Khadya Bibhag

किन निर्माण हुँदैन मैथिली भाषाको फिल्म ?

नेपालमा नेपालीसँगै मैथिली, भोजपुरी, अवधी, तमाङ, मगर, लिम्बुलगायत अन्य भाषामा पनि फिल्म बन्ने गरेका छन् । ती फिल्म कम सँख्यामा निर्माण हुनुका साथै निश्चित क्षेत्रमा मात्र सीमित हुन्छ । राष्ट्रिय स्वरुप लिन सकेका हुँदैन । तराई मधेशमा क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै फिल्म निर्माण रोकिएको जस्तो लाग्न थालेको छ । कहिले काहीं आकल झुकल, साना लगानीमा छोटो छोटो फिल्म निर्माण हुनुबाहेक व्यवसायिक फिल्म बनेको देखिदैन ।
तराई मधेशमा फिल्म हलको सँख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषका फिल्मले नै ठाउँ ओगटेका छन् । तराईमा बोलिने मैथली भाषामा फिल्म निर्माण नभएपछि ती फिल्म भवनमा फाट्टफुट्ट नेपाली भाषाका फिल्म प्रदर्शन हुन्छन् । मैथली भाषामा बन्ने फिल्म, लघुचलचित्रको सँख्या निकै कम छन् । मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले असार ११ र १२ गते जनकपुरमा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ ।
सो महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका फिल्म, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ प्रदर्शन भएका फिल्ममा नेपालबाट बनेको कुनै मैथली भाषाको फिल्म समावेश थिएन । स्वदेशी मैथली भाषाको चलचित्र नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताउनुभयो । “छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन्, तर हामी आशावादी छौँ, किनकि अब नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याउने छन्, वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन् भनि उहाँको बुझाई । अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ, तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ, त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन भनि नेपाली कलाकारहरुको बुझाई रहेको छ ।
‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको चलचित्र नै अहिले पनि तराई मधेशमा स्मरण गरिन्छ । त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही चलचित्र उपलब्ध छन् ।
यद्यपि जनकपुर लगायतका तराई मधेशमा फिल्म भवनमै प्रदर्शन गरिने फिल्म लगभग छैन । मैथली फिल्ममा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको नव निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ । विदेशमा मैथली भाषामा बनिरहेका फिल्म हेर्नुका साथै ती चलचित्रकर्मीसँग संवाद गरेर उहाँ आफैँ पनि नयाँ फिल्म ‘लेवर’ को तयारीमा हुनुहुन्छ ।
तराईमा विशेषत कोशी र मधेश प्रदेशमा मैथिली चलचित्रको राम्रो बजार बन्न सक्ने जानकारहरुको बुझाइ छ । किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ चलचित्रले गरेको व्यापारको चर्चा आज पनि हुन्छ । पछिल्लो समय चलचित्रसँगै गीतसङ्गीत, छोटा चलचित्रस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन् । यसले गर्दा पनि मैथली भाषामा चलचित्र नबनेको धेरै समय भइसकेको छ ।

तपाईको प्रतिक्रिया