Khadya Bibhag

सिके राउत कसरी हुनुभयो उपेन्द्र यादवको प्रमुख शत्रु ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको हालै महाधिवेशन सम्पन्न भएको छ । जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषाको जनकपुरधाममा सम्पन्न महाधिवेशन शानदार रुपमा सम्पन्न भएको पार्टीका नेताहरुको दावी छ ।
महाधिवेशनको मिति घोषणा भइसकेपछि जसपा नेपाल विभाजन भयो । विभाजन भएपछि पार्टीको महाधिवेशन कस्तो हुने हो भनि सबैमा आशंका थियो तर सोचेभन्दा धेरै सफल भयो महाधिवेशन । महाधिवेशनमा महासचिवको उम्मेदवारी दिनुभएका मनिष सुमनले पार्टी विभाजन भएको छ भनि जिरो प्रतिशत पनि अनुभुती भएन, नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता थियो जसले पार्टी विभाजनलाई रिजेक्ट गरेको दावी गर्नुभयो ।
महाधिवेशनले के के गर्यो के गरेन त्यो बेग्लै कुरा हो तर यो महाधिवेशनले पार्टी एक ढिक्का रहेको कुराको सन्देश दिन सफल भएको मधेश प्रदेशका सांसद रामअषिश यादवले बताउनुभयो । सायद पार्टी विभाजन नभएको भए यस्तो उत्साहजनक सहभागिता हुने थिएन भनि बुझाई जसपा नेपालको रहेको छ ।
जसपाले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मती गरेको छ भने अन्य पदको बारेमा अध्यक्ष यादवले नै चयन गर्ने बताइएको छ । पदाधिकारीदेखि लिएर केन्द्रीय सदस्यसम्म सबै चयन गर्ने जिम्मवारी अध्यक्ष यादवले पाउनु भएको छ । महाधिवेशनमा अध्यक्ष यादवले राजनीति प्रतिवेदन पेस गर्नुभएको थियो । सो प्रतिवेदनमा देशका लगभग सबै पार्टीको बारेमा केही नकेही उहाँले टिप्पणी गर्नुभएको छ तर डा.सिके राउत नेतृत्वको जनमत पार्टीको बारेमा केही बोल्नुभएको छैन । राजनीतिक दस्तावेजमा केही नबोलेपनि महाधिवशेन समापनको दिन आफ्नो मन्तव्य राख्ने क्रममा अध्यक्ष यादवले अहिलेको अवस्थामा जसपा नेपालको प्रधान सत्रु जनमत पार्टी रहेको घोषणा गर्नुभयो ।
सो घोषणाले जसपा नेपाल र त्यसका अध्यक्ष उपेन्द्र यादवको निकै आलोचना भयो । मधेशमा उपेन्द्र यादव र सिके राउत बिच आजको द्वन्द होइन । सिके राउत राजनीतिमा आएदेखि नै द्वन्द देखिएको हो । स्वतन्त्र मधेशका लागि आन्दोलन गर्दा पनि सिके राउतको पहिलो निशाना उपन्द्र यादव र उहाँ नेतृत्वको पार्टी हुन्थ्यो । मूलधारमा आएपछि सिके राउतले वर्ग सत्रु जस्तै व्यवहार जसपा नेपालसँग गर्न थाल्नुभयो । पटक पटक दुवै पार्टीका नेताहरुको बिचमा झडप हुनुको साथै एक अर्काको पार्टी सिध्याउने स्तरमा गतिविधि हुन थाल्यो ।
२०७९ को चुनावमा सिके राउतले उपेन्द्र यादललाई हराएपछि उहाँको मनोबल झन बढ्यो । बारा–२ का भएको उपचुनावमा उपेन्द्र यादव उठ्दा त्यहाँ पनि सिके राउत अरु पार्टीबाट पनि मान्छे ल्याएर उम्मेदवारी दिन लगाउनु भएको थियो । त्यहाँ पनि उपेन्द्रलाई हराउन पुरा शक्ति लगाई सक्नु भएको थियो । तर त्यहाँ सक्नु भएन ।
त्यसपछि संघीय तथा प्रदेश सरकारमा पनि जसपा नेपाल र जनमत पार्टीबिच पटक पटक द्वन्द भयो । एक अर्कालाई कसरी कमजोर बनाउन सकिन्छ त्यसका लागि कुनै कसर बाँकी नै राखेन । अवस्था यहाँसम्म आइपुग्यो उपेन्द्र यादवले महाधिवेशनबाट जनमत पार्टीलाई आफ्नो प्रधान सत्रु घोषणा गर्नुभयो ।
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेता–कार्यकर्ता तथा प्रहरीबीच २०८० माघ ८ मा सप्तरीको राजविराजमा झडप भयो । यसरी देखिने गरी दुवै पार्टी आमुने सामुने आएको पहिलो पटक हो । सो झडपमा मधेश सरकारका तत्कालिन शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सभा सदस्य एवं हालका मुख्यमन्त्री सतीशकुमार सिंह लगायत नेता तथा कार्यकर्ता घाइते हुनुभएको थियो ।
यस घटनापछि माघ १० मा जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो भने मन्त्रीहरूले राजीनामा दिनुभयो । प्रदेश सभामा जनमतका १३ सांसद छन् ।
उपेन्द्र यादव किन निशानामा ?
पृथक्तावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आएसँगै २०७५ सालमा सिके राउतले पार्टीको नाम परिवर्तन गर्नुभयो । ‘स्वतन्त्र मधेश गठबन्धन’ को नाम परिवर्तन गरेर ‘जनमत पार्टी’ बनाए अनि निर्वाचनकेन्द्रित राजनीतिक गतिविधि पनि शुरू गर्नुभयो । २०७९ सालको निर्वाचनबाट जनमत पार्टी नयाँ शक्तिका रूपमा देखा प¥यो । मधेश प्रदेश सभामा बलियो शक्तिका रूपमा जनमत उदाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा भने खुम्चिए । जसपाले १९ र लोसपाले नौ सीट मात्रै जिते ।
पार्टी स्थापनादेखि नै जसपालाई मुख्य प्रतिस्पर्धी ठानेर राजनीतिक गतिविधि शुरू गरेको जनमत पार्टीले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि चर्को विरोध ग¥यो । तीनै तहका चुनाव प्रचारमा त जनमत र जसपा एकअर्काको प्रतिस्पर्धीका रूपमा देखिए । निर्वाचन परिणामले पनि त्यस्तै देखायो ।
जसपा र जनमतको विवाद भने पाँच वर्ष पहिले नै शुरू भएको थियो । त्यतिबेला सिके राउतले ‘मधेश स्वराज’ को अभियान चलाइरहनु भएको थियो । २०७५ भदौ ७ मा तत्कालीन संघीय समाजवादी फोरमले बर्दियामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष एवं तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम थियो । त्यति खेर राउतका कार्यकर्ताले यादवलाई कालोझन्डा देखाए । त्यस क्रममा पक्राउ परेका राममनोहर यादवको २०७५ भदौ १५ मा ज्यान गयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चरम यातना दिइएकाले मृत्यु भएको भनी सिके राउतको दावी रहेको छ ।
त्यो घटनाबाट सतहमा आएको जसपा र जनमतको विवाद २०७९ सालको चुनावमा पनि देखियो । सप्तरी २ बाट उपेन्द्र यादव विरुद्ध सिके राउत उम्मेदवारी दिनुभयो । र उपेन्द्र यादवलाई १८ हजार ७३ मतले पराजित गर्नुभयो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि २०८० वैशाख १० मा बारा–२ मा उपनिर्वाचन भएको थियो । त्यसमा उपेन्द्र यादव उम्मेदवार बन्नुभयो भने सिके राउतले हराउन भरमग्दुर प्रयास गर्नुभयो । तर गठबन्धनको साथ पाएका यादव प्रतिनिधि सभा छिर्न सफल भए ।
त्यसले केन्द्रीय राजनीतिमा उपेन्द्र यादवलाई सजिलो भए पनि मधेशमा भने राउत नै लोकप्रिय रहेको कुरा त्यो निर्वाचनले पुष्टि गरेको छ । उहाँ यही कारणले जसपा नेपाल नेतृत्वमाथि आक्रामक बन्नु भएको छ । राजनीतिक विश्लेषक चन्द्रकिशोर पनि जनमत पार्टीको गतिविधि दलभन्दा पनि व्यक्तिविशेषमा केन्द्रित हुँदै गएको बताउनुभयो । मधेश प्रदेश सभामा जसपा तेस्रो ठूलो दल हो । २०७९ पुस २९ मा जसपा नेता सरोजकुमार यादवको नेतृत्वमा प्रदेश सरकार गठन भयो । भूमि व्यवस्था, कृषि तथा सहकारी सहित दुई मन्त्रालय लिएर जनमत सरकारमा सहभागी भएको थियो । वसन्त कुसवाहा कृषि मन्त्री बन्नु भएको थियो ।
दुई महीनापछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् हेरफेर गर्दै कुसवाहालाई विना विभागीय बनाइ दिनुभयो । जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले शिक्षा मन्त्रालय लिनुभयो । कुसवाहालाई विना विभागीय मन्त्रीकै हैसियतमा जनमतले सरकारबाट फिर्ता बोलायो भने श्रम तथा यातायात मन्त्रालयमा चन्दन सिंहलाई पठायो । यसबीचमा धेरै पटक खटपट भए पनि जनमतले सरकार भने छोडेन । पछि विश्वविद्यालय भवन शिलान्यासको विवादपछि सरकारबाट बाहिरिएको थियो । जसपा नेपालका पार्टी मधेश प्रदेशमा अल्पमतमा परेपछि अहिले मधेशमा जनमत पार्टी नेतृत्वमा मधेश सरकार बनेको छ ।

तपाईको प्रतिक्रिया