झिझामा अझै गएन गणतन्त्र

पहिलो र दोस्रो जनगणनामा धनुषाको अकौडा र झिझाका दुसाधहरूले आफ्नो पेसाको महलमा ‘चोरी’ लेखाएका थिए । यसरी दुई गाउँका दुसाधहरुले आफ्नो पेसा चोरी लेखाउँदा .राष्ट्रिय तथ्याङ्क विभागले आफ्नो प्रतिवेदनमा देशभरका दुसाधको पेसा ‘चोरी’ नै उल्लेख गर्दियो । पछि सो समुदायका अगुवाहरुले सुधार गर्न लगायो ।
हो, त्यही झिझा वस्ती झिझिया बौसीको नामले नेपालमा मात्र होइन, भारतमा पनि चर्चित थियो । चर्चित हुनुको कारण थियो, ती गाउँका मान्छेहरुको पेसा नै चोरी थियो । ती गाउँका युवा तथा तनेरीहरु चोरी डकैती गरेर आफ्नो जिबिका चलाउँथे । ३०–४० वर्षअघिसम्म झिझा, अकौडासँगै नरहिया र कपटौललगायत दुसाधहरु चोरी डकैतीमा संलग्न थिए । यस्तो नामी चोर थिए उनीहरु कि तराई मधेश तथा भारतको सीमा क्षेत्रमा कसैको घरमा चोरी हुन्थ्यो भने त्यहीं गाउँलाई दोष दिइन्थ्यो ।
चोरी भएको गाउँका मान्छे हुल बाँधेर त्यो गाउँमा आउथे, ती गाउँलेहरुलाई कुटपिट गरेर जान्थे । कतिपय अवस्थामा पञ्चहरु आउँथे । चोरी गरेको छ भने समान फिर्ता गरि दिन आग्रह गर्थे । कसैको घरमा चोरी भयो भने भने झिझा बौसी अर्थात झिझा बस्तीलाई सम्झन्थे र त्यहाँ गुहार लगाउन आउँथे ।
इमान्दार चोर
ती गाउँका चोरहरु पनि आफ्नो पेसाप्रति इमान्दार थिए । धर्मकर्मलाई उच्च महत्व दिन्थे । हुनेखानेको घरमा मात्र उनीहरु चोरी गर्थे । महिलालाई सम्मान गर्थे । बालबालिकालाई पनि केही भन्दैन्थे । धनीको घरमा चोरी गरेर गरिबलाई बाँड्थे आफ्नो गाउँ ठाउँमा विकास पनि गर्थे ।
झिझाका कुञ्जा पासवानले स्थानीयको सुविधाका लागि आफ्नै खर्चमा पुलसमेत निर्माण गराएका थिए । उनीहरुको लागि चोरी गर्नु कलाजस्तै थियो । जस्तो सुकै अवस्थामा पनि चोरी गर्नु उनीहरुको काला थियो भारतको नटबरलाल जस्तै । नटवरलालको नाम मिथिलेश कुमार श्रीवास्तव थियो । उहाँको जन्म भारत बिहारको सीवान जिल्लाको बंगरा गाउँमा भएको थियो । नटवरलाल भारतका प्रसिद्ध ठग हुनुहुन्थ्यो । ठग्ने कालाका कारण भारत पनि आजित भइसकेको थियो । ठगको सैयौ मुद्दा उहाँमाथि चलिरहेको थियो । उहाँले भारतको ताजमहल, लालकिला, राष्ट्रपति भवन और संसद भवन पनि बेचि सक्नु भएको थियो ।
उहाँले ठूला ठूला ठगी गर्नुहुन्थ्यो र आफ्नो गाउँलाई माया गर्नुहुन्थ्यो । गाउँका कुनै पनि मानिसले नटरवरलालको बारेमा नकारात्मक कुरा सुन्न चाहदैन्थे । सबैले नटबरलालको संरक्षण नै गर्थे । ठिक त्यही अवस्था नेपाल धनुषाको झिझा बस्तीको थियो । चोरी पनि इमान्दारीका साथ गर्थे र आफ्नो आफन्तलाई संरक्षण गर्थे ।
चोरी–डकैतीमा संलग्न हुँदा कमाइ राम्रो भए पनि उनीहरूको घरको अवस्था भने दयनीय नै थियो । बालबालिका पढ्न जाँदैनथे । गाउँमा एउटै पनि पक्की घर थिएन । कहिले प्रहरीको छापामारी त कहिले अन्य गाउँका हुलको आक्रमणमा पर्थे । चोरी–डकैतीको आरोपमा विगतमा झिझाका थुप्रै युवाको नेपाल र भारतका विभिन्न स्थानमा हत्या भइसकेको छ भने नजिकका गाउँलेले दुसाध बस्ती नै जलाएर सखाप बनाएका घटना पनि छन् ।
झिझाका डाँकाहरूको त्रास नेपालको विराटनगरदेखि नेपालगञ्जसम्म र भारतको सीमावर्ती गाउँ–नगरदेखि विहारको राजधानी पटनासम्म थियो । २०४२ मा भारतीय प्रहरीको सहयोगमा सीमावर्ती इटहर्वा गाउँमा झिझाका दुई युवकको इन्काउन्टर र दुईलाई पक्राउ गरिएको थियो । त्यसको बदलामा झिझाको दुसाधले चार भारतीयको टाउको काटेर सीमावर्ती हरलाखी थानाअगाडि फालिदिएका थिए । झिझाका चोरलाई भारतका कतिपय चोरले पनि साथ दिएका थिए । भारतमा चोरी गर्न भारततिरका चोरले सघाउथे भने नेपालमा झिझाका चोरले सघाउथे ।
फेरिएको जीवनशैली
त्यो गाउँका सबैको जीवनशैली फेरिएको छ । पढाई लेखाई गर्न थालेका छन् । वैदेशिक रोजगारीमा गएका छन् । सरकारी जागिरमा पनि भर्ना भएका छन् । तर बदनामी अझै हटेको छैन । झिझा वस्तीका हुन् भनि थाह पाएपछि धेरैले शंका तथा हेयको दृष्टिले हेर्ने गरेका छन् । स्कूल, शहर बजारमा पनि त्यो गाउँका बच्चा तथा युवामाथि दुरव्यहार हुने गरेको छ ।
झिझाको शिक्षा
बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उहाँले कसैको कुरा सुन्नुभएन । नाइनास्तीको कारणचाहिँ के थियो त ? मण्डलले भन्नुभयो, “बदनामी कमाएको झिझा बस्तीका बालबालिकासँग बसेर किन पढाउनु ।” त्यहाँ शिशुदेखि कक्षा ५ सम्म १२४ बालबालिका पठनपाठन गरिरहेका छन् । यसमध्ये चार जनाबाहेक सबै विद्यार्थी झिझाका पासवान र महरा समुदायका छन् ।
झिझाका वीरेन्द्र पासवान भन्छन्, “हाम्रो पुर्खाको विगतका कुरा झिकेर अहिले पनि हामीलाई हेयको दृष्टिले हेर्छन् । तर अहिले त हामी आफ्नो क्षमता र सीपअनुसार इलम गरेर खाइरहेका छौँ ।” “यो विद्यालय २०१७ मा स्थापना गरिएको हो भनेर कसैले विश्वास गर्ला ? हिजोका सरकारले पनि हामीलाई उपेक्षा गरेको थियो, अहिलेको सरकारले पनि हामी सँग त्यही व्यवहार गरिरहेको उहाँले भन्नुभयो ।
झिझावासीले सम्मानित जीवनका लागि अन्य पेसा व्यवसाय गर्न थालेको दशकौँ भइसक्दा पनि त्यसको बोझ अर्थात् उपेक्षाको भार अझै पनि बोक्नुपरिरहेको बताउनुहुन्छ मुकेश पासवान । यसको उदाहरणका रूपमा श्री राष्ट्रिय प्राविलाई लिन सकिने उहाँको भनाइ छ । विद्यालयको नाम राष्ट्रिय छ तर न यो हिजो राष्ट्रिय हुनसक्यो न आज । नजिकको सरकार आइसकेपछि स्थानीयसमेत हुनसकेको छैन । कसैले स्वामित्व नै लिँदैनन् । जसले गर्दा त्यहाँका बालबालिकाका जीवन अन्धकार हुने देखिन्छ ।
२०१७ मा स्थापना भएको विद्यालयले अहिलेसम्म कागजमा बाहेक आफ्नो पहिचान झल्किने बोर्डसमेत पाएको छैन । एक बिघा १७ कठ्ठा जग्गा उपभोग गरिरहेको यो विद्यालयको नाममा त्यो जग्गा पनि छैन । यहाँ रहेका दुई–दुईकोठे तीन भवन पनि गैरसरकारी संस्थाले बनाइदिएका हुन् । तीमध्ये एउटा भवन प्रयोग नहुँदै जीर्ण भइसकेको छ ।
छोएन गणतन्त्रले
देशमा गणतन्त्र आइसकेको तर कसैले पनि त्यो स्कूलमाथि ध्यान दिएको छैन, कारण हो, विगतको व्यवहार र पेसा । गल्ती त बुबाबाजेले गरे तर त्यसको कारवाही अहिलेका पुस्ताले पनि भोगिरहेको स्थानीय वीरेन्द्र पासवानले बताउनुभयो ।
पुर्खा र आफ्नो पुस्ताको जीवन जेनतेन चले पनि घरआँगनमै गुणस्तरीय शिक्षा दिएर नयाँ पुस्ताको सुन्दर भविष्य बनाउने सपनामाथि समेत खेलवाड भइरहेको भन्दै उहाँले भविष्य सम्झदा चिन्ता लागेर आउँछ भन्नुभयो । विगत १३ वर्षदेखि यही विद्यालयमा राहत शिक्षक जयप्रकाश पासवानले स्थानीय अभिभावक, व्यवस्थापन समिति र आफूहरूले प्रयास गर्दा पनि पूर्वाधार विकास तथा शिक्षकको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । “शिक्षक नै बस्न नमान्ने समस्या पटक–पटक आइसक्यो । विगत एक वर्षदेखि दुई जनाले रेखदेख गरिरहेका छौँ ।’
अहिले त हामीले गोठालाको जस्तै रेखदेखमात्रै गर्ने हो । त्यसबाहेक दुई जनाले के नै गर्न सकिन्छ र ! नजिकै पोखरी छ । वर्षातमा वरिपरि डुबान हुन्छ । पर्खाल छैन । यो कुरा स्थानीय सरकार र सरोकारवालालाई पटक–पटक जानकारी गराइसकेका छौँ । तर आश्वासनबाहेक कुनै सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।
प्रधानाध्यापक भोगेन्द्र महरानले विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकको व्यवस्थापन नहुँदा पठनपाठनमै समस्या भइरहेको बताउनुभयो । “२०७६ म यहाँ आउँदा पनि एक जनामात्रै शिक्षक हुनुहुन्थ्यो । पछि धेरै गुनासो गरेपछि तीन राहत शिक्षक पठाइएको पनि हो । तर फेरि हामीलाई नसोधेरै अन्त पठाइयो ।”
तीनै तहका सरकारमात्रै होइन, यहाँबाट निर्वाचित सांसदहरूले पनि विद्यालयको विकासमा कुनै चासो नदेखाएको गुनासो छ । अघिल्लोपटक एउटा सांसदलाई विद्यालयमा घेरा पर्खाल लगाउन र अत्यावश्यक काममा संसद् विकास कोषको रकम दिन आग्रह गरे तर उहाँले विद्यालय छेउमै २५ लाख रुपियाँको मन्दिर निर्माणमा र १५ लाख रुपियाँ पोखरीको घाट बनाउनमा खर्च गर्नुभयो तर स्कुलका लागि केही गर्नुभएन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पासवानले विद्यालय सुधारका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालासँग छलफल गरेर समस्या समाधानको प्रयास भइरहेको दावी गर्नुभयो ।
यो बस्तीमा ८७ घर पासवान र २० घर महरा समुदायका छन् । यसअघि २०३५ तिर यहाँका दुई सयभन्दा बढी पासवान परिवारलाई सर्लाहीको लालबन्दीमा जग्गा दिएर पुनर्बास गराएको थियो । पुनर्वासकै प्रलोभनमा झिझाका दुसाधहरूलाई पनि आत्मसमर्पण गराइयो तर बहुदलीय व्यवस्था आएसँगै पुनर्वास योजना ठप्प भएको उनीहरूको आरोप छ  ।
पुनर्वासको लालचमा तत्कालिन अञ्चलाधीशको रोहबरमा ४७ थान हातहतियार बुझाएका थिए उनीहरु । सर्लाहीको सागरनाथ वन नजिक जग्गा दिने कुरा भयो । जग्गा पनि उनीहरुले हेरे । हालसम्म उनीहरुले जग्गा पाएको छैन । झिझाका स्थानीयहरु बुबाबाजेले गरेको कार्यको दोष आफूहरुमाथि नलगाउन र त्यो नजरले नहेर्न पटक पटक आग्रह गरिसकेका छन् । तैपनि उनीहरुसँग दुरव्यवहार हुने गरेको छ । त्यहाँका युवाहरु भन्छन्, झिझामा अझै गणतन्त्र आएको छैन ।’

तपाईको प्रतिक्रिया