–बिक्की यादव
नेपालमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो । जुन दिन यो संविधान जारी भयो । त्यो दिन मधेश जलिरहेको थियो । मधेशका युवा सडकमा थिए । काठमाडौँको संसद भवनमा भव्य तरिकाले संविधान जारी गर्ने तयारी चलिरहेको थियो भने उता मधेशमा युवाले संविधानको विरुद्धमा आफ्नो ज्यान दिन तयारी गरिरहेका थिए । तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान घोषणा गरिरहेको बेलासम्म चार जना युवाले आफ्नो ज्यान दिइसकेका थिए ।
संविधान जारी भएपछि काठमाडौँमा दीपवली मनाइरहेको थियो भने मधेशका कालो न कालो अन्ध्यारो थियो । मधेशमा मातम (शोक) छाएको थियो । मधेश स्तब्ध थियो । सुशिल कोइराला, केपी शर्मा ओली, प्रचण्ड खुशीले नाची रहनु भएको थियो, उत्सव मनाइ रहनु भएको थियो । त्यही बेला मधेशका आमा–बुवाले आफ्नो छोराको चित्तामा आगो लगाई रहनु भएको थियो । हो, यसरी जारी भएको थियो नेपालमो संविधान । तैपनि मधेशी जनताले त्यो संविधानलाई स्विकार गरे किन ? संविधानमा देखिएका त्रुटी सच्याउने छन् भनि आशमा त्यसलाई स्विकार गरे ।
तर संविधान संशोधनको नाममा सधै जलझेल गरेर नौ वर्ष बित्यो । अहिले पनि सुन्दैछु नयाँ गठबन्धन बनाएको काँग्रेस–एमालेले संविधान सांशोधन गर्ने रे । तर कस्तो संशोधन गर्ने, के विषयमा गर्ने, कहिले गर्ने कुनै कुरा बाहिर आएका छैनन् जसले मधेशी जनतालाई झन सशंकित बनाइ दिएको छ । मधेश भनेको आठ जिल्ला मात्र होइन, राजनीति रुपमा २२ जिल्ला हो । यहाँका तथाकथित ठूला भनाउँदा दलहरुले जवर्जस्ती बहुमतको बलमा आठ जिल्ला घोषणा गरे जसलाई राजनीतिक रुपमा मधेशले स्विकार गरेको छैन ।
मधेशको यस्तो अवस्था हुनुमा मधेशका हाइलेवलका इन्टेलेक्चुअलहरु पनि दोषी हुनुहुन्छ । उहाँहरु मधेशको बारेमा कहिले बोल्नु भएन । मधेशमा यो भएन त्यो भएन, मधेशी नेताले यस्तो गरे, मधेशी नेताले त्यस्तो गरे भनि टिप्पणी गर्नुहुन्छ तर मधेश किन बिग्रेको हो, मधेशलाई बिगार्ने को हुन् भनि उहाँहरुले कहिले लेख्नु भएन, कहिले बोल्नु भएन ।
मधेशमा यस्ता यस्ता इन्टेलेक्चुअलहरु छन् जो दुई चार वटा लेखहरु लेख्नुभयो भने देशका शासकहरु थर्र काप्छन् तर मधेशकै इन्टेलेक्चुअलबाट मधेशको बारेमा नकारात्मक टिप्पणीहरु भइरहेका हुन्छन् । मित्र राष्ट्र भारतको कुरा गरौं, त्यहाँका जेएनयुले पोलिसी बनाउँछ र राजनीति गर्ने दलहरुले त्यसलाई कार्यान्वयनमा ल्याउँछन् र साउथ एसियामै शासन गर्छन् । हाम्रो त्रिभुवन विश्व विद्यालयका इन्टेलेक्चुअल अथवा प्रोफेसरले के गर्नुहुन्छ ? दलका नेताहरु जे जे भन्छन् त्यही गर्नुहुन्छ । अधिकाँश इन्टेलेक्चुअलहरु पनि नेताका झोले हुनुभएको छ ।
जनआन्दोलन, मधेश आन्दोलनमा ती बौद्धिक व्यक्तित्व तथा प्रोफेसरको योगदान छैन भने होइन । आन्दोलन सफल बनाउनमा उहाँहरुको पनि ठूलो योगदान छ । आन्दोलनका कारण अन्तरिम संविधान आयो त्यो धेरै ठूलो उपलब्धी थियो त्यतिबेलाका लागि । त्यसमा सबैको योगदान थियो । तर जब संविधान सभाबाट संविधान निर्माण गर्ने काम भयो त्यसपछि ती सबै उपलब्धीलाई शासकले बागमतीमा बगाइ दियो । त्यतिबेला ती प्रध्यापक तथा बौद्धिक वर्ग मौन बस्नुभयो । मधेशी युवा गोली खाइ रहदा प्रध्यापक तथा बौद्धिक वर्ग मौन हुनुहुन्थ्यो ।
प्रोफ्रेसर तथा इन्टेलेक्चुअल व्यक्तिलाई हामी सडकमा आउन भनेका होइनौ, गोली खान भनेका होइनौ तर उहाँसँग भएको क्षमता र बौद्धिकताले राज्यमाथि दबाव त बढाउन सकिन्छ नि । मधेशको बारेमा एउटा रिसर्च गरेर राज्यको आँखा खोल्न सक्छ नि । तर उहाँहरुले उल्टै मधेशलाई गाली गर्नुभयो । मधेशकै कारण मधेशको शिक्षा बर्बाद भयो, मधेशी नेताकै कारण शिक्षाको गुणस्तर चौपट भयो रे, मधेशीका कारण मधेशका विद्यार्थी कमजोर भए रे, संघीयता आएकै छ मधेश किन बनेन, स्थानीय भाषामा स्थानीय तहले किन पठन पाठन गर्न सकेन रे । के उहाँहरुले भनेको कुरा सही हो त ? होइन गलत सोचाइ हो उहाँहरुको ।
अधिकारविहिन संघीयता आएको छ, अधिकार विहिन प्रदेशहरु बनाइएको छ । केन्द्रीय सत्ताले स्थानीय तहलाई आफ्नो मातहतमा राखेको छ । शिक्षा स्थानीय तहको मातहतमा छ भने मधेश सरकार वा मधेशी नेताले त्यहाँको शिक्षा कसरी बिगारे ? मधेशको कुनै कुरा मधेश सरकार तथा मधेशी नेताको हातमा छैन ।
त्यहाँका हरेक कुरा अहिले पनि त्यहीका सिडियो, एसपी, शिक्षा हेर्ने अधिकारीहरुले नै हेर्नुहुन्छ । एउटा पालिकाका अधिकृत तथा मेयर मात्र होइन त्यहाँका वडा सदस्यले पनि प्रदेश सरकारलाई टेर्दैनन् । मधेशमा पक्कै पनि मधेशी दल वा मधेशका मेयर, मधेशका कर्मचारी छन् । चाहे भने उनीहरुले गर्न सक्छन् तर उनीहरुमाथि पनि केन्द्री सत्ताको नियन्त्रण छ । केन्द्रीय सत्ताले जे भन्छ, जे नीति बनाउछ त्यही अनुसार उनीहरु गर्न बाध्य हुन्छन् । तर यो भएन त्यो भएन भनि मधेशलाई दोष लगाउने गरिन्छ । यसको बारेमा आजसम्म कुनै बौद्धिक वर्गले बोलेको छैन ।
मधेशको शिक्षा आज यो दश वर्षको अवधिमा बिग्रको हो र । मधेशको शिक्षा आज बिग्रको हो र । पहिला मधेशले सारा नेपाललाई पढाउथे त्यो कुरा सत्य हो । तर जब महेन्द्रकाल सुरु भयो, त्यसपछि मधेशमा शिक्षाको दुरर्दशा सुरु भयो । सन् १९९१ मा मधेशका १० वटा जिल्ला साक्षरतामा सबभन्दा तल थिए । २००१ मा चार वटा जिल्ला तल थिए भने २०११ मा छ वटा जिल्ला र २०२१ मा सात वटा जिल्ला साक्षरतामा पछाडी छन् ।
के यो मधेशकै कारणले भएको हो त । मधेश सरकारकै कारणले यस्तो भएको हो । आज रातारात यी सब भएका हुन् त ? होइन । पञ्चायती व्यवस्थादेखि मधेशमाथि जुन शोषण भयो, जुन दमन भयो, जुन पूर्वाग्रही सोच राख्यो त्यसको परिणाम अहिले बाहिर आइरहेका छन् । देशको शिक्षा नीति मधेशको हकमा बनेको छैन, मधेशलाई सोचेर बनाएको छैन । खसवादी सोचमा ती नीतिहरु बनेका छन् जो मधेशको हकमा फिट भइरहेको छैन । यसमा मधेशका बौद्धिक वर्ग तथा प्रोफेसरहरु कहिले बोल्नु भएको छ भनि मैले सुनेको छैन ।
देशका शिक्षा नीति नै खराब छ, यो परिवर्तन हुनुपर्छ भनि आवाज मधेशबाट पटक पटक उठेकै हो । त्यसका लागि आन्दोलन भएकै हो तर त्यसको सुनुवाई कहिले भएन । यसको बारेमा बौद्धिक तहबाट कुरा उठ्नु पथ्र्यो तर उठेन । बौद्धिक व्यक्तिहरु पनि यसमा मौन बसि दिनुभयो र आज उल्टै मधेशमाथि दोष थुपारिरहेका छन् । शिक्षाको स्तर बिग्रिनुमा त्यहाँका शिक्षकमा देख्नुभयो, व्यवस्थापन समितिमा देख्नुभयो, नेतामा देख्नुभयो, समुदायमा हेनुभयो तर किन बिग्रियो त्यसको कारण खोज्नु भएन ।
शरीरमा ज्वरो आएको छ भनि थर्मामिटरले नापेर हेर्नुभयो तर त्यो ज्वरो किन के कारणले आएको हो त्यसको कारण पत्ता लगाउनु भएन । यही छ समस्या । मधेशको शिक्षा बिग्रिनुमा त्यहाँको समुदाय, त्यहाँका शिक्षक, त्यहाँका अभिभावकलाई दोषी देखाउनु भयो तर किन बिग्रियो त्यसको कारण खोज्ने काम कही कतैबाट भएन । मधेशको शिक्षा बर्बाद होस् भनेर राज्य पक्षले प्लानिङ गरेर नै यी सब कुरा ल्याएको हो । पहाडमा राम्रो पढाउने शिक्षक मधेशमा किन नराम्रो पढाउछन् त के मधेशको शिक्षा त्यही राज्यको नियन्त्रणमा छैन जो पहाडको छ ? मधेशको शिक्षा कमजोर होस् भनि सिडियोले चाहेका छन्, मधेशको शिक्षाका कमजोर होस् भनि एसपीले चाहेका छन्, मधेशको शिक्षा कमजोर होस् भनि शिक्षा नीतिले चाहेको छ, मधेशको शिक्षा कमजोर होस् भनि शिक्षा अधिकारीले चाहेका छन् अनि मधेशीले चाहेर मात्र शिक्षामा सुधार हुन्छ त, हुँदैन । सबभन्दा पहिला राज्यले मधेशप्रति नियत र नीति दुवैमा सुधार गर्नुपर्छ ।
१० कक्षासम्म स्थानीय भाषामा आफने विद्यार्थीलाई पढाउनु हुन्छ जब प्लस टुमा जाँदा त्यही साइन्स, त्यही म्याथ, त्यही अन्य विषय नेपालीमै पढ्नुपर्छ अनि त्यतिबेला त्यो विद्यार्थीको हालत के हुन्छ । त्यही भएर मधेशका अभिभावकले आफ्नो विद्यार्थीलाई स्थानीय भाषामा पढाउन चाहेका छैनन् । त्यतिकै पनि मातृभाषाका कारण मधेशी विद्यार्थीको नेपाली भाषा कमजोर हुन्छ र पढाई लेखाइमा पछाडि परिरहेका हुन्छन् झन स्कुल तहमा मातृभाषामा पढेर कलेजमा गए भने त्यसको हालत के हुन्छ यसमा बौद्धिक वर्गले कहिले बहस चलाउनु भएको छ त ? स्थानीय भाषामा पढाई हुने हो भने कलेज लेभलसम्म हुनुपर्छ । विश्वविद्यालयसम्म हुनुपर्छ ।
(इन्टेलेक्चुअल फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य बिक्की यादवले व्यक्त गर्नुभएको विचारको सम्पादन गरिएको अंशः)
तपाईको प्रतिक्रिया