Khadya Bibhag

स्मृतिमा बलदेव राम: सिनो बहिष्कार र मोहियानी आन्दोलन गर्दा बलत्कारको मुद्दा खेप्नुभयो

‘मरेको पशुको सिनो चमारले उठाउँछ । छाला काड्छ । छाला सरकारले लान्छ, मासु उसले ल्याउ । जुन चिजको पैसा आउँछ त्यो छाला त सरकारले लान्छ । अनि रोगब्याधि लगाउने मासु चाहिं हामीले ठेगान लगाउनुपर्ने । जमिन्दारको घरमा कुनै काम पर्यो हाम्रा छोरी बुहारीले गएर काम गर्नुपर्ने । बच्चा बच्ची जन्मियो, कति दिनसम्म हाम्रो श्रीमती–बुहारीले गएर काम गर्नुपर्ने, सित्तैमा ? हाम्रा हाम्रा बालबच्चाको चाहिं आमा नहुँदा विजोग हुँदैन ?’ भगवानको मूर्ति बनाउने हामी तर मन्दिरमा लगेपछि त्यही मूर्ति हामीले छुन नहुने ? जुत्ता हामीले बनाउने लगाउन चाहिँ नपाउने, अनि जमिन्दारले हामीले नै बनाएको जुत्ताले हाम्रै टाउकामा टेक्ने ?
हो, यी आक्रोशपूर्ण अभिव्यक्ति हो बलदेव रामको । जो दलितको अगुवाई गर्दै सिनो बहिष्कार आन्दोलन गरेर राष्ट्रिय अन्तराष्ट्रिय रुपमा एउटा समाजिक चेतना स्थापित गर्नुभयो ।
सिनो बहिष्कारको आन्दोलन चलाउनु भएको बलदेव रामको निधन भएको छ वर्ष भइसकेको छ । २०७४ साउन १७ गते ६७ वर्षको उमेरमा मधुपट्टी स्थित आफ्नै घरमा हृदयघातका कारण उहाँको निधन भएको थियो । २०७४ साउन ९ गते ह्रदयशघात भएपछि उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारपछि साउन १५ गते घर फर्किनु भएका बलदेवको १७ गते निधन भएको थियो ।
सिनो बहिष्कारमा लागेका अगुवा नेता तथा विभिन्न क्षेत्रका सरोकारबालाहरुले प्रत्येक साउन १७ गते विभिन्न सभा सम्मेलन गरेर बलदेव रामलाई सम्झने गरेका छन् । उहाँको निधन भएको छ वर्ष बित्दा पनि उहाँको महत्व र योगदान कम भएको छैन । अहिले पनि उहाँको नाम बडो इज्जतका साथ लिने गरिन्छ ।
२००७ पुस ७ गते सप्तरीको मधुपट्टीमा जन्मिनु भएका बलदेव रामको अगुवाइमा सिरहा, सप्तरीमा २०५६ देखि २०५८ सालसम्म सिनो बहिष्कार आन्दोलन भयो । उहाँ कृषि र दलित अधिकार आन्दोलनमार्फत जन्मिएको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । २०६१ सालदेखि देशैभरिका भूमिपीडित संगठित भई बनेको मञ्चको नेतृत्व सम्हाल्दै भूमिपीडितको संगठनलाई देशको ५९ जिल्लामा फैलाउन उहाँले महत्वपूर्ण भूमिका पु¥याउनु भएको स्मरण गरियो । उहाँ २०६५ सालमा नेपाल उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगको सदस्यसमेत हुनु भएको थियो ।

उहाँ खासगरी मधेशी दलितका बीचमा घाम भएर उदाउनु भएको थियो । सिनो बहिष्कार आन्दोलनले उहाँलाई राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमै चिनाएको छ । मधेशका दलित अगुवाहरू अहिले पनि बलदेव रामलाई श्रद्धाका साथ सम्झिने गरेको हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन खंग मण्डल बताउनु हुन्छ ।
बलदेव रामले ‘जनचेतना दलित संगम’ गठन गरेर २०५६ देखि आन्दोलन गर्नुभएको थियो । बलदेव संस्थापक रहेको सो संस्थाको कार्यकारी निर्देशकमा यतिखेर उहाँकै छोरा इन्द्रप्रसाद राम हुनुहुन्छ ।
सिनो कथा
मधेशमा राम (चमार)हरू सदियौँदेखि ठूलाबडाको घरमा मरेको पशुको सिनो उठाउन बाध्य थिए । अर्कोतिर, सिनो उठाउने भएकै कारण समाजका कथित उच्च जातले उनीहरूलाई छुवाछुत गर्थे, अझै गर्छन् । बलदेवलाई २५–२६ वर्षको उमेरमै चेतना आइसकेको थियो–सिनो बहिष्कार गर्नैपर्छ । तर भूमिहीन चमारलगायत दलितहरूले हातमुख जोर्न मालिककै खेतको भर पर्नुपथ्र्यो ।
सानै उमेरदेखि उहाँले विद्रोह, सामाजिक मूल्य र मान्यताको विरुद्ध र आफूले देखेका र महसुस गरेका सामाजिक भेदभावका मामिलाहरूको बारेमा आवाज उठाउनु भएको थियो । कमजोर आर्थिक अवस्थाबाट गुज्रिँदै गर्दा बलदेवले सार्वजनिक विद्यालयबाट कक्षा ७ सम्मको शिक्षा पूरा गर्नुभएको हो । उहाँलाई मरेको बाछो उठाउन भनिएको घटनाबाट प्रभावित भएर उहाँले विद्यालय नै छाड्नु एको थियो ।
उहाँले त्यतिबेला भन्नुभएका थियो, “मलाई किन मरेको बाछो उठाउन भनिएको थियो ? न त त्यो बाछो मेरो थियो वा त मैले त्यसलाई मारेको नै थिएँ ।” यस्ता प्रश्नबाट बिचलित भएर, उहाँले जातीय व्यवस्था र यसका यसको अनेकौँ अभिव्यक्तिहरू बारेमा बुझ्ने प्रयास गर्न थाल्नुभयो । दलित हिस्टोरी मन्थमा उल्लेख भए अनुसार “उच्च” जातीय परिवारहरूका स्वामित्वमा रहेको दुई बिघा खेतमा कृषि मजदुरको रूपमा काम गर्दा माधव विक्रम राणा, बलदेव राम जस्ता र उहाँका परिवारलाई सधैँ कम पारिश्रमिक दिइन्थ्यो । परिवारले प्राप्त गर्ने अन्नसम्म पनि न्यून थियो । जनावरको शव व्यवस्थापनले आम्दानीको थोरै श्रोत मात्र जुटाउँथ्यो ।
उहाँ केवल १३ वर्ष उमेरको हुँदा नै आफ्नो आमा गुमाउनु भएको थियो । उहाँका बुबा प्रितम दासले पुनर्विवाह गर्नुभएका थियो । बलदेवले जातीय व्यवस्थाको आलोचना गर्न अन्य उत्पीडित समूहका साथीहरूसँग सामेल भएर खेतमा मजदुरी गर्दै घरको आर्थिक जिम्मेवारी बहन गर्नुभएको
थियो । बलदेव रामले पछि सुग्धी देवीसँग विवाह गर्नुभयो । उहाँका दुई जना छोरा र दुई जना छोरी छन् ।
विभेदकारी प्रथामा विद्रोह गर्दा मालिकले के भन्ने हुन्, आफूहरूको हबिगत के हुने हो ! यस्तै सोचले बलदेव पछाडि हट्दै आउनु भएको थियो । तर मनमा एउटा ज्वाला जस्तो फुटि नै रहेको थियो । कुन दिन कहाँ निस्किन्छन् भनि उहाँलाई समेत थाह थिएन । आखिर २०५६ सालमा त्यो ज्वाला बाहिर आयो नै । सदियौँदेखि चलिआएको यस प्रथाको विरोधमा उहाँ उभिनु भयो ।
मुक्तिनाथ चौधरीको घरमा मरेको पशुलाई ढोराइ रामले उठाउनुपर्ने थियो, रामहरू एकजुट भएर त्यसलाई उठाएनन् । त्यसपछि सिनो बहिष्कार आन्दोलन सुरु भएको र त्यसको नेतृत्व आफ्नो बुवाले गरेको बलदेवका छोरा इन्द्रदेव रामले बताउनुभयो । २०५६ सालकै चैत १० गते सप्तरीसित जोडिएको सिरहाको लहानस्थित मटिअर्बामा स्थानीय हरिलाल चौधरीको पाडा मर्दा चमार जातिले नफाल्ने अडान दोहो¥याएपछि स्थानीय चौधरी समुदायले चमारजातिलाई नाकाबन्दी गर्दे बाटोघाटो हिँड्न नदिने, पसलमा सरसामान र औषधिमूलो नदिनेलगायत मानवताविरोधी कार्य गरेपछि घटना राष्ट्रिय स्वरुप हुँदै अन्तर्राष्ट्रियकरण भएको थियो ।
त्यसका लागि बलदेवको अगुवाईमा संघर्ष भएको थियो । लामो संघर्षपछि उहाँ नेतृत्वको आन्दोलन सफल भयो, त्यसपछि रामहरु सिनो कहिले उठाएनन् ।
हुन त २०३४ सालैतिर सिनो बहिष्कारको आन्दोलन सुरु भएको थियो, त्यतिबेला कसैको साथ नहुँदा त्यो आन्दोलनले मूर्त रूप लिन सकेन । पछि अन्तर्राष्ट्रिय संस्था ‘एक्सन एड’ले यहाँका दलितहरूलाई संगठित गर्ने र जनचेतना फैलाउने लगायत काम गर्न थाल्यो । त्यसपछि मात्रै २०५६ सालमा भएको सिनो बहिष्कार आन्दोलनले मूर्त रूप लिएको थियो ।
बलदेवका बुवा पनि क्रान्तकारी
बलदेवका बुवा प्रितमदास तत्कालिन मधुपट्टी गाउँपञ्चायतको सचिव हुनुहुन्थ्यो । जतिबेला सरकारले द्रूत गतिमा भूमिसुधारको काम अगाडि बढाएको थियो । लगनशील र बफादार भएकाले प्रितमको संगत समाजका ठूलाबडा मान्छेसँग हुन पुग्यो । संगतकै कारण उनले ५–७ कक्षा पढ्न पाउनु भएको थियो । उहाँसँगै पढेका मोहितलाल चौधरी पछि प्रधानपञ्च हुनुभयो र मोहितले त्यही प्रितिमलाई गाउँपञ्चायतको सचिव बनाउनुभयो ।
२०२१ सालदेखि सरकारले भूमिसुधारको काम सुरु ग¥यो । लगत संकलन हुँदा प्रितमले मोहीको हकमा काम गर्नुभयो । मोहीले हक पाउनु जमिनदारको हितको कुरा थिएन, उनीहरूको कटौती हुन्थ्यो । प्रितमले लगत संकलन गर्दा त्यतिबेलाका जमिन्दारहरुले त्यसमा बाधा उत्पन्न गरेका थिए । यतिसम्म कि जमिन्दाहरुले कार्यालयमा आगो लगाएर काजजातहरु नै नष्ट गराई दिन्थे । तैपनि प्रितम पछाडि हट्नु भएन र केही स्थानमा उहाँले मोहियानी हक दिलाउन सफल हुनुभयो ।
त्यतिबेला प्रितमले थुप्रै मोहीको नाम टिपाउनु भएको थियो । जसमध्ये धेरैले मोहियानी हक पाएका छन् । प्रितमले पनि केही कट्ठाजति जमिनमा मोहियानी हक पाउनुभयो । उहाँको नामको जग्गा अहिले उहाँकै छोरानातिले जोतभोग गरिरहनु भएको छ । तर नामसारी भइसकेको छैन । अहिले पनि त्यो जमिनमा मुद्दा चलिरहेको छ ।
मोहानीका लागि बदलदेव
प्रितमको निधनपछि मोहियानी हकका लागि छोरा बलदेव राम लड्नु भएको थियो ।  बुवाको पथमा हिड्न बलदेवलाई त्यति सजिलो थिएन । जुन जमिन्दार बुवा प्रितिमसँग लडेका थिए, त्यही जमिन्दारको तारो बलदेव बन्नुभयो ।
मोहियानी हकका लागि लडेकै कारण बलदेवको जीवन कष्टकर रह्यो । जमिनदारहरूले बलदेवमाथि यति षड्यन्त्र गरे कि जीवनभर उहाँले २४ वटा झुटा मुद्दा खेप्नुप¥यो । एकपटक बलदेव वनमा दाउरा लिन गएका बेला जमिन्दारहरुले घरमा आगो लगाइ दिएका थिए ।
बलदेवका छोरा इन्द्रदेव भन्नुहुन्छ, ‘हजुरबुवा र बुवाले मोहियानी हकका लागि संघर्ष गर्दा जमिन्दारहरुबाट हामीमाथि निकै अत्याचार भयो । हाम्रा चेलेबेटीलाई बलत्कारसम्म गर्न सुरु गरेका थिए उनीहरु । चमार समुदायका महिलाले पहिले ठूलाबडालाई सुँडेनी सेवा दिनको रूपमा प्रसूति सेवा दिने गर्थे, जमिनदारका घरमा सुँडेनीको काम गर्न जाँदा हाम्रा छोरीचेली उनीहरुबाट बलात्कृत पनि हुन्थे ।’
सुत्केरीसँग १५–१६ दिन बस्दासम्म चमार महिलामाथि कुनै छुवाछुत हुँदैनथ्यो । सुत्केरी चोखिएसँगै छुवाछुत सुरु हुन्थ्यो । किनभने, सुत्केरी भएका बेला उनीहरू अपवित्र ठहर्थे ।
सिनो उठाउँदा मुद्दा
एकपटक बलदेव राम मरेको बाच्छीको सिनो फाल्न जानु भएको थियो । सिनो फाल्नुअघि छाला काढिन्थ्यो, त्यो छाला भारतमा लगेर बेच्नेदेखि विभिन्न सामान बनाउन प्रयोग गरिन्थ्यो । जमिनदारले षड्यन्त्रको तानाबाना बुनी बलदेवलाई सिनो उठाउन बोलाएका रहेछन् । बाच्छी मारेर छाला काढेको भन्दै उनीमाथि गोवधको मुद्दा चलाइयो, यसमा जमिनदारहरू नै साक्षी थिए । जमिन्दारहरुको षड्यन्त्रका कारण बलदेव पक्राउ परे । तीन महिनासम्म थुनामा रहनु भएको थियो । जेलबाट नै मुद्दा जितेपछि उहाँ रिहा हुनुभएको थियो । एक जना दलित महिलालाई बलात्कार गरेको मुद्दा पनि बलदेवमाथि थियो । एउटा परेवा मारेर ती महिलाको सारीभरि रगत लगाएर यो षड्यन्त्र गरिएको थियो । तीन वर्षपछि यो मुद्दालाई अदालतले झुटो ठह¥यायो ।
ती महिलालाई बलदेवले बलत्कार गरी गर्भ राखिएको आरोप लगाइएको थियो । ती महिलालाई जमिनदारले पैसा दिएर यी सब गर्न लगाउनु भएको थियो । तर पछि ती महिला बलदेवकै पक्षमा आउनुभयो ।
जमिन्दारहरुले लगाइ दिएको कतिपय मुद्दा बलदेव रामले मुद्दा लड्नका सप्तरीदेखि काठमाडौंसम्म हिँडेर पुग्नु हुन्थ्यो । यतिका कष्ट हुँदा पनि बलदेव राम आफ्नो अधिकारका लागि लड्न कहिले छाड्नु भएन । उहाँ यति मेहनती हुनुहुन्थ्यो कि एकक्षण पनि खाली हात बस्नु हुन्थेन । कि अधिकारका लागि लड्दै हिड्नु हुन्थ्यो कि त मालिककै खेत वा कुनै न कुनै मजदुरीमा खटि रहनु हुन्थ्यो ।
भूमी सुधार आयोगको सदस्य
माओवादी नेता हरिबोल गजुरेलको अध्यक्षतामा गठन भएकोे ‘उच्चस्तरीय भूमिसुधार आयोग (२०६५) मा बलदेव राम पनि सदस्य हुनुहुन्थ्यो । गजुरेल भन्नुहुन्छ, ‘बलदेव सादगी र जुझारु स्वभावका नेता हुनुहुन्थ्यो । उहाँ भूमिहीन किसानको पक्षमा बोल्नुहुन्थ्यो ।’ बलदेव २०६१ पुसमा राष्ट्रिय भूमि अधिकार मञ्चको संस्थापक अध्यक्ष हुनुभयो । २०६२÷६३ को जनआन्दोलनका बेला लोकतन्त्र र भूमिमा अधिकार माग्दै उहाँले सप्तरीमा ४८ घन्टे अनशन गराउनु भएको थियो । अनशनपछि राजविराजमा लोकतन्त्रको पक्षमा निस्केको जुलुसको नेतृत्व उहाँले नै गर्नुभएको थियो ।
जागिरबाट निकालियो
समाजशास्त्रमा स्नातक गर्नुभएका बलदेव रामका छोरा इन्द्रदेवले लेखापढीको लाइसेन्स लिएर काम गरिरहनु भएको छ । उहाँका
बाजे गाउँपंचायतका सचिव नै हुनुहुन्थ्यो । बाजेले लेखेका पुराना कागजातका ढाँचा हेरेर आफूले लेखापढी सिकेको इन्द्रदेव बताउँछन् । बलदेवका छोरा इन्द्रले २०५३ मा एसएसली दिएपछि उहाँ राष्ट्रिय अनुसन्धान विभागमा करारमा पनि काम गर्नुभएको थियो । यो काम उहाँलाई जमिनदारकै छोराहरूले मिलाइ दिनुभएको थियो । पछि उहाँले जातकै कारण यो जागिर छाड्नुपरेको थियो । इन्द्रदेव भन्नुहुन्छ, ‘एकपटक मैले हाकिमहरूलाई चिया दिएको थिएँ । हाकिममध्ये एकजना तराईका झा रहेछन् । उनले मेरो जात सोधे, सत्य कुरा सबै भन्दिए । चमार भन्ने थाहा पाएपछि बेसरी गालीगलौज गरे, कुटपिट गरे, भोलिदेखि आइस् भने गोली हान्छु भने । त्यसपछि म भारततिर भागेँ ।’
भीमराव अम्बेडकर पुरस्कार
२०५६ सालमा सिनो फाल्ने परम्परागत पेसालाई बलदेवकै नेतृत्वमा बहिष्कार गरेपछि तराई÷मधेसका दलित समुदाय चमार जातिको जिवनशैली पछिल्ला वर्षहरूमा फेरिँदै गएको छ । बलदेव रामले दलितको आत्मसम्मान, शिक्षातर्फ आकर्षण र रोजगारीलगायत विषयको ग्यारेन्टीका लागि सप्तरी र सिरहासहितका जिल्लामा सक्रिय रहँदै आउनु भएको थियो ।
त्यसका कारणले भारतको प्रशिद्ध डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट उहाँलाई सम्मान गरेको छ । उहाँ सो पुरस्कारबाहेक दयाराम परियार स्मृति मानव अधिकार सम्मान, प्रकाश मानव अधिकार पुरस्कार, समाज सेवा पुरसकार लगायत अन्य अन्य राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको थियो ।
युवा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला वृद्धिको आन्दोलन, निःशुल्क शिक्षाका लागि आवाज उठाउने काम, २०५८ को सिनो बहिष्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्था हेतुले अनवरत आवाज उहाँले उठाउँदै आउनु भएको थियो । उनी दलित सम्बन्धी कार्यक्रमका लागि थाइल्याण्डसम्म पुग्नु भएको छ । भारत आउनजाउ भइरहन्थ्यो ।
दलित हिस्टोरीमन्थमा भनिएको छ, ‘९० को दशकमा ४०० दलितको साथमा प्रजातन्त्र र भूमि अधिकारका लागि उहाँको जिल्ला सप्तरीमा भएको सत्याग्रहको धर्ना पछि गएर करिब २० हजार दलित जनतालाई आशा र सपनाहरू दिँदै जुलूस परिणत भयो । उहाँले भेदभाव र शोषणको विरोधी भएर आफ्नो क्रोध र निराशालाई सामूहिक रूपान्तरणमा सफलतापूर्वक पु¥याए ।’
पहाडी समुदायको समर्थन
पछि आन्दोलनले नागरिक समाज र अन्य पहाडी दलित समुदायको समर्थन प्राप्त ग¥यो । बलरामको संघर्षलाई अक्सर बृहत दलित आन्दोलनसँग जोडेर मुख्यधाराका सञ्चारमाध्यमहरूले आन्दोलनको रिपोर्ट बनाए । यसै बिचमा आन्दोलनले सरकार र स्थानीय नेताहरूसँग कसैलाई पनि गाईवस्तुको शव व्यवस्थापन गर्ने कामबाट निषेध गर्ने सहमति ग¥यो । यस सम्झौताले सामाजिक बहिष्कारलाई पनि अमानवीय रूपमा वर्गीकृत ग¥यो । यस प्रकार, आन्दोलनले चमार जनताको सम्मान र प्रतिष्ठा सुनिश्चित गर्नमा योगदान पु¥यायो । यस उपलब्धिले उहाँलाई भूमिहीन जनताको अधिकारको लागि लड्न राष्ट्रिय भूमि अधिकार मञ्च र हरबाहा चरबाहा अधिकार मञ्चको संस्थापक अध्यक्ष बन्नका लागि पनि उत्प्रेरित ग¥यो ।
यो संस्थामा एक लाखभन्दा बढी सदस्यहरू संलग्न छन् । वामपन्थी आन्दोलनलाई समर्थन गर्दै, बलदेवले सहरी क्षेत्रमा बसोबास गर्ने प्रबल समूहको स्वामित्वमा प्रतिस्पर्धा गर्दै श्रमिक वर्ग र दलित समूहहरूको लागि भू–स्वामित्वमा जोड दिनुभयो । पछि, यस आन्दोलनले दलित आयोगको गठनलाई पनि प्रभाव पारेको थियो, जुन किसिमको अवस्था नेपालमा पहिलो पटक सृजना भएको थियो । यस प्रकार, बलरामले नेतृत्वको गरेको दलित आन्दोलनले गाईवस्तुको शव बिसर्जन बहिष्कारको माग गर्दै नेपालको बृहत दलित आन्दोलनलाई विशिष्टताको महत्वको बारेमा मात्र नभई त्यस्ता विशिष्ट स्थानमा आधारित मामिलाहरूले कसरी उत्पीडित जनतालाई एकताबद्ध गरेर आन्दोलनलाई बलियो बनाउन सक्छ भन्ने बारे पनि जानकारी दियो ।

तपाईको प्रतिक्रिया