Khadya Bibhag

बिचारा फुट्नेहरुलाई पनि थाह छैन कि किन फुटेको हुँ

–उपेन्द्र यादव
–अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल
जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइ नेतृत्वको सात जना सांसद अलग भएर जनता समाजवादी पार्टी गठन गरिसकेका छन् । पार्टी मात्र विभाजन भएन, केन्द्र र मधेश प्रदेश सरकारबाट अलग पनि भयो । यही क्रममा पार्टीको एकता महाधिवेशन हुँदैछ । पार्टीको विभाजनको कारण के हो, अब पार्टीले के गर्छ लगायतका विषयमा केन्द्रित रहेर तथा गणतन्त्र दिवसको अवसरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीको सम्पादीत अंश
जनताबाट नै अवाज आउन थालेको छ कि गणतन्त्रको औचित्य समाप्त भयो, तपाई त गणतन्त्रका लागि संघर्ष गरेको मान्छे हुनुहुन्छ । साँच्चै औचित्य सकिएको हो त ?
–लामो संघर्षपछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । त्यसमा हजारौंले बलिदानी दिए, लाखौंले जेलनेल भोगे । यत्रो संघर्षबाट आएको गणतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि त्यो अनुसारको संविधान बनेन । यो संविधान जनता त जनतालाई दमन गरेर घोषणा गरिएको संविधान हो । संविधान घोषणा भएको दिन पनि मधेशी युवाले सहादत दिएका थिए । संविधान निर्माणको दिन काठमाडौँमा दीपावली मनाइरहँदा मधेशमा गोली चलिरहेको थियो । त्यसरी बनेको संविधानलाई संघीयतालाई कमजोर बनायो, गणतन्त्रलाई कुरुप बनायो । समावेशीतालाई अपाङ बनाई दियो । निर्वाचन प्रणाली एकदमै महँगो, शासकीय स्वरुप पनि विकृत छ । गणतन्त्र नेतातन्त्र, दलगन्त्र, लुटतन्त्र, नोकरशाही तन्त्रमा जक्रिएको छ ।

अब कम्युनिष्ट तन्त्र होइन, लोकतन्त्र, साम्यवादी तानाशाही होइन, समाजवादी लोकतन्त्रको युग आइसकेको छ । नेपालका कम्युनिष्टहरु दोहोरो चरित्रका हुन् ।

 

त्यही भएर राजतन्त्र नै ठिक भन्न थालेको हो मान्छेले ?
–गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । जसले यस्ता कुरा उठाइरहेका छन् उनले नै गणतन्त्रलाई विकृत बनाइ रहेका छन् । राजतन्त्रको प्रयोग विश्वका धेरै देशमा गरिएको थियो नि तर अधिकाँश ठाउँमा फेल भइसकेका छन् । धेरै जसो देशमा गणतन्त्र नै सफल भएको हो । नेपालमा पनि राजतन्त्रलाई प्रयोगमा ल्याइएको थियो तर यहाँ पनि सफल हुन सकेन । अहिलेको गणतन्त्रलाई जनताका लागि बनाउनका लागि संविधानलाई पुर्नलेखन गर्नुपर्छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ ।
के अहिलेको नेतृत्वबाट यो सम्भव छ त ?
–अहिलेको नेतृत्वले गर्न सकेन भने आउने पुस्ताले गर्छ, आउने नेतृत्वले गर्छ तर संविधान संशोधनको विकल्प छैन । तर अहिलेको यथास्थितिमा देश अगाडि बढ्न सक्दैन । देश प्रतिगमनतर्फ बढिसकेको छ । देश अन्योल, अनिश्चितता र अन्धकारतर्फ जान्छ ।
गणतन्त्रको यो हालत हुनुमा तपाईको पनि केही हात होला नि त कि होइन ?
–हामीले यो गणतन्त्र ल्याउनका लागि मेची महाकालीसम्म लड्यौं । त्यसमा हाम्रा थुप्रै साथीहरुले सहादत दिए । तैपनि संविधान निर्माणको काम भयो । त्यसपछि हामीले यो संविधान काम लाग्दैन, यसलाई संशोधन गर्नुपर्छ, पुनर्लेखन गर्नुपर्छ भनि संदनदेखि सडकसम्म सडकदेखि सरकारसम्म दबाव दिँदै आएका छौं । दलतन्त्र, नेतातन्त्र होइन रियलमा गणतन्त्र हुनुपर्छ भनि सुरुदेखि नै हामी उठाउँदै आएको हौं, के यो हाम्रो गल्ती हो र ?
गणतन्त्रलाई यो अवस्थामा पुर्याउने मुख्य दोषी को त ?
–आफूलाई ठूला दल दावी गर्ने नेताहरु जो देशमाथि लामो समयदेखि शासन गरे । पंचायतमा त्यही दलहरु थिए, बहुदलमा पनि त्यही दल थिए अहिले गणतन्त्रमा पनि त्यही दलको हालीमुहाली छन् । यसरी भन्दाखेरी गणतन्त्रलाई कुरुप बनाउनुमा उहाँहरु दोषी छन् । सिगैं मुलुकलाई अन्धकारतर्फ धकेल्ने प्रयास भइरहेको छ । ती दलहरुले जे कुकर्महरु गरिरहेका छन् त्यसले गर्दा संघीय लोकतन्त्र धरापमा गइरहेका छन् । अहिले भ्रष्टाचार र अनियमिततामा तिनै दलका नेताहरु कार्यकर्ताहरु मुछिएका छन् । कतिपय जेलमा पनि छन् । यसबाट बुझ्न सकिन्छ कि ती दलहरुले देशका लागि के गरेका थिए, के गरिरहेका छन् । भ्रष्टाचार कुराहरु बाहिर आएका छन्, ती सबै त्यही दलका नेताहरु सहभागी भएको देखिन्छ । फेरि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन त्यही दलका नेताहरु अगाडि देखिन्छन् । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि त्यही ठूला दल भनाउँदाहरुबाट रहेको प्रष्ट बुझ्न सकिन्छ । सिगों मुलुक देशलाई अन्धकारतर्फ धकेलिएको छ ।
अब त नौलो गणतन्त्रको कुरा पनि उठ्न थालेको छ यसमा तपाईको के टिप्पणी छ ?
–नौलो गणतन्त्र भन्नेलाई थाह छ कि छैन तर मलाई नौलो गणतन्त्रको बारेमा केही थाह छैन । यो शब्द चयनमा मात्र फरक हो । नौलो गणतन्त्र भन्नुस् या गणतन्त्र भन्नुस् गणतन्त्र भनेको गणतन्त्र नै हो, के नौलो के पुरानो सबै उस्तै हो । गणतन्त्र भनेको जनताको शासन हो, जनताको राज्य हो । जनताको सर्वभौमसत्ता, प्रभुसत्ता जनताको हातमा रहने कुरा हो । एक जमान थियो कि कम्युनिष्टहरुले नौलो जनवाद भन्थे । मैले बुझेको जनवाद भनेको डेमोक्रेसी हो, लोकतन्त्र नै हो त्यो पनि । तर नयाँ जामा लगाई दियो तर त्यो कति खुस्केर हराई सक्यो कसैलाई थाह छैन । एउटै परिभाषा हो गणतन्त्रको त्यो हो गणको राज्य ।
त्यसो भए व्यवस्था बदल्ने कि नेतृत्व बदल्ने ?
–सुधार सबैतिर जरुरी छ । सुरु नेतृत्वको चरित्रबाट गर्नुपर्छ । भिमराव अम्बेडकरले भन्ने गर्नुहुन्थ्यो, संविधान जतिसुकै राम्रो भएपनि त्यसको कार्यान्वयनकर्ता खराब भयो भने त्यो संविधान खराब भन्दा खराब प्रयोग भएर जान्छ ।’ अलिकति संविधान कमजोर भए पनि त्यसको कार्यान्वयकर्ता राम्रो भए परिणाम राम्रो आउन सक्छ । त्यसैले नेतृत्वकर्तामाथि व्यक्तिगत आचरणले धेरै कुरा निर्भर गर्दछ । जनता पनि जागरुक र चेतनशिल हुनुपर्छ । चुनावको समय कसलाई चयन गर्ने, कसलाई चयन नगर्ने कुराको ध्यान जनताले दिनै पर्छ ।

अहिले भ्रष्टाचार र अनियमिततामा तिनै दलका नेताहरु कार्यकर्ताहरु मुछिएका छन् । कतिपय जेलमा पनि छन् । यसबाट बुझ्न सकिन्छ कि ती दलहरुले देशका लागि के गरेका थिए, के गरिरहेका छन् ।

२०८१ सालको गणतन्त्र दिवस हामी मनाई रहेका छौं, अब भन्नुस् यो गणतन्त्रका आयु कति ?
–म गणतन्त्रप्रति निराशावादी छैन । संघीय गणतन्त्र नेपालको भविष्य हो । यसमा कहिले काही ग्रहण लागेको छ । त्यसलाई पन्छाउदै अगाडि बढ्नुपर्छ । गणतन्त्र नै नेपालको भविष्य हो । यदि गणतन्त्र समाप्त भयो भने देश पुनः अन्धकारको युगमा प्रवेश गर्छ । नागरिक फेरी रैतीमा परिणत हुन्छ । प्रजामा परिणत हुन्छ । तर अहिले गणतन्त्रको प्रयोग जुन किसिमले भइराखेको छ, जुन किसिमको अभ्यास शासक वर्ग तथा नेताहरुबाट भइराखेका छन्, त्यसले जनतामा केही निराशा आएको अवश्य हो । तर आजको युगमा निरकुंशता कसैले स्विकार गर्न सक्दैन ।
यही निराशा र आशाको बिचमा तपाईको पार्टी पनि विभाजन भयो, त्यो कसरी भयो ?
–प्रधानमन्त्री प्रचण्डले आफै भन्नु भएको छ कि मैले पार्टी विभाजन गराई दिएको हुँ । राज्यका सारा शक्ति, स्रोत, साधन सबै परिचालन गरेर अलिअलि सुकेका पातहरु झारी दिनुभयो । अहिले हाम्रो शक्ति यथावत छ । हामीलाई खासै नोक्सान भएको छैन ।
तपाईका धेरै पातहरु झरिसक्यो अब त डाँठ मात्र बाँकी रहने भयो भनिन्छ नि ?
–राज्यले पुरै शक्ति लगाएर हलाएपछि केही पात त झर्ने नै भए नि । अब त्यसमा नयाँ पातहरु पलाउदैछन्, बलियो भएर आउदैछन् । जनतामा जरो गाडेको, जनताको आवाज बोकेको शक्ति अगाडि पछाडी हुनसक्छन् तर समाप्त हुनसक्दैन । मैले त उहाँहरु (प्रचण्ड, केपी शर्मा ओली)लाई सहयोग गरैकै हो । तर उहाँहरु किन आतिनु भयो मलाई थाह छैन । उहाँहरु कुन भ्रममा पर्नुभयो थाह छैन तर म जहाँ थिए, जस्तो थिए त्यस्तै छु ।
शेरबहादुर देउवाको निवासमा माधवकुमार नेपालसहितको बैठकमा तपाई पनि प्रधानमन्त्री बन्ने गरी सम्झौता गर्नुभयो र एमाले–माओवादी गठबन्धन भत्काउने खेलमा लाग्नु भएको कुरा बाहिर आएको छ त्यो के हो ?
–सबै हावीदारी कुरा हो । कोही बौलाएका छन् र हामी जस्ता मान्छेलाई प्रधानमन्त्री बनाउँछन् यहाँ । जे जस्ता कुरा आएका छन् ती सबै भ्रमपूर्ण कुराहरु हुन् । त्यस्तो कुनै प्रकारको न कुरा भएको छ न कुनै योजना बनेको थियो । यो लोकतन्त्रको युग हो । अधिनायकबादको युग समाप्त भइसक्यो । अब कम्युनिष्ट तन्त्र होइन, लोकतन्त्र, साम्यवादी तानाशाही होइन, समाजवादी लोकतन्त्रको युग आइसकेको छ । नेपालका कम्युनिष्टहरु दोहोरो चरित्रका हुन् । लोकतन्त्रवादी हुँ भन्छन्, उता माक्सवादी लेलिनवादी हुँ पनि भन्छन् । माक्सवादीले लोकतन्त्रको कुरा सिकाउदैन । हुकुमी राज्यको कुरा सिकाउँछ । यसले गर्दा देशको लोकतन्त्र कहिले उभो लाग्दैन । आउने युग समाजवादी लोकतन्त्रको युग हो, जनताको युग हो । यसमा कसैले पनि चलाकी गर्न मिल्दैन ।

अब कम्युनिष्ट तन्त्र होइन, लोकतन्त्र, साम्यवादी तानाशाही होइन, समाजवादी लोकतन्त्रको युग आइसकेको छ । नेपालका कम्युनिष्टहरु दोहोरो चरित्रका हुन् ।

 

धेरैको चासोको विषय हो कि जसपा नेपाल किन फुट्यो, तपाईले आज त्यो चासो मेटाइ दिनुस् न ?
–पार्टी विभाजनको एउटा कारण भनेको राजनीति कारण हो । राजनीतिमा के हो भने संघीयता, पहिचान र राष्ट्रिय मुक्तिको जुन सवाल छ, विभेद र असमानताको विरुद्ध जुन हामी लडाइ लड्यौं त्यसको विरुद्धको प्रहार हो । पहिचान र संघीयता विरुद्धको प्रहार हो । अर्को कारण भनेको के हो भने सत्ता नै गुम्ने हो कि भनि राती सपना देखेछन् । हतार हतारमा जसपा नेपाल विभाजन गराएको छ । र केही दिन भ्रममा परेर आफ्नो सत्तालाई टिकाएका छन् । विचारा फुट्नेहरुलाई थाह छैन कि किन फुटेको हुँ । कोही मालदार मन्त्रालय पाएपछि कमाउने लोभमा गए भने कोही धन दौलतको लोभमा गए । अहिलेसम्म पार्टी विभाजन भएको सैद्धान्तिक र राजनीतिक कुनै पनि कारण फेला पारेको छैन ।
पार्टी विभाजन हुनु भनेको नेपालको राजनीतिक समस्या हो । माओवादी आफै कतियौ पटक विभाजन भइसक्यो । २००६ मा स्थापना भएको क्युनिष्ट पार्टी कतियौं पटक विभाजन भभइसके त्यसको हिसाब अहिले कसैसँग छैन । काँग्रेस पनि पटक पटक विभाजन भएकै हो । र, कमजोर दलाई फुटाउने काम पनि गरे । त्यही कारणले दलहरु संस्थागत हुन सकेन । र, दलहरु संस्थागत नभएसम्म लोकतन्त्र पनि संस्थागत हुनसक्दैन । हाम्रो देशमा सुनिश्चि रुपमा दल विभाजन गराइन्छ । यो लोकतान्त्रिक संस्कार हो । यसले लोकतन्त्र बलियो हुनसक्दैन ।
अब त फुट्दैन नि तपाईको पार्टी ?
–राजनीतिमा कुन बेला के हुन्छ थाह हुँदैन । जानेहरु गए, बस्नेहरु अझै बसिरहेका छन् । पार्टीमा मान्छे आउने जाने चलिरहन्छ । नेपाली काँग्रेस पनि पटक पटक फुटेको छ । फुटेकाहरु जहिले पनि आफ्नो स्वार्थका अलग भएको इसिहास छ ।

तपाईको प्रतिक्रिया