यस्तै रह्यो भने लोसपा एक नरहन पनि सक्छ

–केशव झा
–महासचिव, लोकतान्त्रिक समाजवादी पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी फेरि एक पटक विभाजनको संघारमा पुगेको छ । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा विद्रोह गर्नुभएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले लोसपा हैकमवादी शैलीमा चलाउनु भएको आरोप लगाउँदै राजेन्द्र महतोले विद्रोह गरी नयाँ संगठन बनाउने तयारीमा लाग्नु भएको छ । महन्थ ठाकुरसँग राजेन्द्र महतो बस्दैन लगभग निश्चित नै भइसकेको छ । दुवै जनामा बोलचाल पनि छैन । राजेन्द्र महतो पार्टी कार्यालय आउजाउ गर्न पनि छाडि सक्नुभएको छ । नयाँ पार्टी बनाउनका लागि आफ्ना निकट नेताहरुसँग छलफल पनि चलाइरहनु भएको छ । अखिर पार्टीमा यस्तो विवाद किन उत्पन्न भयो, साँच्चै पार्टी विभाजन हुन लागेको हो त लगायतका विषयमा सो पार्टीका महासचिव केशव झासँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादकीत अंशः
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोसपा केन्द्रीय समितिको बैठक किन बहिष्कार गर्नुभयो ?
–पार्टीभित्रका केही गतिविधि र संगठनसँग सम्बन्धित विषयमा राजेन्द्रजीको असहमति थियो तर सहमतिका लागि पार्टी नेतृत्वले समाधान गरेनन् त्यही भएर उहाँले बैठक बहिष्कार गर्नुभएको हो जस्तो लाग्छ मलाई । लोसपासँग लोकतान्त्रिक शब्द जोडिएको छ यो आफैमा एउटा ठूलो सन्देश हो तर पार्टीको वैचारिक तथा सैद्धान्तिक आधार अनुसार धेरै काम त्यहाँ भइरहेका छैनन् । पार्टीभित्र अलोकतान्त्रिक गतिविधि भइरहेको भनि राजेन्द्रजीको बुझाई रहेको छ । र, यो कुरा राजेन्द्र महतोजीले पार्टीमा थुप्रै पटक उठाउनु भयो । हामीले पनि पार्टीको बैठकमा कुरा उठायौं तर कुनै सुनुवाई भएन । हामी केही गर्न सकेनौ तर राजेन्द्रजीले विद्रोह गर्नुभयो ।
पार्टीभित्र कस्तो गतिविधि भइरहेका छन्, संगठनको कस्तो कार्यप्रति असहमति रहेको छ उहाँको ?
–पहिलो कुरा पार्टी लोकतान्त्रिक प्रकृयाबाट चल्नु पर्छ । पार्टी कुनै एउटा व्यक्ति समुदाय, जात, धर्म, लिङको आधारमा चल्नु हुँदैन । पार्टीमा एकल नेतृत्व भएपनि निर्णय साझा हुनुपर्छ । पार्टीमा अरु पनि नेता हुन्छन्, अरुको पनि लगानी हुन्छ, योगदान हुन्छ, त्यसको आधार त्यसको पनि मूल्यांकन हुनुपर्छ र पार्टीमा समाहित गर्नुपर्छ । तर लोसपामा त्यस्तो देखिएको छैन । हाम्रो पार्टीको अध्यक्ष महन्थ ठाकुरजी एक त पार्टीलाई क्रियाशिल गर्न सक्नु भएको छैन । पार्टीलाई होल्ड गरेर बस्नु भएको छ । आफूले गर्न नसकेपछि अरुलाई जिम्मेवारी दिएर पार्टीको गतिविधि अगाडि बढाउनुपर्छ त्यो पनि गर्नुभएको छैन । उहाँ आफू पनि गर्नुहुन्न अरुलाई पनि गर्न दिनु हुन्न । लोसपामा एक से एक नेताहरु छन् । केही गर्ने क्षमता राख्नु हुन्छ उहाँहरुले तर सबैलाई निस्कृय बनाएर राख्नु भएको छ ।
उहाँले त कसैलाई बाँधेर राख्नु भएको छैन नि आआफ्नो क्षेत्र तथा जिल्ला प्रदेशमा गएर काम गर्दा भइहाल्यो नि, काठमाडौँमा बसेर काम गर्न दिएन भनेर हुन्छ ?
–होइन, पार्टी सिस्टममा चल्नुपर्छ । त्यसको एउटा नीति तथा कार्यक्रम हुन्छ । कार्ययोजना हुन्छ । नेताहरुले आआफ्नो क्षेत्रमा गएर त्यतिकै के गर्नुहुन्छ के कार्यक्रम गर्नुहुन्छ, त्यसले पार्टीलाई के फाइदा हुन्छ त्यो कुरा पनि ख्याल गर्नुपर्छ । पार्टी चेन अफ कमाण्डमा चल्छ र चल्नुपर्छ । जसलाई जे मन लाग्यो त्यही गर्न पाउँदैनन् । कार्ययोजना बनाएर लक्ष्य तय गरी कार्यक्रमहरु तय गरेर जिम्मेवारी दिएर पठाउनुपर्छ । त्यो काम हाम्रो पार्टी नेतृत्वले गर्न सक्नु भएको छैन । जिल्ला जिल्लामा अरु अरु पार्टीको कार्यक्रमहरु भइरहेका हुन्छन् हाम्रा पार्टीका नेता तथा कार्यकर्ताहरु मुख ताकेर बसेका हुन्छन् । पार्टीको कुनै निर्देशन तथा कार्यक्रम नआउँदा बाध्य भएर कतिपय नेता तथा कार्यकर्ताहरु अरुअरु पार्टीमा जान थालेका छन्, त्यसको जिम्मेवारी कसले लिने ? झण्डै दुई वर्ष लगाएर पार्टीको एउटा कार्य समिति तयार भएको छ त्यो पनि विवादरहित भएन । भातृ संगठनहरु अझै बनेको छैन । विधान अनुसार विभिन्न समितिहरु बनाउनुपर्ने हुन्छ तर अहिलेसम्म एउटा पनि समिति बनेको छैन । पार्टीमा कार्यविभाजन भएको छैन अनि यो पाराले कसरी चल्छ पार्टी । हामी पार्टीमा काम गर्न चाहन्छौं हामीलाई होमवर्क चाहियो । हामी जस्ता लाखौं युवाको भविष्य यो पार्टीसँग जोडिएको छ ।
तपाईलाई राजेन्द्र महतो निकट भनिन्छ, खासमा राजेन्द्र महतोको असन्तुष्टि र माग के हो ?
–पहिलो कुरा त म कसैको निकट होइन । म लोसपाको निकट हुँ । पार्टीको सामान्य एउटा कार्यकर्ता हुँ । हाम्रो लागि पार्टी नै सबथोक हो, पार्टीसँग हाम्रो जीवनमरण कुरा जोडिएको छ । त्यसैले हामीलाई चिन्तित बनाएको छ । रह्यो राजेन्द्र महतोको कुरा । उहाँले आफैले मिडियामा सबै कुरा भन्नुभएको छ । बाहिर आउन कुनै कुरा बाँकी छैन । मैले अघि पनि भनेको थिए कि पार्टीभित्र भइरहेका कार्यहरु प्रति राजेन्द्रजीको असन्तुष्टि रहेको छ । पार्टीलाई क्रियाशिल बनाउनुपर्छ, पार्टीका सबै समिति तथा संगठन एक्टिभ हुनुपर्छ । नेताहरुलाई जिम्मेवारी दिनुपर्छ । केन्द्रीय समितिमा भएको त्रुटी सुधार गर्नुपर्छ जस्ता कुरामा उहाँको असन्तुष्टि रहेको छ । पछिल्लो समय पार्टीका अध्यक्ष महन्थ ठाकुरजीले बनाउनु भएको केन्द्रीय समितिप्रति राजेन्द्र महतोको आपत्ति रहेको छ । मधेश आन्दोलनमा लडेका भिडेका, बदिदानी तथा विभिन्न समयमा योगदान दिएका थुप्रै व्यक्तिलाई केन्द्रीय समितिमा राखिएको छैन । यसअघि राजपा, जसपामा पदाधिकारी रही सकेका कतिपय व्यक्तिलाई केन्द्रीय समितिमा राखिएको छैन । राजेन्द्र महतोजीले यही कुरा उठाउँदा महन्थ ठाकुरजीले यसलाई सुधार गर्ने छुटेका व्यक्तिलाई समावेश गर्ने भन्नुभएको थियो तर उहाँले त्यो गर्नुभएन । त्यही भएर राजेन्द्र महतोले सायद बैठक बहिष्कार गर्नुभएको हुनुपर्छ ।
सुनिन्छ, राजेन्द्र महतोले पार्टीमा कार्यकारी भूमिका खोज्नु भएको छ रे ?
–म त राजेन्द्र महतोको प्रवक्ता होइन, जसको सबै जवाफ दिनुपर्छ तर तपाईले सुनेको जस्तो म पनि सुनेकै हो । राजेन्द्र महतो पहिला पनि पार्टी सञ्चालन गरेर आइसक्नु भएको हो । उहाँसँग पार्टी सञ्चालन गर्ने क्षमता र अनुभव छ । त्यो खोज्नु स्वभाविक हो । तर उहाँले लोसपामा कार्यकारी भूमिका नै खोज्नु भएको छ, अध्यक्ष नै बन्न खोज्नु भएको हो जस्तो मलाई लाग्दैन तर उहाँको कन्सर्न भनेको पार्टीलाई क्रियाशिल बनाउनुपर्छ, पार्टीभित्र कार्यविभाजन गरेर नेता तथा कार्यकर्तालाई फिल्डमा खटाउनुपर्छ भनि रहेको छ । मधेश आन्दोलनदेखि विभिन्न आन्दोलनमा योगदान दिएका व्यक्तिलाई पार्टीमा सम्मानपूर्वक राख्नुपर्छ भन्ने उहाँको चाहना हो भनि मैले बुझेको छु ।
त्यसो भए अब राजेन्द्र महतोले छुट्टै पार्टी बनाउनु हुन्छ त ?
–मेरो विचारमा पार्टी विभाजन हुनु हुँदैन । मधेशलाई महन्थ ठाकुर र राजेन्द्र महतोको आवश्यकता छ । उहाँ दुवै जना सँगै रहेर मधेशका लागि काम गर्नुपर्छ भनि धेरैको चाहना छ । तर परस्थिति यसरी बिग्रिदै गयो भने एक साथ रहनु हुन्छ जस्तो मलाई लाग्दैन । यस्तै रह्यो भने लोसपा एक रहदैन जस्तो लाग्छ । तर अहिले पनि केही बिग्रेको छैन । असहमतिका विषयमा दुवै जना बसेर छलफल गरी टुग्यांउनुपर्छ । तर ५–६ दिन भइसक्यो दुवै जनाको बिचमा कुराकानी भएको छैन । बरु राजेन्द महतोले नै महन्थ ठाकुरलाई फोन गरेर अभिराम शर्माको बारेमा छलफल गर्नु भएको थियो तैपनि उहाँबाट कुनै रेसपोन्स आएन । राजेन्द्र महतोजीले छलफल गरेर सबै कुरामा टुग्यांउन चाहनु भएको छ तर महन्थ ठाकुरजीबाट कुनै रेसपोन्स नआएको कुरा मैले थाह पाएको छु । यसले राम्रो संकेत देखाएको छैन ।
अभिराम शर्माको बारेमा राजेन्द्र महतोले महन्थ ठाकुरलाई फोन गर्दा के के कुरा भयो ?
–महोत्तरी जिल्ला अदालतले लोसपाका नेता एवं प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाएपछि राजेन्द्र महतोजीले महन्थ ठाकुरजीलाई फोन गर्नुभएको थियो कि यसको बारेमा पार्टीले एक्सन लिनुपर्छ, केही बोल्नुपर्छ । सरकारलाई दिएको समर्थनको बारेमा पुनर्विचार गर्नुपर्छ । मधेशका लागि पार्टीबाट आन्दोलन गरेका व्यक्तिलाई नै जन्मकैदको फैसला सुनाएको छ भने त्यस्तो सरकारमा किन बस्नुपर्छ भनि राजेन्द्रजीको तर्क थियो । महन्थ ठाकुरजीले त्यसमा पनि रेसपोन्स नगरेपछि राजेन्द्रजीले विज्ञप्ति पनि जारी गर्नुभयो । त्यो विज्ञप्तिमार्फत पनि लोसपालाई सरकारबाट फिर्ता गर्न महन्थ ठाकुरजीलाई आग्रह गर्नुभएको थियो । तैपनि उहाँबाट रेसपोन्स भएन बरु ठाकुरजीले पनि एउटा विज्ञप्ति जारी गरेर सरकारलाई समर्थन कायम रहने भन्नुभएको थियो । लोसपाबाट मधेशले यस्तो अपेक्षा गरिएको थिएन ।
किन त्यस्तो ?
–मधेशको अधिकार पहिचानका लागि भएको आन्दोलनका कारण नेताले जन्मकैद पाउनु भनेको यो जतिको लज्जास्पद अरु केही हुँदैन । मधेश आन्दोलन राजनीतिक अधिकारका लागि भएको आन्दोलन थियो, मधेशी जनताको अधिकार र पहिचानका लागि आन्दोलन भएको थियो । त्यही आन्दोलनका कारण कुनै नेताले जन्मकैदको सजाय भोगिरहेका छन् भने पार्टीलाई नेतृत्व गरेका अध्यक्षहरुका लागि लाजमर्दो कुरा हो । त्यही अभिराम शर्माहरुले आन्दोलन नगरेको भए जसपा, लोसपाहरु सरकारमा जान पाउँदैन्थे । मन्त्री तथा यस्ता सरकारी सुख सुविधा लिन पाउँदैन्थे तर अहिले अभिराम शर्माहरुलाई जन्मकैदको फैसला सुनाएको छ । आन्दोलनकारीलाई यही सरकारले जेल पठाएको छ भने दोषी त सरकारलाई समर्थन गर्ने दल पनि हुन्छ । यो सरकारमा जसपा, लोसपा, जनमत पनि सहभागी छन् । यो सरकार जसपा, लोसपा, जनमतको पनि हो तर यही सरकारले मधेशी आन्दोलनकारीलाई जेल पठाएको छ । तर महन्थ ठाकुरजीहरु, उपेन्द्र यादवजीहरु एक शब्द पनि बोल्नु भएको छैन । त्यही कुरामा राजेन्द्रजीको असहमति रहेको छ ।
पार्टीमा राजेन्द्रजी मात्र बोलिरहनु भएको छ युवा नेताहरु मौन छन् किन ?
–युवा नेताहरुले पनि आआफ्नो ठाउँबाट बोलिरहनु भएको छ तर जुन रुपमा अगाडि आउनु पर्ने हो त्यसरी आइरहनु भएको छैन । युवालाई आफ्नो भविष्यको चिन्ता छ । त्यही चिन्ताको कारण सायद अलमलमा छन् कि जस्तो लाग्छ मलाई । पार्टीभित्र खुलेर आइरहेका छैनन्, भविष्यको चिन्ता गर्दै कतै नकतै गुलामी मानसिकताबाट बाँचिरहेका छन् । नेताहरुको पिछलगु भएर बाँचिरहेका छन् । त्यहीं नेतामा आफ्नो भविष्य खोजिरहेका छन् । त्यहीं खुशी छन् जस्तो लाग्छ । त्यही भएर बोल्दैनन् । जब देशका युवा सेल्फ डिसिजन लिन सक्दैन तब देशको राजनीति दिशाविहिन हुन जान्छ । अहिले मधेशको राजनीतिमा पनि त्यस्तै देखिएको छ । मधेशका युवाको राजनीति ट्रयाकभन्दा बाहिर गइरहेका छन् जस्तो लाग्छ । अघि नै भने कि युवामा आफ्नो भविष्यलाई लिएर विचलन आएको छ । शीर्ष नेताहरुले युवालाई दीगभ्रमितमा पारेर आफ्नो झोले बनाएका हुन्छन् । त्यो समस्या लोसपामा पनि छ ।
त्यसो हो भने अब नेपालको राजनीतिमा युवाको भविष्य छैन ?
–राजनीतिमा जुन भाष्य निर्माण भइरहेको छ त्यो हेर्दा त भविष्य छैन जस्तो लाग्छ मलाई । तपाई हरेक पार्टीको संरचना हेर्नुस् युवाको भविष्य केही देख्नु हुन्न । ४०–५० दशकदेखि एउटै व्यक्ति, एउटै समुदायको हालीमुहाली देखिन्छ । मानौ पार्टी अध्यक्ष, मन्त्री, प्रधानमन्त्री, सांसदसबैको ट्रेडमार्क उनीहरुले नै पाएको जस्तो । पंचायतकामा उही प्रधानमन्त्री, मन्त्री र सांसद, बहुदलमा उही प्रधानमन्त्री, मन्त्री र सांसद र अहिले गणतन्त्रमा पनि उही । लठी टेकेर हिड्ने बेला पनि राजनीति नेतृत्व छाड्न चाहेका छैनन अनि युवा के गरुन्, कहाँ जाउन् । गगन थापा, प्रदीप पौडेल, लेखनाथ, वर्षमान पुन, योगेश पोखरेलहरुको संघर्ष हेर्दा हुन्छ कि नेपाली राजनीतिकर्मी युवाको भविष्य कता जाँदैछ । मनिष सुमनहरु आजका नेता हुनुहुन्न तर अवस्था हेर्नुस् । शैलेन्द्र साहहरु उपेन्द्र यादवका समकालिन हो जस्तो लाग्छ । यस्ता धेरै उदाहरणहरु छन् जो युवाको पिडादाय अवस्थाको बयान गर्छ तर अहिले पनि नेतृत्वमा आउने अवस्था टाढा टाढासम्म नजर आउँदैन । देशका लागि यो चिन्ताजनक अवस्था हो ।

तपाईको प्रतिक्रिया