देश, मधेश र पार्टीमा उपेन्द्र यादवको विकल्प खोज्ने बेला भएको छैन
१६ चैत्र २०८०, शुक्रबार २३:०२
–जयराम यादव –राजनीति समितिका सदस्य, जनता समाजवादी पार्टी नेपाल
फागुन २२ गते काँग्रेस–माओवादीको गठबन्धन भत्केर एमाले–माओवादीको गठबन्धन बन्यो । त्यो गठबन्धनमा जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एस) पनि सहभागी छन् । यो पटक पटक गठबन्धन भत्किनाले राजनीति पनि अस्थिर भएको छ । समग्र देशकै वतावरण बिग्रिएको छ । सरकार तथा राजनीतिक दलका नेताहरुमाथि विभिन्न प्रश्न उठिरहेका छन् । यस्तो किन त ? नेपालमा गठबन्धन किन सफल भएन, यसको कारण के हो ? अबको बिकल्प के त ? लगायतका विषयमा जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य एवं कोशी प्रदेश पार्टीका सल्लाहकार समितिका अध्यक्ष जयराम यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
देशमा पछिल्लो समय देखिएको गठबन्धनको राजनीतिलाई तपाईले कसरी लिनुभएको छ ?
–गठबन्धनको राजनीति वा गठबन्धनका सरकार नराम्रो कुरा होइन । गठबन्धन हुनु नराम्रो होइन । तर नेपालको सन्दर्भमा यो सफल नभएको हो जस्तो लाग्छ मलाई । सबै दल मिलेर सरकार चलाउँदा, देश चलाउँदा त राम्रै हो नि । सबै दलहरु एक ठाउँमा बसेर देशको विकासका लागि काम गर्नु राम्रो हो तर नेपालमा त्यति गतिलो भएन जस्तो मलाई लाग्छ । गठबन्धन बन्छ तर त्यसलाई निरन्तरता नदिइ बिचैमा टुट्छ र फेरि अर्को बन्छ । यस्तो लाग्न थाल्यो कि गठबन्धन सत्ता प्राप्तिका लागि मात्र हो ।
जसले बहुमत पुर्याउन सके, जसले दललाई मिलाउन सके त्यसले नै सत्ता प्राप्ति गर्न सक्छ । गठबन्धन जुन उद्देश्यले बनेको हुन्छ त्यो व्यवहारमा देखिदैन, कार्यान्वयमा आउँदैन ।
तपाईले भने अनुसार गठबन्धन जुन गतिमा चलिरहेको छ त्यसले देशको समग्र राजनीतिमा कस्तो असर पार्छ ?
–म फेरि भन्छु गठबन्धन गर्नु नराम्रो होइन । भारतमा एउटै गठबन्धन वर्षौ वर्षसम्म चल्छ तर नेपालमा एक वर्षमा तीन पटक गठबन्धन भत्किन्छ र बन्छ । एउटा गठबन्धनलाई निरन्तरता नदिएको कारण राष्ट्रिय रुपमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा यसको गलत सन्देश गएको छ । यसले देशको समग्र विकास, समग्र राजनीतिलाई प्रभाव पारेको छ । केन्द्रमा गठबन्धनमा गडबड भयो भने त्यसको असर स्थानीय तहसम्म देखिन्छ ।
त्यसको प्रभाव वडा तहसम्म पुगेको हुन्छ किनभने देशमा संघीयता र गणतन्त्र आएपनि अझै केन्द्रका प्रभाव जनताको घरघरसम्म देखिन्छ । हरेक कुरा केन्द्रबाट नै गाइडेड छन् । कर्मचारी प्रशासनदेखि लिएर, विभिन्न संघ, संगठन तथा राजनीतिक गतिविधिहरु सबै केन्द्रबाट नै सञ्चालित भएका कारण केन्द्रमा केही भयो भने त्यसको प्रभाव तलसम्म पुग्छ । त्यसैले देशमा खासगरि २०७४ को चुनावपछि गठबन्धनको कुरा एउटा संस्कार जस्तै भएको छ ।
यसअघि पनि दलहरु मिलेर सरकार बनाउने चलन हुन्थ्यो तर यसरी संगठित हुँदैन्थे तर पछिल्लो समय दलहरु सम्झौता गरेर नै संगठित भएर गठबन्धन बनाउन थालेका छन् र त्यसको संरचना प्रदेशसम्म पनि बनाउने गरेको कारण यो निकै प्रभावकारी देखिएको छ तर गलत क्रियाकलाप तथा व्यवहारले गर्दा यसको सन्देश राम्रो गएको छैन ।
राजनीतिमा यसको प्रभाव कस्तो पाउनु भएको छ तपाईले ?
–गठबन्धनको प्रभाव सबभन्दा बढी राजनीतिमा नै परेको छ । मैले अघि नै भने नि कि केन्द्रमा गठबन्धन भत्केपछि वा बनेपछि त्यसको प्रभाव स्थानीय तहसम्म पुगेका हुन्छन् । स्थानीय तहको सरकार जनताबाट चुनिएर बनेको प्रतिनिधिबाट सञ्चालित भएको कारण त्यहाँ हेरफेर हुँदैन तर कर्मचारीमा त्यसको प्रभाव पर्छ । केन्द्रमा जसको मन्त्रालय हुन्छ तलका मेयर, अध्यक्षहरुले त्यही अनुसार कर्मचारी व्यवस्थापन गर्छन् । स्कूलहरुमा शिक्षकहरु हेरफेर गर्छन् । कार्यक्रम तलमाथि हुन्छन् । यसरी स्थानीय तहमा पनि त्यसको प्रभाव पर्छ तर केन्द्र र प्रदेश जस्तो स्थानीय तहमा हुँदैन ।
केन्द्रमा गठबन्धन परिवर्तन भयो भने प्रदेश सरकार सिधै हल्लिन थाल्छ । त्यहाँ मुख्यमन्त्री परिवर्तन हुन्छ, प्रदेश प्रमुख, मन्त्रीहरु परिवर्तन हुन थाल्छन् । त्यही अनुसार कर्मचारीहरु पनि हेरफेर हुन्छन् । पछिल्लो समय केन्द्रमा गठबन्धन परिवर्तन भएपछि सात वटै प्रदेशका सरकार हल्लिएका छन् । कुनबेला कुन मुख्यमन्त्री, मन्त्री हट्ने हो, प्रदेश प्रमुख हट्ने हो थाह हुँदैन । सबैले हिसाब किताब गर्न थालेका छन् ।
त्यही अवस्था केन्द्रमा छ । प्रधानमन्त्री परिवर्तन नभए पनि २०७९ को चुनावपछि हालसम्म तीन चार पटक मन्त्रीपरिषद् हेरफेर भएका छन् । मन्त्री हेरफेर हुनै वित्तिकै पुरै सिस्टममा त्यसको असर पर्छ तलदेखि माथीसम्म हेरफेर हुन्छ । योजना अयोगका सदस्यदेखि लिएर राजदूतहरु पनि हेरफेर गरिन थाल्छन् ।
सचिव सरुवा, कर्मचारीको सरुवा हुन्छन्, प्रहरी प्रशासनमा पनि हेरफेर हुन्छ अर्थात एकपटक मन्त्रीमण्डल हेरफेर हुँदा पुरै राज्यमाथि नकारात्मक प्रभाव पर्छ । जुन राम्रो कुरा होइन । विकास निर्माणमा यसको सिधै असर पर्छ । जनतामा निराशा उत्पन्न गराउँछ ।
यो गठबन्धनको दाउपेचले गणतन्त्रमाथि पनि असर पर्छ जस्तो लाग्छ तपाईलाई ?
–संघीय लोकतान्त्रिक गणतन्त्र सर्वस्वीकार्य प्रणाली हो । यो प्रणाली ल्याउनका लागि धेरैले रगत बगाएका छन् । यसमा जनतालको खुन पसिना लागेको छ । त्यसैले यो त्यति छिट्टै कसैबाट वा कुनै गतिविधिले प्रभावित हुँदैन जस्तो लाग्छ मलाई । तर सधैको समय एकनाशले रहदैन । प्रदेशमा जुनखालको खेलहरु भइरहेका छन् । मुख्यमन्त्री, मन्त्रीहरु हरेफेरको जुन नाटकहरु भइरहेका छन् । त्यसले जनतामा निराशा जगाएको छ ।
यदि यसरी निराशा बढ्दै गयो भने गणतन्त्रको विरुद्धमा जाँदैन भनि भन्न सकिदैन । यत्रो मेहनत गरेर, लडेर ल्याएको गणतन्त्र केही नेताहरुको सनकका कारण बिकृत भइरहेको छ, सत्ताका लागि लुछाचुडी गरिरहेका छन् सायद गणतन्त्र नै गलत हो कि जस्तो जनतालाई लाग्यो भने त्यसलाई सम्हाल्न सकिदैन । जनताले अवाज उठाउन थालेका छन् । तर नेताहरु सचेत भइरहेका छैन । अहिले गठबन्धनका कारण राजनीतिमा जे भइरहेका छन् त्यसलाई जनताले रुचाएको छैन भने कुरा प्रष्ट छ । यसलाई समयमा सच्याएन भने दीर्घकालिन असर पर्छ ।
नेपालमा गठबन्धन बिकृत हुनुको कारण के हुनसक्छ जस्तो लाग्छ तपाईलाई ?
–मेरो विचारमा पहिलो कारण त सत्ता नै हो । गठबन्धनलाई सत्ताको रुपमा मात्र प्रयोग गरेको देखिन्छ । गठबन्धनलाई अरु कुरामा प्रयोग गरेर जनतको हितमा काम गरेको भए हुन्थ्यो तर सत्ता बाहेक अरु कुनै काम नगरेको कारण यो सफल नभएको हो जस्तो लाग्छ ।
जो जो गठबन्धनमा छन् सबैलाई सत्ता चाहियो, सबैलाई प्रधानमन्त्री, मन्त्री चहियो । कोही पनि बिना सत्ता र मन्त्रीबाहेक बस्न सक्दैन । गठबन्धनमा सहभागी हुनु भनेकै सत्ता हो जस्तो भइसकेको छ । यो गठबन्धनको खेल अन्त्य गर्नका लागि जनताद्वारा चुनिएको कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ । जनताद्वारा चुनिएको कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेसम्म देशमा स्थिरता आउँदैन । किनभने यहाँ जनताले पनि त्यही अनुसार मतदान गर्छन्, त्यही अनुसार नेता र राजनीति दल चयन गर्छन् ।
संसदमा दलहरु पठाउँदा बहुमत दिएर, अंक गणित मिलाएर पठाउँदा हुन्थ्यो तर त्यस्तो भइरहेको छैन । दलहरुलाई थोरै थोरै सीट दिएर पठाउँछन् जो सरकार बनाउनमा काम लाग्दैन । एउटा वा दुईटा दलले मात्र सरकार बनाउन सक्दैन । विभिन्न दल मिल्नुपर्ने बाध्यता नै छ ।
त्यो बाध्यता हटाउनका लागि जनताद्वारा चुनिएको कार्यकारी राष्ट्रपति नै अन्तिम विकल्प हो । कार्यकारी राष्ट्रपति भएपछि मन्त्रीहरु संसदभन्दा बाहिरबाट लिएर मन्त्री बनाउनु हुन्छ । संसदले सिर्फ नीति निर्माण गर्ने काम गर्छ । तर हाम्रो देशमा सांसद बन्नु भनेको प्रधानमन्त्री र मन्त्री बन्नका लागि मात्र हो जस्तो लाग्न थालेको छ । सांसदमा चुनाव जित्ने बित्तिकै प्रधानमन्त्री वा मन्त्री कसरी बन्ने त्यो दौडमा लाग्छन् । नीति निर्माण, ऐन कानुन बनाउनमा एकदमै ध्यान दिएको हुँदैन त्यही कारणले यी सब बिग्रेको हो जस्तो लाग्छ मलाई ।
तपाईको पार्टी अहिले महाधिवेशनको तयारीमा जुटेको छ यत्रो पुरानो पार्टी तर पहिलो महाधिवेशन भनिरहेको छ किन ?
–हो हाम्रो पार्टी पुरानो हो तर पार्टीले विभिन्न दलसँग एकता गरेको छ । एकता गरेपछि एकताको महाधिवेशन गर्नुपर्छ तर त्यो एकताको महाधिवेशन हालसम्म भएको छैन । कुनै एउटा दलसँग एकता गर्यो, त्यसपछि अब महाधिवेशन गर्नुपर्छ भनि तयारीमा लाग्दा लाग्दै अर्को दलसँग एकता हुन्छ फेरि अर्को तयारी सुरु हुन्छ फेरि कसैसँग एकता हुन्छ । यसरी विभिन्न पार्टीसँग एकता गर्दा गर्र्दै यतिका समय लागेको हो । विभिन्न दलसँग एकता गर्दै पार्टीको नाम, विधान, झण्डा, चुनाव चिन्ह परिवर्तन गर्दा गर्दै महाधिवेशनको समय टर्दै गएको हो । अब यसपटक टर्दैन भनि हामीलाई विश्वास छ । तयारी तीब्र रुपमा चलिहरेको छ । जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन हुुनेछ ।
महाधिवेशनको तयारी कस्तो चलिरहेको छ ?
–विभिन्न समिति बनाएर दस्तावेज लेख्न कामहरु भइरहेका छन् । कार्यविधि, नियमावलीहरु पनि तयार भइरहेका छन् । जिल्ला, प्रदेशहरुबाट संगठित सदस्यहरुको नामावली आउने क्रम सुरु भएको छ । संगठित सदस्यको नामावली आइसकेपछि त्यसमाथि एकचरण छलफल हुन्छ र त्यसपछि त्यसलाई सार्वजनिक गरिनेछ । अनि एउटा कार्यविधि बनाएर महाधिवेशन प्रतिनिधि चयन गर्न काम सुरु हुन्छ ।
हिसाब गर्दा त यो दोस्रो महाधिवेशन हुनुपर्ने हो तर पहिलो नै भनिएको छ । यो महाधिवेशनपछि पार्टीले के दिशा लिन्छ, सैद्धान्तिक, वैचारिक रुपमा यसको स्वरुप कस्तो हुन्छ ?
–हामी विधान अधिवेशन गरेर विधान तयार गरेका छौं । सोही विधानको आधारमा यो महाधिवेशन हुन लागेको हो । विचार र सिद्धान्त सबै तय भइसकेको छ । यो पार्टीको लामो इतिहास छ सुरुदेखि साना साना केही कुरामा परिवर्तन भए पनि समग्रमा खासै केही कुरामा परिवर्तन आएको छैन । विधान अधिवेशनले नै धेरै कुराको तय पनि गरिसकेको छ । वैचारिक र सैद्धान्तिक रुपमा अरु थप केही गर्नुपर्छ जस्तो लाग्दैन । हो महाधिवेशनले संगठनलाई सुदृढ र बलियो बनाउने काम हुन्छ । जिम्मेवारी हेरफेर हुन्छ । महाधिवेशन पछि पार्टीमा एउटा जोश जागर आउँछ । त्यसले पार्टी नयाँ ढंगबाट अगाडि बढ्छ ।
अध्यक्षमा उपेन्द्र यादव नै रहनु हुन्छ कि अरु कोही बन्नुहुुन्छ ?
–यदि कसैले चाहना राख्नु भएको छ भने आउँदा हुन्छ । त्यसमा कसैले रोकटोक गर्नेछैन । विधान अनुसार जो कोही जुन पदमा पनि आउन सक्नु हुन्छ तर मेरो व्यक्तिगत विचार बुझ्नु हुन्छ भने अहिले नै उपेन्द्र यादवको विकल्प खोज्ने बेला भएको छैन । अझै केही समय उपेन्द्र यादवले नै यो पार्टीको नेतृत्व गर्नुपर्छ । देश, मधेश र पार्टीलाई अहिले पनि उपेन्द्र यादवको नै आवश्यकता छ । त्यसैले यो पहिलो महाधिवेशनबाट नै उपेन्द्र यादवको विकल्प खोज्नु हुँदैन जस्तो लाग्छ मलाई । मेरो विचारमा अरुले पनि त्यस्तो सोचेको छैन ।
यदि कसैलाई इच्छा लाग्यो भने उम्मेदवारी दिन पाउँछ कि पाउँदैन ?
–मैले अघि नै भने नि कि पार्टीको विधान अनुसार जो कोही पनि उम्मेदारी दिन पाउछ तर अरु कसैले त्यस्तो गर्छ जस्तो लाग्दैन । पार्टीमा उपेन्द्र यादवको विकल्प खोज्नुपर्छ भनि सायदै कसैले मनमा पनि सोच्नु भएको छैन जस्तो लाग्छ । म फेरि भन्छु अहिले पनि मधेश र पार्टीका लागि उपेन्द्र यादवको आवश्यकता छ ।
अन्त्यमा, जसपाले विगत सात वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरेको छ यसको प्रभाव समग्र मधेशमा पार्टीगत प्रभाव कस्तो छ ?
–मधेश प्रदेश सरकारको प्रभाव मधेश प्रदेशमा नै रहन्छ । आठ जिल्लाभन्दा बाहिर जाँदैन । रह्यो पार्टीको सन्दर्भ, अन्य प्रदेशका पार्टी सदस्यहरु गर्व गर्छ कि मधेशमा हाम्रो पार्टीले सरकारको नेतृत्व गरेको छ । विगतमा पाँच वर्ष जसपाले नै सरकार सञ्चालन गर्यो । अरु अरु प्रदेशमा हेरफेर भए पनि मधेश प्रदेशमा भएन । यसपटक पनि त्यस्तै अवस्था छ । पार्टीको लागि यो राम्रो पक्ष हो । पार्टी त्यसका लागि खुशी नै छ । र पार्टीगत हिसाबले देशभर नै त्यसका असर देखिन्छ ।
तपाई कोशी प्रदेशको नेता हुनुहुन्छ, त्यहाँबाट मधेश सरकारको बारेमा कस्तो मूल्याङकन गर्नुहुन्छ ?
–म एक नम्बर प्रदेशका नेता भए पनि मधेश प्रदेशको बारेमा हरेक कुराको जानकारी राख्छु जस्तो लाग्छ । अरु प्रदेशभन्दा मधेश प्रदेशमा जसपा बलियो छ । त्यहाँ पार्टीका गतिविधि अन्य प्रदेशको तुलनामा बढी हुन्छ त्यो कारणले पनि आउजाउ भइरहेको हुन्छ । पार्टीकै सरकार भएको कारण साथी भाइलाई भेट्ने बाहनामा पनि बेला बेलामा गइरहेको हुन्छु ।
समग्रमा भन्ने हो भने मधेश सरकारबाट मधेशी जनताले जुन अपेक्षा गरेको थियो त्यो पुरा नभएको जस्तो लाग्छ । जनताको मनोभाव बुझ्दा पनि त्यस्तै लाग्छ । मधेशी जनताले मधेश सरकारबाट ठूलो अपेक्षा गरेको थियो जुन पुरा भइरहेको छैन । त्यो पुरा नहुनुमा अरु अरु कारण होला त्यो बेग्लै कुरा हो तर जनता अपेक्षाकृत सन्तुष्ट देखिएको छैन ।
तपाईको प्रतिक्रिया