मुस्लिम महिलाको हक हितका लागि विगत २० वर्षदेखि संघर्ष गर्दै आउनु भएको सीमा खानलाई नचिन्ने कमै होला । महिला अधिकारकर्मीको रुपमा परिचित सीमा खान त्यतिकै सीमा खान बन्नु भएको होइन, आगोको भुङ्ग्रोमा तपिएर, पिटिएर मात्र सीमा खान बन्नुभएको हो ।
आगोको भुङ्ग्रोमा भनेको साँच्चैको आगो होइन तर साँच्चैको आगोभन्दा तेज आगोमा तपिएर सीमा खान यहाँसम्म आइपुग्नु भएको हो । त्यो आगोको डरले अगाडि नबढेको भए आज एउटा कुनै घरको बुहारी सीमा खानमा सिमित हुनुहुन्थ्यो । उहाँको समाज र परिवारले पनि सीमालाई एउटा छोरी र बुहारीको रुपमा मात्र अपनाउन चाहेको थियो ।
त्यहाँबाट उहाँले विद्रोह नगरेको भए, त्यहाँबाट जवर्जस्ती आफ्नो कदम अगाडि नबढाएको भए सीमालाई चुल्हो चौका र घरधन्दामा सिमित हुनुपथ्र्यो । सीमा खान आज नेपालमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा आफ्नो पहिचान बनाउनु भएको छ । विश्वका २३ वटा देशमा गएर त उहाँले नेपालका मुस्लिम महिलाको बारेमा आफ्नो प्रस्तुती नै दिइसक्नु भएको छ ।
बुवाको चाहना
बुवा राहत हुसेन खानले छोरी सीमालाई घरायसी काममा परफेक्ट बनाउन चाहनु हुन्थ्यो । महिलाले पढे लेखेर केही हुँदैन, जति पढे लखे पनि उसले गर्ने काम घरकै हो, अर्काकै घर जाने हो । त्यसैले घरका सारा काम सिक्नुपर्छ भनि सीमालाई पढ्नबाट रोकेर घरका काममा लगाउनु हुन्थ्यो । सीमा खान भन्नुहुन्छ, ‘मेरो घरमा त्यतिबेला नौ जना नोकर थिए, घर भित्रका तथा बाहिरका सबै काम नोकरहरुले नै गर्थे तर म अलि ठूली भएपछि बुवाले घरका सारा काम मलाई नै गर्न लगाउनु हुन्थ्यो ।’
बुवाले खाना बनाउनुदेखि लिएर खाना परोसेर खुवाउने, पहुनालाई सत्कार गर्नेलगायत घरायसी काम उहाँलाई गर्न लगाउनु हुन्थ्यो । तर सीमालाई पढ्ने इच्छा थियो । पढेर केही बन्ने इच्छा थियो । यो समाजका लागि केही गर्ने इच्छा थियो । तर उहाँका बुवालाई छोरीले पढाई लेखाइ नगरोस् घरायसी काममा पर्फेक्ट भएर बिहे गरेर जायोस् भने थियो ।
सीमा जन्मे, हुर्केका पढे बढेका काठमाडौँमै हो ।
उहाँको खास घर कपिलवस्तुको कृष्णनगर हो तर उहाँको बुवा सरकारी जागिरमा काठमाडौँ भएको कारण सीमाको जन्म, लालन, पालन सबै काठमाडौँमा नै भयो । यसौ भनौं सीमा खान अब काठमाडौँको बासी नै हुनुभयो । अब त आफ्नो गाउँ कृष्णानगर पहुनाको रुपमा पनि जानु हुन्न । सीमा खानका बुवाहरु लामो समय काठमाडौँमा बसे पनि सोच कपिलवस्तुकै थियो । सोच त्यही कृष्णनगरहरुकै जस्तो थियो । सीमालाई घरबाट निस्कन त के कुनै पाहुना घरमा आउँदा सामुनेमा आउन पनि दिन हुन्नथे । घरको घण्टी कोही बजायो भने त्यसलाई खोल्न समेत जान दिइदैन्थ्यो उहाँलाई ।
सीमा खान भन्नुहुन्छ, ‘घरका घण्टी बज्दा को आउनु भयो बच्चाहरु कति उत्साहित हुन्छन्, कुदेर खोल्न जान्छन् तर मलाई त्यसको इजाजत थिएन । कोही आउने भएपछि झन घरमै बस्न भन्नुहुन्थ्यो ।’ सीमालाई कतै बाहिर जानु पर्यो भने आमा वा कुनै आफन्तसँग गाडिमा जानु हुन्थ्यो र गाडिमै फर्किने हुन्थ्यो ।
तर छोरा मान्छेलाई यस्तो हुँदैन्थ्यो । सीमाका दुई जना दाई हुनुहुन्थ्यो । उहाँहरु मज्जाले पढ्न जानु हुन्थ्यो । जता जान मन लाग्यो त्यतै जानु हुन्थ्यो । कुनै प्रकारको रोकटोक थिएन तर सीमालाई घरमा ती कुनै कुराको सुविधा थिएन । जुन उहाँका दाइहरुले प्राप्त गरिरहनु भयो । यसको मुख्य कारण मुस्लिम छोरी नै हो । काठमाडौँ जस्तो सहरमा रहेर, पढे लेखेका परिवारमा पनि यसको खालको विभेद किन त भनि जिज्ञासामा सीमा खान भन्नुहुन्छ, ‘काठमाडौँ होस् या गाउँघर मुस्लिमको सोच महिलाप्रति सुरुदेखि नै त्यस्तै थियो झन मेरो बुवा पुरानो सोचका हुनुहुन्थ्यो । काठमाडौँमा बसे पनि सोच कपिलवस्तुतिरकै थियो ।’
पारिवारिक अवस्था ।
सीमाका आमा सइदा खान र बुवा राहत हुसेन खान बिच छोडपत्र भएको थियो । आपसी झगडाका कारण एक अर्कालाई छोडि सक्नु भएको थियो । जब आमा सइदा काठमाडौँ छाडेर आफ्नो माइत भारत फर्किनु भयो अनि सीमा खानलाई साथमा लिएर जानुभयो । त्यतिबेला सीमा खान चार वर्षका हुनुहुन्थ्यो । सीमा जन्मदा घरको परिवारिक अवस्था राम्रो थिएन । आमा–बुवा छुटिएपछि सीमा आमासँग भारत जानुभयो ।
उहाँ त्यहाँ गएपछि भारत साउथ इण्डियाको एउटा स्कूलमा पढ्न थाल्नुभयो । त्यहाँ आठ कक्षासम्म पढ्नु भयो । अर्थात आफ्नो आमासँग भारतमा ८–९ वर्षसम्म बिताउनु भयो । पछि सीमालाई उहाँको बुवाले नेपाल बोलाउनुभयो । बुवाले त्यतिकै बेलाएको भए सायद आउथेन होला तर उहाँले पढार्ईको लोभ दिनुभयो, सीमाले खानले भन्नुभयो, ‘बुवाले त्यतिबेला भन्नु काठमाडौँ आइजा यति पढाउछु लेखाउछु राम्रोसँग राख्छु, भन्नु भएको थियो म पढाईकै लोभमा आमाको साथ छाडेर काठमाडौँ फर्केको थिए ।’
तर काठमाडौँ फर्केपछि सीमाले सोचे जस्तो भएन । बुवा राहत हुसेनले कहिले के नाममा त कहिले बहानामा पढ्नबाट रोक्नु हुन्थ्यो । कहिले भारतमै पढ्नु भन्नुहुृन्थ्यो, भारत जान तयार भएपछि होइन नेपालमै पढ्नुपर्छ भन्नुहुन्थ्यो । बुवा राहतबाट विभिन्न बहानामा उहाँको पढाइमा अवरोध भइरहेको थियो । तर सीमाले घरमा पढाई कहिले छाड्नु भएन । आज न भोली पढ्छु नै । परीक्षा दिनै पर्छ भनि उहाँ घरमा किताबहरु पढ्नु हुन्थ्यो । विभिन्न अभ्यास गर्नुहुन्थ्यो । त्यो कुरा पनि सीमाका बुवालाई मन परेको थिएन । पढी रहेको देखेर सीमालाई घरका काममा लगाउनु हुन्थ्यो । कतियौं पटक सीमा बुवाबाट चोराएर पनि परीक्षाको फर्म भर्नुहुन्थ्यो तर पछि पनि बुवाले थाह पाउँदा गाली गर्नुहुन्थ्यो । के के भनेर परीक्षा दिनबाट रोक्नुहुन्थ्यो ।
सीमा खान भन्नुहुन्छ, ‘मेरो बुवाले पढाईमा ध्यान दिनुभएको थिएन तर राम्रो घरका राम्रो केटासँग विहे गरि दिने र त्यसका लागि दिनुपर्ने दहेजको जोहोमा लाग्नुभएको थियो । जति धेरै दहेज दिए त्यति राम्रो घरका केटा पाइन्छ भनि विश्वास मेरो बुबाको थियो र उहाँ हरहमेशा त्यसको जोगारमा हुनुहुन्थ्यो । मलाई सानैदेखि पढाईमा निकै रुची थियो, जतिखेर पनि केही नकेही पढि रहौं जस्तो लाग्थ्यो ।’
बुबाको निधन
सोही क्रममा सीमाको बुबा विरामी पर्नुभयो । र विरामीका कारण छ महिना पनि बाँच्न सक्नुभएन । त्यसपछि त झन सीमाको अगाडि दुखको पहाड आइपुग्यो । सानै छँदा आमा–बुबा बिच झगडा भएर छुट्टिनु भएको थियो । बुबाले पछि बिहे गर्नुभयो । सौतेनी आमाले पनि पढाउन चाहनु भएको थिएन । उहाँले पनि बिहे गरेर छिट्टै अर्काको घर पठाइ दिएर बोझ हल्का गर्ने सोचमा हुनुहुन्थ्यो । सीमासँग त्यही अनुसारको कुरा पनि गर्नुहुन्थ्यो सौतेनी आमाले । पढाइको त कसैले नामै लिइरहेका थिएनन् । सीमा खानाका बुवाले मधेशतिरकै मुस्लिम केटा खोजेर विहे गरि दिने सोच बनाउनु भएका थियो । त्यो अनुुसारको केटा पनि खोजि भइरहेको थियो । तर सीमालाई मधेशमा विहे गर्नु थिएन ।
सीमा खान भन्नुहुन्छ, ‘मलाई पढ्ने मन थियो बुवाले पढ्न दिनुभएन सौतेनी आमा तथा दाईहरुले के पढ्न दिनु हुन्थ्यो र । त्यसमा तराई मधेशतिर विहे गरियो भने त्यहाँको परिवारले झन पढ्न दिने छैन, त्यसैले मैले काठमाडौँको केटासँग विहे गर्छु कम से कम त्यो केटाले पढ्न त दिन्छ ।’ अन्ततः काठमाडौँ डिल्ली बजारकाका मोहम्मद कादिरसँग सन् १९९० मा सीमा खानको बिहे भयो । बिहे गरेपछि सीमा आफ्नो श्रीमानका साथमा बस्न थाल्नुभयो । बिहे गरेर गएपछि सीमाको पहिलो डिमाण्ड थियो पढाइको । आफ्नो श्रीमानलाई उहाँले भन्नुभएको थियो, ‘म पढ्न चाहन्छु ।’ त्यसपछि सीमाका श्रीमान् कादिरले ‘धेरै राम्रो, पढ्नुस् मैले तपाईलाई यसमा के सहयोग गर्नुपर्छ, सबै गर्छु’ भनि प्रतिकृया दिनुभएको थियो ।
सीमा खानले पढ्न थाले तर समस्या त्यहाँ पनि त्यस्तै भयो । उहाँको पढाई लेखाइलाई उहाँको सासु, ससुराले मन पराउनु भएको थिएन । सीमा खान भन्नुहुन्छ, ‘बुहारी घर सम्हाल्ने हो, पढ्ने होइन भनि सोच हाम्रो सासु ससुराको थियो, मैले पढाई सुरु गर्दा ससुरबुवा धेरै पटक रिसाउनु भएको थियो तर श्रीमान्को साथ सहयोग रहेको कारण म पढाईलाई निरन्तरता दिए र प्राइभेटबाट सन् १९९२ मा एसएलसी पास गरे ।’ यसरी पास गर्दा पनि घरमा कोही खुशी थिएनन् । छोरी मान्छे, बुहारी मान्छे पढ्नु हुँदैन भनि उहाँहरुका पुरातन सोच थियो मेरो आमा बुवाको जस्तै, सीमा खानाले भन्नुभयो, कक्ष १० को त पास गरे अब उच्च शिक्षाका लागि अगाडि पढ्ने सोच मनमा आयो तर यो कुरालाई घरमा अगाडि बढाउने कसरी, घरका प्रमुख व्यक्तिले नै पढाईबाट रोक्नुभयो त्यो व्यक्तिले उच्च शिक्षाका लागि इजाजत देला जस्तो मलाई लागेको थिएन ।’
तैपनि सीमाले आफ्नो श्रीमानसँग कुरा गर्नुभयो । श्रीमानमा कुनै समस्या थिएन । श्रीमान कादिरले ओ्के भन्दिनु भयो । तर श्रीमानले मात्र भनेर हुँदैन घरका मुख्य व्यक्ति ससुरबुवाले इजाजत नदिएसम्म घरमा एउटा पता समेत हलिदैन । घरका अन्य बुहारीहरु पनि ससुराबाको डरले थरथर कामिरहेका थिए । कोही उहाँको अगाडिमा बोल्ने हिम्मत गर्दैन्थे । तर सीमा खान अलि फरक गरिरहनु भएको थियो । बाहिर निस्किने, लेख पढ् गर्ने, अन्य अन्य समाजिक कुराहरुमा पनि चासो लिनु हुन्थ्यो । बुहारीको मोटरसाइकल
सीमा खानले बच्चा पाउनुभयो । त्यसपछि उहाँ घरमै अल्झिनुभयो । थप पढ्ने घरको पनि माहोल थिएन । तर सेल्फस्टडी उहाँले कहिले छाड्नु भएन । तीन वर्षसम्म उहाँ घरमै बस्नु भयो कतै जानु भएन । त्यतिबेलासम्ममा उहाँले एउटा नेपाली भाषाको उपन्यास लेखिसक्नुभयो ‘बुहारीको मोटरसाइकल’ । उहाँले उपन्यास लेखेर छपाउनु पनि भयो । यो कुरा उहाँको श्रीमानबाहेक घरमा अरु कसैलाई थाह थिएन । तर सीमा खानले त्यो छापिएको उपन्यास ससुरा बाको डरले बजारमा पठाउनु भएन । छापिएको उपन्यास बोरामा हालेर पलङमुनी लुकाउनुभयो । चिनेका साथी भाइलाई लुकाइ छिपाइ दिनु हुन्थ्यो ।
पछि के गरी सीमा खानको ससुरा बाले उपन्यासको बारेमा थाह पाउनुभयो । घरमा बेस्सरी रिसाउनुभयो । सामुदायको नाक कटाइस्, घरपरिवारको इज्जत बर्बाद गरिस् जस्ता कुराहरु रिसले बोल्नुभएको थियो । तर उहाँले सीमाले लेख्नु भएको उपन्यास पढ्नु भएको थिएन । सीमा खान भन्नुहुन्छ, ‘ससुरा बाले उपन्यासको बारेमा थाह त पाउनुभयो तर उहाँले पढ्नु भएको थिएन, उपन्यास लेखेको कुरा थाह पाएर नै रिसाउनुभयो ।’ नेपालको कुनै मुस्लिम महिलाले लेखेको पहिलो उपन्यास नै ‘बुहारीको मोटरसाइकल’ थियो । त्यसअघि कुनै नेपाली मुस्लिम महिलाले यस्तो उपन्यास लेख्नु भएको थिएन ।
जजसले उपन्यास लगेर पढेका थिए उनले त्यसको निकै प्रशंसा गरेका थिए । सीमालाई फोन गरेर, भेटेर पनि उपन्यासको प्रसंशा गरेका थिए । त्यो कुरा पनि घरका मान्छेहरुलाई मन परेको थिएन । बुहारीको तारिफ गर्दा पनि घरमा पचिरहेको थिएन । पछि सीमा खानका ससुरबाले पनि त्यो उपन्यास पढ्नु भयो । साँच्चै उपन्यास राम्रो रहेछ । उहाँले पनि सीमाको प्रसंशा गर्नुभयो । त्यो उपन्यास पढेपछि सीमाप्रति थोरै भए पनि सकारात्मक हुनुभएका थियो ।
पद्मकन्यामा पढाइ
सीमा खानले एसएलसी पास गरेको तीन वर्षपछि इन्टर पढ्नका लागि पद्मकन्या क्याम्पसमा नाम लेखाउनु भयो । त्यो पनि आफ्नो ससुरबुवाबाट चोराएर । क्याम्पसमा नाम लेखाएको थाह पाएपछि ससुराबा खुब रिसाउनु भएको थियो । क्याम्पस पढ्न जान थालेपछि त झन आगबबुला हुनुभएको थियो । त्यसले गर्दा उहाँको पढाईमा डिस्टर्ब भयो । कहिले काही मात्र क्लाशमा पढ्न जानु हुन्थ्यो ।
इन्टर पास गर्न ३–४ वर्ष लाग्यो सीमा खानलाई । पास गरेपछि उहाँले पुनः त्यही ब्यचालरमा नाम लेखाउनुभयो । सासु र ससुराले यसरी क्याम्पसमा बुहारी पढ्छिन् भनि कल्पना नै गर्नु भएको थिएन । बाहिर गएर क्याम्पसमा पढ्न उहाँहरुले सीमालाई निकै नै रोक्नुभयो । तर सीमा रुक्नु भएन । ब्याचलरको क्लाश रेगुलर गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘घरमा रिसखिस भइरहेको हुन्थ्यो म त्यसलाई वास्ता नगरी पढाईमा लागेका थिए । म घरका सबै काम पनि भ्याउथे र पढ्न पनि जान्थे, यसरी रेगुलर पढ्न थालेपछि ब्याचलर एकैपटकमा क्लियर भयो ।’
जागिर होइन समाजसेवा
ब्याचलर पास गरेपछि सीमालाई जागिर गर्न मन लाग्यो । यो प्रस्ताव आफ्नो श्रीमानसँग राख्नुभयो तर श्रीमानले पनि त्यसको इजाजत दिनुभएन । उहाँका श्रीमान कादिरले भन्नुभएको थियो, ‘जागिर गर्नु तिम्रो बसको कुरा होइन तिमी बहुत भावुक छौं र अर्को कुरा आमा बुवा पनि तिमीप्रति पोजेटिभ हुनुहुन्न त्यसैल गाह्रो छ बरु तिमी आफै केही गर ।’ यो कुराले सीमालाई कता कता क्लिक गर्यो ।
उहाँले भन्नुभयो, ‘मैले बाल्यकालदेखि समाजमा र परिवारमा जुन दुख झेले, जुन विभेदको शिकार भए त्यो अरु मुस्लिम महिला नहोस् अब त्यसका लागि मैले अवाज बन्नुपर्छ भनि मेरो मनमा आयो । त्यतिबेला केन्द्रीय स्तरमा मुस्लिम महिलाको बारेमा आवाज उठाउने कुनै संस्था थिएन ।’ श्रीमानले भनेपछि सीमाले पनि केही आफै गर्ने सोच बनाउनु भयो । २०६३ सालमा नेपाल मुस्लिम महिला कल्याण समाज आफ्नो नाममा दर्ता गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि मैले जागिर गरेको भए पनि मुस्लिम महिलाका लागि केही नकेही गर्थे किनभने म मुस्लिम महिलाको पिडालाई नजिकबाट अनुभूती गरेको छु मैले, त्यस्तो कसैलाई नहोस् भनि त्यो क्षेत्रमा काम गर्ने सोच मलाई पहिलादेखि नै थियो ।’
संस्था गठन गरेपछि त्यसबाट विभिन्न कार्यक्रमहरु गर्न थाले । तर पुनः त्यही समस्या दोहोरियो । सासु र ससुरले संस्था चलाउन मान्नु भएको थिएन । सीमालाई संस्था नचलाउन भन्नु भएको थियो । तर सीमा पछाडि हट्ने मुडमा हुनु हुन्थेन । सीमाले गठन गर्नु भएको थियो संस्थाको चौतर्फी प्रसंशा हुन थाले । मुस्लिम महिलाको हितमा बोल्ने एउटा संस्था गठन भएपछि सो समुदायमा पनि सीमाको चर्चा हुन थाले । सीमा आफ्नो संस्थामा व्यस्त हुनुभयो । संस्थाको साथै उहाँले विभिन्न पत्रपत्रिकामा मुस्लिम सम्बन्धी लेख लेख्न थाल्नुभयो ।
त्यति नै बेला आन्दोलनको माहोल पनि बनेको थियो । २०६३ को जन आन्दोलन र २०६४ को मधेश आन्दोलन र त्यस लगतैको मुस्लिम आन्दोलन सुरु भयो । आफ्नो संस्थामार्फत त्यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभयो । आन्दोलनमा पनि भाग लिन थाल्नुभयो । मुस्लिम संघर्ष समिति पनि बनेको थियो । त्यसमा पनि उहाँ प्रतिनिधित्व गर्नुहुन्थ्यो। । आन्दोलनको बारेमा उहाँले कान्तिपुरदेखि लिएर विभिन्न दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा लेखहरु लेख्नु हुन्थ्यो ।
समाजमा सीमाको चर्चा हुन थाल्यो । उहाँलाई फोन आउन थाले । कार्यक्रममा बोलाउन थाले । अब त सीमालाई घरमा बस्ने फुर्सदै भएन । उहाँले आफ्नो संस्थाका लागि बागबजारमा कार्यालय नै खोल्नुभयो । हेर्दा हेर्दै सीमा समाजको अंग बन्नुभयो । सीमा अब ढिलो ढिलो घर आउन थाल्नुभयो । कहिले काही राती अबेलासम्म आउनु हुन्थ्यो । कतिपय दिन त उहाँका ससुरबुवा घरमा पनि छिर्न दिइ रहनु भएको थिएन । कसो कसो रोइ कराई उहाँ घरमा छिर्नुहुन्थ्यो । ससुराबाले जति बोले पनि जति गाली गरे पनि सीमाले कहिले मुखमुखै लाग्नुभएन । शिर निहुराएर घर छिर्नुहुन्थ्यो । कहिले मुख फर्काएर जवाफ दिनु भएन ।
तर एकपटक यति भएपछि उहाँले ससुराबालाई सिधै जवाफ दिनुभयो । सीमा खानले भन्नुभयो, ‘एकपटक नागरकोटमा एउटा गोष्ठी थियो । त्यसमा भाग लिन गएको थिए घर फर्किदासम्म ढिलो भइसकेको थियो । घर फर्केपछि ससुराबाले जथाभावी बोल्न थाल्नुभयो, हुँदै नभएका कुराहरु पनि बोल्नुभयो । मलाई एकदम अनिफिट लाग्यो मैले पहिलो पटक त्यो दिन जवाफ दिएको थिए । मैले भनेको थिए बुवा मैले केही गलत गरेको छैन, तपाईको परिवार र समाजमा इज्जत जाने कुनै गलत काम गरेको छैन तपाई ममाथि यसरी झुठा आरोपहरु नलगाउनुस् ।’
त्यसपछि ससुर बुवासँग सीमा खानको बोलचाल नै बन्द भयो । दुई वर्षसम्म उहाँहरुको बिचमा बोलचाल नै भएन । सीमाको दिनदिनै प्रगति भइरहेको थियो । मुस्लिम समाजमा पनि सीमाको इज्जत र सम्मान हुन थाल्यो । मुस्लिम समाजका अगुवाहरुले ससुर बुवाको सामु सीमाको बारेमा प्रसंशा गर्नुहुन्थ्यो । सीमाको ससुरबुवालाई जुन समाजको डर थियो त्यो समाजकै अगुवाबाट आफ्नो बुहारी सीमाको प्रशंसा सुनेपछि अलिअलि पोजेटिभ हुन थाल्नुभयो । सीमालाई साथ सहयोग दिन थाल्नु भएको थियो । बाहिरबाट ढिलो चाँडो आउँदा पनि बोल्न र गाली गर्न छाड्नु भएको थिएन । राजनीतिमा खोजी
सीमा खान समाजका एक प्रतिष्ठित महिलाको रुपमा गनिन थाल्नुभयो । सबैतिर चर्चा हुन्थ्यो । यहाँसम्म कि विभिन्न राजनीतिक दलबाट उहाँलाई अफरहरु आउन थाले । कोही समानुपातिकमा राख्न खोजे भने कोही पार्टीमै राख्न चाहे तर सीमा खानलाई राजनीति गर्ने मन थिएन । उहाँ स्वतन्त्र भएर मुस्लिम महिलाको लागि, मधेशको लागि केही गर्ने सोच बनाउनु भएको थियो ।
राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीले पनि सीमा खानलाई पार्टीमा आउन आग्रह गरेको थियो । दोस्रो संविधान सभा चुनाव ताका सीमा खानलाई पार्टीमा आउन आग्रह गरेको थियो । सीमा खानले आफू पनि मधेशका लागि काम गरिरहेको र सद्भावना पार्टी पनि मधेशको मुद्दामा काम गरेको कारण यहीं पार्टीमा आवद्ध हुँदा राम्रो हुने भनेर सद्भावना पार्टीमा आवद्ध हुने निर्णयमा पुग्नुभयो । सो पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग उहाँले सिधै कुरा गर्नुभयो ।
संविधान सभा चुनावमा मुस्लिम महिला कोटामा समानुपातिकमा राख्ने सहमति भएको थियो । सोही सहमतिको आधारमा सीमा खान पार्टीमा प्रवेश गर्नुभएको थियो । उहाँ सो पार्टीमा सक्रिय भएर लाग्नुभयो । पार्टीले अह्राएको ठाउँमा जानु हुन्थ्यो । विभिन्न आन्दोलनमा पनि सहभागी हुनुभयो । त्यतिबेला आन्दोलन गर्नका लागि गठन भएको मुस्लिम संघर्ष समितिको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो ।
चुनाव हुने भएपछि उहाँ चुनावमा पनि सक्रियपूर्वक खटिनु भयो । तर चुनावमा सोचे जस्तो नतिजा सद्भावना पार्टीले ल्याउन सकेन । तैपनि पार्टीले सीमा खानलाई समानुपातिक सदस्य बनाउन चाहेको भए हुन्थ्यो । तर पार्टीले उहाँलाई समानुपातिक सदस्य बनाएन । त्यसपछि सीमा खानले पार्टी नै छाड्नुभयो । उहाँले भन्नुभयो, ‘जुन पार्टीमा यसरी विभेद हुन्छ भने त्यो पार्टीले समाजका लागि के गर्छ ? त्यही भएर मैले सो पार्टी मात्र होइन त्यति बेला राजनीति नै त्यागे ।’ तर अब २०८४ मा राजनीतिमा पुन सक्रयि हुने सोच बनाउनु भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो संस्था छ कसैलाई जिम्मा लगाएर म फुल टाइम राजनीतिमा पनि जान सक्छु । समाजिक संस्थामार्फत मुस्लिमका लागि धेरै काम गरे अब राजनीतिबाट केही गर्ने इच्छा छ
सम्मान र पुरस्कार
एचडब्लुपीएल अन्तराष्ट्रिय अवार्ड (दक्षिण कोरिया)बाट सम्मानित हुनुभएका सीमा खान साना तिना राष्ट्रिय अन्तराष्ट्रिय थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको छ । अन्तर धार्मिक शान्ति महासंघका उपाध्यक्ष समेत रहनु भएका सीमा खान वल्र्ड मुस्लिम कम्युनिटी काउन्सिलका बोर्ड मेम्बर पनि हुनुहुन्छ । विभिन्न पत्रपत्रिका सय भन्दा बढी लेख रचना उहाँको प्रकाशित भएको छ । अहिले उहाँ ‘तलाक तलाक तलाक’ उपन्यास लेखि रहनु भएको छ भने मास्टर्सको अन्तिम समेस्टरमा अध्ययनरत पनि हुनुुहुन्छ ।
साउदी, युएइ, दक्षिण कोरिया, युके, थाइल्याण्ड, रसिया, आइल्याण्ड, टर्की, इन्डोनेसिया, कतारलगायत दुई दर्जन देशको भ्रमण गर्नुभएका सीमा खानले जति वटा देश गए त्यहाँ मुस्लिम महिलाको बारेमा मात्र आफ्नो प्रस्तुती दिनुभयो । मुस्लिम महिलाको अवस्था बारेमा उहाँले अन्तराष्ट्रिय रुपमा चिनाउने काम पनि गर्नुभयो ।
सीमा खानका दुई जना दाइ छन् । फरहद हुसैन जो काठमाडौमै विजनेश गरेर बस्नुभएको छ । मुसरद हुसैनको केही पहिले निधन भइसकेको छ । सीमा खानका एक जना छोरा र एक जना छोरी छन् । छोरा आदिल अहमद बुद्ध एयरमा इन्जिनियर हुनुहुन्छ भने छोरी आलिया अहमद काउन्सेलिङ साइकलोजीको पढाइ सकाउनु भएको छ ।
तपाईको प्रतिक्रिया