Khadya Bibhag

घुमाइ फिराइ कम्युनिष्ट सरकार, काँग्रेसको भाग्य नै खोटो

देशको सबभन्दा ठूलो पार्टी नेपाल काँग्रेस हो । ठूलो दलको नाताले देशको नेतृत्व काँग्रेसले गर्नुपर्ने हो तर संसदीय राजनीतिको अंक गणित नै यस्तो छ कि आफूभन्दा साना दलको नेतृत्वमा बस्नुपर्ने अवस्था पटक पटकम आइलाग्छ । प्रतिनिधि सभामा काँग्रेसको ८९ सीट छन् भने एमालेको ७८ र माओवादी केन्द्रको ३२ रहेका छन् । तर काँग्रेस कहिले माओवादीको नेतृत्वमा त कहिले एमालेको नेतृत्व स्विकार गर्न बाध्य छ ।
ज्योतिषले भनेको आधारमा प्रधानमन्त्री बनाउने गरेका काँग्रेसको भागमा यो पाँच वर्षको अवधिमा देशको नेतृत्व आउने छाँटकाट देखिएको छैन । यो पाँच वर्ष कम्युनिष्ट नै देशमा शासन गर्ने लगभग निश्चित जस्तै देखिएको छ । नेतृत्व गर्ने अवसर काँग्रेसलाई नआएको होइन तर भाग्य नै खोटो भएपछि कसको के लाग्छ । २०७९ को चुनाव गराउनु भएका काँग्रेसका सभापति शेरबहादुर देउवा त्यसपछि पनि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहनु भएको थियो । तर माओवादी केन्द्रले मानिरहेको थिएन । माओवादी–काँग्रेस गठबन्धनमा भएको मौखिक सहमति अनुसार चुनाव काँग्रेसले बनाउने र चुनावपछि पहिलो आधा कार्यकाल माओवादीले नेतृत्व गर्ने, त्यसपछि बाँकी चुनावसम्म काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने थियो ।
परस्थिति यस्तो बन्यो कि माओवादीले काँग्रेसलाई छाडेर एमालेसँग मिलेर गठबन्धन बनाएर सरकार बनाएको थियो । तर माओवादी–एमालेको गठबन्धन एक महिना पनि टिकेन । माओवादीले फेरि काँग्रेससँग गठबन्धन बनायो । आधा आधा कार्यकालमा सहमति भएको थियो । यदि त्यो गठबन्धन पनि हालसम्म ठिक ठाक चलिरहेको भए अहिले यो देशको प्रधानमन्त्री देउवा हुनुहुन्थ्यो । तर प्रतिपक्षमा रहेको एमालेले अहिले देशको नेतृत्व गरिरहेको छ ।
र त्यसको नेतृत्व काँग्रेसले स्विकार गरेको छ । एमाले–काँग्रेस गठबन्धनको बिचमा असार १७ गते मध्यराती भएको सात बुँदे सहमति अनुसार दुई वर्ष एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले देशको नेतृत्व गर्ने र बाँकी अवधी चुनावसम्म सभापति देउवाले गर्ने । तर यस्तो सहमतिप्रति कसैले विश्वास गरेको छैन । काँग्रेस र एमालेको बिचमा ३६ को आँकडा छ, विचार र दिशा सबै फरक छन् । सोच र चिन्तन फरक छन् । यी दलको यात्रा लामो जाँदैन भनि विश्लेषणहरु भइहरेका छन् । पुनः अर्को गठबन्धन बन्छ त्यसका लागि जसले जसलाई धोका दिएपनि त्यसपछि बन्ने सरकार काँग्रेसको नेतृत्वमा हुँदैन भनि राजनीतिक विश्लेषकहरुको बुझाई रहेको छ ।
चुनावी सरकार पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा बन्ने धेरैको बुझाई रहेको छ । यो कुरा काँग्रेसका नेताहरुलाई पनि थाह छ । माओवादी र एमाले बिच गठबन्धन बन्यो । आधा कार्यकाल माओवादीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने र आधा समय एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने सहमति भएको थियो । पहिलो चरणमा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ।
यसरी भयो उथलपुथल
चुनावपछि माओवादीले एमालेसँग गठबन्धन बनाउपछि केही दिनमै खटपट सुरु भइसकेको थियो । एका अर्कामाथि शंका उपशंका सुरु भइसकेको थियो । माओवादीका अध्यक्ष प्रचण्डको झुकाव काँग्रेसतिर थियो । तत्कालिन अवस्थामा काँग्रेस विपक्षमा भए पनि तत्कालिन अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । त्यो कुरा एमालेलाई चित्त बुझेको थिएन । प्रतिपक्षमा बसेको काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत किन दिएको भनि आशंका एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री ओलीलाई लागेको थियो ।
त्यसपछि एमालेका अध्यक्ष ओलीले काँग्रेसमाथि यसरी ढोक्सा नथप्न टिप्पणी गर्नुभएको थियो । त्यो टिप्पणीको चर्चा चलिरहेकै बेला २०७९ माघमा प्रचण्डले एमालेको साथ छाडेर काँग्रेससँग सरकार बनाउनु भएको थियो । काँग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि एमालेका अध्यक्ष ओलीले त्यसलाई भत्काउन निकै प्रयास गर्नुभयो । एमालेका नेताहरुले काँग्रेससँग हिमचिम बढाए । तर काँग्रेसका सभापति देउवा माओवादीलाई छाडेर एमालेको साथमा जान तयार देखिनु भएको थिएन । पार्टीका महामन्त्री गगन थापालगायतका नेताहरु एमालेसँग नै गठबन्धन बनाउनुपर्छ भनि लविङ गरिरहनु भएको थियो । तर देउवा त्यसका लागि तयार हुनुहन्थेन । त्यसपछि एमालेका अध्यक्ष ओलीले माओवादीका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग नजिकिनु भएको थियो ।
विभिन्न चरणमा दुई जनाको बिचमा संवाद पनि भयो । त्यति नै बेला काँग्रेसको महासमितिको बैठक चलिरहेको थियो । बैठकमा काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा माओवादीमाथि खर्रो टिप्पणी गरिएको थियो । उता, त्यही बैठकमा हिन्दु राष्ट्रको विषय पनि प्रवेश पायो र गगन थापाहरुको लविङ पनि चलिरहेको मौका पाएर प्रचण्डले पुनः काँग्रेसको साथ छाडेर एमालेसँग मिलेर एमाले–माओवादी गठबन्धन सरकार बनाउनु भएको थियो ।
२०८० फागुनमा एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि त्यसलाई वामपन्थी सरकारको संज्ञा दिएको थियो । कम्युनिष्टहरु एक हुनुपर्छ भनि ओली र प्रचण्ड एक स्वरमै भन्नुभएको थियो । यहाँसम्म कि सँगै मर्ने, सँगै बाँच्ने कसम पनि खानु भएको थियो । तर त्यो कसम खाएको सरकार छ महिना पनि चलेन पाँच महिनमै गठबन्धन परिवर्तन भयो । एमालेका अध्यक्ष ओलीले गत असार १७ गते सात बुँदे सम्झौता गरेर माओवादीको साथ छाडेर काँग्रेससँग गठबन्धन गर्नुभयो र आफ्नो नेतृत्वमा सरकार बनाउनु भयो अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । अब यो सरकार पनि विगतकै सरकार जस्तै नटिक्ने हो, नचल्ने हो कि आशंकाहरु भइरहेका छन् ।

तपाईको प्रतिक्रिया