Khadya Bibhag

लम्पीस्किन विरुद्धको खोप सरकारले आफै उत्पादन गर्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने लम्पीस्किन रोग नियन्त्रणका लागि आफै भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तरराष्ट्रिय वैज्ञानिकहरुसँग छलफल थालिसकेको छ । कृषि मन्त्रालय अन्तरर्गतका पशु सेवा विभागले भ्याक्सिन उत्पादनका लागि चाहिने ‘मास्टर सिड’ (मुख्य बिउ) र प्रविधिका लागि भारतलगायत अन्य देशसँग पहल गरेको छ ।
भ्याक्सिन उत्पादनका लागि नेपालसँग सुविधा सम्पन्न प्रयोगशाला छ तर त्यसका लागि चाहिने कच्चा पदार्थ (मास्टर सिड) र प्रविधि छैन । त्यसका लागि भारत र अफ्रिकी मुलुक केन्यालाई आग्रह गरिएको पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले बताउनुभयो । मास्टर सिड तथा प्रविधि सहयोगका लागि आग्रह गरेपछि केन्याका इन्टर नेशनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआइ)का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन थालि सकेको उहाँले बताउनुभयो ।
केन्याबाट आएका वैज्ञानिकहरु नेपालको प्रयोगशालालगायत अन्य पूर्वाधारको अवलोकन गरिसकेका छन् । त्यस क्षेत्रका विज्ञ तथा अधिकारीहरुसँग पनि छलफल थालिएको छ । मास्टर सिड दिनका लागि आइएलआरआइ सकारात्मक देखिएको छ, तर अझै छलफल जारी रहेको उहाँले बताउनुभयो ।
मास्टर सिडका लागि भारतलाई पनि आग्रह गरिएको थियो तर भारतले दिन नसकिने जवाफ पठाई सकेको छ । भारतले आफै भ्याक्सिन उत्पादन गर्न नसकेको अवस्थामा नेपाललाई सिड दिने कुरा नै हुँदैन । भारतबाट तत्कालै सिड आउँछ भनि आशमा कृषि मन्त्रालय छैन । आइएलआरआइले सिड दिन्छ कि आशा कृषि मन्त्रालयमा पलाएको छ । त्यस विषयमा दुई पक्षको बिचमा गम्भीर ढंगले कुराकानी चलिरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गत पशु स्वास्थ्य महाशाखाका प्रमुख डा. सम्झनाकुमारी काफ्लेले लम्पीस्किन रोग नियन्त्रणका लागि के कसरी गर्ने त्यसका लागि मार्गचित्र तयार गर्ने कार्य भइरहेको बताउनुभयो । यो रोग अफ्रिकामा धेरै देखिएकाले त्यहाँबाट नै विज्ञहरु नेपाल आएर अध्ययन गरिरहनु भएको छ, उहाँहरुसँगको छलफलका आधारमा मार्गचित्र तयार गर्ने उहाँले बताउनुभयो ।
नेपालमा भ्याक्सिन उत्पादन गर्न सातदेखि आठ महिनासम्म लाग्न सक्छ, तर भ्याक्सिन उत्पादन भन्दा पहिला नेपालमा लम्पीस्किन कसरी व्यवस्थापन र नियन्त्रण गर्ने भन्ने त्यसको तयारी लाग्नुपर्ने बताउनुभयो । लम्पीस्किन विरुद्धको भ्याक्सिन उत्पदान गर्ने कार्य नेपालमा रहेको हेस्टर बायो साइन्स कम्पनीले गरिसकेको छ । परीक्षण उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले नेपाललाई भ्याक्सिन उपलब्ध गरायो भने निकै सस्तो पर्ने उहाँले बताउनुभयो । विदेशबाट भ्याक्सिन मगाउँदा एक डोज भ्याक्सिनको २००–२५० रुपियाँसम्म पर्ने गरेको छ । हेस्टरले उत्पादन गरेर दियो भने एक डोजको २५ देखि ३० रुपियाँ मात्र पर्ने अनुमान विभागले गरेको छ ।

तपाईको प्रतिक्रिया