कमरेडहरुलाई उत्तरतिर भ्याइ नभ्याइ !

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको १५ जनाको टोली एक हप्ताका लागि चीन प्रस्थान गरेकै भोलीपल्ट जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङ नेतृत्वको एक टोली नेपाल आइपुग्यो । कात्तिक २२ गते नेपाल आइपुग्नु भएका सचिव वाङले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्डसहितका अन्य उच्चस्तरीय भेटघाट पुरा गरी स्वदेश फर्किसक्नु भएको छ ।
उता, कात्तिक २१ गते चीन पुग्नु भएका नेकपा (एस)का अध्यक्ष नेपालले पनि उच्चस्तरीय भेटघाट गरी कात्तिक २८ गते स्वदेश फर्किसक्नु भएको छ । जाजरकोटलगायत विभिन्न जिल्लामा भुकम्पबाट जनता पिडामा रहेको बेला अध्यक्ष नेपाल चीन भ्रमणमा गएपछि उहाँको आलोचना भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमणलाई रद्द गरी जाजरोकोटसम्म पुगेर पिडितहरुसँग भेटघाट मात्र गर्नुभएन आफ्नो एक महिनाको तलब पिडितलाई दिने निर्णय पनि सुनाउनुभयो । यता अध्यक्ष नेपाल जाजरकोटमा खुट्टा नै टेकिकन चीनका लागि प्रस्थान गर्नुभएको थियो । यसरी कम्युनिष्ट पार्टीका नेताहरुलाई यतिसारो चीनप्रति किन मोह बढेको भनि कुटनीतिक वृतमा टिप्पणी भइरहेको छ ।
एउटा नेता गएर उ फर्किन पाएको हुँदैन, अर्को नेता टोली लिएर चीन पुगिसकेका हुन्छन् । एक जना कुटनीतिका जानकारले सहारा टाइम्ससँग भन्नुभयो, ‘मलाई लाग्दैन कि माओवादी, एमाले, नेकपा (एस) का कुनै पनि नेता चीन भ्रमण गर्न बाँकी होला ।’ भातृ संगठनसम्मका नेताहरुले चीनको भ्रमण गरिसकेका छन् । एक पटकसम्म त ठिकै छन्, दुई–तीन पटकसम्म चीनको भ्रमण गर्ने नेताहरु पनि छन् । चीनले राजनीतिक सन्तुलनका लागि गैरकम्युनिष्ट पार्टीका केही तल्लो तहका नेताहरुलाई चीन घुमाई सकेका छन् तर उसको प्राथमिकतामा कम्युनिष्ट पार्टी नै परेको छ ।
उपराष्ट्रपति रामसहाय यादवदेखि प्रधानमन्त्री प्रचण्डसम्म, सभामुख, उपसभामुखसम्मको चीन भ्रमण भइसकेको छ । माओवादी केन्द्रका अग्नी सापकोटा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत लगभग सबै शीर्ष नेता चीन भ्रमण गरिसक्नु भएको छ भने एमालेका महासचिव शंकर पोखरेलदेखि लिएरु योगेश भटट्राई, विष्णु पौडेल, विष्णु रिजाललगायतका हरेक नेता चीन भ्रमण भ्याइ सक्नु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ कात्तिक ८ गते चीन भ्रमणबाट नेपाल फर्किनु भएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुन उहाँ असोज २९ गते चीन प्रस्थान गर्नुभएको थियो । ह्रदयघातका कारण निर्धारित समयभन्दा केही ढिला उहाँ फर्किनु भएको हो । सोही कार्यक्रममा भाग लिनका लागि नेकपा (एस) सम्माननीय नेता झलनाथ खनाल पनि चीन गएका थिए । उहाँ कात्तिक ६ गते स्वदेश फर्किनु भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्मा पनि कात्तिक १० गते चीन भ्रमणमा जानु भएको हो । कात्तिक १२ गतेदेखि बेइजिङमा सुरु हुने १० औं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा भाग लिनका लागि उहाँ त्यता जानुभएको हो । प्रधानमन्त्री प्रचण्ड अमेरिका हुँदै असोज ५ गते चीन भ्रमण जानुभएको थियो । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन पुगेका प्रधानमन्त्री प्रचण्ड हाङ्जाओमा सम्पन्न १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर उहाँ असोज १३ गते स्वदेश फर्किनु भएको थियो ।
यसरी चीनका लािग नेपालबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । नेपालबाट चीन मात्र होइन, चीनबाट पनि नेता तथा सरकारका एवं विभिन्न संगठनका प्रतिनिधिहरु नेपाल भ्रमणमा आइरहेका छन् ।े नेपालमा भारत र अमेरिकाको बर्चस्व कम गर्नका लागि चीनले नेपालमा आफ्ना गतिविधिहरु बढाएको हो । जानकारका अनुसार त्यही उद्देश्यका कारण चीनले उच्च स्तरीय भ्रमणहरु गराई रहेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाको नेतृत्वमा २० जनाको टोली जेठ ५ गते चीन भ्रमणमा गएर फर्कि सक्नुभएको छ । त्यस्तै, एमालेका महासचिव शंकर पाखेरेलको नेतृत्वमा २१ सदस्यीय नेताहरुको एक टोली भदौं १७ गतदेखि २९ चीनको भ्रमण गरेको छ । चीन भ्रमण गरिसक्नु भएका एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल र चीनबीच सम्बन्धलाई अझ बलियो बनाउनका लागि यी उच्च स्तरीय भ्रमणहरु भइरहेको बताउनुभयो ।
चीनले नेपालसँग विशेष सम्बन्ध बनाउनुको मुख्य कारण भारत हो । नेपाल–भारत बीचको खुल्ला बोर्डरका कारण चीन विरुद्ध गतिविधि हुनसक्छ भनि आशंकामा चीनले नेपाललाई संवेदनशिल ठाउँको रुपमा लिएको छ । भारतको बाटो हुँदै अमेरिकाले पनि चीन विरोध गतिविधि गर्न सक्छ भनि चिन्ता चीनको रहेको छ । चीनले आफूमा गाभेको तिब्बताको सीमाना नेपालसँग जोडिएको छ । त्यसका लागि चीन निकै गम्भीर छ ।
तिब्बतका लागि नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्नका लागि चीनले निकै चासो लिएका हुन्छन् । एक चीन नीतिप्रति नेपाललाई विश्वासमा लिइ राख्ने चीनको अर्को चासोको विषय रहेको छ । नेपालले पनि पटक पटक एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आइरहेको छ तर पछिल्लो समय अ‍ेमरिकाले एमसीसी लागु गराउन गरेको कसरतले चीनलाई संशकित बनाएको विज्ञहरु बताउँछन् । सिनासका प्रमुख डा.मृगेन्द्र कार्कीले यी भ्रमणहरु दुईटै देशको स्वार्थका कारणले भइरहेका बताउनुभयो । चीन र भारत दुवै देश विश्वको आर्थिक प्रतिस्पर्धामा आइसकेको र विश्वमा नै आफ्नो उपस्थिति देखाइरहेका कारण चीनले नेपालमा आफ्नो उपस्थिति देखाउन चाहेको छ ।

तपाईको प्रतिक्रिया