर्नुहोस्, बरु तपाईहरुसँग रहेको मौज्दात दुग्ध पदार्थको आधारमा सहुलियत ऋण दिलाउने पहल गर्छु तर किसानको भुक्तानी नरोक्नुस् भनि कडाईका साथ निर्देशन दिनुभएको थियो ।
डेरी उद्योगीहरुले दुग्ध पदार्थ अत्याधिक मौज्दात गरहेको कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियत ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए । मन्त्री भुसालले डेरी उद्योगीसँग दुग्ध पदार्थ कति मौज्दात छन्, त्यसको तथ्याङ्क उपलब्ध गराउनुस् त्यसको आधारमा आफूले ऋणका लागि अर्थ मन्त्रालयसँग पहल गर्ने बताउनु भएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले बताउनुभयो । प्रारम्भिक तथ्यांक अनुसार डेरी उद्योगीहरुसँग करिब ६ अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात छन् ।
डेरी उद्योगीहरुले पटक पटक ऋणको कुरा उठाए पछि मन्त्री भुसालले मौज्दात कति छन्, त्यसको आधारमा ऋण उपलब्ध गराउन आफूले पहल गर्ने भन्नुभएको उहाँले बताउनुभयो । मन्त्री भुसालले भारतबाट लुकीछिपी आउने दुध तथा दुग्ध पदार्थ आयातलाई कडाईका साथ रोक्नुपर्ने बताउनुभयो । सरकारको तर्फबाट आयातमा रोक लगाएकै छ, अब तपाईहरुको तर्फबाट त्यसलाई रोक्नका लागि पहल गर्नुपर्छ, उहाँले छलफलमा भन्नुभयो, ‘बोर्डरबाट आउने दुध तथा दुग्ध पदार्थलाई रोक्न सकियो भने यहाँ समस्या हुँदैन, नेपालमा पर्याप्त दुध तथा दुग्ध पदार्थ हुँदा हुँदै पनि चोर बाटोबाट आयात भइरहेको कारण यहाँ समस्या धेरै बल्झेका छन् ।’ नेपाल–भारतबाट सीमा क्षेत्रबाट दुध तथा दुग्धपदार्थ अवैद्य ढंगले आयात भइरहेको छ, सरकारले त्यसको अनुगमन गरेर अध्ययन गराएको छ त्यसको प्रतिवेदन तयार भइरहेको निर्देशक यादवले बताउनुभयो ।
मन्त्री भुसालले किसानको भुक्तानी १५ दिनभन्दा बढी दिनको रकम बक्यौता नराख्न डेरी उद्योगीहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट के गर्नुपर्छ त्यो गर्दै गरौला तर तपाईहरुले किसानको बक्यौता रकम चाँडै चुक्ता गर्नुहोस् ।’ नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले किसानहरुलाई भुक्तानी दिने काम भइरहेको छ, तर खरिद गरिएको दुधको अनुपातमा बिक्रि नभएको कारण भुक्तानीमा समस्या भइरहेको बताउनुभयो । मन्त्री भुसासले सहुलियत ऋणका लागि पहल गर्ने भन्नुभएको छ, सरकारले सहुलियत ऋण दिएर सहयोग गर्यो भने उद्योगीहरुलाई भुक्तानी गर्न सजिलो हुने बताउनुभयो । सरकारले ऋण दियोस् या उद्योगीसँग मौज्दात रहेको दुग्धपदार्थ खरिद गरिदियोस् भनि आफूहरुले पटक पटक आग्रह गरेको बताउनुभयो ।
त्यसैगरि नेपाल डेरी एशोसिएशन नेपालले कर्णाली प्रदेश अन्तरर्गत जाजरकोटलगायत विभिन्न क्षेत्रमा गएको भुकम्पबाट दुध क्षेत्रमा भएको क्षतिको बारेमा अध्ययन गर्न आफ्नो प्रतिनिधि सो क्षेत्रमा पठाएको छ । अध्यक्ष दाहालका अनुसार सो क्षेत्रमा अध्ययनको लागि एशोसिएशनको तर्फबाट सुर्खेत, तनहुँलगायतका जिल्लाहरुबाट प्रतिनिधिहरु भुकम्पीय क्षेत्रमा गएर अध्ययन सुरु गरेको बताउनुभयो । अध्ययन गरेर आइसकेपछि राहतको बारेमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया