जुत्ता सिउने पेसा दलित समुदायको सार्की तथा तराई मधेशका चमार (राम) समुदायको रहेको छ । चुत्ता सिउने कामलाई अछुतो मान्छ र त्यसलाई छुवाछुतको रुपमा पनि हेर्छन् समाजले । जुत्ता सिउने व्यक्तिलाई हेलाको नजरले पनि हेर्छन् । अरु समुदायको व्यक्तिले हतपत यो पेसा रोजेको पाइदैन तर तराई मधेशमा एक जना महिलाले क्रान्ति गर्नुभएको छ ।
सर्लाहीका एक जना महिला जो महतो समुदायका हुनुहुन्छ । उहाँले जुत्ता सिलाईको तालिम लिएर त्यसलाई पेसाको रुपमा अपनाउनु भएको छ । जुत्ता सिलाई गरेर सर्लाही हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेशकै एक उदाहरणीय महिला उद्यमी बन्नुभएको छ । सुरु सुरुमा समाज मात्र होइन उहाँको घरपरिवारले पनि स्विकार गरेको थिएन ।
बिद्रोही निर्मला
मधेशको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै संघर्ष गर्नुपर्छ । घुम्टोमा रहनु भएको निर्मलालाई पनि घुम्टोबाट निस्कन निकै महेनत गर्नुपर्यो । समाज र घरबाट संघर्ष गरी घुम्टोबाट बाहिर निस्किनु भएको हरिवन निवासी निर्मला महतो अहिले सफल उद्यमी बन्नुभएको छ । जो जो निर्मलासँग हेला गर्थे आज उनीहरु प्रशंसा मात्र होइन, आआफ्नो बुहारीलाई त्यहाँ पठाएर जुत्ता सिलाउन सिकाइ रहेका छन् ।
सफल उद्यमी
जुत्ता उद्योग सञ्चालन गर्नुभएकी निर्मलाले आफूलाई अब्बल र सफल उद्यमीको रुपमा चिनाउन चाहनु भएको छ । यो पेसालाई पनि उहाँले मर्यादित र व्यवस्थित बनाउन चाहनु भएको छ । मधेश समाज जहाँ छोरी बुहारीलाई घरबाट पनि निस्किन इजाजत हुँदैन त्यहाँ निर्मला महतोका लागि जुत्ता सिलाउनु सजिलो पक्कै थिएन ।
निर्मला ‘प्लस टु’ सम्म अध्ययन गर्नुभएको थियो । उहाँका बुवा शिक्षक भएको कारण उहाँ पढ्ने मौका पाउनु भएको हो । बुवाको घरमै हुँदासम्म उहाँले प्लस टु सकिाइ सक्नुभएको थियो । उहाँलाई अझै पढ्ने इच्छा थियो । त्यति नै बेला उहाँको विहे भयो । गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विहे गर्नुभएका निर्मलाको पढाइमा ब्रेक लाग्यो । उहाँले अरु थप पढ्ने इच्छा भएपनि घरमा पढ्ने वतावरण थिएन ।
घरमा बुहारी भएर बस्ने अवस्था थियो । बुहारीको रुपमा उहाँ जीवन चुल्हो चौकामा सिमित थियो । निर्मला महतोका ११ वर्षकी एक जना छोरी, नौ र छ वर्षका दुई जना छोरा छन् । निर्मलाले सुरुमा आफ्नो छोराछोरीलाई सरकारी स्कूलमा राख्नु भएको थियो तर पछि गाउँकै छरछिमेकहरुले आआफ्नो छोराछोरीलाई बोर्डिङ स्कूलमा पठाउथे त्यो देखेर निर्मलाले पनि आफ्नो छोराछोरीलाई बोर्डिङ स्कूलमा भर्ना गराउनुभयो । तर भर्ना गरेर मात्र भएन, त्यहाँबाट आउने बीलले निर्मलालाई तनाव सृजना गथ्र्यो ।
निर्मला भन्नुहुन्छ, “श्रीमान् खेतीपाती गर्नुहुन्थ्यो खेतीबाट नगद आम्दानी कम हुन्थ्यो । अन्नपात वर्षभरि खानुपर्यो । समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो । त्यसले छोराछोरीको फि तिर्न गाह्रो भयो ।” स्कूलको फि तिर्न निर्मलाको श्रीमानसँग सधैँ पैसा हँुदैन थियो । छोराछोरकिो फि तिर्न जहिले गाह्रो हुन्थ्यो । कतियौं पटक त छोराछोरीलाई बोर्डिङ स्कूलबाट निकालौं हालौ भनि निर्मला र उहाँका श्रीमानलाई नलागेको होइन तर निर्मलाले साहज र हिम्मतका साथ अगाडि बढ्नुभयो । कुनै नकुनै उपाय निकालौला तर छोराछोरीलाई बोर्डिङ स्कूलबाट निकाल्ने भनि हिम्मत दिनुहुन्थ्यो आफ्नो श्रीमान उमेशलाई ।
उपायको खोजी
खेतीपातीबाट घर धान्न मुस्किल छ, छोराछोरीलाई त त्यसबाट पढाउन गाह्रो हुन्छ त्यसको लागि कुनै विकल्प खोज्नुपर्ने निष्कर्षमा निर्मला महतो लाग्नुभयो । प्लस टुसम्म अध्ययन गरेको कारण कुनै सानातिना जागिर गरेर पनि गुजारा गर्न सकिन्छ भनि बुझाई निर्मला थियो । त्यसका लागि उहाँले प्रयास पनि गर्नुभयो । भन्नुपर्ने ठाउँमा भन्नु भयो, विभिन्न ठाउँमा ट्राइ गर्नुभयो तर निर्मला आफूले खोजेजस्तो जागिर पाउनु भएन ।
जागिर नपाए पछि निर्मला निराश हुनुभएको थियो । कुनै न कुनै विकल्प निकाल्नुपर्छ भनि उपायको खोजीमा हुनुहुन्थ्यो निर्मला महतो ।
त्यति नै बेला गाउँका एक जना शिक्षक जो निर्मलासँग चिनजान थियो । जुत्ता बनाउने बारे तालिम हुँदैछ भन्ने कुराको जानकारी उहाँबाट पाउनु भएको थियो । त्यसको बारेमा थप जानकारी लिएर जुत्ता बनाउन नै सिक्ने भनि त्यसको तयारी लाग्नुभयो । नहुनु मामा भन्दा कानो मामा राम्रो जस्तै सबैले उपेक्षा गरेको पेसा जुत्ता बनाउने तालिममा जान तयार हुनुभयो । केही त गरौं भनि निर्मलाको सोच थियो । त्यसका लागि जुत्ता सिउने काम किन नगर्न परोस् त्यसका लागि पनि निर्मला तयार हुनुभएको थियो ।
घरमा बिद्रोह
जुत्ता बनाउने तालिम लिन त निर्मला तयार हुनुभएको थियो । उहाँका लागि घर तयार भएको थिएन । घरमा मनाउनका लागि उहाँलाई निकै समस्या भएको थियो । जुत्ताको काम गर्नुहुँदैन, यो साना जातले गर्ने काम हो, यो कामले घर परिवार तथा खनदानमा असर पर्छ भन्दै जुत्ता सिलाउने तालिममा जान परिवारका सदस्यहरुले रोकेका थिए । उहाँका श्रीमानले पनि निर्मलालाई जुत्ताको काम गर्न अनुमति दिइरहनु भएको थिएन । तैपनि उहाँ जानका लागि तयार हुनुभयो । घरमा कन्भिन्स गर्न उहाँलाई निकै समस्या भएको थियो । घरमा कुरा नमाने पनि उहाँ जुत्ता सिलाइको ट्रेनिङमा जानु भयो । त्यसले गर्दा उहाँ घरबाट गाली पनि खानु भएको थियो ।
सुरुमा घरमा सम्झाउन निकै समस्या भयो । बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली गर्नुभयो । तर पछि सम्झाइबुझाइ गरेपछि उहाँहरूले कुरा बुझ्नुभयो । निर्मला महतोले जुत्ता सिलाईको तीन महिनाको तालिम लिनुभयो । उहाँले तालिम लिएर एक जना जुत्ता बनाउनेको पसलमा काम पनि गर्न थाल्नुभयो । निर्मलाले भन्नुभयो, “तीन महिनाको तालिम लिएर काम सुरु गरेको थिएँ । तर जहाँ काम गर्थे त्यो साहुले पसल बन्द गर्नुभयो त्यसपछि फेरि अलपत्र परियो ।’
त्यो साहुको पसलमा जुत्ताको काम गर्नुको साथै काम सिक्ने काम पनि गर्नुहुन्थ्यो । तालिम लिए पनि धेरै कुराको जानकारी अभाव थियो । सिक्ने र काम गर्ने दुवै काम भइरहेका थियो तर साहुले पसल बन्द गरेर हिडिसकेपछि निर्मलालाई अर्को आपत आइ लाग्यो । त्यसपछि उहाँले तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाउनुभयो ।
त्यसपश्चात् आफूलाई उहाँले भने जस्तै सबै नाप र आकारप्रकारका जुत्ता बनाउन सक्ने अवस्थामा पुर्याउनुभयो । निर्मलाले अब जुत्ता बनाउने लगभग सबै कुराको जानकारी पाइसक्नु भएको थियो । जुत्ता बनाउन मज्जाले सक्ने हुनुभयो तर अब पसल खोल्न ठाउँको अभाव थियो । जुत्ता बिक्रि गर्ने ठाउँ भएपनि बनाउने ठाउँको अभाव थियो । त्यसपछि उहाँले आफ्नै घरमा जुत्ता बनाउन थाल्नुभो र त्यो लिएर आफ्नो स्थानीय हाट बजारमा बेच्न जान थाल्नुभयो ।
लगानीको अभाव
उहाँले अलिअलि जुत्ता बनाएर बजारमा लगेर बेच्नु हुन्थ्यो तर त्यसले खासै उहाँलाई फाइदा भइरहेको थिएन । अलिकति लगानी भयो भने थप केही गर्न सकिन्छ भनि बुझाई निर्मलाको थियो । तर लगानीका लागि चाहिने पैसा कोसँग माग्ने समस्या निर्मलासँग थियो । श्रीमान खेती किसानी गर्ने भएका कारण उहाँसँग नगद रकम हुने सम्भावना नै थिएन । ससुरा बा पहिलदेखि नै जुत्ता व्यवसायप्रति खुशी हुनुहुन्थेन । त्यही भएर लगानीका लागि चाहिने रकमको अभाव भयो उहाँलाई । एक लाख ऋणका लागि उहाँले धेरै ठाउँमा पहल गर्नुभयो । तर कोही दिन तयार भएनन् । त्यसपछि उहाँले आफ्नो माइतीका दाजुलाई भनेर ससुरा बासँग कुरा गर्न लगाउनुभयो । बरु अंश काट्नु परे काट्नु होला तर एक लाख रुपियाँ चाहिएको छ भनि ससुरा बासँग कुरा राख्नुभयो । त्यसपछि ससुरा बाले एक लाख २० हजार रुपियाँ दिनुभयो निर्मलालाई ।
निर्मलाले त्यो रकम लिएर घरमै जुत्ताको कारखाना खोल्नुभयो । विस्तारै विस्तारै व्यपार राम्रो हुन थाल्यो । निर्मलाले बनाउनु भएको जुत्ता किन्न टाढा टाढाबाट मान्छेहरु आउन थाल्यो । त्यसपछि निर्मलाले कामदार पनि थप्नुभयो । निर्मलाले भन्नुभयो, “सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्यो भनेर आउने पनि निस्किए ।”
गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मला महतोले बनाएको जुत्ता धेरै बिक्री हुन्छन् । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताउनुभयो । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । तर निर्मलाले ११ महिनामै श्रीमानलाई घर फर्काउनुभयो । र उहाँले आफ्नो श्रीमानलाई पनि आफ्नै कारखानामा काममा लगाउनुभयो । अहिले उहाँको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिनुभएको छ ।
उहाँले घर नजिकै १४ लाख रुपियाँमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गर्नुभएको छ । उद्योगमा चार जना कामदारसमेत छन् । एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उहाँले बताउनुभयो । यसरी निर्मलाको कारखानाबाट महिनामा छ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ ।
“कमाइ राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “काम दिन सकिरहेका छैनौँ । अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो । प्रयास गरिरहेको छु ।” पहिला मासिक तीन हजार पाँच सय रुपियाँ कमाइ हुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उहाँको भनाइ छ । यही पेसाबाट वार्षिक आठदेखि १० लाख रुपियाँसम्म कमाउने गरेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया