यो अवस्थामा जनमतलाई सत्ता सुम्पिन्न सकिदैन

–राजकुमार गुप्ता (राजु गुप्ता)
(प्रदेश सभा सदस्य, मधेश प्रदेश)
–जनता समाजवादी पार्टी नेपाल

गजेन्द्रनारायण सिंहले २०४० मा स्थापना गर्नुभएको नेपाल सद्भावना परिषद्बाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएका सिरहा लक्ष्मीपतारीका राजकुमार गुप्ता (राजु गुप्ता) लामो समय नेपाल सद्भावना पार्टीमा नै रहेर मधेशको राजनीति गर्नुभयो । तर जब नेपाल सद्भावना पार्टी टुटफुट हुन थाल्यो अनि उहाँ सो पार्टी छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम अर्थात अहिलेको जनता समाजवादी पार्टीमा आवद्ध हुनुभयो । सिरहा क्षेत्र नम्बर १ को (ख) बाट २०७९ को प्रदेशसभा सदस्यमा चुनाव जित्नु भएका राजु गुप्तासँग सहारा टाइम्सले मधेश सरकार र जसपा नेपालको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

तपाई एउटा प्रदेश सभा सदस्यको नाताले मधेश प्रदेश सरकारलाई कसरी हेर्नु हुन्छ ?
–सात वटा प्रदेशमध्ये मधेश प्रदेश मात्र एउटा यस्तो प्रदेश हो जो पहिचानमा आधारित नमाकरण गरिएको प्रदेश हो । मधेश संघीयताको जननी हो । मधेशमा आन्दोलन भएकै कारणले देशमा संघीयता आएको हो । संघीयताका लागि लडेर आफ्नो पहिचान अनुसार प्रदेश बनाएको कारण विश्वको ध्यान मधेश प्रदेशतिर रहेको देखिन्छ । आफ्नो अधिकार र पहिचानका लागि मधेश अहिले पनि संघीय सरकारसँग लडिरहेको छ । त्यसैले मधेशको आफ्नै छुट्टै अस्तित्व छ भनि प्रमाणित भएको छ । त्यसको सेरोफेरोमा सरकारलाई पनि हेरिरहेको छ । सरकार पनि विशिष्ट खालको छ, त्यसको आफ्नै मौलिकता छ ।

मधेश प्रदेशको सरकार जहिले पनि चर्चामा नै हुन्छ, जसपा नेतृत्वको यो सरकार कतिको टिकाउ छ जस्तो लाग्छ तपाईलाई ?
–यो एउटा कुनै दलको सरकार होइन । जसपाले अन्य सहयोगी दलहरुको सहयोगमा सरकार बनाएको हो । गठबन्धनको सरकार भएको हुनाले यसले आफ्नो मूल्यमान्यता अनुसार नै चल्छ । गठबन्धन दलको सरकार भएको हुनाले गठबन्धनमा रहेका दलहरुले सरकारप्रति चासो राख्ने, सरकारको लागि चाहना गर्ने समान्य कुरा हो । र, त्यो स्वभाविक पनि हो । अन्य प्रदेशभन्दा मधेश प्रदेशको सरकार गठनको प्रकृति, गठबन्धनको प्रकृया अलि फरक छ । मधेशमा जसपाको बलियो उपस्थिति रहेको कुरालाई नकार्न मिल्दैन । मधेशको शक्तिशाली दलमध्येकै जसपा हो भन्ने कुरा बुझ्नुपर्छ । सँख्यामा अलि कम भए पनि जसपाले उठाएको मुद्दा, लिएको अडान तथा विभिन्न एजेण्डाका आधारमा सबै दलभन्दा महत्वपूर्ण र शक्तिशाली रहेको कुरा सबैले बुझेका छन् ।

जसपा मधेशमा तेस्रो ठूलो शक्ति भए पनि आफ्नो मुद्दा, विचार र सिद्धान्तका आधारमा विगत सात वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको हो । जसपामा क्षमता भएकै कारणले यो जिम्मेवारी दिएको हो नि । मधेशमा जसपा बलियो भए जस्तै अरु प्रदेशमा अन्य दलहरु छन् । जसरी एमाले, माओवादीले अरुअरु प्रदेशमा सरकारको दावी गरिरहेका छन्, त्यसरी नै जसपा मधेश प्रदेशमा दावी गरिरहेको छ । अरुअरु प्रदेश काँग्रेस, माअ‍ोवादी, एमालेले चलाए जस्तै मधेश प्रदेश जसपालाई चलाउन दिनुपर्छ भनि हाम्रो मान्यता हो । जहाँसम्म सरकार टिकाउको कुरा हो, यसको मापन गरेर कसैले भन्न सक्दैन किनभने देशको राजनीतिमा कतिबेला के हुन्छ, कसैलाई थाह हुँदैन । तर मेरो विचारमा जसपाले पुरा कार्यकाल मधेश सरकारको नेतृत्व गर्छ ।

यो गठबन्धनको सरकार भएको हुनाले गठबन्धन दलले पनि हिस्सेदारी पाउनुपर्ने होइन र ?
–हो गठबन्धन दलको सरकार भएको हुनाले गठबन्धनमा रहेका अन्य दलले पनि हिस्सा पाउनु पर्ने हो । यो स्वभाविक पनि हो । तर मैले अघि पनि भनेको थिए कि मधेश प्रदेश जस्तो अरु पनि छ वटा प्रदेश छन् । त्यहाँको अवस्था के छ, त्यहाँ कसरी बाँडफाँड भइरहेका छन् । त्यसलाई आधारमा मानेर मधेश प्रदेशमा पनि बाँडफाँड गर्नुपर्छ । मधेश प्रदेश बनाउने, मधेशलाई स्थापित गर्ने, संघीयतालाई स्थापित गर्ने दल जसपा भएको नाताले पनि स्वभाविक रुपमा त्यहाँको नेतृत्व सिर्फ जसपाले पाउनुपर्ने हो । यदि त्यसमा सहमत भएन भने जसपाले सत्ता बाँडफाँड गर्नका लागि यार छ तर लिने पनि इमान्दारी पूर्वक आउनुपर्छ ।

काँग्रेस, एमाले, माओवादीको कुरा छाडौ तर विगतमा जनमत र लोसपासँग पनि सरकार आलोपालो चलाउने सहमति भएको थियो, त्यो सहमति जसपाले किन लागु गर्दैन त ?
–यदि त्यस्तो सहमति भएको छ भने सत्ता सहकार्य गर्नुपर्छ । आलोपालोका लागि कुरा भएको छ भने सरकारको पालो दिनुपर्छ । तर जहाँसम्म जनमतको कुरा छ त्यो इमान्दारिता देखाउन सकेन । जनमत विचलनमा परेको पार्टी हो । विभिन्न मुद्दा तथा विचारमा त्यो पार्टीले विचलन देखाएकै हो । उसको विचारमा, मुद्दामा, एजेण्डामा सबैमा विचलन आएको हो । सोही विचलनका कारण बिचेमा सरकार छाडेर गएको हो ।
जसपा सरकारलाई अप्ठ्यारोमा पार्नका लागि जनमतले सरकार छाडेर गएको हो । यो कुरा जसले पनि बुझ्न सक्छ । यस अवस्थामा पनि जनमतलाई सरकारको नेतृत्व दिने कुरा कही पनि आउँदैन । कुनै पनि हालतमा जनमतलाई सत्ता हस्तान्तरण गर्न सकिदैन । सत्ता लिनका लागि त्यो अनुसारको क्यारेक्टर बनाउनुपर्छ । मधेशी जनताका लागि सुध्रिएर आउनुपर्यो । आफ्नो क्रियाकलाप, कार्यशैली सबैमा सुधार गरेर आउनुपर्यो । त्यो सुधार गर्न सकिएन भने जनमतको हातमा सत्ता कहिले पनि जाँदैन ।

त्यसो भए यो पुरै कार्यकाल जसपाले नै सरकारको नेतृत्व गर्छ होइन ?
–हो, हाम्रो चाहना पनि त्यही हो । जसपा मधेशवेश पार्टी भएको कारणले कम से कम मधेश प्रदेश सरकारलाई नेतृत्व गर्ने जिम्मेवारी जसपालाई नै दिनुपर्छ । यदि यसमा सहमति नभए गठबन्धनभित्र जे कुरामा सहमति हुन्छ त्यसलाई जसपा मान्न तयार छ ।

आलोपालोको सरकारभन्दा पनि अहिलेका मुख्यमन्त्री सरोज यादवमाथि नै दलहरुले आवाज उठाउन थालेका छन् कि कामै गर्न सकेन, सबै कुरा होल्ड राखेका छन्, पर्फमेन्स पनि कमजोर देखिएको टिप्पणी हुने गरेको छ, के यो साँच्चै हो त ?
–सरकार तथा मुख्यमन्त्रीको बारेमा बाहिर जति पनि टिप्पणीहरु भइरहेका छन् त्यसमा कुनै सत्यता छैन । केही सानो तिनो कुराले कुनै कुरामा असहमति भयो भने त्यो बेग्लै कुरा हो । त्यो पार्टीभित्र पनि हुन्छ र बाहिर पनि हुन्छ तर मुख्यमन्त्रीले कामै गर्नुभएन, कसैलाई कामै गर्न दिएन जस्ता आरोपहरु छन् ती सबै निराधार र कपोकल्पित हो । अर्को कुरा यो पनि हो कि सबैले सबैको चित्त बुझाउन वा सन्तुष्ट बनाउन सक्दैनन् । कुनै न कुनै कुरामा मन दुखाएकै हुन्छन् । यदि कुनै मापने यन्त्र छ भने त्यसले मापन गर्दा सात वटा प्रदेशमध्ये मधेश प्रदेशले सबभन्दा बढी काम गरेको छ ।

चाहे त्यो नीति निर्माण, कानुन निर्माणको काम होस् वा विभिन्न समिति, आयोग बनाउने कुरा होस्, दलित सशक्तिकरणको कुरा होस् वा लोकसेवा आयोगको क्रियाशिलताकाको कुरा होस् अन्य प्रदेशको तुलनामा मधेश प्रदेश धेरै नै अगाडि छ । मधेश प्रदेश सरकार अलिकति सुशासनमा चुकेको देखिन्छ । त्यसको मुख्य कारण हो मधेश सरकारसँग न आफ्नो शासन छ न आफ्नो प्रशासन । प्रहरी समायोज, प्रहरी ऐनको कुरा केन्द्रमै अल्झेर बसेको छ । त्यसले गर्दा यहाँ सुशासन कायम गर्न गाह्रो भइरहेको छ । संविधानले दिएको अधिकार पनि संघीय सरकारले प्रदेशलाई दिन मानेको छैन । त्यसले गर्दा मधेश सरकाले चाहेर पनि काम गर्न सकिरहेको छैन ।

जसपाले विगत सात वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको हो, यो अवधिमा जनताले अनुभूती गर्ने खालको कुनै त्यस्तो यादगार काम सरकारले गरेको छ ?
–मधेश प्रदेश सरकारले थुप्रै जनसरोकार र महत्वपूर्ण कार्यहरु गरेको छ । जुन गर्व गर्न लायकका पनि छन् । छोरी बीमा कार्यक्रम, बेटी बचाउ, बेटी पढाउ कार्यक्रम, पोखरी सोन्दर्यकरण कार्यक्रम, विश्व विद्यालयहरु स्थापना, छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम, मधेशी महिलालाई ५० प्रतिशत अधिकार दिने कुरा, दलित सशक्तिकरणको कुरा, यस्ता अरु अरु पनि छन् । यसमा महत्वपूर्ण कामहरु भएका छन् । अर्को मुख्य कुरा मधेश सरकारलाई बस्ने ठाउँको व्यवस्था पनि मधेश प्रदेश सरकारले गरेको हो । असँख्य कानुन निर्माणका कामहरु अगाडि बढेको छ, कपिय सम्पन्न पनि भइसकेका छन् । अहिलेको सरकार पनि गठबन्धनको सरकार हो, विगतमा पनि गठबन्धनकै सरकार थियो । गठबन्धनको सरकार हुँदा काम गर्न त्यति सजिलो हुँदैन जस्तो लाग्छ ।

तपाई वा तपाईका सरकारले कामका फेहरिस्त जति सुनाए पनि जनता सन्तुष्ट भएन भने त्यसको कुनै अर्थ रहदैन, तपाई पनि आफ्नो क्षेत्रहरुमा घुम्नुहुन्छ, मधेश सरकारप्रति जनता कति खुश छन् ?
–मधेश सरकार मात्र होइन, कुनै पनि सरकारसँग जनता खुश छैन, चाहे स्थानीय सरकार होस् या प्रदेश र संघीय सरकार । तीनटै सरकारबाट जनता खुश देखिएको छैन । यसका लागि गणतन्त्र पूर्ण कार्यान्वयनमा आउनुपर्छ । नीति, कानुन निर्माण भएर फूलफेजमा कार्यान्वयनमा आइसक्नुपर्छ । देशमै शिक्षा, रोजगार, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ । अनि मात्र जनता सन्तुष्ट हुन्छ । अहिले पनि देश संक्रमणकाल अवस्थामा नै छ । यस अवस्थामा जनतालाई सन्तुष्ट बनाउनु धेरै ठूलो कुरा हो ।

सात वर्षमा मधेश सरकारले थुप्रै काम गरेको सुनाउनुभयो, तर यो सात वर्षमा जसपाको ग्राफ बढेको छैन बरु घटेकै छन्, यसको बारेमा के भन्नुहुन्छ ?
–तपाईले भनेको कुरा सही हो । सरकारले यो प्रदेशमा थुप्रै कामहरु गरेका छन्, तर पार्टीले यसको जस कमाउन सकेन । विपक्षीहरुबाट जबर्जस्ती बदनाम बनाउने काम भयो । जसपा मजबुत होस् भनि नचाहनेहरु नानाथरी कुराहरु काटेर बस्छन् । मुद्दाहरु हालिरहेका हुन्छन् । गल्ती जसले गरेपनि सरकारको नेतृत्व गरेको कारण जसपा नै बदनाम हुन्छ । जसले गल्ती गरेपनि सबै दोस जसपामाथि नै आइलाग्छ । मेरो विचारमा यसबाट जसपा बच्नुपर्छ ।

जसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ, महाधिवेशनपछि जसपा कुनै नयाँ रुपमा आउँछ कि यस्तै रहन्छ ?
–कुनै पनि जीवन्त पार्टीका लागि महाधिवेशन निकै महत्वपूर्ण कुरा हो । महाधिवेशनले पार्टीलाई नयाँ जोश, नयाँ उमङ्ग दिन्छ । जसरी एउटा बाइकलाई वा गाडीलाई सर्भिसिङ गराएपछि एउटा अवधिसम्म ठिकठाक चल्छ त्यस्तै नै पार्टी र संगठन पनि हो । पार्टीका लागि महाधिवेशन एउटा सर्भिसिङ हो । सर्भिसिङ भइसकेपछि नयाँ रुपमा आउँछ । २०८४ आउँदासम्म जसपा एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्छ । अरु धेरै नभएपनि २०७४ मा जसपा जुन अवस्थामा थियो त्यो अवस्थामा जसरी पनि फर्काउनुपर्छ । अहिले हाम्रो पार्टीका आदरणीय अध्यक्षजी (उपेन्द्र यादव)ले पार्टीका लागि काफिर मेहनत गर्नुभएको छ । २०७९ को चुनावपछि पार्टीको अवस्था राम्रो नदेखेपछि अध्यक्षजी आफै लाग्नुभयो । समस्या पहिचान गरी त्यसलाई अगाडि बढाउनुभयो । आज पार्टी ठिकठाक पोजिसनमा छ । महाधिवेशनपछि झन राम्रो भएर आउँछ भनि विश्वास पनि लागेको छ ।

तपाई जे भनेर जनतासँग मत लिनुभयो चुनाव जित्नुभयो, त्यो कुराको अनुभुती त्यहाँका जनतलाई दिलाउन सक्नु भएको छ कि छैन ?
–विगतमा हाम्रो क्षेत्रका जनता जुन बेथितीबाट गुज्रेको थियो त्यसबाट दिक्क भएर नै मलाई ल्याएको हुनुपर्छ । मबाट जनताले पक्कै पनि आशा र विश्वास गरेको छ । त्यो आशा र विश्वास पुरा गर्ने दायित्व मेरो हो र म हरहमेशा त्यो पुरा गर्ने प्रयासमा छु । सडक, मदमन्दिरहरु बनाउने म्याण्डेट मलाई त्यहाँको जनताले दिएको छैन । उनीहरुले मुख्य तीन वटा म्याण्डेट मलाई दिएको छ । पहिलो बलान नदी जसबाट वर्षेनी जनताहरु पिडित हुँदै आएको हो । खेत तथा वस्ती जोखिमा छन् । त्यसले गर्दा बलान नदीलाई प्राथमिकतामा राखेको छु र त्यसका लागि थुप्रै कामरु अगाडि पनि बढी सकेका छन् । चालु आर्थिक वर्षमा धेरै काम अगाडि बढेको छ ।

अगामी आर्थिक वर्षमा पनि बजेट राखेर त्यसलाई पूर्णता दिनेछु । कहेी सडकका कामहरु पनि अगाडि बढेका छन् । हुलाकी सडकदेखि महेन्द्रराजमार्गमा उत्तर दक्षिण केही सडक जोड्ने मेरो योजना छ । मोतीपुरा, मिर्जापुर, पटना, झाँझपट्टी हुँदै बोर्डरसम्म जान्छ । लक्ष्मीपतारिदेखि लहान नगरपालिकासम्म पनि सडक तान्ने योजना छ । सिचाईका लागि साना र मझौला सिँचाइ योजनाका कामहरुको सर्वे गराएर अगाडि बढाएका छौं । सिँचाइका लागि विद्युतीकरणका काम पनि अगाडि बढाएको छु । कृषि उत्पादनमा वृद्धि गर्दै त्यसका लागि एउटा कृषि बजार र शितभण्डार बनाउने योजना पनि पाइपलाइनमा छ । खेलकुदका लागि रंगशाला बनाउने योजना पनि बनाएको छु, त्यो पनि अगामी आर्थिक वर्षको कार्यक्रममा राख्नेछु । त्यसका साथै शिक्षाको सुधारका लागि विभिन्न योजना पनि बनाएको छ । सुलभ स्वास्थ्यका लागि अस्पताल बनाउने योजना पनि बनाएका छौं ।

तपाईको प्रतिक्रिया